प्रवेश परीक्षाबिनै भर्ना लिने चार कलेज कारबाहीमा
सारांश
- त्रिवि अन्तर्गतको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले प्रवेश परीक्षामा सामेल नभएका विद्यार्थी भर्ना लिने कलेजलाई कारबाही गरेको छ।
- विद्यार्थी संगठनको विरोधपछि डिन कार्यालयले चार निजी कलेजमाथि नयाँ भर्ना रोक्ने निर्णय गरेको हो।
- विराटनगरको विराट मल्टिपल कलेज, धरानको धरान बहुमुखी क्याम्पस लगायत कारबाहीमा परेका छन्।
विराटनगर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले प्रवेश परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई भर्ना लिने चार निजी कलेजलाई कारबाही गरेको छ ।
विद्यार्थी सङ्गठनहरूको विरोध र आन्दोलनको चेतावनीपछि डिन कार्यालयले नियम विपरीत भर्ना प्रक्रिया अघि बढाउने कलेजहरूमाथि कारबाही स्वरूप नयाँ भर्ना रोक्ने निर्णय गरेको हो ।
संस्थानको डिन कार्यालयले एक जरुरी सूचना प्रकाशित गर्दै शैक्षिक सत्र २०८१/०८२ का लागि बि टेक (फुड टेक्नोलोजी) कार्यक्रममा नियम मिचेर भर्ना लिने चार कलेजलाई कारबाही गरिएको जनाएको छ ।
कारबाहीमा पर्ने कलेजहरूमा विराटनगरको विराट मल्टिपल कलेज, धरानको धरान बहुमुखी क्याम्पस, सुनसरीको निलगिरी कलेज र नवलपरासीको नागरिक कलेज रहेका छन् ।
संस्थानका अनुसार यी कलेजहरूले संस्थानले सञ्चालन गरेको प्रवेश परीक्षामा सहभागी नै नभएका विद्यार्थीहरूलाई आफूखुसी भर्ना लिएर त्रिविको नियम र शैक्षिक मर्यादाको उल्लङ्घन गरेका थिए ।
डिन कार्यालयको यो निर्णयअघि अनेरास्ववियू शैक्षिक विभागका उपप्रमुख आशिष बोहोरा र अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय सदस्य भगवान थापाले संयुक्त रूपमा डिन कार्यालयमा एक ज्ञापनपत्र बुझाउँदै कडा कारबाहीको माग गरेका थिए ।
गत असार १९ गते बुझाइएको उक्त पत्रमा विद्यार्थी सङ्गठनहरूले निजी क्याम्पसहरूले गैरजिम्मेवारपूर्ण रूपमा प्रवेश परीक्षा नै नदिई विद्यार्थी भर्ना गर्नु संस्थानसँगको मिलेमतो भएको आरोप लगाएका थिए ।
‘यसबाट त्रिभुवन विश्वविद्यालयमा जे सुकै मिलेमतो चल्छ भन्ने धारणा स्थापित गर्न खोजिएको छ,’ ज्ञापनपत्रमा भनिएको थियो । उनीहरूले यस्तो कार्यको घोर भर्त्सना गर्दै तत्काल छानबिन गरी अवैध भर्ना खारेज गर्न र मिलेमतोमा संलग्न कलेजहरूको सम्बन्धन नै खारेज गर्न माग गरेका थिए ।
विद्यार्थी सङ्गठनहरूले ४८ घण्टाभित्र छानबिन गरी प्रतिवेदन तयार नभएमा डिन कार्यालयमा तालाबन्दी गर्ने र चरणबद्ध आन्दोलनमा जाने चेतावनीसमेत दिएका थिए ।
विद्यार्थी सङ्गठनहरूको दबाबपछि संस्थानको विद्यापरिषद् स्थायी समितिको २०८२ साउन ६ गते बसेको बैठकले कारबाहीको निर्णय गरेको हो ।
डिन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, ‘त्रि.वि. नियमलाई अवज्ञा गरी नियम विपरीत विद्यार्थी भर्ना गरेका ती कलेजहरूमा शैक्षिक वर्ष २०८२/०८३ मा उक्त बि टेक (फुड टेक्नोलोजी) शैक्षिक कार्यक्रममा नयाँ विद्यार्थी भर्ना गर्न नदिने निर्णय भएकोले सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
यद्यपि, डिन कार्यालयको सूचनाले भविष्यमा नयाँ भर्ना रोक्ने निर्णय गरे पनि हाल नियम विपरीत भर्ना भइसकेका विद्यार्थीहरूको भविष्य के हुने भन्नेबारे स्पष्ट पारेको छैन । विद्यार्थी सङ्गठनहरूले भने उक्त भर्ना प्रक्रिया नै रद्द गर्न माग गरेका थिए ।
_0E5OsPMfJR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण