कविताको निद्रा, कविको मृत्यु
कविता के हो ? यो प्रश्न मानव सभ्यताको युगौँ पुरानो चिन्तन हो, जसको जवाफ कहिल्यै अन्तिम हुन सकेको छैन । अन्तिम हुने पनि छैन । हरेक कविले झेल्ने सबैभन्दा दुई प्रश्न हुन्— कविता के हो र कविता किन लेखिन्छ ?
तीन हजार वर्षभन्दा बढीको लामो यात्रामा कविता आफ्नो स्वर, रूप र भावनामा निरन्तर परिवर्तन हुँदै आएको छ । कविताले अनेकानेक उतारचढाव झेल्दै आजको समयसम्म आइपुगेको छ, तर यस युगान्तकारी यात्रामा कविता आफैँ एक अनुत्तरित प्रश्न हो । कवितालाई परिभाषित गर्ने र कविताको भूमिका सम्बन्धमा दुई दार्शनिक दृष्टिकोण छन् । म एउटा हाँगालाई कतै शून्यतामा छोड्न चाहन्छु ।
कविता लेखनको प्रारम्भमा मलाई थाहा थिएन, म किन लेख्छु कविता । निश्चय नै दशक बढी समय बित्दै गर्दा मात्रै कविताको प्रयोजन सम्बन्धमा चिन्तित हुन थालेँ म । कविताको भूमिका विषयमा मेरो आफ्नै धारणा बन्दै जान थाल्यो । आज म कवितालाई केवल शब्दहरूको सजावट रूपमा होइन, भावनाको हल्का लहरका रूपमा मात्र होइन, अलिक फरक रूपमा बुझ्दछु, लिन्छु ।
कविता कहिल्यै निदाउनु हुँदैन, मौन रहनु हुँदैन । वास्तवमा कविता समाजको धड्कन, वर्गसंघर्षको गहिरो चित्कार र समयको छातीमा कुँदिएको आँसुले लेखिएको दस्ताबेज बन्नुपर्छ । जब जनता भोकले थर्थराउँछन्, जब मेहनती हात तिर्खाउँछन्, अनि जब सम्पत्ति केही थान मुखिया र पुँजीका दलालका गोदाममा थुप्रिन्छ, तब कविता चिच्याउनुपर्छ ।
कविता कतिबेला मात्र कविता बन्छ ? महत्त्वपूर्ण प्रश्न यो हो । कविता शब्दहरूको संकलन मात्र बन्छ या कविता जीवनको सशक्त आवाज, पीडाको प्रतिध्वनि र विद्रोहको राग बन्छ ? जहाँ वर्गहरूबिचको संघर्ष छ, त्यहाँ कविता स्वतः क्रान्तिको अस्त्र बन्न पुग्छ या पुग्दैन ? कविता केवल सौन्दर्यको माध्यम बन्छ कि शोषित जनताको जीवनयुद्धको गीत ?
कविता ऐना मात्रै होइन समाजको, समाज निर्माणको हतियार पनि हो । कविता त्यो आँखा हो जसले सत्य देख्छ, त्यो स्वर हो जसले झुटलाई ललकार्छ । कविले कलम उठाउँदा त्यो कलम कुलीन वर्गको आडम्बर हुन्छ कि श्रमिकको गह्रुँगो हातमा लागेको मैला ? यसरी निर्धारण हुन्छ कविताको भूमिका ।
हामीलाई थाहा छ, युगौँयुगदेखि कविहरूले फूल, चन्द्रमा र प्रेमका गीत गाए, तर एउटा कवि जब बाटोमा हिँड्छ र एउटा बालकले सडकमा कागज टिप्दै गरेको देख्छ, त्यो कविता शब्द मात्रै बनेर निदाउने कि सडकमै चिच्चाउने ? कविताले रूखको हाँगामा फाँसी झुन्ड्याइएको किसानको सपनालाई देख्छ कि देख्दैन ? मुनाफाखोर बजारमा खल्ती रित्त्याएर फर्केको आमाको सुस्केरा सुन्छ कि सुन्दैन ? यसरी निर्धारण हुन्छ कविताको भूमिका ।
कविता आज कारखानाका भित्ताहरूमा टाँगिएको रित्तो टिफिन बक्स हो, त्यो बाल श्रमिकप्रतिको दया होइन, घृणासहितको परिवर्तनको उद्घोष हो । कविको हृदय अब बगैँचाको सौन्दर्य हेरेर मात्र रमाउनु हुँदैन, त्यो बगैँचाबाट तिनलाई निकालिन्छन् जो फूल देख्छन् तर फूललाई जीवन दिएको किसानलाई देख्दैनन् । कविको दृष्टिमा राज्यशक्ति शत्रु कि मित्र, जब त्यो राज्य आमाको पेट र बच्चाको भविष्य मिचेर आफैँ मोटाउँछ भने ? यसरी निर्धारण हुन्छ कविताको भूमिका ।
कविता पुँजीवादको रमझम मात्रै कि वर्गसंघर्षको रणभूमिमा झरेको खन्जरी ? कविता अब सन्तुलनको लाज या लडाइँको घोषणा ? जब श्रमिकको हात काटिन्छ, त्यसको रगतले लेखिएको हरफ बन्छ कि बन्दैन कविता? जब बस्ती जलाइन्छ, त्यो खरानीबाट उठेको धुँवाजस्तै, कविता उठ्नुपर्छ या पर्दैन ? यसरी निर्धारण हुन्छ कविताको भूमिका ।
कविताले सडकमा हिँड्ने जनताको लयमा नाचोस् र जेलमा राखिएका विचारहरूको मुक्तिको चाबी बनोस् । जब श्रमिक हाँस्न सक्छ कविता पढेर, तब त्यो कविता सफल हुन्छ । जब एउटा अशिक्षित आमाले आफ्ना छोराछोरीका लागि कविता सम्झिन्छिन्, त्यो दिन बल्ल कविताले आफ्नो भूमिका जान्नेछ ।
कवि हुनु सजिलो छैन । कवि त्यो हो, जसको शब्द वज्र समान होस्, जसको कविताले पहाड हल्लाओस् । जसले प्रेम लेख्दा पनि वर्गचेतनाको सुगन्ध बोकेको होस् । जसको दुःख निजी होइन, सार्वजनिक होस् । कविले आफ्नो छाया बाँधेर राख्नु हुँदैन अब, त्यो छाया हजारौँ छायाहरूको साझा बनेर फैलिनुपर्छ । अनि बल्ल समाउनेछ कविले मानवको एक असल राजमार्ग ।
कविता केवल कविता होइन, यो दस्तावेज हो, प्रतिवाद हो र हो झलझल्ती जलिरहेको मसाल । जब आखिरी श्रमिकले मुस्कुराएर भन्न सक्छ, ‘म पढ्छु तिमीले लेखेको कविता, किनकि त्यो मेरै आवाज हो’, त्यो दिन कविता आफ्नो उद्देश्यमा पुग्छ । कविता मन्दिरको आरती होइन, त्यो कारखानाको हल्ला हो, खेतको सुस्केरा हो, टिनको छानाबाट चुहिएको सपना हो, युद्धमा हारेका सैनिकको अन्तिम हाँसो हो । कविता त्यो जीवन हो, जुन जीवनमा गरिबको पीडा छ, श्रमिकको आँसु छ, बालकको सपना छ ।
पुँजीवादले निल्दै गरेको यो विश्वमा कविताले सामाजिक, आर्थिक र राजनीतिक क्रान्तिको भूमिका खेल्छ या खेल्दैन ? पुँजीवादको दमनकारी यन्त्रविरुद्ध कविता विद्रोहको स्वर बन्छ या बन्दैन ? कविता केवल मनोरञ्जन मात्र या समाजको यथार्थ बुझ्ने एउटा सशक्त माध्यम ? कविताले सामाजिक न्याय, वर्गसंघर्ष र परिवर्तनको सपनालाई उजागर गर्छ कि गर्दैन ? वास्तमा शेलीले भनेजस्तै ‘कविताले सामाजिक क्रान्तिको बिउ’ रोप्नुपर्छ । कविता जनताको संवेदना र चेतनाको प्रतिविम्ब बन्नुपर्छ । यो उनीहरूको दुःख, पीडा र आशाको सङ्गीत बन्नुपर्छ । पुँजीवादी व्यवस्था जहाँ मजदुर, किसान र श्रमिकलाई शोषणमा राख्छ, त्यहाँ कविता उनीहरूको जीवनको आन्दोलनको कथा बन्नुपर्छ ।
कविताको भाषा केवल अलङ्कार र प्रतीक या यो वर्गसंघर्षको संवाद ? कविताले पुँजीवादी यन्त्रको दमनलाई उजागर गर्छ कि गर्दैन ? जनतालाई विद्रोह गर्न प्रेरित गर्छ या अन्यायलाई चुपचाप सहन ? कविता जीवनको आन्दोलन, संघर्ष, अनि क्रान्तिको स्वर बन्छ या बन्दैन ? कविता र सामाजिक परिवर्तन एकअर्काका अविभाज्य भाग बन्छन् कि बन्दैनन् ? यसरी थाहा हुन्छ कविताको भूमिका ।
कवि र कविता कहिल्यै अलग हुन सक्दैनन् । कविता मात्रै क्रान्तिकारी कविता लेख्ने कवि पनि ? कविले कविता केवल सौन्दर्यका लागि या जनताको जीवनका लागि लेख्नुपर्छ ? कविता जीवनसँग जोडिएको हुनुपर्छ या पर्दैन ? जीवन जुन शोषण, वर्ग संघर्ष र संघर्षको भोगाइले भरिएको छ । कवि आफ्नो कवितामार्फत जनताको पीडा बोल्छ या बोल्दैन ? कविको जीवनशैली कस्तो रहन्छ ? यसरी थाहा हुन्छ कवि र कविताको भेद ।
कविता ऐना मात्रै होइन समाजको, समाज निर्माणको हतियार पनि हो । कविता त्यो आँखा हो जसले सत्य देख्छ, त्यो स्वर हो जसले झुटलाई ललकार्छ । कविले कलम उठाउँदा त्यो कलम कुलीन वर्गको आडम्बर हुन्छ कि श्रमिकको गह्रुँगो हातमा लागेको मैला ? यसरी निर्धारण हुन्छ कविताको भूमिका ।
कवि र कविता एउटै प्रक्रिया हुन् । जनताको सामाजिक चेतना र इतिहास निर्माणको प्रक्रियामा कविताले सामाजिक यथार्थलाई प्रस्ट पार्नुपर्छ, न्यायको आह्वान गर्नुपर्छ र दमनको विरुद्धमा विद्रोहको स्वर सुनाउनुपर्छ । यही कारणले कविता र क्रान्ति एक अर्कासँग घनिष्ठ छन् । कविताले नयाँ समाजको सपना देखाउँछ । त्यो सपना जहाँ समानता, स्वतन्त्रता र न्याय हुन्छ । पुँजीवादी व्यवस्था भत्काएर नयाँ समाज निर्माणका लागि कविता चेतनाको बिउ हो । यो बिउ रोप्न कवि तयार हुन्छ या हुँदैन ? यसैबाट थाहा हुन्छ कविको भूमिका ।
कविता लेखन सजिलो छैन । यो गहिरो श्रम हो, अध्ययन हो र सामाजिक जागरण हो । कविले आफ्नो कविता आफैँ आलोचना गर्दै पुनः लेख्दै त्यसमा सुधार गर्दै लैजानुपर्छ । कविता केवल शिल्प होइन, यो चेतना र संवेदनाको मुहान हो ।
कविताको भाषा कस्तो हुनुपर्छ ? कविताको सन्दर्भमा अर्को महत्त्वपूर्ण प्रश्न हो यो । कविताको भाषा सरल मात्र होइन, गहिरो र प्रभावकारी हुनुपर्छ । जसले मन छुन्छ, चेतना जागृत गर्छ र सामाजिक यथार्थलाई प्रस्ट पार्छ । कविताको भाषा स्पष्ट र तीव्र हुनुपर्छ । जसले वर्ग संघर्षको वास्तविकता देखाउँछ ।
कविता जसले श्रमिक र किसानलाई उनीहरूको शक्ति र अधिकार सम्झाउँछ, उनीहरूको सामूहिक जागरण गर्छ । कविता केवल सामाजिक यथार्थको प्रतिविम्ब मात्र होइन, सामाजिक परिवर्तनका निम्ति चेतनाको जग हो । कविता सामाजिक परिवर्तनको स्रोत हो । कविता र क्रान्ति एकअर्काको अभिन्न हिस्सा हुन् । क्रान्ति भनेको मात्र सत्ता परिवर्तन होइन, सामाजिक सम्बन्धहरूको पुनर्संरचना हो । कविता यस सामाजिक पुनर्निर्माणको भाष्य हो । यसले शोषण विरुद्धको भावना जागृत गर्छ र एक नयाँ समाजको सपना बुन्छ ।
आजको पुँजीवादी समाजमा जहाँ वर्ग विभाजन, शोषण र अन्याय छ, त्यहाँ कविता जनताको क्रान्तिकारी चेतना जागृत गर्ने माध्यम हो । कवितामा प्रयोग भएका प्रतीक, विम्ब र अलंकारहरू केवल कलात्मक तत्त्व होइनन्, ती समाजको वर्गीय द्वन्द्वको प्रतिनिधित्व गर्छन् । प्रत्येक कविता एउटा विद्रोहको गीत हो, जसले शोषित वर्गलाई उठ्न प्रेरित गर्छ । कविता शोषितको क्रान्तिकारी चेतना बन्नेछ, जब कवि त्यसमा आफ्नो सामाजिक प्रतिबद्धता राख्छ । केवल भावुकता वा सौन्दर्यले कविता जीवित रहन्न । कविता तब मात्र सशक्त हुन्छ जब त्यो समाज परिवर्तनको आह्वान बन्छ ।
कविता लेख्नु या पढ्नु मात्रै महत्त्वपूर्ण होइन, त्यसलाई बुझ्नु, त्यसमा जीवन देख्नु र त्यसलाई सामाजिक परिवर्तनको माध्यम बनाउनु जरुरी कुरा हो । कविताको स्वतन्त्रता जनताको जीवन र संघर्षको प्रतिबद्धतामा बाँधिएको हुनुपर्छ । ‘जनताबाट सिक्नु र जनतालाई दिनु’ यही काव्य र क्रान्तिको मूल मन्त्र हो । कविता जीवनको शिरा हो, जनताको आन्दोलन हो, क्रान्तिको बिउ हो । कविता निदायो भने कवि जिउँदै मर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण