कांग्रेस संसदीय दलको नेता चयनको प्रक्रिया सुरु, हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन
सारांश
- कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनको प्रक्रिया सुरु भएको छ।
- सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ।
- मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएपछि नयाँ नेता चयन हुन लागेको हो।
काठमाडौँ । कांग्रेस बागती प्रदेश संसदीय दलको नेता चयनको लागि प्रक्रिया सुरु भएको छ । जसका लागि कांग्रेस बागमती प्रदेश कार्य सम्पादन समितिको मंगलबार बसेको बैठकले प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ ।
प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा हेटौंडामा बसेको कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोललाई रहेका सदस्यमा चयन गरेको छ ।
समितिको आजै बस्ने बैठकले निर्वाचन कार्यतालिका निर्धारण गर्नेछ । संसदीय दलको नेताको निर्वाचन भोलि बुधबार गर्ने बुझिएको छ ।
यसअघि प्रदेशका मुख्यमन्त्री समेत रहेका बहादुर सिंह लामा तामाङले संसदीय दलको नेताको हैसियत गुमाएपछि नयाँ नेता चयनको लागि प्रक्रिया सुरु भएको हो ।
मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता लामाविरुद्ध परेको अविश्वासको प्रस्तावको विषयमा मंगलबार दिउँसो भएको मत विभाजनका क्रममा नेता लामा पराजित भएका थिए ।
प्रदेश सभामा ३५ जना सदस्य रहेको कांग्रेसका २१ जना सांसदले अविश्वासको पक्षमा र १५ जना पक्षले लामाको पक्षमा मतदान गरेका थिए ।
यो सँगै कांग्रेस बागमती प्रदेशमा संसदीय दलको नेता पद रिक्त भएको हो । कांग्रेस बागमती प्रदेश कार्यसमितिको सभापति इन्द्रबहादुर बानियाँ छन् । उनकै अगुवाइमा मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामाविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । बानियाँ नै संसदीय दलको नेता बन्ने होडमा छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण