१५ दिनअघि भारतबाट फर्केका रामरेसरको हत्या श्रीमतीकै योजनामा
सारांश
- कञ्चनपुरको लालझाडी गाउँपालिकामा रामरेसर रानाको हत्या श्रीमतीको योजनामा भएको खुलासा।
- मृतक रामरेसरको हत्यामा श्रीमती माया चौधरी, पुन्ना राना र मानमती चौधरी संलग्न रहेको स्वीकारोक्ति।
- प्रहरीले घटनामा संलग्न तीनै जनालाई पक्राउ गरी अनुसन्धानपछि कारागार चलान गरेको छ।
धनगढी । कञ्चनपुरको लालझाडी गाउँपालिकाका रामरेसर रानाको हत्या उनकै श्रीमतीको योजनामा भएको प्रहरीले खुलासा गरेको छ । गत वैशाख १६ गते लालझाडी गाउँपालिका-४, जाई सिगलपट्टि शिविरमा बस्ने ४९ वर्षीय रामरेसरको हत्या भएको थियो ।
उनी १६ दिनअघि मात्रै भारतमा मजदुरी गरेर फर्किएका थिए । घरको सहारा बनेर भारतबाट फर्किएका रामरेसरको हत्यामा उनकै श्रीमती माया चौधरी र उनका सहयोगीहरु भएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा मृतककी श्रीमतीले पुन्ना राना र छिमेकी मानमती चौधरीसँग मिलेर वैशाख १६ गते मध्यराति १२ बजे रामरेशरको हत्या गरेको स्वीकार गरेका छन् ।
रामरेसर मजदुरीका लागि प्राय: भारतमा बस्थे । उनको परिवारमा श्रीमती माया, दुई छोरा (जसमध्ये जेठो बोल्न सक्दैनन् र एक छोरी थिए । कहिले गाउँमै खेतीपाती गरेर त कहिले भारतको चम्पावतमा गएर मजदुरी गरेर उनले आफ्नो परिवारको गुजारा चलाउँदै आएका थिए । घटना हुनुभन्दा ठीक १५ दिनअघि मात्रै उनी घर फर्किएका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार पुन्ना राना ट्याक्टर चालक हुन् । २०८१ सालमा रामरेसरकी श्रीमती माया चौधरी र रानाबीच भेट भएको थियो । उनीहरूबीच फोन नम्बर साटासाट भएपछि भेटघाट हुन थाल्यो । मृतक रामरेसर रोजगारीको सिलसिलामा भारतमा बस्दै आएकाले पुन्ना मायाको घरमा आउने-जाने गरिरहन्थे ।
वैशाख १६ गते पुन्ना राना बेलौरीबाट मानमतीको घर हुँदै मायाको घरमा पुगे । मायाले सोही दिन राति श्रीमान् घरमा नभएको फोनबाट बताएकी थिइन् । रामरेसर नभएको खबरपछि पुन्ना मायाको घरमा पुगे, तर पुन्ना पुगेको केही समयमा श्रीमान् रामरेसर पनि घरमा पुगे । त्यसपछि राति घरमा परपुरुषलाई बोलाएको विषयमा विवाद भयो । विवादमा श्रीमती माया, पुन्ना र मानमती तीन जनाले मिलेर बाँसको चिर्पटले रामरेसरको टाउकोमा प्रहार गरेको अनुसन्धानबाट देखिएको डीएसपी बोहराले बताए ।
हत्यापछि तीनै जना मिलेर १७ गते बिहानै शवलाई सडक छेउमा फालेको बयानका क्रममा उनीहरुले स्वीकार गरेका छन् ।
घटनालाई लुकाउन उनीहरुले नै नाटक रचे । बिहान करिब ६ बजे छिमेकीहरुले रामरेसर र उनको साइकललाई सडक किनारमा लडिरहेको देखेको भन्दै हल्ला गरिएको थियो ।
घटना भएको डेढ महिनासम्म पनि हत्यामा संलग्नहरु पत्ता लागेका थिएनन् । तर मृतकका आफन्तले उनकी श्रीमती मायाको व्यवहार र अन्य गतिविधिमाथि शंका लागेपछि प्रहरीमा जाहेरी दिए । गत असार ३ गते मृतकका आफन्तले माया, छिमेकी मानमती चौधरी र पुन्ना रानाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिए ।
जाहेरी परेपछि प्रहरीले अनुसन्धानलाई तीव्र बनायो र असार ५ गते तीनै जनालाई पक्राउ गर्यो । असार २० मा अनुसन्धानसहित जिल्ला सरकारी वकिल कार्यालयमा प्रहरीले मिसिल पठायो ।
असार २६ मा कञ्चनपुर जिल्ला अदालतले पुन्ना रानालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दियो । माया चौधरी र मानमती चौधरीलाई एक लाख धरौटीमा छाड्ने आदेश दियो । धरौटी बुझाउन नसक्दा तीनै जनालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी बोहराले जानकारी दिए । अहिले तीनै जना कारागारमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण