शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पन्ध्र वर्षीया किशोरीको हत्या गरेकाे आरोपमा एक पुरुष पक्राउ

बिहीबार, १५ साउन २०८२, १५ : ४२
बिहीबार, १५ साउन २०८२

सारांश

  • धनुषामा १५ वर्षीया किशोरी अञ्जली कुमारी यादवको हत्या आरोपमा ३५ वर्षीय रामबाबु साह पक्राउ परेका छन्।
  • प्रहरीका अनुसार, साहले खुकुरी प्रहार गर्दा अञ्जलीको मृत्यु भएको थियो भने उनकी आमा र एक १४ वर्षीया किशोरी घाइते भएका थिए।
  • प्रारम्भिक अनुसन्धानले साह र आशाबीचको प्रेम सम्बन्ध र आशाको आर्थिक अवस्थामा आएको परिवर्तनका कारण हत्या भएको देखाएको छ।

धनुषा । यहाँस्थित जिल्ला प्रहरी कार्यालयले १५ वर्षीया किशोरी अञ्जली कुमारी यादवको हत्या आरोपीलाई पक्राउ गरेको छ ।  आरोपित क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरीका अनुसार धनुषाको बटेश्वर गाउँपालिका–५ घर भई जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित डेराको कोठामा बस्दै आएकी १५ वर्षीया अञ्जलीको गत सोमबार राती खुकुरी प्रहार गरी हत्या गरिएको थियो । 

आरोपित साहलाई हिजो राति करिब साढे १० बजे  क्षीरेश्वरनाथ नगरपालिका–९ बाट पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए । रामबाबु यसअघि आफ्नो श्रीमतीको हत्या गरी पाँच वर्ष जेल सजाय काटेर २०७७ सालमा रिहा भएका थिए । साहले सोमबार राति खुकुरी प्रहार गर्दा अञ्जलीको मृत्यु भएको थियो भने अञ्जलीकी आमा ३५ वर्षीया आशा यादव र मिथिला नगरपालिका–१ ढल्केवर बस्ने होविन्द्र यादवको १४ वर्षीया छोरी आशा यादव घाइते भएका थिए ।

आशाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आशा रामबाबुकै प्रेमी रहेको र उनकै कारण घटना घटेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  प्रनाउ सिंहका अनुसार आरोपित साह सजाय काटेर रिहा केही महिनापछि दोस्रो विवाह गरेर गाउँमै बस्दै आएका थिए । सोही क्रममा मदिरा पसल सञ्चालन गरेकी आशासँग उनको चिनजान भइ प्रेम सम्बन्ध गाँसिएको थियो ।

‘आशाको श्रीमानलाई दुबैजनाको सम्बन्धका बारेमा थाहा भएपछि दुवै पक्ष बसेर गाउँमा छलफल गरी आशालाई रामबाबुको जिम्मा लगाउने सम्झौता भएको रहेछ,’ उनले भने, ‘श्रीमान्ले दुई छोरा र एक छोरीको हेरचार गर्ने सहमति भएपछि उनीहरु छुट्टिएका रहेछन् ।’ 

आशाको सुरुमा आर्थिक अवस्था कमजोर रहेकामा पछि आर्थिक अवस्था सुध्रिँदै जाँदा रामबाबुसँग टाढिन थालेको र पूर्व श्रीमानसँग नजिकिन थालेपछि रामबाबुले हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरी प्रनाउ सिंहले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप