स्तनपानलाई प्राथमिकता दिऔं, सहयोगी वातावरण निर्माण गरौं
सारांश
- स्तनपान शिशुको शारीरिक र मानसिक विकासका लागि आवश्यक पोषक तत्वहरूको सन्तुलित मिश्रण हो।
- नेपालमा पूर्ण स्तनपान गराउने दर घट्दै र दुधदानीबाट खुवाउने दर बढ्दै गएको छ, शिक्षित वर्गमा यस्तो बढी देखिन्छ।
- स्तनपानलाई बढावा दिन सहयोगी वातावरण, जनचेतना, परिवारको सहयोग, र कार्यस्थलमा स्तनपानमैत्री सुविधाहरू आवश्यक छन्।
स्तनपान शिशुका लागि पहिलो खोप हो । आमाको दुध शिशुको शारीरिक र मानसिक विकासका लागि आवश्यक पर्ने सबै पोषकतत्वहरु प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, भिटामिन र खनिजको सन्तुलित मिश्रण हो । यसमा रोगसँग लड्ने तत्वहरू समेत पाइन्छन्, जसले शिशुलाई विभिन्न संक्रमणबाट जोगाउँछ ।
नेपालमा स्तनपानको महत्व र आवश्यकताबारे अझै व्यापक जनचेतना फैलाउनुपर्ने आवश्यकता छ । स्तनपान आमाको स्वास्थ्यका लागि पनि फाइदाजनक छ । यसले प्रसवपछि आमाको पाठेघरलाई संकुचित गर्न, रक्तस्राव कम गर्न र स्तन क्यान्सरजस्ता रोगको जोखिम कम गर्न मद्दत गर्छ ।
नेपालमा जन्मेदेखि ६ महिनासम्म पूर्ण स्तनपान गर्ने शिशु ५६ प्रतिशत छन् । दुधदानीबाट दुध खुवाउने दर २२ प्रतिशत छ । पछिल्लो समय पूर्ण स्तनपान गराउने घट्दै र दुधदानीबाट दुध खुवाउने दर बढ्दै गइरहेको पाइन्छ । यस्तो चलन शिक्षित वर्गमा बढी छ ।
प्रदेशगत रुपमा हेर्ने हो भने बागमती प्रदेशमा पूर्ण स्तनपान र दुधदानीबाट दुध खुवाउने दर समान ४३ प्रतिशत छ । स्तनपान बढाउन र यसलाई निरन्तरता दिन विभिन्न चुनौती छन्, तीमध्ये स्तनपानका लागि सहयोगी वातावरण नहुनु पनि एक हो ।
धेरैले आमाको दुधलाई प्रतिस्थापन गर्ने विकल्प रोज्न थालेका छन् । धेरै महिलालाई पर्याप्त मातृत्व बिदा वा स्तनपान कक्षको सुविधा छैन । यस्तो अवस्थामा सहयोगी वातावरण निर्माण गर्नु अत्यावश्यक भएको स्पष्ट हुन्छ ।
स्तनपानलाई सहज बनाउन श्रीमानको सहयोग, सासू–ससुराको समझदारीपूर्ण व्यवहार, घरायसी जिम्मेवारी बाँडफाँड, लचिलो कार्य समय र स्तनपान कक्षयुक्त कार्यस्थल, स्तनपानमैत्री स्वास्थ्य संस्था र दक्ष सेवा प्रदायक, समाजको सकारात्मक दृष्टिकोण तथा जनचेतना आवश्यक छ । साथै, स्तनपान प्रवर्द्धन गर्ने कानुनी तथा नीतिगत व्यवस्था पनि आवश्यक छ ।
सहयोगी वातावरण निर्माण गरी स्तनपानलाई प्रोत्साहन गर्न जनचेतना अभिवृद्धि, परिवार र समाजको सहयोग, तथा कार्यस्थलमा स्तनपानमैत्री सुविधा जस्ता कदम आवश्यक छन् । शिशु आहारको विज्ञापनलाई नियन्त्रण गर्नुपर्छ र स्तनपानलाई प्राथमिकता दिनुपर्छ ।
स्तनपानलाई प्राथमिकता दिन र सहयोगी वातावरण निर्माण गर्न सबै सरोकारवालाको महत्वपूर्ण भूमिका हुन्छ । आमा, परिवार, समाज, स्वास्थ्यकर्मी, कार्यस्थल र सरकार सबै मिलेर काम गरेमा नेपालमा स्तनपानको दर बढाउन र स्वस्थ शिशु तथा स्वस्थ नागरिक निर्माण गर्न सकिन्छ । स्तनपान एक प्राकृतिक, सुरक्षित र पोषिलो उपहार हो, जुन प्रत्येक शिशुले पाउनुपर्छ । तर यो केवल आमाको जिम्मेवारी होइन, परिवार, समुदाय, स्वास्थ्य संस्था, सरकार र सम्पूर्ण समाजको साझा दायित्व हो ।
त्यसैले हामी सबै मिलेर ‘स्तनपानलाई प्राथमिकता दिऔँ, सहयोगी वातावरण निर्माण गरौँ’ भन्ने अभियानलाई सफल बनाऔँ । स्वस्थ नेपाल निर्माणको पहिलो पाइला हो, सुरक्षित र सफल स्तनपान ।
(खनाल स्वास्थ्य कार्यालय काठमाडौँकी जनस्वास्थ्य अधिकृत हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण