शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

किरण बिकद्वारा रुपन्देही–३ मा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

शुक्रबार, ०९ साउन २०८२, २० : ०२
शुक्रबार, ०९ साउन २०८२

सारांश

  • किरण बिकले रुपन्देही-३ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरे।
  • उनले भैरहवालाई 'क्रिप्टो भ्याली' बनाउने र क्रिप्टो कानुन बनाउन पहल गर्ने प्रतिबद्धता जनाए।
  • बिकले उदार लोकतन्त्र, सामाजिक न्याय, र विभिन्न समुदायका हक अधिकारको पक्षमा काम गर्ने बताए।

काठमाडौँ । समावेशी विचार, उदार लोकतन्त्र र क्रिप्टो कानुनीकरणको एजेन्डासहित किरण बिकले रुपन्देही क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्दै उनले भैरहवालाई नेपालको पहिलो ‘क्रिप्टो भ्याली’ बनाउने दिगो योजनासहित संसद्मा क्रिप्टोसम्बन्धी कानुन निर्माणका लागि सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

विगत ११ वर्षदेखि राजनीति, फिल्म मेकिङ र लेखनमा सक्रिय बिकको राजनीतिक दृष्टिकोण उदार लोकतन्त्र र मिश्रित अर्थतन्त्रमा आधारित रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै, उनले आफू खुला समाज, सामाजिक न्याय, र महिला, दलित, मुस्लिम, थारु, मधेसी, अपाङ्ग लगायत समुदायका हक–अधिकारको पक्षधर रहेको बताए । 

बिकले भैरहवालाई अन्तर्राष्ट्रिय मनोरञ्जन पर्यटन सहर बनाउने, लुम्बिनी महानगरको अवधारणा कार्यान्वयन गर्ने, व्यवस्थित सहरीकरण, आधुनिक कृषि प्रवर्द्धन, जलवायु परिवर्तनको असरबाट सुरक्षा गर्ने, तथा शिक्षा र स्वास्थ्यमा गुणस्तरीय र सर्वसुलभ सेवा सुनिश्चित गर्ने लक्ष्य पनि अघि सारेका छन्।

३१ वर्षीय बिक बुटवलका स्थायी बासिन्दा हुन्। उनी सहर योजनामा स्नातकोत्तर तथा कानुन र फिल्म मेकिङमा स्नातक हुन्। बिकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास संस्थामा पनि कार्यानुभव हासिल गरिसकेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप