शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

२०८४ को निर्वाचन ठुला राजनीतिक दलका लागि कति सुरक्षित ?

बिहीबार, ०८ साउन २०८२, १३ : १८
बिहीबार, ०८ साउन २०८२

नेपाल लोकतान्त्रिक गणराज्यमा प्रवेश गरेपछि नियमित निर्वाचनमार्फत व्यवस्था र सरकार चल्दै आएका छन् । संविधानतः प्रत्येक पाँच वर्षमा आमनिर्वाचन गर्ने व्यवस्था छ, जस अन्तर्गत आगामी २०८४ मा प्रतिनिधिसभाको निर्वाचन हुने सुनिश्चित छ । बदलिँदो राजनीतिक प्रवृत्ति, वैकल्पिक राजनीतिक शक्तिको उदय र पुराना दलहरूप्रति बढ्दो जनअसन्तोषका सन्दर्भमा एउटा महत्त्वपूर्ण प्रश्न उठेको छ— के २०८४ को आमनिर्वाचन ठुला राजनीतिक दलका लागि सुरक्षित छ ? 

नेपालका परम्परागत तीन ठुला दल (कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र)ले विगत तीन दशकदेखि शासनको मूलधार सम्हाल्दै आएका छन् । यिनीहरूले २०४६ पछि बहुदलीय प्रणालीको स्थापनादेखि गणतन्त्रको घोषणा, संविधान निर्माण र संघीय संरचनासम्मको यात्रामा नेतृत्वदायी भूमिका खेलेका छन् । यी दलले पछिल्लो समय जनताको बढ्दो असन्तोष, गुटबन्दी र कमजोर कार्य सम्पादनको आरोप खेप्नु परिरहेको छ । जसका कारण ठुला राजनीतिक दलहरू २०८४ को आमनिर्वाचनमा असुरक्षित देखिएका छन् । 

  • असुरक्षित हुनुकाे प्रमुख कारण

राजनीतिक दलहरूप्रति आम जनताको विश्वास घटेको छ । वाचा र घोषणापत्र कार्यान्वयन नभएको र सुशासन कमजोर भएको अनुभव धेरै नागरिकले व्यक्त गरेका छन् । मतदातामा देखिएको यो ‘राजनीतिक निराशा’ ठुला दलका लागि मुख्य चुनौती हो ।

२०७९ को आमनिर्वाचन र स्थानीय तह निर्वाचनमा वैकल्पिक शक्तिहरू तथा स्वतन्त्र उम्मेदवारको चामत्कारिक उदय देखियो, जसले संकेत गर्दछ कि जनताले वैकल्पिक शक्ति रोज्न थालेका छन् । काठमाडौँ, धरान, धनगढी लगायत ठाउँमा स्वतन्त्र उम्मेदवारले पुराना पार्टीहरूको गढ भत्काएका थिए ।

प्रायः सबै ठुला दल गुटबन्दीले विभाजित छन् । यसले सांगठनिक सशक्तता कमजोर बनाएको छ र चुनावी तयारीमा प्रतिकूल असर पार्न सक्छ । आन्तरिक लोकतन्त्रको अभावले युवापुस्ता र बुद्धिजीवीहरूमा पार्टीहरूप्रति वितृष्णा बढाएको छ ।

अहिलेको युवा पुस्ता प्रश्न गर्ने स्वभावका छन् । राजनीतिक दलहरूको कमजोरी, भ्रष्टाचार र असफलता सामाजिक सञ्जालमार्फत छर्लंग हुने भएकाले परम्परागत चुनावी रणनीति अब पर्याप्त छैनन् ।
ठुला राजनीतिक दलहरूले विगतलाई समीक्षा गरी जनतासँग पुनः जोडिनसके अझै पनि आंशिक अस्तित्व जोगाउन सक्ने देखिन्छ । ठुला दलहरूसँग देशभर सांगठनिक संरचना, पुराना कार्यकर्ता, स्रोत–साधनको पहुँच र प्रचार संयन्त्र बलियो छ । यिनले ग्रामीण भेगमा मतदाता परिचालन गर्न अझै प्रभाव राख्छन् ।

राजनीतिक गठबन्धन नेपालको निर्वाचनमा निर्णायक हुन थालेको छ । २०७९ को निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनले धेरै क्षेत्रमा विजय दिलायो । २०८४ मा पनि ठुला दलहरूले गठबन्धनमार्फत सिट रक्षा गर्ने रणनीति अपनाउने सम्भावना बलियो छ ।

सहरी क्षेत्रमा जनमत परिवर्तन भए पनि ग्रामीण क्षेत्रमा अझै पनि परम्परागत पार्टीप्रति लगाव छ । सांगठनिक पहुँच र स्थानीय नेताहरूको उपस्थितिले पुराना दलहरूलाई गाउँमा बल दिइरहेको छ ।

तथापि २०८४ को आमनिर्वाचन ठुला राजनीतिक दलहरूका लागि बढी असुरक्षित देखिन्छ । जसको कारण हो, नवीन जनअपेक्षा र पुरानो राजनीतिक संरचनाबिचको द्वन्द्व । अझै पनि परम्परागत दलहरूले जनताका गुनासा सम्बोधन गर्दै आफ्ना कमजोरी सच्याउने हो भने प्रतिस्पर्धाका लागि केही सहज हुन सक्छ । अन्यथा वैकल्पिक शक्ति र स्वतन्त्र उम्मेदवारका लागि २०८४ को आमनिर्वाचन अनुकूल हुने सुनिश्चित छ । आफ्नो बिग्रेको छवि जोगाउन ठुला दलहरूले आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने; युवापुस्ता र विज्ञलाई नेतृत्वमा ल्याउने र स्थानीय सरकारमार्फत सेवा प्रवाहमा सुधार ल्याउने हो भने जनविश्वास फर्काउन केही अनुकूल हुने देखिन्छ ।

आफ्नो बिग्रेको छवि जोगाउन ठुला दलहरूले आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने; युवापुस्ता र विज्ञलाई नेतृत्वमा ल्याउने र स्थानीय सरकारमार्फत सेवा प्रवाहमा सुधार ल्याउने हो भने जनविश्वास फर्काउन केही अनुकूल हुने देखिन्छ ।
  • वैकल्पिक शक्तिको उदय 

नेपालमा २०४६ पछिको प्रजातान्त्रिक अभ्यास, २०६२/६३ को दोस्रो जनआन्दोलन, गणतन्त्रको स्थापनासँगै संविधान कार्यान्वयन हुँदै गर्दा देशले धेरैवटा निर्वाचनको अनुभव गरिसकेको छ । पछिल्ला केही निर्वाचनले भने जनताको मतप्रतिको धारणा, राजनीतिक चेतना र भरोसाको आयाम बदलिएको स्पष्ट देखाउँछ । २०७९ को आमनिर्वाचन र स्थानीय तहको निर्वाचनले परम्परागत दलहरूलाई वैकल्पिक शक्तिहरूबाट चुनौती दिइने सम्भावनाको ढोका खोलिदिएको छ । यस्तो परिप्रेक्ष्यमा २०८४ को आमनिर्वाचन नयाँ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लागि अभूतपूर्व अवसरका रूपमा देखापर्न सक्छ ।

२०७९ को निर्वाचन नै नेपालको राजनीतिक इतिहासमा एक निर्णायक मोड साबित भयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जन्मिएको केही महिनामै २० भन्दा बढी सिट जित्नु; स्वतन्त्र उम्मेदवारहरूले काठमाडौँ, धरान, धनगढीजस्ता नगरहरूमा पुराना पार्टीहरूलाई हराउनु; युवाहरूको ध्यान वैकल्पिक नेतृत्वतर्फ मोडिनु— यी सबै परिवर्तनका संकेत हुन् । यसको मूल कारण थियो— जनताको वितृष्णा, विश्वासको ह्रास, सुशासनप्रतिको अपेक्षा र राजनीतिक थकान ।

  • स्वतन्त र नयाँको सम्भावना

पुराना पार्टीहरूले बारम्बार शासन सम्हाले पनि सुशासन, विकास, रोजगारी, शिक्षा, स्वास्थ्यजस्ता सेवा प्रवाहमा असफल भएकाले जनताले नयाँ विकल्प खोज्न थालेका छन् ।

विशेषतः सामाजिक सञ्जालमा सक्रिय युवा पुस्ता, शिक्षित र सहरी वर्ग स्वतन्त्र उम्मेदवार वा नयाँ पार्टीप्रति बढी आकर्षित छन् । उनीहरू पुरानो संरचनाको परिवर्तन चाहन्छन्, नयाँ नेतृत्व खोजिरहेका छन् । सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्महरू र ब्लगमार्फत स्वतन्त्र उम्मेदवारले कम खर्चमा प्रभावशाली सन्देश दिन सक्ने सम्भावना छ । 

सहरी क्षेत्र जहाँ शिक्षा, सूचना र प्रश्न गर्ने राजनीतिक चेतना छ त्यहाँ स्वतन्त्र उम्मेदवारहरूले तुलनात्मक रूपमा राम्रो प्रदर्शन गर्न सक्छन् ।

स्वतन्त्र उम्मेदवार र नयाँ दलहरूका लागि प्रशस्त सम्भावना देखिए पनि केही चुनौती यथावत छन् । जस्तै ः स्वतन्त्र उम्मेदवारहरूमा दीर्घकालीन योजना र सांगठनिक बल कम देखिन्छ । नयाँ पार्टीहरूमा स्पष्ट वैचारिक मार्गचित्र र कार्यान्वयन योजनाको अभाव छ । व्यक्तिगत लोकप्रियता भए पनि संस्थागत निरन्तरताको ग्यारेन्टी कम देखिन्छ ।

काठमाडौं, पोखरा, बुटवल, इटहरी, नेपालगन्जजस्ता सहरहरूमा स्वतन्त्र उम्मेदवार वा नयाँ दल बलियो देखिन सक्छ । ठुला दलप्रतिको आलोचनात्मक मतदान जनताले राजनीतिक असन्तोष व्यक्त गर्न ठुला पार्टीलाई अस्वीकार गर्न सक्ने अवस्था बलियो छ । 

गठबन्धनविरुद्ध स्वतन्त्र लहर गठबन्धन राजनीतिप्रति विरोध गर्ने मतदाताले स्वतन्त्र उम्मेदवारलाई रोज्ने सम्भावना देखिन्छ ।

वैकल्पिक शक्तिहरूको सहकार्य     स्वतन्त्र उम्मेदवार वा नयाँ दलहरूले आपसमा गठबन्धन गरे सिट जित्ने सम्भावना झनै बढ्नेछ ।

२०८४ को आमनिर्वाचन नयाँ राजनीतिक शक्ति र स्वतन्त्र उम्मेदवारहरूका लागि यथार्थपरक अवसर हो । पुराना दलप्रतिको आलोचना, आम जनताको अपेक्षा र प्रविधिको प्रभावशाली प्रयोगले उनीहरूलाई सफल बनाउने आधारहरू निर्माण गरिरहेको छ तर यो अवसर सफल बनाउनका लागि केवल नारा होइन नीति, कार्यक्रम र व्यवहारमा विश्वसनीयता देखाउन आवश्यक छ । जस्तै ः हरेक स्वतन्त्र उम्मेदवार वा नयाँ दलसँग ठोस एजेन्डा र नीति हुनुपर्छ । स्थानीयसँग जोडिएका सानातिना तर महत्त्वपूर्ण विषय उठाउन सक्ने रणनीति अपनाउनुपर्छ । सामाजिक सञ्जाल र साक्षात्कारको प्रभावशाली प्रयोग आवश्यक छ । स्वतन्त्र र नयाँ शक्तिहरू आपसी प्रतिस्पर्धा होइन सहकार्यमा जोड दिनुपर्छ ।

अन्त्यमा, २०८४ को निर्वाचन पुरानो सत्ता र विकल्पबिचको द्वन्द्व मात्र होइन जनताको विवेक र राजनीतिक चेतनाको परीक्षण पनि हो । स्वतन्त्र उम्मेदवार र नयाँ शक्तिले यो अवसरलाई जनताको विश्वास जित्ने अभियानमा बदल्न सक्षम छन् । अतः नेपालको लोकतन्त्र सुदृढ र उत्तरदायी बन्नेछ ।

(जनस्वास्थ्यविद तथा राजनीतिक विश्लेषक ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. तुल्सीराम भण्डारी
डा. तुल्सीराम भण्डारी
लेखकबाट थप