शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
क्रान्ति पराजुलीलाई नौ प्रश्न

‘सामाजिक नजरहरू अलि बढी नै प्रश्नवाचक भएर तेर्सिरहेका हुन्छन् हामीपट्टि’

शनिबार, १० साउन २०८२, १४ : ००
शनिबार, १० साउन २०८२

क्रान्ति पराजुलीका दुई उपन्यास प्रकाशित छन्,  ‘डिलको डोब’ (२०७६) र ‘प्रिय स्वप्नद्रष्टा’ (२०८१) । यतिबेला उनी आफ्नो तेस्रो उपन्यासको तयारीमा छिन् । रातोपाटीको ‘नौ प्रश्न’ स्तम्भमा यसपालि हामीले उनै पराजुलीलाई निम्त्याएका छौँ ।  

१) लामो समयदेखि साहित्यका विविध विधामा कलम चलाइरहनुभएको छ । वास्तवमा तपाईं किन लेख्नुहुन्छ ? लेख्नका लागि यहाँलाई सबैभन्दा धेरै कुन कुराले प्रेरित गर्छ ? 

आफ्नो अन्तर्मनको आवाज पाठक, समाज र देश देशान्तरसम्म पुर्‍याउनका लागि नै मैले लेख्छु । समाजमा चिरकालदेखि जकडिएर रहेका सामाजिक, आर्थिक र राजनीतिक विभेदका खाल्डाखुल्डीलाई नजरअन्दाज गर्दै एक सर्जक बसिरहन सक्दैन, यो शाश्वत सत्य हो । मलाई अँध्यारो खोँचमा उज्यालो सोचको साम्राज्य नभएको पटक्कै मन पर्दैन । यही समस्यालाई अवसर ठान्दै म लेख्न मन पराउँछु । समाजलाई अध्याँरोबाट उज्यालोसम्म पुर्‍याउन एउटा सानो प्रकाशपुञ्ज बन्न चाहन्छु ।

२) अन्तिमपटक कुन कृति पढ्नुभएको थियो ? यो कृति कस्तो थियो ? 

मैले अहिले भर्खर पढिसकेको पुस्तक ‘सन्त्रासका साठी दिन’ हो । यो पुस्तकले मलाई छोएको छ । पुस्तकको हरेक अक्षर, शब्द र वाक्यभरि सङ्घर्षले भरिएको जीवन पाउन सकिन्छ । जीवनका कोटिकोटि इच्छाहरू आशाको बगैँचा हेर्न कुरिरहेका हुन्छन् । मुख्यपात्र सरलकुमार सरल, सत्य र यथार्थ छ तर न्यायको नभमा अन्यायको बादल मडारिँदा उसले दूर गगनमा रहेको खुसीको तारा देख्न पाउँदैन । अतः यो पुस्तक पठनीय छ ।

३) पछिल्लो समय नेपालको साहित्यिक बजार र बहस कस्तो पाउनुभएको छ ? यो कुन दिशातिर गइरहेको छ ? 

साहित्य समाजको ऐना–घर हो । यसले समाजमा भएका विभिन्न मुहारहरू, जस्तै ः कलिलो घाम पोतिएका मुहारहरू, इन्द्रेणीका सातै रङ पोतिएका चेहरा र बादलको बर्को ओढेर हिँड्न विवश अनुहारहरूको फेहरिस्त तयार गर्न अब्बल हुनुपर्छ । अन्य वस्तुहरूको जस्तो यसको व्यापार हुनु राम्रो होइन । यो त भोलिका पुस्ताले पनि मनपराउन र खोजेर अध्ययन गर्न लायकको हुनुपर्छ । चहार सोचले अब्बल सिर्जना नहुन सक्छ, अनि सस्तो बेसाहाले पखाला लाग्छ भनेझैँ सस्तो लोकप्रियताको पिछलग्गु भएमा लेखकले आफ्नो लेखनीको निब भाँचिएको पाउन सक्छ ।

४) तपाईं कविता र कथा दुवै लेख्नुहुन्छ, कृति भने उपन्यासका रूपमा ल्याउनुभयो । कविता वा कथा संग्रह ल्याउने योजना छ कि छैन ? 

अर्को प्रश्न— यहाँको बुझाइमा उपन्यास के हो ? उपन्यास लेख्ने क्रममा तपाईंलाई सबैभन्दा चुनौतीपूर्ण के लाग्यो ?

मैले कविता, कथा, गीत र गजल सबै धेरथोर लेखेकी त छु तर दुई उपन्यास प्रकाशित छन्, तेस्रो कृति पनि उपन्यास नै लेखिरहेकी छु । अहिले नै कथा वा कविताको सङ्ग्रह निकाल्ने सोच छैन । मेरो विचारमा उपन्यास एउटा सिङ्गो परिवेश हो, जसमा साहित्यका अन्य विधाको पनि रसास्वादन गर्न सकिन्छ ।

५) समकालीन नेपाली उपन्यासको अवस्था कस्तो देख्नुभएको छ ? यसले कुन दिशा लिइरहेको छ ?

लेखकहरू लेखन केन्द्रित हुनुपर्नेमा उत्सव, उल्लास र हर्सोल्लास केन्द्रित भए भने उपन्यासको आत्मा मर्छ । अतः लेखकले गुप्तवास, एकान्तवास र साधनालाई आत्मसात् गर्दै साधना, निखारपना र गहिरो अध्ययनमा लीन हुन आवश्यक छ । वर्तमान समाजमा उपन्यासको यति, गति र लयमा तारतम्य मिलेको देखिन्छ र यसको दिशा चारैतर्फ फैलिएको पाइएको छ भन्दा अत्युक्ति हुन्न ।

चहार सोचले अब्बल सिर्जना नहुन सक्छ, अनि सस्तो बेसाहाले पखाला लाग्छ भनेझैँ सस्तो लोकप्रियताको पिछलग्गु भएमा लेखकले आफ्नो लेखनीको निब भाँचिएको पाउन सक्छ ।

६) लेखेर अहिलेसम्म के कति कमाउनुभयो वा के गुमाउनुभयो ? एउटी महिला लेखनमा आउन कति सहज वा असहज रहेछ ? अनि, तपाईंको लेखनमा दोहोरिरहने विषय के के हुन् ?

मैले लेखेर के कति कमाएँ भन्दा पनि समाजलाई के कति योगदान गर्न सकेँ र लेखेर के कति खुसी मिल्यो भन्ने ठुलो कुरा हो । मेरो लेखाइबाट प्रेरित भएर कोही जीवनको अध्याँरोबाट उज्यालोको खोजीमा निस्किएको कुरा सुन्न पाएँ भने त्यो मेरो अहोभाग्य हुनेछ । कसैले जिन्दगीको असत्यको बाटो छोडी सत्यको दोबाटो हुँदै परम् सत्यको परिवेशमा अवतरण भएको कुरा जानकारी भएमा त्यो मेरा लागि सफलताको सिँढी हुनेछ ।

तुलनात्मक रूपमा महिलाले आफ्नो सपनाको गोरेटोमा हिँड्न बढी व्यवधानको सामना गर्नुपर्छ । सामाजिक नजरहरू अलि बढी नै प्रश्नवाचक भएर तेर्सिरहेका हुन्छन् हामीपट्टि । ती सबै चुनौतीको सामना गर्ने क्षमता पनि महिलामा बढी पाएकी छु मैले । महिलाले पुरुषको ठाउँमा उभिएर लेख्न सक्ने समाजमा छौँ हामी र लेखनमा महिला–पुरुष होइन, मात्र लेखक हुन सक्नुपर्छ । संसारमा सबैभन्दा बढी बिक्री भएको लेखिका जेके रोलिङको ‘ह्यारी पोटर’ हो भन्ने कुराले मलाई प्रेरणा दिन्छ । 

समाजमा मैले देख्न चाहेको तर देख्न नपाएको न्यायको आवाज मेरो लेखनीमा बारबार दोहोरिरहने विषय हो ।

७) पाठकलाई पढ्न सिफारिस गर्नका लागि यहाँको पछिल्लो उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’मा त्यस्तो के छ ? पाठकले यो कृति किन पढ्नुपर्छ ? 

मेरो दोस्रो प्रकाशित कृति ‘प्रिय स्वप्नद्रष्टा’ एउटा सपनाको राजमार्गमा अविछिन्न, अडिग र आफ्नो स्वःमा अनवरत हिँडेको एक स्वर्णिम सपनायात्रीको कथामा आधारित कृति हो । मुख्यपात्र पोषितको आँखाको डिलैडिल भएर उसका सपनाहरू ओहोरदोहोर गरिरहन्छन् । ऊ कर्मभूमि र जन्मभूमि दुई होइन एक भएर सपनाको क्षितिजमा अवतरण हुन चाहन्छ । आफ्ना तिलस्मी सपनाहरूको हत्या गरेर न उसले सुख, समृद्धि र वैभवको बैसाखी किन्नै चाहन्छ । एक तिलस्मी सपनाको अवसान गराउन सफल भएका समाजका कानुनमुखीहरूको कर्तुत पर्दाफास गराउन सफल हुन्छिन्, मुख्य नायिका डिपोषा । यसमा चेतनाको आवाज, सत्यको आवाज र उज्यालोको शक्तिको अगाडि अन्यशक्तिले घुँडा टेक्छन् भन्ने कुराको उजागर भएको पाइन्छ । अतः पढेर सल्लाह, सुझाव र हौसला दिनुहुनेछ भन्ने विश्वास राख्छु । 

८) अन्तिमपटक तपाईंलाई झकझकाएको कुनै एउटा साहित्यिक कृति सम्झिनुपर्‍यो भने कुन कृतिलाई सम्झिनुहुन्छ, किन ? 

हर्मन हेसको उपन्यास ‘सिद्धार्थ’ पढेपछि मलाई आफूभित्र धेरैवटा आफूहरूलाई लिएर मानिस जीवनयात्रामा अविकल्प हिँडिरहेको हुन्छ भन्ने आभास भयो । बुद्धलाई संसारले एसियाको प्रकाश मान्छन् तर उनै बुद्धले मेरो पश्चगामी नहुनु भन्छन् । तिमी अरुजस्तो होइन आफूजस्तै बन्न खोज र आफूभित्र एउटा पृथक् आफू निर्माण गर भन्ने सन्देश यस उपन्यासभित्र छ, जसले मलाई घचघच्यायो । 

९) अन्तिम प्रश्न, आखिर जिन्दगी के रहेछ ?

जीवन भन्नु यो सृष्टिले हरेक व्यक्तिलाई प्रदान गरेको एउटा सुनौलो मौका हो । यसलाई एउटा अनुपम उपहार मानेकी छु मैले । जस्तोसुकै खाँचोको अगाडि पनि साँचोले झुक्नु हुँदैन भन्ने मूलमन्त्रलाई मैले जीवनमा आत्मसात् गरेकी छु । अन्त्यमा जीवन, समय र नेपाली भूपरिधिमा रहेर देश, समाज र देशजनलाई थोरै योगदान गर्न सकौँ भन्ने यो जीवनको एउटा सपना हो, जुन पूर्ण हुन बाँकी नै छ भन्ने लाग्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप