सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
प्राकृतिक सौन्दर्यसँग हृदयेन्द्रकाे साक्षात्कार

जुम्लाको काखमा हृदयेन्द्र शाह : सामाजिक सञ्जालमा चर्चाको विषय बनेको भिडियोमा के छ ?

बिहीबार, १५ साउन २०८२, २० : ५१
बिहीबार, १५ साउन २०८२

सारांश

  • पूर्व युवराज पारस शाहका छोरा हृदयेन्द्र शाहले जुम्लाको भ्रमण गरी प्राकृतिक सौन्दर्य, संस्कृति र स्थानीय जीवनशैलीको अनुभव गरे।
  • हृदयेन्द्रले स्थानीयसँग भेटघाट गरे, स्याउ फार्मको अवलोकन गरे, र ब्ल्याक स्टोन बेकरीमा युवा उद्यमीसँग भेटघाट गरे।
  • उनले कर्णाली प्राविधिक शिक्षालयको भ्रमण गरे र बौद्ध गुम्बामा स्थानीय युवतीसँग भेट गरी जुम्लाको मौलिक गीत सुने, जसले सामाजिक सञ्जालमा चर्चा पाएको छ।

काठमाडौँ । नेपालका अनेकौँ सुन्दर गन्तव्यहरूमध्ये एक हो, कर्णाली प्रदेशको जुम्ला । जुन जिल्लाले हालै एक ‘विशेष’ पाहुनालाई स्वागत गर्‍यो। पूर्वयुवराज पारस शाहका पुत्र हृदयेन्द्र शाहले जुम्लामा पुगेर त्यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक रीतिरिवाज र स्थानीय जीवनशैली साक्षात्कार गरेका छन्।

बुधबार सार्वजनिक एक भिडियो अनुसार हृदयेन्द्रको यात्रा तिला नदीको किनारबाट सुरु हुन्छ, जुन कर्णाली नदीको एक प्रमुख सहायक नदी हो। शान्त र सुन्दर नदीको किनारमा बसेर उनले भने, ‘आज म जुम्लामा छु, जुन कर्णालीमा पर्छ। नेपालमा घुम्नका लागि धेरै ठाउँहरू छन् र यो तीमध्ये एक हो।’ 

यात्राका क्रममा हृदयेन्द्रले स्थानीयवासीहरूसँग घुलमिल हुने अवसर पाए। एक स्थानीय युवाले उनलाई जुम्लाको महत्वबारे बताउँदै भने, ‘नेपाली भाषाको जन्मस्थान सिञ्जा यहीँ पर्छ। जुम्ला अर्गानिक स्याउ र मार्सी चामलका लागि विश्व प्रसिद्ध छ।’ उनले रारा र शे–फोक्सुन्डो तालजस्ता पर्यटकीय स्थलको प्रचुर सम्भावना हुँदाहुँदै पनि कर्णाली राजमार्गको स्तरोन्नति नहुँदा विकासमा पछि परेको यथार्थ सुनाए।

हृदयेन्द्रले स्याउ फार्मको पनि भ्रमण गरे, जहाँ उनले २०२४ सालमा स्थापना भएको उक्त फार्मले काश्मीर र हिमाचलबाट स्याउका बिरुवा ल्याएर कर्णालीभरि स्याउ खेती फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको विषय थाहा पाए।

जुम्ला बजारमा घुम्दै गर्दा हृदयेन्द्र एक कफी पसल, ‘ब्ल्याक स्टोन बेकरी’मा पुगे। त्यहाँ उनको भेट काठमाडौँबाट फर्केर ८ वर्षदेखि जुम्लामा बेकरी चलाइरहेका एक युवा उद्यमीसँग भयो। दुर्गम ठाउँमा पनि आफ्नै सीप र लगानीले केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका ती युवाको कथा सुनेर हृदयेन्द्र प्रभावित भए। ती युवाले आफैँले बनाएको चिजकेक चखाउँदा हृदयेन्द्रको अनुहारमा खुसी देखिन्थ्यो।

उनको यात्रा कर्णाली प्राविधिक शिक्षालयसम्म पनि पुग्यो, जहाँ उनले विद्यार्थीहरूसँग भलाकुसारी गरे। सिभिल इन्जिनियरिङ पढिरहेका एक विद्यार्थीले भने,‘यो कलेजले उत्पादन गरेका जनशक्तिले सजिलै सरकारी जागिर पाउँछन्।’ यसले जुम्लामा शिक्षा र रोजगारीको आशा कसरी जीवित छ भन्ने देखाउँछ।

हृदयेन्द्र डाँडामा रहेको बौद्ध गुम्बामा पनि पुगे, जहाँबाट पूरै जुम्ला उपत्यकाको मनमोहक दृश्य देख्न सकिन्थ्यो। त्यहीँ उनको भेट स्थानीय युवती पञ्चकली बुढासँग भयो। उनले हृदयेन्द्रलाई स्वागत गर्दै जुम्लाको मौलिक गीत गाइन्, जसको शब्दमा जुम्लाको धान र कर्णालीको दुःखको कथा लुकेको थियो। 

हृदयेन्द्रको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

भिडियो सेयर गर्दै हृदयेन्द्रले पनि फेसबुकमा लेखेका छन्,‘प्राकृतिक सौन्दर्यले भरिएको जुम्लाको कुना-कन्दरामा पाइला टेकेँ, जहाँ सरल तर आत्मीय मानिसहरूको मायाले मन छोयो। यो यात्रा केवल स्थानको मात्र होइन, भावना, संस्कार र नेपालीपनको गहिरो अनुभव थियो । जुम्ला, तिमीले देखाएको न्यानो मायाको लागि धन्यवाद।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप