बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
खडेरीको मार

बारा, पर्सा, रौतहट आसपास गत वर्षको तुलनामा २० प्रतिशतमात्रै वर्षा

प्रत्येक वर्ष तापक्रम बढ्दै, वर्षा घट्दै
शुक्रबार, ०९ साउन २०८२, १९ : ००
शुक्रबार, ०९ साउन २०८२

सारांश

  • यस वर्ष बारा, पर्सा र रौतहटमा मनसुनको समयमा गत वर्षको तुलनामा २० प्रतिशत मात्र वर्षा भएको छ।
  • मौसमविद्का अनुसार, जलवायु परिवर्तनका कारण पश्चिमी हावाले बंगालको खाडीबाट आउने बादललाई रोकेकोले मधेस प्रदेशमा वर्षा कम भएको छ।
  • कम वर्षाका कारण यस वर्ष धान रोपाइँ ७०-७५ प्रतिशतमा सीमित भएको छ भने प्रदेश सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ।

बारा । बारा, पर्सा, रौतहट आसपासका क्षेत्रमा गत वर्षको तुलनामा यस वर्ष मनसुनमा २० प्रतिशतमात्रै वर्षा भएको छ । सामान्यतया जेठ १५ देखि असोज १५ सम्म (जुन, जुलाई, अगस्ट, सेप्टेम्बर)लाई मनसुन अवधि मानिन्छ ।

जल तथा मौसम विभाग सिमरा शाखा कार्यालयका अनुसार यस वर्ष जुन र जुलाईमा ३२० मिलिमिटरमात्रै वर्षा भएको छ । यो गत वर्षको तुलनामा करिब २० देखि २५ प्रतिशतमात्रै हो ।

मनसुन अवधिको बाँकी २ महिनामा सरदर वर्षा हुन्छ कि भन्ने आकलनमात्रै गर्न सकिने जल तथा मौसम शाखा सिमराका सहायक मौसमविद्ध लक्ष्मण प्रसाद कँडेलले जनाए ।

उनले सन् २०२४ मा मनसुन अवधिको ४ महिनामा १ हजार ५०८ मिलिमिटर वर्षा भएको जनाए । विगत ३÷४ वर्षको तथ्याङ्क केलाउँदा गत वर्ष सरदरभन्दा बढी वर्षा भएको उनको भनाइ छ । सरदरमा बारा, पर्सा, रौतहटमा एक सिजनमा १ हजार २ सय मिलिमिटर वर्षा हुने गर्दछ ।

सिमरा विमानस्थलस्थित जल तथा मौसम शाखाले १ सयदेखि १५० किलोमिटर क्षेत्र आसपासको तापक्रम, वर्षा तथा हावामा पानीको मात्रालाई रेकर्ड राख्दछ ।

सहायक मौसमविद् कँडेलले गत वर्षको २४ घण्टे तथ्याङ्कका आधारमा असोज १८ गते सबैभन्दा धेरै अर्थात् १८८ दशमलव २ मिलिमिटर वर्षा भएको जनाए । गत वर्ष अधिकतम् तापक्रम ४१ दशमलव ५ डिग्री सेल्सियस मापन भएको उनको भनाइ छ ।  

m6

त्यसैगरी सन् २०२३ को ४ महिनाको मनसुन अवधिमा मधेस प्रदेशका जिल्लाहरूमा १ हजार १७० मिलिमिटर मात्रै वर्षा भएको तथ्याङ्क छ । सो वर्ष सबैभन्दा धेरै असोज  १२ गते १५० दशमलब ६ मिलिमिटर वर्षा भएको कँडेलले जनाए ।

सन् २०२३ मा पनि मधेस प्रदेशमा तापक्रम करिब ४३ डिग्री पुगेको थियो । सन् २०२२ मा १ हजार ४४१ मिलिमिटर वर्षा भएको तथ्याङ्कले देखाएको छ  ।

२०२२ मा अधिकतम् तापक्रम ३८ दशमलव ८ डिग्री र न्यूनतम् तापक्रम ५ दशमलब ४ डिग्री सेल्सियस मापन भएको सहायक मौसमविद् कँडेलले जनाए ।  

विगत ३–४ वर्षको तापक्रम र वर्षाको तथ्याङ्क हेर्दा मधेस प्रदेशमा वर्षा घट्दो र तापक्रम वार्षिक करिब १ प्रतिशतले बढ्दै गएको वन तथा वातावरणविद् विनोद सिंहले जानकारी दिए ।

धनुषाका डिभिजन वन अधिकृत समेत रहेका सिंहले जलवायु परिवर्तनको कारण बंगालको खाडीबाट आएको बादललाई पश्चिमी हावाले अवरोध गरेर मधेस प्रदेशमा वर्षा हुन नदिएको प्रस्ट पारे ।

‘बंगालको खाडीबाट आएको मनसुन पहाडमा ठोक्किएर नेपालमा वर्षा हुन्छ, तर अहिले पश्चिमी हावाले त्यसलाई सक्रिय हुन दिएको छैन,’ सिंहले भने, ‘जलवायु परिवर्तनको कारण पनि यस्तो भइरहेको छ । अब यही गतिमा वनक्षेत्र अतिक्रमण र जनसंख्या वृद्धि हुँदै गए तराई मधेस छिटै मरुभूमि बन्ने र यहाँ खाद्य सङ्कट देखिने निश्चित छ ।’ 

m4

गत वर्ष किसानहरूले साउन पहिलो सातासम्म शतप्रतिशत धान रोपाइँ गरिसकेकोमा यस वर्ष वर्षा कम हुँदा बारा, पर्सामा ७० देखि ७५ प्रतिशतमात्रै रोपाइँ भएको छ ।  

मधेस प्रदेशमा गहिरिँदो जलसंकटलाई सम्बोधन गर्न प्रदेश सरकारले असार २६ गते ‘सुक्खाग्रस्त क्षेत्र’ घोषणासमेत गरेको छ ।

जल तथा मौसम कार्यालय सिमराले ३÷३ घण्टामा तापक्रम मापन, हावामा चिस्यानको मात्रा, हावाको दिशा र गति, २४ घण्टामा वर्षाको मापन गरिन्छ ।

थर्मामिटरको माध्यमबाट तापक्रम मापन गरिन्छ । वर्षा मापन रेनगेजबाट हुन्छ भने हावाको दिशा एनोमोमिटरको माध्यमबाट मापन गरिन्छ ।

मधेस प्रदेशको जल तथा मौसमको पूर्वानुमानका विवरण नागरिक उड्डयन कार्यालय सिमरा र जनकपुर गरी दुई स्थानबाट प्राप्त हुने गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप