शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

समग्र शिक्षा अर्थात् जीवन–व्यवहारसँग जोडिएको शिक्षा

बुधबार, ०७ साउन २०८२, १९ : ३५
बुधबार, ०७ साउन २०८२

समग्र शिक्षा (हलिस्टिक एजुकेसन) यस्तो शैक्षिक दर्शन हो, जसले व्यक्तिको सम्पूर्ण विकासलाई लक्षित गर्छ । समुदायसँगको सम्बन्ध, प्रकृतिसँगको अन्तर्क्रिया र करुणा तथा शान्तिजस्ता आध्यात्मिक मूल्यमार्फत मान्छेले आफ्नो पहिचान, जीवनको अर्थ र उद्देश्य प्राप्त गर्छ भन्ने मान्यता यस दर्शनले राख्छ ।

रोबिन एन. मार्टिन (२००३) का अनुसार अनुभवजन्य शिक्षामा केन्द्रित दृष्टिकोण, सिकाइको प्रक्रियामा मानवीय सम्बन्धहरूको सशक्त उपस्थिति तथा आधारभूत मूल्यहरूप्रतिको गहिरो सम्मान नै समग्र शिक्षाका विशेषता हुन् । 

‘होलिजम्’ भन्ने अवधारणाले कुनै पनि प्रणालीका अंशलाई पृथक् रूपमा होइन, सम्पूर्ण प्रणालीकै सन्दर्भमा बुझ्नुपर्छ भन्ने अर्थ दिन्छ । यस दृष्टिकोणले मानव सम्भावनालाई संकुचित नगरी विविध अर्थ र अनुभवका तहहरूसँग जोडेर बुझ्न खोज्छ ।

समग्र शिक्षाको उद्देश्य विद्यार्थीलाई शैक्षिक रुपमा सफल बनाउने मात्र होइन, जीवनका विविध चुनौतीसँग जुध्न तयार बनाउनु समेत हो । यस शिक्षाले विद्यार्थीको व्यावहारिक अनुभवलाई जोड दिन्छ । सिक्ने व्यक्तिको बौद्धिक, भावनात्मक, सामाजिक, शारीरिक, कलात्मक, सिर्जनात्मक र आध्यात्मिक पक्षहरूको एकीकृत विकासमा समग्र शिक्षा आधारित छ । समग्र शिक्षामा शिक्षा केवल पाठ्यपुस्तकको सामग्री होइन, सम्पूर्ण मानव विकासको साधन बन्न पुग्छ ।

समग्र शिक्षाको अवधारणा भनेको मानव अस्तित्वका विविध आयाम (बौद्धिक, भावनात्मक, सामाजिक, शारीरिक, सिर्जनात्मक र आध्यात्मिक पक्ष) बिचको गहिरो सम्बन्धलाई आत्मसात् गर्दै सिकाइलाई जीवन–व्यवहारसँग जोड्ने प्रयास हो । यसले विद्यार्थीलाई केवल परीक्षा पास गर्ने औजारका रुपमा नभई सम्पूर्ण व्यक्तित्व भएका मानवका रूपमा हेर्छ; जसले आफैँलाई बुझ्ने, अरूसँग सम्बन्ध बनाउने, प्रकृतिसँग जोडिने र सहानुभूति तथा करुणाजस्ता आध्यात्मिक मूल्य आत्मसात् गर्न आवश्यक ठान्छ । 

समग्र शिक्षा सधैँ महँगो प्रयोगशालामा निर्भर हुँदैन । लोककथन, नृत्य, स्थानीय बोटबिरुवाको अध्ययन, सामुदायिक नक्सांकन वा स्थानीय वृद्धवृद्धासँग अन्तर्वार्ताजस्ता अभ्यासले बालबालिकालाई अत्यन्त कम खर्चमा उच्चस्तरीय सिकाइमा संलग्न गराउन सक्छन् ।

शिक्षा सम्बन्धी उपर्युक्त विचारहरू केवल सैद्धान्तिक कल्पना होइनन् यसका अभ्यास विश्वका थुप्रै शिक्षा पद्धतिमा पाइन्छन् । फिनल्यान्ड, क्यानडा, न्युजिल्यान्डजस्ता देशमा शिक्षालाई विद्यार्थीको सम्पूर्ण विकासको माध्यमका रूपमा बुझिन्छ; जहाँ अनुभवमा आधारित र विद्यार्थीलाई समग्र रुपमा विकास गर्ने शिक्षालाई पाठ्यक्रममा समेटिएको हुन्छ । प्रविधिमा अत्यधिक निर्भरता, मानसिक स्वास्थ्यसम्बन्धी चुनौतीहरू र सामाजिक असमानताजस्ता समस्या ती मुलुकमा पनि देखिन्छन् । यसैले समग्र शिक्षाको अवधारणा कार्यान्वयन गर्न निरन्तर समालोचना र स्थानीय सन्दर्भसँगको गहिरो संवाद आवश्यक हुन्छ ।

