हार्दिकता, सेवाभाव र सुरक्षा: उडान परिचारिकाको वास्तविक पहिचान
सारांश
- उडान परिचारिकालाई समाजले सामान्य सेवा कर्मचारीका रूपमा बुझे पनि उनीहरू उच्च प्रशिक्षित हवाई सुरक्षाकर्मी हुन् जसको मुख्य जिम्मेवारी यात्रुको जीवन सुरक्षित राख्नु हो।
- ऐतिहासिक रूपमा उडान परिचारिकाको भूमिका यात्रुको सेवा मात्र नभई स्वास्थ्य सहायता, आपतकालीन व्यवस्थापन र हवाई सुरक्षामा समेत केन्द्रित थियो।
- नेपालको भौगोलिक अवस्था र यात्रुमा हवाई सुरक्षा चेतनाको कमीले गर्दा उडान परिचारिका केवल सेवा दिने व्यक्ति नभई यात्रुको भरोसा र हवाई सुरक्षाको आधार हुन्।
वास्तविकता भन्दा फरक रूपमा बुझिने पेसाहरू मध्ये एअर होस्टेस (विमान परिचारिका) को पेसा अग्रस्थान मा पर्छ । ‘उडान परिचारिकाहरू त विमानमा खाना र पेय पदार्थ सेवा गर्ने साधारण कर्मचारी मात्र हुन्, उनीहरू आकाशका वेटर हुन’ भन्ने धारणा दशकौँदेखि समाजमा स्थापित हुँदै आएको छ । यही सतही बुझाई नै सही वा सत्य को मानक बन्दै गएको देखिन्छ । तर यो बुझाइले उनीहरूले वहन गर्ने जिम्मेवारीको अत्यन्त सानो भाग मात्र समेट्छ र धेरै महत्त्वपूर्ण पक्षहरूलाई छायामा पारिदिन्छ ।
विमानमा प्रवेश गर्दा देखिने सफा, अनुशासित पोसाकमा उभिएका उडान परिचारिकाहरूले यात्रुहरूलाई हार्दिकताका साथ स्वागत गर्छन् । उनीहरूले यात्रुहरूलाई सिटसम्म मार्गदर्शन गर्ने सामान मिलाउन सहयोग गर्ने र सहज यात्राको कामना गर्नुका साथै उडान अवधिभरका लागि निर्देशन गर्ने इत्यादि गर्छन् । यही दृश्यले अधिकांश यात्रुका लागि उनीहरूको पेसाबारे सम्पूर्ण परिभाषा तय गरिदिन्छ । एक उच्च प्रशिक्षित पेसाको वास्तविक पहिचान ढाकिदिन्छ ।
ऐतिहासिक तथ्य हेर्दा यो पेसा कहिल्यै ‘ग्ल्यामर’का लागि जन्मिएको थिएन । यो तत्कालीन आवश्यकताले जन्माएको पेसा हो । सन् १९३० को दशकमा एलेन चर्च जो एक प्रशिक्षित नर्स थिइन्, उनी विश्वकै पहिलो उडान परिचारिका बनिन् । उनलाई केवल यात्रुको सेवा गर्न होइन, हवाई रोग नियन्त्रण गर्न, आपतकालीन स्वास्थ्य सहायता दिन, आत्तिएका यात्रुको मानसिक तनाव व्यवस्थापन गर्न, यात्रुहरू र उनीहरूको सामानको तौल गर्ने, विमानलाई इन्धन भर्ने समयमा मद्दत गर्न, सिटहरू दुरुस्त भए नभएको जाँच गर्न इत्यादि जिम्मेवारीसहित विमानमा राखिएको थियो । यसले के देखाउँछ भने, एअर होस्टेसको भूमिका शुरुदेखि नै ‘सहजकर्ता’ मात्रै नभई ‘सुरक्षा’ मा समेत केन्द्रित थियो ।
सन् १९६० र ७० को दशकलाई ‘उड्डयनको स्वर्ण युग’ मानिन्छ । यहाँसम्म उड्डयन क्षेत्र आइपुग्दा यो पेसाको विशेषता र जिम्मेवारी पनि थप परिष्कृत भयो । ठुला, छिटो र आरामदायी विमानहरूले हवाई यात्रालाई विलासितासँग जोडिदिए । एयरलाइन्सहरूले प्रतिस्पर्धामा उत्रिँदा उडान परिचारिकालाई आफ्नो ब्राण्डिङ्गको रणनीति बनाउन थाले । सुन्दरता, र आतिथ्यको प्रतिकका रूपमा यो पेसालाई प्रस्तुत गर्ने प्रचलन बढ्दै गयो । यसले आम यात्रुहरूको यो पेसाप्रतिको बुझाइलाई समेत प्रभाव पार्दै गयो ।
र, अन्ततः उडान परिचारिका भनेको यात्रुहरूलाई सहजीकरण गर्ने कर्मचारी मात्र हो भन्ने भाष्य निर्माण हुन पुग्यो । उनीहरूको वास्तविक भूमिका, सम्पूर्ण यात्रुसहित समग्र हवाई सुरक्षा लगायत आपत्कालीन अवस्थामा व्यवस्थापनको एक जिम्मेवार सिपाहीको वास्तविक परिचय गौण बनायो ।
आजको युगमा विमानको प्रविधि निकै विकसित भइसकेको छ । यो सँगै एअर होस्टेसको भूमिका पनि जटिल र महत्त्वपूर्ण बन्दै गएको छ । आधुनिक विमानमा उडान परिचारिकाहरू सेवासँग सम्बन्धित कर्मचारि मात्र होइनन् । उनीहरू पूर्ण रूपमा प्रशिक्षित हवाई सुरक्षा सम्बन्धी पेसाकर्मी पनि हुन् ।
नेपालको सन्दर्भमा यो पेसा अझ विशेष र चुनौतीपूर्ण छ । सन् १९५८ मा रोयल नेपाल एयरलाइन्स (हाल नेपाल एयरलाइन्स) को स्थापना भएपछि २८ सिटे डगलस डीसी–३ डाकोटा विमानमार्फत व्यावसायिक उडान सुरु भयो । त्यतिबेला उडान परिचारिकाको भूमिका यात्रु सुरक्षा, सहयोग र विश्वास निर्माणमा केन्द्रित थियो ।
यात्रुहरुमा हवाई सुरक्षा सम्बन्धी चेतनाको कमी, विमान परिचारिकाको निर्देशन बेवास्ता गर्ने बानी लगायतका कारण पटक–पटक दुर्घटनाबाट जोगिएको समाचार प्रशस्तै आउने गर्छन् । त्यसमाथि नेपालको भौगोलिक अवस्था कठिन छ । हिमाल, उच्च पहाडी भूगोल, कम भिजिविलिटी हुने तराईका विमानस्थलहरू, बदलिँदो मौसम, छोटो धावनमार्ग र विमानस्थलहरूको चुनौतीपूर्ण संरचना भएका कारण उडान परिचारिकाहरू केवल सेवा दिने व्यक्ति मात्र नभई, यात्रुको भरोसा र हवाई सुरक्षाको आधार हुन् ।
नेपालमा सन् १९७० पछि पर्यटन उद्योग विस्तारसँगै नेपालको हवाई क्षेत्रको विकास पनि बढ्दै गयो । पर्यटकहरूको आगमन बढेसँगै घरेलु यात्रुहरूले समेत हवाई यात्रा रोज्न थाले । आन्तरिक विमानस्थलहरूको वृद्धि, यात्रुको चाप लगायतले, व्यावसायिक विमान कम्पनीहरू पनि प्रतिस्पर्धामा उत्रिन थाले । योसँगै व्यावसायिक क्याबिन क्रूको माग पनि बढ्यो । नेपाली एअरलाइन कम्पनीहरूको ‘हस्पिटालिटी एम्बासडर’ बने उडान परिचारिकाहरू । तर उनीहरूको जिम्मेवारी केवल यत्तिमा मात्रै सीमित थिएन । त्योभन्दा धेरै सुरक्षा, जनचेतना, जनविश्वाससँग जोडिएको थियो ।
आज नेपालमा उडान परिचारिकाहरूको प्रशिक्षण अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्तरीय छ । उनीहरूलाई आपतकालीन निकास, आगलागी नियन्त्रण, प्राथमिक उपचार, खतरनाक सामग्री व्यवस्थापन, सुरक्षा प्रोटोकल, अपहरण अवस्था व्यवस्थापन, भिड नियन्त्रण लगायत कयौँ विषयहरूमा पोख्त बनाइन्छ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, आपतकालीन अवस्थामा उनीहरूलाई केवल ९० सेकेन्डभित्र सम्पूर्ण विमान खाली गर्न सक्षम बनाइन्छ । यो कुनै साधारण सीप होइन, यो जीवन र मृत्युबिचको निर्णायक क्षणलाई व्यवस्थापन गर्ने क्षमता हो ।
उनीहरूको मानसिक तयारी निरन्तर चलिरहन्छ । ‘निकास कहाँ छ’, ‘कुन यात्रुले सहयोग गर्न सक्छ’, ‘आगलागी भएमा पहिलो प्रतिक्रिया के हुन्छ’, ‘उपकरण कहाँ छन्’ इत्यादि तयारीहरू उनीहरूको हरपलको सोचको हिस्सा हुन्, जुन हरेक उडानमा पुनः अभ्यास गरिन्छ ।
