शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अघिल्लो वर्ष छोराको हत्या, अर्को सन्तान जन्माउन अस्पताल जाँदा बाबु पक्राउ

मङ्गलबार, ०६ साउन २०८२, २० : २१
मङ्गलबार, ०६ साउन २०८२

सारांश

  • पोखरामा गत वर्ष फेला परेको नवजात शिशुको हत्यामा संलग्न भएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
  • पोस्टमार्टम रिपोर्टले शिशुको मृत्यु घाँटी र टाउकोमा लागेको चोटका कारण भएको देखाएको थियो।
  • आर्थिक अभावका कारण बच्चा पाल्न नसक्ने भन्दै उनले बच्चाको हत्या गरेको बयान दिएका छन्।

पोखरा । गत वर्ष पोखराको चाउथेमा नवजात शिशुको शव जेब्रा झोलामा भेटियो । गत असोज १३ गते फालिएको अवस्थामा नवजात शिशु (छोरा) को शव फेला परेको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पोस्टमार्टम रिपोर्टले शिशुको मृत्यु घाँटी र टाउकोमा लागेको चोटका कारण भएको देखाएको थियो । प्रहरीले घटनाको अनुसन्धान गर्दै थियो ।

झण्डै एक वर्षपछि घटनाको रहस्य खुल्यो । घटनाको रहस्य मात्रै खुलेन, हत्या गरेको आरोपमा उनकै बाबु पक्राउ परे । नुवाकोट स्थित बेलकोटगढी नगरपालिका–५ स्थायी घर भई हाल पोखरा–९, नागढुंगा बस्ने ३७ वर्षीय गोविन्द लामिछाने पक्राउ परेका हुन् । संयोग, लामिछाने पक्राउ परेकै दिन उनकी श्रीमतीले अर्को सन्तान जन्माएकी छिन् ।

‘आर्थिक अभाव भएको कारण बच्चा पाल्न सकिन्नँ भनेर फालेको बयान उनले दिएका छन् । बच्चा जन्मिएर डिस्चार्ज हुने बित्तिकै श्रीमतीको असहमतिका बाबजुद मारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले भने, ‘जन्मनुभन्दा अघि पनि उनले बच्चा फाल्न श्रीमतीलाई आग्रह गरेका रहेछन् । श्रीमतीले नमानेको देखियो ।’

लामिछाने पक्राउ परेको आइतबार उनकी श्रीमतीले अर्को सन्तानलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जन्म दिएकी छिन् । उनी श्रीमतीलाई सुत्केरी बेथा लागेर अस्पताल आएका बेला पक्राउ परेका हुन् । ‘श्रीमती सुत्केरी गराउन ल्याउँदा पक्राउ गरेका छौँ,’ ओलियाले भने ।

पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 

घटनामा अन्य व्यक्तिको संलग्नता र हत्याको कारणबारे थप अनुसन्धान भइरहेको डिएसपी हरिबहादुर बस्नेतले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप