बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
ओम प्रतीकसँग संवाद :

‘हरेक वर्ष फिल्म दिनुपर्छ भन्ने मान्यता राख्दिनँ’

सोमबार, १२ साउन २०८२, १३ : २७
सोमबार, १२ साउन २०८२

सारांश

  • ओम प्रतीकको नयाँ फिल्म ‘मोहर’ रिलिजको तयारीमा छ, जसमा सुदूरपश्चिमको देउकी प्रथाको कथा उठाइएको छ।
  • निर्देशक प्रतीकले ‘मोहर’ लाई व्यावसायिक फिल्मको रूपमा प्रस्तुत गर्ने बताएका छन्, जसमा पल शाहको मुख्य भूमिका रहेको छ।
  • फिल्मको कथावस्तु चयन र निर्माणमा लामो समय लागेको र यसमा देउकी प्रथाको विषयलाई रोचक ढंगले प्रस्तुत गरिएको छ।

काठमाडौँ । ओम प्रतीक पछिल्लो फिल्म ‘बटरफ्लाई’ रिलिजको आठ वर्षपछि नयाँ फिल्म ‘मोहर’ लिएर आउँदैछन् । आफूलाई संख्यामा भन्दा गुणस्तरमा विश्वास गर्ने निर्देशकको रूपमा लिन्छन् उनी । 

यही साउन २३ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा सुदूरपश्चिममा प्रचलित देउकी प्रथालाई उठाइएको छ । संवेदनशील विषय भए पनि यसलाई निर्देशक प्रतीक ‘मोहर’ पूर्ण व्यावसायिक फिल्म भएको बताउँछन् । 

‘मोहर’ र उनको निर्देशकीय यात्राका विषयमा केन्द्रित रहेर रातोपाटीले निर्देशक ओम प्रतीकसँग कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश 

  • ‘मोहर’को प्रदर्शन मिति नजिकिँदै गर्दा व्यस्तता कति बढेको छ ? 

त्यसको त कुरै नगरौँ । फिल्मको भीएफएक्स चलिरहेको छ । प्रचारप्रसारको पनि दौडधुपै छ । मिक्सिङ, कलर ग्रेडिङ, ब्याकग्राउन्ड म्युजिकदेखि सेन्सरसम्मको कामको दौडधुप छ ।

  • ‘बटरफ्लाई’ रिलिजको करिब आठ वर्षपछि ‘मोहर’ लिएर आउनुभयो । एक निर्देशकलाई नयाँ फिल्मका लागि यति धेरै समय लाग्छ र ?

‘बटरफ्लाई’ रिलिजदेखि अहिलेसम्म हेर्दा मेरो नयाँ फिल्म नआएको आठ वर्ष भएकै हो । तर फिल्म निर्माणको ग्याप भने तीन वर्ष हो । ‘मोहर’ बनाउन मलाई तीन वर्ष लागेको हो । कथावस्तुलाई अलिकति नयाँपन केही गरौँ भनेर काम गर्दा त्यो स्क्रिप्टमै दुई वर्ष लाग्यो । त्यसपछि फेरि कलाकारको छनोटलगायत काममा अर्को एक वर्ष गयो । 

म अब हरेक वर्ष फिल्म दिनुपर्छ भन्ने मान्यता राख्दिनँ । कुनै काम आएको खण्डमा गर्ने मान्छे हुँ म । बजारमा दौडी–दौडी स्क्रिप्ट लिएर लौ न यो मेरो फिल्म गरौँ, यस्तो सब्जेक्ट छ, यसरी गरौँ भन्दै हिँड्ने पक्षको निर्देशक परिनँ । जसरी काम आउँछ, त्यसरी नै प्रोड्युसरहरू आउनुभयो भने मैले काम गर्ने गरेको छु । त्यसैले मेरो फिल्म अलिकति ग्याप हुन्छ ।

  • ‘मोहर’मा देउकी प्रथाको विषय उठाउनु भएको छ । किन यो कथा भन्न मन लाग्यो ? 

फिल्म निर्माण गर्दैगर्दा एउटा लभ स्टोरी, अलिकति थ्रिल, अलि फरक होस् भन्ने सोच ममा आयो । फिल्म भनेपछि मूलधारको कमर्सियल कथावस्तु एउटै प्रकारको मात्र कसरी बनाउने ? त्यसमा केही नयाँपन त चाहियो नि भनेर सोच्दै जाँदा देउकी प्रथाको बारेमा पहिले पढेको याद आयो । त्यसलाई नियाल्दै जाँदा कथावस्तुको उठान त्यहाँबाट गरेको हुँ । त्यो एउटा नौलोपन पनि भयो । 

अनि ‘मोहर’लाई शीर्षकको रूपमा सार्थकता दिनु पनि थियो । देउकीको प्रचलन, जुन सुदूरपश्चिमतिर छ । त्यसको कथावस्तुलाई उठान गरेर त्यसैलाई मेरुदण्ड बनाएर फिल्म बनाएको हो ।

  • देउकी प्रथाको विषयमा यसअघि विभिन्न विषयमा समेटिएका जस्तै दृश्य देख्न पाइन्छ कि अलि फरक ?

त्यो भन्दा एकदमै भिन्न देख्न पाइन्छ । किनभने मैले डकुमेन्ट्री बनाएको होइन । देउकी प्रथाको बारेमा एकदमै गहिराइमा जान्न त डकुमेन्ट्री नै बनाउनुपर्छ । फिल्ममा त्यो देखाएर साध्य हुँदैन, त्यो मोनोटोनस हुन जान्छ । 

फिल्मको टिजर, गीत, ट्रेलर सबै बिग कमर्सियल शैलीमा छ । देउकी प्रथालाई एउटा परिवारमा ‘इन–टच’ गरिएको हो । त्यसलाई आधार बनाएर त्यसपछिका विभिन्न घटनाक्रम, फिल्ममा आउने उतारचढाव, हरेक पात्रका भोगाइलाई बुनिएको छ । यो डकुमेन्ट्रीजस्तो विस्तृत जानकारी दिनेभन्दा पनि त्यसलाई कथाको माध्यमबाट प्रस्तुत गरिएको हो ।

  • त्यसो भए कमर्सियल हिसाबले कथा उठाउनुभयो ?

हो । एउटा आर्टको सब्जेक्ट भए पनि मैले प्रस्तुतीकरण चाहिँ कमर्सियल हिसाबले नै गरेको छु । किनभने फिल्म भनेपछि ठुलै लगानीको कुरो आउँछ । लगानी पनि उठ्नुपर्‍यो नि ।

तपाईंले यसअघिका फिल्ममा दर्बिलो सन्देश पनि दिनै आउनुभएको थियो । यो पनि त्यही क्याटेगोरीमा पर्छ कि भिन्न छ ?

कथावस्तुको प्रस्तुति शैली त भिन्नै छ । तर मनोरञ्जनका साथै एउटा प्रथा गलत हो, यो कुप्रथा हो, यो हुनुहुँदैन भन्ने सन्देश छ । आज पनि कतै न कतै देउकी प्रथा चलिरहेको छ । मैले एउटा फिक्सनको रूपमा फिल्मी लिबर्टी लिएर पनि काम गरेको छु ।

468772925_8812722445441397_6958101221184522786_n

  • तपाईं राम्रो अभिनेता पनि हुनुहुन्छ । यसमा अभिनेताको रूपमा पनि देख्न पाइन्छ कि ?

होइन, त्यस्तो छैन । एउटा सानो सस्पेन्स छ, तर म नितान्त राइटर र डाइरेक्टर हुँ ।

  • लामो ग्यापपछि फिल्म ल्याउँदै गर्दा कस्तो सकस हुँदोरहेछ ?

नेपाली फिल्म उद्योगमा हरेक फिल्ममा सकस हुन्छ । अहिले प्रमोसनको पाटो परिवर्तन भएको छ । सोसल मिडिया अझ बढी सशक्त भएको छ । मेकिङको हिसाबमा त हिजो जे थियो, आज पनि त्यही नै छ । कलाकार, टेक्निसियनका रेटहरूमा तलमाथि हुनु स्वाभाविक हो, तर अरू टेक्निकल पाटो त उस्तै हो ।

  • पछिल्लो समय पल शाहको फिल्मले व्यावसायिक अपेक्षा पूरा गरेको छैन । पललाई अभिनेता लिएर किन रिस्क लिनुभयो ?

कथाले मागेर नै मैले पललाई लिएको हुँ । दोस्रो कुरा, कसैको पनि फिल्म सधैं चल्दैन । कतिले समाचारमा पल शाहको फ्लप फिल्ममा ह्याट्रिक हुनेवाला छ भनेर लेखेका छन् । मलाई अचम्म लाग्छ । यहाँ ह्याट्रिक हुने त थुप्रै छन् । हरेक कलाकारका फिल्म डुबेका छन् । तर ती सुपरस्टार पनि गनिएका छन् । अरूको बारेमा प्रश्न उठ्दैन, पलकै बारेमा किन उठ्छ ? त्यो मलाई थाहा छैन । 

पल ‘मोहर’मा आफ्नो चरित्रमा एकदमै खरो उत्रिएका छन् । मैले जुन हिसाबको अभिनय खोजेको थिएँ, त्यो लिन सफल भएको छु । अब फिल्मको आ-आफ्नो भाग्य हुन्छ । ‘मोहर’को भाग्य के छ, त्यसमा पनि निर्भर गर्ला । हामीले पब्लिसिटी होस् वा मेकिङ, कुनै पनि कुरामा सम्झौता गरेका छैनौँ । रिजल्ट पनि राम्रै आउला भन्ने अपेक्षा छ ।

  • व्यावसायिक अपेक्षा राम्रै गर्नुभएको छ ?

किन नगर्नु ? हरेक मान्छेले केही उत्पादन गरिसकेपछि त्यसबाट फाइदा हुन्छ भन्ने आशा राखेरै गरेको हुन्छ । मैले पनि यसको व्यापारिक सफलता हुन्छ भन्ने आशा राखेको छु ।

  • निर्देशकको रूपमा ड्रिम प्रोजेक्टजस्तो गर्न पाए हुन्थ्यो भन्ने छ ?

यही फिल्मका लागि प्रोड्युसरले पल र अर्की हिरोइन राखेर एउटा सिम्पल लभ स्टोरी बनाऔं न भन्नुभएको थियो । तर मैले उहाँलाई ‘मेरो मन, मस्तिष्क र मुटु ‘मोहर’मा छ । मैले ‘मोहर’लाई नै एफर्ट दिएर बनाउन सक्छु, स्क्रिप्ट चेन्ज गरेँ भने सक्दिनँ’ भनेँ । उहाँले त्यो कुरालाई मनन गर्नुभयो र भन्नुभयो, ‘मैले यही खोजेको थिएँ ।’ उहाँलाई पनि ‘मोहर’को स्क्रिप्ट साह्रै मन परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप