मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
नौ प्रश्न

‘हामी लेखक हौँ कि व्यापारी, हामी कवि हौँ कि कमोडिटी डिजाइनर ?’

शनिबार, १७ साउन २०८२, १८ : ००
शनिबार, १७ साउन २०८२

साहित्यकार घनश्याम अस्तित्व मूलतः कवि हुन् । डेढ दशकदेखि साहित्य कर्म गरिरहेका उनले निबन्ध र कथा विधामा पनि कलम चलाइरहेका छन् । शिक्षण पेसामा आबद्ध उनी यतिबेला निबन्ध संग्रह निकाल्ने तयारीमा छन् । घनश्याम अस्तित्वको ‘प्युठानी कोसेली’ (२०६७) र ‘राप्ती’ (संयुक्त २०६७) गजल संग्रह प्रकाशित छन् । २०८० मा उनी ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ कविता संग्रह लिएर पाठकसामु आएका थिए । उनै घनश्याम अस्तित्वलाई यसपालि हामीले रातोपाटीको ‘नौ प्रश्न’ स्तम्भमा निम्त्याएका छौँ ।  

१) तपाईं किन लेख्नुहुन्छ ? 

प्रारम्भमा लेखन सायद मेरो एकान्तको साथी थियो, एक आन्तरिक अशान्तिको स्पन्दन, एक निजी संवेगको लहर । 

वर्षौंको कलम यात्रामा मैले एक चर्को प्रश्नसँग सामना गरेँ— म वास्तवमा किन लेखिरहेको छु ? कविता मलाई कहाँ लिएर गइरहेछ ? 

यो प्रश्नको उत्तर केवल मभित्र थिएन, मेरो वरिपरिको समाजमा पनि थियो, त्यस समाजको वर्गीय सम्बन्धमा थियो, त्यस समाजका श्रमिक हातहरूमा बाँधिएका जञ्जिरहरूमा थियो ।

बिस्तारै मैले दर्शनको अध्ययन गर्न थालेँ । स्नातक अध्ययन गर्दै गर्दाको कुनै दिन मेरो हातमा कम्युनिस्ट घोषणापत्र आइपुग्यो । मार्क्सवादले मलाई त्यो दृष्टि दियो, जसले लेखनलाई केवल भावको उत्सर्ग हैन, चेतनाको हस्तक्षेपका रूपमा बुझायो । मलाई बोध भयो— मेरो कलम त्यो छैन, जसले केवल फूलको वर्णन गर्छ, त्यो त हो जसले बगैँचाको सत्तात्मक व्यवस्था भत्काउन सक्ने क्षमता राख्छ । मेरो कविता केवल मनको मौनतालाई सङ्गीत बनाउने अभ्यास होइन, यो समाजको मौन बहुसंख्यकको पक्षमा उठाइएको क्रान्तिको स्वर हो ।

म लेख्छु किनभने मेरो समाजले श्रमिक वर्गलाई सधैँ शून्यमा सीमित गर्‍यो । मलाई थाहा छ, उत्पादन गर्छन् उनीहरूले तर इतिहास लेखिन्छ धनीका नाममा । म लेख्छु किनभने मलाई थाहा छ, चेतना उत्पादनको सम्बन्धबाट निर्देशित हुन्छ । म लेख्छु किनभने कविताले मलाई आत्मदया होइन, सामाजिक क्रोध सिकायो । कविताले मलाई भित्री रूपमा परिवर्तन गर्‍यो, त्यो परिवर्तन प्रेमीको छोडाइजस्तो थिएन, त्यो परिवर्तन भूमिहीन किसानको विस्थापनजस्तो थियो; त्यो परिवर्तन सपनाको मृत्युजस्तो थिएन, त्यो परिवर्तन चेतनाको पुनर्जन्मजस्तो थियो । म आफूलाई कविका रूपमा कवि मात्रै होइन वर्ग सैनिकका रूपमा लिन्छु । कवितामा म डोजर, सडक, मसिन अनि घाममै पसिना झार्ने हातहरूको कथा लेख्छु ।

म लेख्छु किनभने म बुझ्छु, विचारहरू आफैँ परिवर्तनकारी हुँदैनन्, जबसम्म तिनीहरू व्यवहारमा परिणत हुँदैनन् । म लेख्छु किनभने मेरा शब्दहरूले वर्गीय यथार्थ उजागर गरेनन् भने ती केवल सजावटका धागा हुन्, अर्धनग्न यथार्थलाई लाज ढाक्ने पर्दा मात्र ।

म लेख्छु किनभने म बुझ्छु, विचारहरू आफैँ परिवर्तनकारी हुँदैनन्, जबसम्म तिनीहरू व्यवहारमा परिणत हुँदैनन् । म लेख्छु किनभने मेरा शब्दहरूले वर्गीय यथार्थ उजागर गरेनन् भने ती केवल सजावटका धागा हुन्, अर्धनग्न यथार्थलाई लाज ढाक्ने पर्दा मात्र । लेखन साहित्यिक प्रयोग मात्र होइन आत्मा सुमसुम्याउने माध्यम पनि हो । यो हो, सङ्घर्षको कला । म लेख्छु किनभने शब्दहरू युद्धका हतियार हुन्, अनि कविताले बन्दुकभन्दा बढी सटीकता र गहिरो चोट पार्न सक्छ । कवि हुनु भनेको ऐतिहासिक चेतनाको वाहक हुनु हो । वर्ग सङ्घर्षको कालो–कालो रातमा मसाल बोक्ने कवि नै हुन्छ, जसले बाटो देखाउँछ । त्यसैले कविता मेरा लागि सौन्दर्य मात्रै होइन, यो एक सशस्त्र सपना हो, जहाँ परिवर्तनको रक्तरञ्जित सूर्य उदाउँछ । मलाई लेख्नु केवल सिर्जनात्मक अभ्यासजस्तो लाग्दैन । यो त एउटा राजनीतिक जिम्मेवारी हो । मलाई लाग्छ, पुस्तकहरू पढ्नु, यसबारे संवाद गर्नु र लेखमार्फत प्रश्न उठाउनु आजको समयमा सबैभन्दा आवश्यक प्रतिरोधको रूप हो । हाम्रो समाजमा उत्पीडन संस्थागत छ, यसर्थ मेरा लागि लेखन विद्रोह हो । 

२) अन्तिमपटक कुन कृति पढ्नुभएको थियो ? त्यो कृति कस्तो थियो ? 

अन्तिमपटक मैले पढी सिध्याएको पुस्तक हो, पाउलो फ्रेरेको ‘पेडागोजी अफ् द अप्रेस्ड’ । एउटा यस्तो पुस्तक जसले मेरा भित्री आधारहरू हल्लायो, मलाई शिक्षक हुनुको गहिरो अर्थ बुझायो । अनि लेखन, शिक्षण र चेतना बिचको ऐतिहासिक सम्बन्ध पुनर्व्याख्या गरायो । यो कृति केवल पुस्तक होइन, यो उत्पीडित वर्गहरूको मुक्तिको सपना बोकेको विचारको घोषणापत्र हो । फ्रेरे लेख्छन्, ‘शिक्षा तटस्थ हुन सक्दैन ।’ यो वाक्यले मलाई गहिरो चोट पुर्‍यायो । मैले आफैँलाई प्रश्न गरेँ, के म आफूले गरिरहेको शिक्षण र लेखनमार्फत उत्पीडितहरूको पक्ष लिइरहेको छु ? कि म शासक वर्गको मौन सहयात्री बनेको छु ? यसरी यो कृतिले मलाई केवल परिवर्तन गरेन, मलाई आफैँसँग जुध्न बाध्य बनायो ।

फ्रेरेको ‘बैंकिङ मोडल अफ एजुकेसन’ भन्ने अवधारणा जसमा शिक्षक ‘सर्वज्ञ’ र विद्यार्थी ‘खाली पात्र’का रूपमा प्रस्तुत गरिन्छन्, त्यो आज पनि हाम्रो शिक्षामा गहिरो रूपमा व्याप्त छ । मैले बुझेँ, यस्तो शिक्षा उत्पीडन कायम राख्ने संयन्त्र हो । त्यसैले फ्रेरेले प्रस्तुत गरेको ‘संवादात्मक शिक्षा’, ‘प्रक्षेपण होइन सह–सिर्जना’ अनि ‘चेतना विकास’को दृष्टिकोणले मलाई यथार्थसँग जुध्ने नयाँ दृष्टि दियो । यो कृति पढ्दै जाँदा मैले महसुस गरेँ कि शिक्षाशास्त्र भनेको केवल विधि होइन विचार हो, जुन विचार उत्पीडनको अन्त्यका लागि लड्न सक्नुपर्छ । शिक्षकको भूमिका अब केवल पाठ्यपुस्तकको लेखकको आवाज दोहोर्‍याउने होइन श्रमिक वर्ग, महिला, किसान, मजदुर, दलित, आदिवासीको मौन पीडालाई आवाज दिन सक्ने सक्रिय सहसङ्घर्षी बन्ने हो ।

फ्रेरेको विचारमा कविता पनि शिक्षा हो । कविता जसले केवल प्रेम र प्रकृति होइनन्, अन्याय र सत्ता पनि उठाउँछ । त्यसैले यो पुस्तकले मलाई मेरो लेखकीय यात्रामा पनि नयाँ मोड दियो । मैले देख्न थालेँ, म कुन वर्गका लागि लेखिरहेछु ? मेरो लेखन कसको पक्षमा खडा छ ? के मेरो कविता पीडाको सौन्दर्यीकरण मात्र हो कि पीडाको प्रतिरोध पनि ? त्यसैले फ्रेरेको पुस्तकले मलाई ‘शिक्षक’को भूमिका पुनःपरिभाषित गर्न बाध्य पार्‍यो । शिक्षक हुनु भनेको ज्ञानको पर्खाल होइन, चेतनाको पुल बन्ने जिम्मेवारी हो ।

मैले अहिले पढिरहेको पुस्तक भने अभिनव सिन्हाको पुस्तक ‘फासीवाद क्या है और इससे कैसे लडें’ हो । अन्तिमतिर आइपुग्दा लागिरहेको छ, फ्रेरे र सिन्हा दुवै विचारक एउटै चेतनाका दुई छाया हुन् । एकले शिक्षामार्फत उत्पीडनका विरुद्ध बोल्न सिकाउँछन्, अर्काले अधिनायकवादका विरुद्ध लड्न विचार दिन्छन् । दुवैले मलाई सम्झाउँछन्, शब्दहरू सङ्घर्षका हतियार हुन् । सिन्हाको पुस्तकले प्रारम्भदेखि नै मलाई झस्काइरहेको छ । फासीवादको उभार, यसको ऐतिहासिक सन्दर्भ, यसको आर्थिक–सामाजिक जरा र वर्गीय पक्षलाई गहिरो मार्क्सवादी दृष्टिकोणबाट विश्लेषण गर्दै पुस्तकले आजको विश्व राजनीतिमा देखापरेका नवफासीवादी प्रवृत्तिहरूको अनावरण गर्छ । सिन्हाले फासीवादलाई केवल विचारधाराका रूपमा होइन पुँजीवादको सङ्कटग्रस्त अवस्थाबाट जन्मिएको, श्रमिक–विरोधी, अल्पसंख्यकद्वेषी र प्रतिक्रियावादी राजनीतिक परियोजनाको रूपमा चित्रण गरेका छन् । 

सिन्हाको पुस्तकले कसरी फासीवाद शिक्षा, सञ्चार, संस्कृति र भाषा प्रयोगमार्फत जनमानसमा घुस्छ । यसले ‘राष्ट्रिय गौरव’का नाममा जनताको चेतना हरण गरेर उनीहरूलाई प्रतिक्रियावादी एजेन्डामा उभ्याउँछ । अझ भयावह कुरा त यो हो कि फासीवाद केवल एक सत्ताको प्रवृत्ति होइन यो जनमानसभित्र पैठ जमाउने विचार हो, जसले सहिष्णुता, बहुलवाद र समानताको जगलाई नै खतरामा पार्छ । 

३) पछिल्लो समयको नेपालको साहित्यिक बजार र बहस कस्तो पाउनुभएको छ ?

पछिल्लो समयको नेपाली साहित्यिक बजार र बहसलाई नियाल्दा एउटा गहिरो चिन्ताको घेरा खुल्छ, साहित्य अब विचारको आवाज होइन, बजारको माग हो । कलम अब चेतनाको हतियार होइन, ‘ब्रान्ड प्रमोसन’को यन्त्र बनेको छ । साहित्य जनताको छातीमा फाटेका घाउमा मलम लगाउन जन्मिनुपर्छ तर आज सामान्य ‘इभेन्ट’मा रूपान्तरण भएको छ, जसको मूल्य विचार र संवेदनाले होइन ‘सेल्स फिगर’ले तोकिरहेको देखिन्छ ।

वर्तमान साहित्यिक प्रवृत्तिमा एक किसिमको चमक छ तर त्यो चमकभित्र अँध्यारोको चिसो पनि छ । लेखकहरू अब आत्माको आवेग होइन, बजारको अल्गोरिदम पढेर लेख्छन् । कथाको संरचना होइन, ‘कन्टेन्ट स्ट्राटेजी’ र ‘मार्केट प्लेसमेन्ट’ को अनुशरण हुन्छ । यो ‘कमोडिटी फेटिसिजम्’ हो, जहाँ वस्तुलाई पुजिन्छ तर त्यसको पछाडिको शोषण भने लुकेको हुन्छ । आज साहित्यिक विमर्शमा वर्ग सङ्घर्ष होइन, सत्ता प्रशस्तिको गीत गाइरहेका छन् । एकताका जनताको भोक र रगतका कथा लेखिने ठाउँमा अब ‘म स्टार्टअप कसरी बनेँ’ जस्ता पुस्तकले स्थान पाएका छन् । विमर्शको विषय त यो बन्न जरुरी छ कि हामी साहित्य लेख्दै छौँ कि विज्ञापन निर्माण गर्दै छौँ ? हामीले विचार लेखिरहेका छौँ कि वस्तुको उत्पादन गरिरहेका छौँ ? हामी लेखक हौँ कि व्यापारी ? हामी कवि हौँ कि कमोडिटी डिजाइनर ? हामी जनताको स्वप्नद्रष्टा हौँ कि बजारको सेल्सम्यान ? यसले देखाउँछ, हामी कता गइरहेछौँ भन्ने । 

हिजो क्रान्ति लेख्ने हातहरूले आज ‘ब्रान्ड डिल’ साइन गरिरहेका छन् । लेखकहरूको सम्मान ‘किताबको गहिराइ’ले होइन, ‘इभेन्टको आकार’ले तय हुन्छ । विमर्शहरू अब भुइँतहको जनजीवनबाट होइन, टेबलमाथिको कफी मगबाट सुरु हुन्छ । साहित्यिक गोष्ठीहरू क्रान्तिकारी संवाद होइन सेल्फी अवसर भएका छन्, यतिबेला पनि एउटा चेतनाको धार बगिरहेको छ— कहिलेकाहीँ गहिराइमा, कहिले खुलेर । केही लेखक छन् जो लेखिरहेका छन्, श्रमिकहरूको सपनाका लागि । उनीहरूलाई थाहा छ, साहित्य कुनै ‘इन्फ्लुएन्सर मार्केटिङ’ होइन यो शोषणविरुद्धको घोषणापत्र हो ।

४) तपाईंको बुझाइमा कविता के हो ? कविता लेखनमा तपाईंलाई सबैभन्दा चुनौतीपूर्ण कुरा के लाग्छ ? तपाईंले कविताजस्तै जिन्दगी बाँचिरहनुभएको छ ? 

मेरो बुझाइमा कविता कुनै विषयको विवरण होइन, त्यो त विषय र व्यथाको अन्तरङ्ग सन्त्रास हो । जसलाई न खालि लेखिन्छ न त सिर्जना गरिन्छ, भोगिन्छ र महसुस गरिन्छ; भित्र गाडिन्छ अनि एउटा घाउझैँ रक्ताम्य भएर पानामा टपक्क टप्किन्छ । कविता भन्नु जीवनका ती अनुभूति हुन्, जसलाई भाषाले सम्हाल्न सक्दैन तर भाषाले नै बुनिन्छ । कविता भन्नु बादल च्यातेर झरेको वर्षा हो, न आँसु न त पानी तर दुवैको स्पर्श बोकेको चिसो अनुभूति ।

वर्ग सङ्घर्षको कालो–कालो रातमा मसाल बोक्ने कवि नै हुन्छ, जसले बाटो देखाउँछ । त्यसैले कविता मेरा लागि सौन्दर्य मात्रै होइन, यो एक सशस्त्र सपना हो, जहाँ परिवर्तनको रक्तरञ्जित सूर्य उदाउँछ । मलाई लेख्नु केवल सिर्जनात्मक अभ्यासजस्तो लाग्दैन । यो त एउटा राजनीतिक जिम्मेवारी हो ।

कविता लेख्दा सबैभन्दा चुनौतीपूर्ण लाग्छ, साँचो पीडालाई झुटो शैलीमा नबोल्नु । किनभने हामी शब्द सजाउने अभ्यासमा त छौँ तर कहिलेकाहीँ ती शब्दले आफ्नै सत्यतालाई धोका दिन थाल्छन् । पीडा जब प्रदर्शन बन्छ, त्यो कविता होइन प्रचार हुन्छ । मलाई लाग्छ, सबैभन्दा कठिन कुरा हो सत्य बोल्नु । हो, म कविताजस्तै जिन्दगी बाँचिरहेछु । किनभने म स्थिर छैन, म प्रवाहमा छु । जीवनमा कहिले उपमा भएर बोल्छु, कहिले प्रतीक बनेर चुप लाग्छु । जिन्दगी नै एउटा लामो कविता हो, जहाँ हामी कहिले विरामचिह्नमा अड्किन्छौँ, कहिले भावविहीन हरफमा हराउँछौँ, तर हरेक दिन लेख्दै जाँदा आफैँ कवि बन्छौँ, आफैँ कविता । कविता लेख्ने होइन, कविता जिउने हो । किनभने शब्द त मृत्यु भए पनि बाँच्छन् तर कविता तिनको जिउँदो सास हो ।

५) समकालीन नेपाली कविताको अवस्था कस्तो देख्नुभएको छ ? अनि लेख्नका लागि यहाँलाई कुन कुराले सबैभन्दा धेरै झकझकाउँछ ? कविता लेखनमा तपाईंका कुनै उद्देश्य छन् कि ? 

समकालीन नेपाली कविता आज शिल्प र शैलीमा त चम्किन्छ तर भावनाको गहिराइमा डुब्न छाडिसकेजस्तो लाग्छ । धेरैजसो कविता बाहिरी स्वरूपमा इज्जतिला देखिए पनि भित्रभित्रै खाली छन्; जसरी फूलमाला त झुन्डिएको छ तर गन्ध हराएको छ । प्रेमका कविता स्टाटसजस्ता लाग्छन् र प्रगतिशील भनिएका कविता नाराजत्तिकै सतही । कविता अब कागजमा होइन, प्रदर्शनमा छ । जब कविताले श्रमिकको सुस्केरा होइन, मन्त्रीको भाषण दोहोर्‍याउँछ, तब त्यो सिर्जना होइन, सजावट मात्र हुन्छ ।

मलाई कविता लेख्न बाध्य बनाउने चिजहरू धेरै छन् तर सबैभन्दा गहिरो चिसो भनेको अन्याय हो । जब बाढीले बगाउँछ खेतबारी, जब अनाथको रुवाइ ओझेलमा पर्छ, जब चुपचाप पीडामा समाज सुत्छ, तब त्यही मौनता मेरा शब्द बन्छन् । मेरा कविता रमाइलोको भाँडो होइनन्, झस्काउने ऐना हुन् । ती फूल बोल्छन् तर दरबारको फूलदानीबाट होइन धुलो र फोहोरको छेउबाट । म चाहन्छु, मेरा कविता पढेपछि पाठक केवल ‘वाह’ नभनुन्, भित्र कतै चिसो सर्छ, केही सोचुन्, केही बदलुन् । किनभने कविता मेरा लागि सुन्दर भाषा होइन, सचेत आत्माको विरोध हो ।

६) लेखेर अहिलेसम्म के कति कमाउनुभयो वा के गुमाउनुभयो ? 

लेखेर मैले कमाएको कुरा अनुभव, आत्मबोध र आवाजको स्वतन्त्रता हो । शब्दमार्फत म आफूलाई बुझ्न थालेको छु, अनि समाजका उनै आवाजलाई बोल्न सक्ने भएर आएको छु, जसलाई प्रायः सुनिँदैन तर गुमाएको कुरा पनि कम छैन । कहिलेकाहीँ सामाजिक असहमति, आलोचना र स्वार्थी नजरहरूबाट टाढा हुनुपरेको छ । लेखनले मलाई कहिले एक्लो बनाएको छ, कहिले चुनौती दिएको छ, तर तिनै कठिनाइ मेरा शक्ति बनेका छन् । लेखनले मोल नलाग्ने मूल्य दिएका छन्— विचारको स्वतन्त्रता, संवेदनाको स्पष्टता र परिवर्तनको आशा । के कमाएँ र के गुमाएँभन्दा पनि लेखनले मलाई ‘मान्छे’ बनाएको छ, जुन मेरा लागि सबैभन्दा ठुलो सम्पत्ति हो ।

विमर्शको विषय त यो बन्न जरुरी छ कि हामी साहित्य लेख्दै छौँ कि विज्ञापन निर्माण गर्दै छौँ ? हामीले विचार लेखिरहेका छौँ कि वस्तुको उत्पादन गरिरहेका छौँ ? हामी लेखक हौँ कि व्यापारी ? हामी कवि हौँ कि कमोडिटी डिजाइनर ? हामी जनताको स्वप्नद्रष्टा हौँ कि बजारको सेल्सम्यान ?

७) पाठकलाई पढ्न सिफारिस गर्नका लागि यहाँको पछिल्लो कविता सङ्ग्रह  ‘चिहानमाथि महल बनाइरहेको मान्छे’मा त्यस्तो के छ ? पाठकले यो कृति किन पढ्नुपर्छ जस्तो यहाँलाई लाग्छ ? 

कवितामा मैले मूलतः आँसुको आवाज, मौनताको चीत्कार र विसङ्गत समाज र विश्वको मुहारलाई प्रस्तुत गर्न खोजेको छु । त्यसो त यसमा रहेका कविता प्रेमका पनि छन् प्रतिरोधका पनि, स्मृतिका पनि छन् विस्मृतिका पनि । केही कविता रुवाउनेछन् केही तर्साउने, केही भुलाउनेछन् केही जगाउने । त्यसो त कविता पढ्नु भनेको केवल कविता पढ्नु होइन यो समय, समाज र आफैँलाई पढ्नु पनि हो । यो समयमा यति चाहिँ दाबी गर्न सकिन्छ, कविता समाचारभन्दा धेरै साँचो हुन्छ ।

८) तपाईंलाई झकझकाएको कुनै एउटा साहित्यिक कृति सम्झिनुपर्‍यो भने कुन  सम्झिनुहुन्छ ? 

केही दर्शन सम्बन्धका बाहेक मलाई झकझकाउने साहित्यिक पुस्तकहरूको पनि लामै सूची बन्छ । एउटा साहित्यिक कृति सम्झिनुपर्‍यो भने मविना हिचकिचाहट जर्ज अर्वेलको ‘एनिमल फार्म’ सम्झन्छु । त्यो सानो र प्रतीकात्मक उपन्यासले मलाई यति गहिरो झट्का दियो कि शक्तिको चरित्र, भाषाको दुरुपयोग र क्रान्तिको विडम्बना मेरा मानसपटलमा स्थायी घाउझैँ बस्न थाले । जनावरहरूका रूपमा चित्रित पात्रहरू सबै हामी आफूले देखे–सुनेका मानिसहरूसँग मेल खान्छन् । त्यहीँनेर चिप्लिएको ‘क्रान्ति’को खाल्टोमा हामी आफ्नै समाजलाई देख्न सक्छौँ ।  

क्रान्तिको नाराभित्र पनि शोषण लुकेको हुन्छ, कविता–कथाले त्यो आवरण च्यात्न सक्नुपर्छ । ‘अल एनिमल्स आर इक्वेल, बट सम एनिमल्स आर मोर इक्वेल देन अदर्स’ भन्ने वाक्य मेरो चेतनाको दरबारमा लगातार घन्किरहेको झ्यालजस्तो लाग्छ ।

९) आखिर जिन्दगी के रहेछ ?

जिन्दगी आफ्नै विरुद्ध र समय विरुद्धको एउटा मौन लडाइँ हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप