बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

भैरहवा भन्सार : राजस्व असुलीमा सुधार, आयात–निर्यातको अवस्था के छ ?

बुधबार, ०७ साउन २०८२, ०६ : ४०
बुधबार, ०७ साउन २०८२

सारांश

  • भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ९५ अर्ब १९ करोड राजस्व संकलन गरेको छ, जुन लक्ष्यको ८७.०७ प्रतिशत हो।
  • गत आर्थिक वर्षको तुलनामा राजस्व असुलीमा १७.७५ प्रतिशत वृद्धि भएको छ, जसमा मोटरसाइकल र भटमासको तेलको आयात/निर्यात मुख्य योगदानकर्ता रहेका छन्।
  • भन्सार कार्यालयले आगामी आर्थिक वर्षका लागि १ खर्ब १३ अर्बको नयाँ राजस्व लक्ष्य लिएको छ, र प्रत्येक महिना असुलीका विभिन्न रणनीति अपनाइएकाले सुधार भएको जनाएको छ।

बुटवल । भैरहवा भन्सार कार्यालयले आर्थिक २०८०/०८१ भन्दा २०८१/०८२ मा  राजस्व  असुलीमा सुधार गरेको छ । २०८१/०८२ मा यस कार्यालयले १ खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । जसमा ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार असुली गरेको छ । यो लक्ष्यको ८७ दशमलव ०७ प्रतिशत हो ।

 आव ०८०/०८१ मा भने ८० अर्ब ८४ करोड १७ लाख ४८ हजार रुपैयाँ राजस्व संलकन भएको थियो  । भन्सार कार्यालय  सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका आव ०८०/०८१ भन्दा गत लक्ष्यको नजिक राजस्व संलकन भएको बताए । 

२०८०/०८१ को तुलनामा असुलीमा १७.७५ प्रतिशत वृद्धि  भएको उनले बताए । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नयाँ लक्ष्य १ खर्ब १३ अर्ब दिइएको पनि उनले जानकारी दिए । 

उनका अनुसार यस भन्सार भएर गत वर्ष सबैभन्दा धेरै मोटरसाइकल आयात भएका थिए भने भटमासको तेल सबैभन्दा धेरै निर्यात भएको देखिएको छ । 

२०८१/८२ मा १६ अर्ब ९१ करोड ८५ लाख ४४ हजारका मोटरसाइकल आयात भएका छन् । सबै प्रकारका गरी १ लाख ४४ हजार १ सय ९४ थान मोटरसाइकल आयात भएका भन्सार कार्यालयले जनाएको छ । यसबापत १७ अर्ब २१ करोड २१ लाख २७ हजार राजस्व सङ्कलन गरिएको छ । दोस्रो नम्बरमा जिप, कार, भ्यान छन् । 

गत वर्ष ४ अर्ब १५ करोड १५ लाख ३८ हजारका ३ हजार ७ सय ६१ थान यस्ता सवारीसाधन आयात भएका छन् । यसबाट १० अर्ब ३५ करोड ४७ लाख ९६ हजार रुपैयाँ राजस्व असुली भएको देखिन्छ  । 

त्यस्तै ६ अर्ब ८९ करोड ११ लाख ९ हजार मूल्यको ७० हजार लिटर पेट्रोल आयातबाट ३ अर्ब ९७ करोड १५ लाख ६८ हजार राजस्व सङ्कलन भएको छ । 

असुलीमा योगदान गर्ने अन्य प्रमुख वस्तुमा विद्युतीय सवारीका साधन, डबल पिकअप गाडी, फलाम, मोबाइल/टेलिफोन, एमएस बिलेट, चकलेट र एलपी ग्यास रहेका सूचना अधिकारी चौधरीले बताए । प्रमुख १० वस्तुको राजस्वमा योगदान ४४ अर्ब ८८ करोड ५३ लाख २७ हजार रहेको छ । यो कुल राजस्व असुलीको ४७ दशमलव १५ प्रतिशत हो ।

 कुन महिनाको अवस्था कस्तो ? 

rrrrrrrrrrr

भैरहवा भन्सार कार्यालयमा आर्थिक वर्षमा २०८०/०८१ मा भन्दा २०८१/८२ भन्सार सुधार १७.७५ प्रतिशतले भएको देखाउँछ । 

भन्सार कार्यालयको विवरणअनुसार असुली प्रतिशतका आधारमा हेर्ने हो भने आव ०८०/०८१ मा सबैभन्दा धेरै साउनमा (७८ दशमलव ३०) भएको छ  भने सबैभन्दा कम ४२ दशमलव ०९ प्रतिशत कात्तिकमा छ । आर्थिक वर्ष ८०८१/८२ मा भने असोज महिनामा लक्ष्यभन्दा धेरै (१०० दशमलव ३९) प्रतिशत असुली भएको देखिन्छ । त्यस्तै गत आर्थिक वर्षमा फागुनमा सबैभन्दा कम राजस्व असुली भएको छ । फागुनमा ७९ दशमलव २१ प्रतिशत राजस्व सङ्कलन भएको छ । 

आव ०८०/०८१ भन्दा २०८१/८२ का हरेक महिनामा असुली लक्ष्य प्रतिशत वृद्धि भएको देखिन्छ । सोही आधारमा सुरुदेखि नै प्रत्येक महिना असुलीका विभिन्न रणनीति अपनाइएकाले सुधार गर्न सफल भएको सूचना अधिकारी चौधरी बताउँछन् । 

मुख्य १० बस्तुको नियार्तको अवस्था  

२०८१/८२ मा भैरहवा भन्सारका कार्यालय भएर ६ अर्ब ९८ करोड १७ लाख ७५ हजारको भटमासको प्रशोधित तेल निर्यात भएको देखिन्छ । त्यसपछि सेन्थेटिक यार्न ३ अर्ब ४९ करोड ९२ हजार ६४ हजारको भएको भन्सार कार्यालयको तथ्याङ्कमा छ । 

यस्तै सिमेन्ट खैरो १ अर्ब ४७ करोड ८ लाख ३७ हजार, खयर कत्था ९२ करोड २२ लाख ७७ हजार, पिना ८३ करोड ४३ लाख १५ हजार, फलाम ७३ करोड ६२ लाख ५८ हजार, चाउचाउ ७२ करोड २५ लाख ७५ हजार निर्यात भएको छ । 

यस नाका भएर निर्यात हुने १० मुख्य वस्तुभित्र जडीबुटी पनि परेको छ । ०८१/८२ मा ६५ करोड ६२ हजार ५७ हजार रुपैयाँको जडीबुटी निर्यात भएको छ । यस्तै खोटो ५२ करोड ५२ लाख ३ हजार र प्लाइ–उड ५१ करोड ५४ लाख २३ हजार रुपैयाँको निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका लुम्बिनी प्रदेश संयोजक हुन् । 

लेखकबाट थप