नेपालको सन्दर्भमा समग्र शिक्षाको आवश्यकता अझ तीव्र रूपमा महसुस गर्न सकिन्छ । पछिल्ला केही दशकमा शिक्षामा पहुँच र लैङ्गिक समताका सूचकमा सुधार आएको भए पनि गुणस्तरीय शिक्षा, समावेशी अभ्यास र जीवनोपयोगी ज्ञानको अभाव देखिन्छ । 

नेपाली विद्यालय अझै पनि रटानमुखी पद्धतिमा केन्द्रित छन्, जहाँ विद्यार्थीको मूल्यांकन मुख्यतः परीक्षामा प्राप्त अङ्कका आधारमा गरिन्छ । शिक्षकहरू प्रायः व्याख्यानमुखी ढाँचामा पढाउँछन् । प्रश्न गर्ने वा आफ्नै अनुभवसँग पाठलाई जोड्ने अवसर विद्यार्थीलाई निकै कम दिइन्छ । परिणामस्वरूप विद्यालय केवल कक्षा पास गर्ने थलोमा सीमित रहन्छ न कि सिर्जनशील, सोच्ने, अनुभूत गर्ने र जिम्मेवार नागरिक उत्पादन गर्ने स्थलका रूपमा । त्यसैले हाम्रो सन्दर्भमा समग्र शिक्षा परिवर्तनको विकल्प होइन, आवश्यकता हो । 

नेपालका किशोरकिशोरी आज तनाव, असमर्थता र आत्मपहिचानको अभावको समस्यामा परेका छन् । प्रत्येक वर्ष आत्महत्या गर्ने युवाको संख्या बढ्दो छ, शिक्षालयमा मानसिक स्वास्थ्यका विषय गम्भीरतापूर्वक नलिइने प्रवृत्ति छ । समग्र शिक्षाले विद्यार्थीलाई आत्मचिन्तन गर्ने, ध्यानको अभ्यास गर्ने र सहानुभूतिपूर्ण संवाद गर्ने बनाउँछ । विद्यार्थीलाई केवल किताबी ज्ञान होइन आफूभित्रका अनुभव, भावना र आकांक्षासँग संवाद गर्ने क्षमता पनि विकास गर्न प्रेरित गर्छ ।

हामीकहाँ शिक्षा प्रणाली सैद्धान्तिक र परीक्षा केन्द्रित छ । अभ्यासात्मक शिक्षण, परियोजनामा आधारित सिकाइ र आत्ममूल्यांकनजस्ता विधि सिकाउने गरिँदैन । समग्र शिक्षालाई सार्थक बनाउन शिक्षकहरूलाई नयाँ सोच, सिर्जनशीलता, आत्मचिन्तन र सहकार्यमा आधारित तालिम आवश्यक छ । यसका लागि प्रदेशस्तरबाट शिक्षक विकास कार्यक्रमको थालनी गर्नु आवश्यक छ ।

समग्र शिक्षाका अभ्यासहरू विद्यालयको पाठ्यक्रम र मूल्यांकन प्रणालीमा पनि देखिनुपर्छ । हामीकहाँ अझै पनि कला, संगीत वा खेलकुदका विषयलाई अतिरिक्त क्रियाकलापका रूपमा लिइन्छ, खासै महत्त्व दिइँदैन । समग्र पाठ्यक्रम भनेको विषयहरूको समायोजन मात्र होइन विज्ञानको शिक्षालाई वातावरणीय कार्यमा, गणितलाई सहकारी व्यवसायको अवधारणामा, सामाजिक शिक्षालाई सामुदायिक इतिहास वा जातीय सम्पदासँग जोडेर सिकाउने अभ्यास हो । यस्तो अभ्यासले सिकाइलाई वास्तविक जीवनसँग जोड्छ, उनीहरुलाई आफ्नै समुदायप्रतिको उत्तरदायित्वबोधको भावना पनि विकास गराउँछ ।

परीक्षा प्रणालीको सुधार समेत समग्र शिक्षाका लागि अपरिहार्य छ । जबसम्म विद्यार्थीको मूल्यांकन केवल वार्षिक परीक्षाका अङ्कमा सीमित रहन्छ, तबसम्म परियोजनामा आधारित सिकाइ, भावनात्मक साक्षरता वा सामाजिक सेवाको अनुभवलाई पक्षपोषण गर्न कठिन हुन्छ । नेपालले यसतर्फ केही पाइला त चालेको छ तर त्यतिले पुग्दैन, अझ गम्भीर रूपमा दीर्घकालीन योजना तयार गरेर अगाडि बढ्न आवश्यक छ । यस्तै परियोजना मूल्यांकन, पोर्टफोलियो, सहपाठी मूल्यांकन र आत्ममूल्यांकनजस्ता विधिलाई संस्थागत रूप दिन आवश्यक छ । 

स्रोत–साधनको अभाव समग्र शिक्षाका विरुद्ध उठाइने एउटा आम तर्क हो । समग्र शिक्षा सधैँ महँगो प्रयोगशालामा निर्भर हुँदैन । लोककथन, नृत्य, स्थानीय बोटबिरुवाको अध्ययन, सामुदायिक नक्सांकन वा स्थानीय वृद्धवृद्धासँग अन्तर्वार्ताजस्ता अभ्यासले बालबालिकालाई अत्यन्त कम खर्चमा उच्चस्तरीय सिकाइमा संलग्न गराउन सक्छन् । विद्यालयका भित्तामा आफ्नै सिर्जनालाई प्रदर्शन गर्ने, समूहमा सहकार्य गरेर समाधान निकाल्ने, वा गाउँको खोलाको सरसफाइको योजना बनाउनेजस्ता गतिविधिले विद्यार्थीमा नेतृत्व, संवेदनशीलता र समाधान केन्द्रित सोचको विकास गर्छ ।

संस्कृतिगत रूपमा पनि समग्र शिक्षाले पश्चिमी प्रभाव मात्र बोकेको आरोप लगाइन्छ । हामीकहाँ मौलिक शिक्षा प्रणाली नभएका होइनन् । गुरुकुल परम्परा, बौद्ध शिक्षा, विभिन्न जातीय समुदायमा एक पुस्ताबाट अर्को पुस्तामा सर्ने ज्ञानलाई हामीले उपेक्षा गर्नु हुँदैन । समग्र शिक्षाले त्यस्ता अभ्यासबाट पनि केही लिने प्रयत्न गर्छ । त्यसैले समग्र शिक्षालाई विदेशी अवधारणा भनेर अस्वीकार गर्नु उपयुक्त होइन ।

वैश्विक अर्थतन्त्र र प्रविधिको विकास सन्दर्भमा पनि समग्र शिक्षालाई कमजोर दृष्टिकोण मानिन्छ, खासगरी प्रतिस्पर्धी दक्षता नआउने चिन्ताले । आजको विश्वमा प्रविधि मात्र होइन सहकार्य, आलोचनात्मक सोच, भावनात्मक बुद्धिमत्ता र अनिश्चिततासँग जुध्न सक्ने क्षमता आवश्यक छ । यी सबै दक्षता समग्र शिक्षाले नै सशक्त रूपमा प्रदान गर्न सक्छ । नेपालजस्तो मुलुकले भविष्यमा सिर्जनशील उद्योग, सामाजिक उद्यमशीलता र वातावरणमैत्री व्यवसायको नेतृत्व गर्नका लागि समग्र शिक्षा प्रमुख आधार बन्न सक्छ ।

प्रविधिको प्रयोगमा समेत समग्र शिक्षाको दृष्टिकोण आवश्यक छ । प्रविधि केवल सामग्री उपभोगको साधन बन्नु हुँदैन यसलाई सिर्जना, खोज, संवाद र समाधानको साधनका रूपमा प्रयोग गरिनुपर्छ । जस्तो ः विद्यार्थीले मोबाइल फोनमार्फत स्थानीय भाषामा रेडियो कार्यक्रम तयार गर्न सक्छन् । यस्तै अनलाइन सर्भे गरेर आफ्नै गाउँको आवश्यकता बुझ्न सक्छन् । त्यस्तो कार्य सिकाउनका लागि शिक्षकहरू पनि तालिमप्राप्त हुनुपर्छ । 

समग्र शिक्षा केवल विद्यालयको कुरा होइन यो समाज, राज्य र सम्पूर्ण शिक्षा प्रणालीको दर्शनसँग सम्बन्धित छ । हामी शिक्षालाई जीवनसापेक्ष, मूल्यमा आधारित र सामुदायिक उत्तरदायित्वसँग गाँसिएको प्रक्रियाका रूपमा हेर्छौं भने समग्र शिक्षा नेपालको सामाजिक पुनर्निर्माणको आधार बन्न सक्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डम्मर सिंह साउद
डम्मर सिंह साउद
लेखकबाट थप