तर आम यात्रुहरूले यो अदृश्य तयारी देख्दैनन् । उनीहरूका लागि हवाई यात्रा भनेको टिकट किन्ने, सिटमा बस्ने र गन्तव्यमा पुग्ने सामान्य प्रक्रिया जस्तो लाग्छ । त्यसैले सुन्दा साधारण लाग्ने निर्देशनहरू जस्तै सिटबेल्ट बाँध्न, सिट सीधा राख्न वा ट्रे टेबल फोल्ड गर्न इत्यादि दिइने निर्देशनहरू कहिलेकाहीँ अनावश्यक वा कठोर लाग्न सक्छन् । तर वास्तविकतामा यी सबै जीवन बचाउने सुरक्षा प्रणालीका अभिन्न अङ्ग हुन् ।
अझैसम्म पनि नेपालमा यस्ता साधारण सतर्कता सम्बन्धी चेतनाको कमी छ । यहाँ मौसम छिनछिनमा परिवर्तन हुन्छ, उडान ढिला हुन्छ, कहिलेकाहीँ रद्द पनि हुन्छ । यस्तो अवस्थामा यात्रुको निराशा स्वाभाविक हो, तर त्यसको पहिलो सामना प्रायः उडान परिचारिकाले गर्नुपर्छ, जो स्वयं त्यही प्रणालीको हिस्सा हुन् ।
उनीहरू मौसम नियन्त्रण गर्न सक्दैनन्, हवाई ट्राफिक व्यवस्थापन गर्न सक्दैनन्, न त प्राविधिक समस्या समाधान गर्न सक्छन् । तर यात्रुको आक्रोश, थकान र असन्तोष भने उनीहरूले नै सामना गर्नुपर्छ, त्यो पनि मुस्कानसहित ! उडान ढिलाइ हुँदा यात्रु घर फर्किन्छन्, तर चालक दल प्रायः अझै लामो समयसम्म ड्युटीमै रहन्छन् ।
आजको मुख्य समस्या हवाई क्षमता, मौसम, भूगोल, विमानको अवस्था वा प्रशिक्षण मात्र होइनन् । समस्या धारणा पनि हो । समाजले उडानलाई अझै पनि ‘सेवा उद्योग’ का रूपमा हेर्छ, तर वास्तवमा यो अत्यन्त संवेदनशील र समग्र हवाई सुरक्षासँग जोडिएको क्षेत्र हो, जसको भविष्य यात्रुको विश्वासमा निहित छ ।
हवाई यात्रा जति सामान्य बन्दै गएको छ, त्यति नै यात्रुहरूको लापरबाही बढ्दै गएको देखिन्छ । परिणामस्वरूप, उडान परिचारिकाको मूल्याङ्कन उनीहरूले विमानमा गर्ने सहजीकरण र अन्य सामान्य कामहरूको आधारमा गरिन्छ । जबकि उनीहरूको मुख्य जिम्मेवारी सुरक्षित यात्रा हो, जुन अदृश्य छ, तर निर्णायक छ ।
नेपालको सन्दर्भमा सुरक्षित हवाई संस्कृति निर्माण केवल नियमले मात्र सम्भव हुँदैन । यात्रुहरूको बुझाई र सहकार्य पनि उत्तिकै आवश्यक छ । प्रत्येक निर्देशन, प्रत्येक प्रक्रिया र प्रत्येक निर्णय कुनै ‘कठोरता’, ‘झन्झट’ होइन, सम्भावित सङ्कटबाट बचाउने वैज्ञानिक अभ्यास हो ।
अन्ततः, उडान परिचारिकालाई केवल सेवा दिने कर्मचारीका रूपमा हेर्नु उनीहरूको वास्तविक भूमिका र व्यावसायिक पहिचानप्रति अन्याय हो । उनीहरू उच्च प्रशिक्षित हवाई सुरक्षाकर्मी हुन्, जसको काम यात्राभर यात्रुको जीवन सुरक्षित राख्नु हो, चाहे अवस्था सामान्य होस् वा आपत्कालीन ।
त्यसैले अर्को पटक तपाईंले सिटबेल्ट बाँध्ने निर्देशन, आपत्कालीन द्वार सम्बन्धी निर्देशन सुन्नुभयो वा मुस्कुराउँदै अघि बढिरहेको उडान परिचारिका देख्नुभयो भने, त्यो मुस्कानको सतहभन्दा गहिरो हेर्नुहोस् । त्यो मुस्कानभित्र अनुशासन छ, तयारी छ र सम्भावित सङ्कटसँग जुध्ने क्षमता छ । उनीहरू तपाईंको यात्राको सहजकर्ता मात्रै होइनन्, उनीहरू उडान सुरक्षाका मौन रक्षक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय हेलिकप्टरले हाम्रो आकाश प्रयोग गरेको बारेमा मौखिक कुरा गरेका छौँ : प्रजिअ दार्चुला
-
उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु
-
परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै
-
परराष्ट्रमन्त्रीको भनाइबारे एमालेले माग्यो जवाफ
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण