शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चोभारको गल्छी : जल निकासको प्राकृतिक मार्गमा आधुनिक संकट

बुधबार, ०७ साउन २०८२, १५ : १३
बुधबार, ०७ साउन २०८२

सारांश

  • चोभारको गल्छी काठमाडौं उपत्यकाको जल निकासको महत्त्वपूर्ण मार्ग हो, तर यसले सहरीकरणका चुनौतीहरू सामना गरिरहेको छ।
  • गल्छीको संरक्षणका लागि स्थानीय, क्षेत्रीय र केन्द्रीय तहमा समन्वय, वैज्ञानिक अनुसन्धान र दिगो योजना आवश्यक छ।
  • स्थानीय बासिन्दाले गल्छीमा भइरहेका विकासका कार्यहरूमा असन्तुष्टि जनाएका छन्, जसले यसको ऐतिहासिक र पारिस्थितिक संरचनामा असर पार्न सक्छ।

चोभारको गल्छी काठमाडौं उपत्यकाको जल निकासको दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ । यो उपत्यकाकफ जल निकासको एक मात्र प्राकृतिक मार्ग पनि हो । उपत्यकाको समग्र भूक्षेत्रबाट सञ्चित हुने वर्षा तथा भूजल यही गल्छीमार्फत बागमती नदीमा मिसिन्छ र बाहिर निस्कन्छ ।

साँघुरो, पत्थरिलो तथा उबडखाबड भूसंरचना बोकेको यो गल्छी, कैयौं शताब्दीदेखि उपत्यकाको मौन जल व्यवस्थापकको भूमिकामा अविचलित रहिआएको छ । 

गल्छीको छेउमा अवस्थित जल विनायक मन्दिर यस भौगोलिक स्थलको धार्मिक र सांस्कृतिक महत्त्वको जीवन्त प्रतीक हो । युगौँदेखिका सामाजिक रूपान्तरण तथा समयको बहावको मौन साक्षीका रूपमा उभिएको यो गल्छी तथा मन्दिरले स्थानीय समुदायको धार्मिक आस्था, परम्परा र सांस्कृतिक चेतनालाई दृढ बनाउँदै आएको छ । मन्दिरको शान्त र स्थिर उपस्थितिले गल्छीप्रतिको श्रद्धा अझ प्रगाढ तुल्याएको देखिन्छ, जसले समग्र वातावरणलाई एक आध्यात्मिक अनुभूतिमा रूपान्तरण गर्छ । 

चोभारको गल्छीसँग सम्बन्धित पौराणिक आख्यान आज पनि स्थानीय जनमानसमा जीवित छ । जनश्रुतिअनुसार, प्राचीन समयमा काठमाडौं उपत्यका एक विशाल तालले भरिएको थियो । सो अवस्थामा मानवीय बास असम्भव मानिन्थ्यो । त्यहीबेला बोधिसत्व मञ्जुश्रीले आफ्नो दिव्य खड्गद्वारा चोभारको डाँडो चिरेर उक्त तालको पानी बाहिर निकालेको किम्वदन्ती छ । 

उक्त आख्यान केवल धार्मिक किम्वदन्ती मात्र नभई काठमाडौं उपत्यकाको भूगोल, जल व्यवस्था, सभ्यता तथा सांस्कृतिक विकासको एक प्रतीकात्मक सन्देश बोकेको अभिलेख हो । त्यसैले पनि चोभार गल्छी पौराणिक आख्यान, ऐतिहासिक अवलोकन र पर्यावरणीय यथार्थबीचको संगमस्थल हो ।

गल्छीको किनारमा उभिँदा मानवीय अनुभूति यसरी सञ्चारित हुन्छ, यो केवल जलको मार्ग होइन, समय स्वयंको प्रवाह हो, जसले सभ्यताको गतिशील कथा निरन्तर बहन गर्दै आएको छ । छेउमै अवस्थित जलविनायक मन्दिर पनि युगौँदेखि बहिरहने पानी, बदलिँदो समाज र ऐतिहासिक चरणहरूको साक्षी बनेर मौन रूपमा उपस्थित रहेको अनुभूति गराउँछ ।

यो गल्छी केवल एक भौगोलिक संरचना होइन, नेपाली सभ्यता, धर्म, इतिहास, संस्कृति र आस्थाको समृद्ध संगम हो । यस स्थलमा पौराणिक आख्यान, प्राकृतिक प्रवाह, धार्मिक आस्था तथा सामाजिक–सांस्कृतिक इतिहास एकैसाथ समाहित छन् । गल्छी नहुने हो भने काठमाडौं उपत्यका आज पनि एक विशाल तालकै रूपमा अस्तित्वमा हुने सम्भावना प्रवल हुनेथियो ।

चोभारको गल्छी नजिकैको जल विनायक मन्दिरले यस स्थललाई धार्मिक श्रद्धा तथा सांस्कृतिक सम्प्रेषणको केन्द्रका रूपमा स्थापित गरेको छ । जहाँ श्रद्धालुहरूले युगौँदेखि आस्था, शुद्धता र पवित्रताको अनुभूति गर्दै आएका छन् ।

Chobhar Temple

हिमाल सिमेन्ट कारखाना स्थापना हुनुअघि खिचिएको जल विनायक मन्दिर  । तस्वीर : सामाजिक सञ्जाल

पर्यावरणीय दृष्टिकोणले हेर्दा यस गल्छीले बाढी नियन्त्रण, पारिस्थितिक सन्तुलन तथा प्राकृतिक जलप्रवाहको संरक्षणमा महत्वपूर्ण भूमिका छ । भूगोल, संस्कृति, पुरातत्त्व तथा जलस्रोत व्यवस्थापनप्रति रुचि राख्नेहरूका लागि चोभार एक महत्वपूर्ण अध्ययन तथा पर्यटनस्थलको रूपमा विकसित हुनसक्ने अपार सम्भावना बोकेको छ ।

यसरी हेर्दा चोभारको गल्छी बहुआयामिक महत्त्व बोकेको एक अद्वितीय ऐतिहासिक, सांस्कृतिक तथा पर्यावरणीय सम्पदा हो, जसको संरक्षण गर्नु हाम्रो वर्तमानको कर्तव्य र भविष्यको उत्तरदायित्व हो । यसको संवर्द्धन र संरक्षणमा सामूहिक सहभागिता आवश्यक छ, जसबाट हामी हाम्रो सम्पदा, संस्कार र सभ्यतालाई दीर्घकालसम्म जोगाइराख्न सक्नेछौँ ।

युगौँदेखि काठमाडौं उपत्यकाको मौन जल व्यवस्थापकका रूपमा रहँदै आएको चोभारको गल्छी आज गम्भीर संकटको सामना गरिरहेको छ । यस प्राकृतिक सम्पदाले उपत्यकाको जल निकास, सांस्कृतिक निरन्तरता तथा ऐतिहासिक स्मृतिमा बहुमूल्य योगदान दिँदै आए पनि हाल यसले तीव्र सहरीकरण, अनियन्त्रित जनसंख्या वृद्धि, अव्यवस्थित फोहोर व्यवस्थापन र पर्यावरणीय प्रदूषण जस्ता आधुनिक चुनौतीहरूको भार वहन गरिरहेको छ ।

काठमाडौं उपत्यकाको तीव्र भौगोलिक विस्तार र संरचनात्मक हस्तक्षेपले चोभार गल्छीको प्राकृतिक भू–परिस्थिति कमजोर बनाउँदै लगेको छ । गल्छीमा खुला ढल र प्लास्टिकजन्य फोहोरको निरन्तर प्रवाहले प्राकृतिक जलप्रवाहलाई बाधा उत्पन्न गरेको छ । जसले बहावमा असन्तुलन पैदा गरेको छ । साथै, पारिस्थितिक सन्तुलनमा क्षति पुगेको छ भने धार्मिक, सांस्कृतिक गरिमामा पनि संकट पुर्‍याउन सक्छ । 

चोभारको गल्छीको संरक्षण केवल प्राकृतिक वातावरणको आवश्यकता मात्र होइन, यो राष्ट्रिय सांस्कृतिक स्वाभिमान र ऐतिहासिक उत्तरदायित्वसँग गहिरो रूपमा गाँसिएको विषय हो । यस क्षेत्रको अद्वितीय भौगोलिक बनावटलाई ध्यानमा राख्दै दीर्घकालीन संरक्षणका लागि स्थानीय, क्षेत्रीय र केन्द्रीय तहबीच प्रभावकारी समन्वय, वैज्ञानिक अनुसन्धान र संस्थागत प्रतिबद्धता अपरिहार्य छ । संरक्षणका नारामा सीमित नभई व्यावहारिक कार्यान्वयनसहितका समावेशी योजनाहरू अघि बढाइनु आजको आवश्यकता हो ।

समयमै वैज्ञानिक अध्ययन, जनसहभागी योजना र दिगो कार्यान्वयनको मार्ग अपनाइएन भने भावी पुस्ताले चोभार गल्छीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक समृद्धि र पारिस्थितिक सन्तुलन अनुभव गर्ने अवसर गुमाउनेछ । त्यसैले यसको संरक्षण साझा उत्तरदायित्व हो । 
काठमाडौं उपत्यकाको जल निकासको एक मात्र प्राकृतिक मार्ग मञ्जुश्री गल्छीमा स्थानीय चासो र समन्वयको खाँचो आवश्यक छ । 

पछिल्ला वर्षहरूमा चोभार गल्छीको अवस्था सुधार गर्न केही सरकारी प्रयासहरू देखापरेका छन् । ललितपुर महानगरपालिका–१८ र कीर्तिपुर नगरपालिका–६ ले संयुक्त रूपमा बागमती सभ्यता एकीकृत विकास समितिलाई चोभार क्षेत्रमा पहिरो नियन्त्रण, खोला व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि औपचारिक आग्रह गरेका थिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा प्रस्ताव पेस गरिएपछि बागमती सभ्यता समितिले गल्छीभित्र रहेका पाँचवटा ठूला ढुंगालाई वैज्ञानिक तरिकाले हटाउने निर्णय गरेको थियो ।

व्यावहारिक कार्यान्वयनमा देखिएको हतारो, अस्पष्ट प्रक्रिया, विस्तृत अध्ययनको कमी र स्थानीय समुदायसँगको समुचित परामर्श अभावले जनस्तरमा गहिरो असन्तोष र विरोधको वातावरण सिर्जना गर्‍यो । ललितपुर र कीर्तिपुर क्षेत्रका बासिन्दाले चोभारको ऐतिहासिक, सांस्कृतिक तथा पारिस्थितिक संरचनामा अपूरणीय क्षति पुग्न सक्ने गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

स्थानीय नागरिकको धारणाअनुसार समस्या केवल ढुंगा हटाउने विषयमा सीमित छैन, नदी र खोलाको अतिक्रमण, फोहोर व्यवस्थापनमा लापरवाही र विकास योजनामा दीर्घकालीन सोचको अभाव पर्छन् । ढुंगा हटाउने कार्यले सम्भावित बाढी, भू–स्खलन वा अन्य पारिस्थितिक असन्तुलन निम्त्याउन सक्ने जोखिमलाई पूर्णरूपमा नकार्न सकिँदैन । यस्ता कार्यले तत्कालीन समाधान दिने भए पनि दीर्घकालीन रुपमा ठूलो क्षति निम्त्याउन सक्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरजंग गुरुङ
नरजंग गुरुङ
लेखकबाट थप