सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

‘गृहमन्त्रीसँग विपद् संवाद’ मा नीतिगत सुधार र जनशक्ति व्यवस्थापनमा जोड

शुक्रबार, १६ साउन २०८२, २० : २९
शुक्रबार, १६ साउन २०८२

काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा नीतिगत तथा संस्थागत सुधारका सवालमा छलफल भएको छ । 

'गृहमन्त्रीसँग विपद् संवाद’ शृङ्खलाको दोस्रो भागका रुपमा शुक्रबार गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि वित्तीय, जनशक्ति व्यवस्थापन तथा सुधारका क्षेत्रहरूका बारेमा छलफल गरिएको हो । 

कार्यक्रममा विज्ञ एवं वक्ताहरूले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि प्राधिकरणमा ’डेडिकेटेड’ जनशक्तिको व्यवस्था, तीन वटै सरकारको कार्य विस्तृतीकरण,’इन्सिडेन्ट कमाण्ड सिस्टम’ को अभ्यास, जलवायु र विपद् सम्बन्धी अन्तर्राष्ट्रिय कोषहरूमा पहुँचको आवश्यकतामा जोड दिएका थिए । 

गृहमन्त्री लेखकले नेपालमा विपद् व्यवस्थापनको नीतिगत तथा संस्थागत सुधार सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै ऐन, नियमावली लगायतमा आवश्यक सुधार गर्न सरकार तयार रहेको बताए ।

मन्त्री लेखकले भने, ’के–के सुधार गर्दा विपद् व्यवस्थापन चुस्त ढङ्गले गर्न सकिन्छ, विज्ञहरूबाट त्यो आओस्, सरकार तयार छ ।’ संस्थागत परिवर्तन गर्दा भने संस्थाको दिगोपनमा विचार गर्नुपर्ने मन्त्री लेखकको धारणा थियो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने जनशक्ति तथा साधन स्रोतको व्यवस्थापनमा आफ्नो पार्टीको समर्थन रहने धारणा राखे । 

नेकपा (एमाले) को विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराईले प्राधिकरणलाई प्राधिकरणको तहमा लैजान जे आवश्यक छ, त्यसमा गरिने सुधारमा आफ्नो पार्टीको समर्थन रहने उल्लेख गरे । 

प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टको अध्यक्षतामा भएको छलफलमा विपद् विज्ञ वंशी कुमार आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा नीतिगत तथा संस्थागत सुधारका क्षेत्रहरू लगायतका विषयमा प्रस्तुतीकरण राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप