विदेशी आहारपूरक आयातले स्वदेशी उद्योग मर्कामा
सारांश
- विदेशी सप्लिमेन्टको आयातले स्वदेशी उद्योगीहरू समस्यामा परेका छन्, जसले प्रतिस्पर्धा गर्न कठिनाइ भएको गुनासो गरेका छन्।
- उद्योगीहरूले राज्यबाट आवश्यक सहयोग र समन्वय नपाएको तथा गुणस्तरहीन सप्लिमेन्टले जनस्वास्थ्यमा असर गर्ने कुरा उठाएका छन्।
- वीरगञ्ज उद्योग वाणिज्य संघले स्वदेशी उद्योगलाई प्रवर्द्धन र संरक्षण गर्ने नीति बनाउनुपर्ने र कच्चा पदार्थमा छुट दिनुपर्ने माग गरेको छ।
पर्सा । विदेशी मुलुकबाट आहारपूरक (डाइटरी सप्लीमेन्ट) को आयातले स्वदेशी उद्योग समस्यामा परेका छन् । विदेशबाट आयात भएका आहारपूरकसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न समस्या भइरहेको उद्योगीहरूले गुनासो गरेका छन् ।
मानव शरीरमा सन्तुलित आहारको कमीलाई परिपूर्ति गर्नका लागि डाइटरी सप्लीमेन्ट लिने गरिन्छ । बारा–पर्सा औद्योगिक कोरिडोरमा आहारपूरक ‘जयश्री हेल्थ केयर’ उद्योग सञ्चालन गर्दै आएका साकेत क्यालले विदेशी मुलुकबाट आयातित यस्ता उत्पादनका कारण स्वदेशी उद्योगलाई समस्या भएको बताए ।
आफूले रु ४० करोड लगानी गरेर आहारपूरक उद्योग सञ्चालनमा ल्याए पनि जथाभाबी आयात गरिने वस्तु र स्वदेशमा आवश्यक सहयोग नहुँदा समस्या भएको उनको गुनासो छ । सञ्चालक क्यालले भने, “राज्यका निकायबाट आवश्यक सहयोग र समन्वय नहुँदा स्वदेशी उद्योग मर्कामा पर्दै आइरहेका छन् । विदेशबाट भित्रिएका गुणस्तरहीन आयातित सप्लिमेन्टले जनस्वास्थ्यमा समेत गम्भीर असर पार्न सक्छन् । यसतर्फ सरोकार भएका निकायको ध्यान जान जरुरी छ ।”
आहारपूरक सामग्रीको नियामक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हो, तर कार्यालयसँग पर्याप्त मात्रामा जनशक्ति र प्राविधिक नहुँदा पनि आवश्यक समन्वय गर्न समस्या भइरहेको छ ।
जयश्री हेल्थ केयर उद्योगका सञ्चालक क्याल विदेशबाट जभाभावी आयात हुँदै आएका यस्ता सामग्री दर्ता नहुने र कतिपय अवस्थामा स्वीकृतिबिना भित्रिने गरेकाले आवश्यक कानुनी प्रबन्ध गरेर व्यवस्थित गराउनुपर्ने बताउँछन्।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले स्वदेशी उद्योगलाई सरकारले प्रवर्द्धन र संरक्षण गर्ने खालको नीति अवलम्बन गर्नुपर्ने बताए । “स्वदेशी उद्योगले भोग्नुपरेका कानुनी र अन्य प्रक्रियागत झन्झन्टको अन्त्य गर्दै सहजीकरण गर्न जरुरी छ”, उनले भने, “उद्योगीले कच्चापदार्थमा छुट पाउनुपर्ने माग राख्दै आइरहनुभएको छ । यसको सम्बोधन गरिनुपर्छ ।”
सरकारले औषधि उद्योगलाई एक प्रतिशत भन्सार महसुलमा कच्चापदार्थ र प्याकेजिङ सामग्री ल्याउन दिए पनि आहारपूरकलाई भने २० देखि ४० प्रतिशतसम्म भन्सार महसुल र मूल्य अभिवृद्धिकर लाउँदै आएको व्यवसायीको भनाइ छ । औषधिको कच्चापदार्थ जस्तै आहारपूरक कच्चापदार्थ आयातमा सहजीकरण गर्न जरुरी रहेको कतिपयको भनाइ छ ।
यहाँ रहेको जयश्री हेल्थ केयर उद्योगले हाल करिब ५० जनालाई रोजगारी दिँदै आएको छ । करिब ३१ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको उद्योगले आवश्यक कच्चापदार्थ ल्याएर यहाँ करिब ४० प्रकारका आहारपूरक उत्पादन गर्दै आएको छ । यस उद्योगले गत आवमा मात्रै करिब रु ६० लाख मूल्य बराबरको डाइटरी सप्लिमेन्ट बिक्री गरेको जनाएको छ ।
गत वर्ष नेपालमा करिब रु डेढ अर्ब बराबरको आहारपूरक सामग्री आएकाले स्वदेशी उत्पादनलाई प्रोत्साहन गरे आफूहरूजस्ता धेरै उद्योगले आयात प्रतिस्थापनमा सहयोग गर्न सक्ने उद्योगी क्यालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण