शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अन्तरवार्ता

‘अध्यक्षले नै पेलेर जान खोज्दा राप्रपा दुर्घटनाको डिलमा पुग्यो’

शनिबार, १७ साउन २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्रको आन्तरिक कलह सतहमा छताछुल्ल भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका पुराना र प्रभावशाली नेताहरूमाथि एकपछि अर्को कारबाहीको डण्डा चलाएपछि पार्टी विभाजनको संघारमा पुगेको टिप्पणी हुन थालेको छ । 

यही शृङ्खलामा अध्यक्ष लिङ्देनले हालै पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेका छन् । अध्यक्षको यो कदम विधानविपरीत र एकलौटी भएको भन्दै गिरी र उनीनिकट नेताहरूले प्रतिवाद गरिरहेका छन् । अध्यक्षले आफूलाई जिताउने समूहलाई नै किनारा लगाउन खोजेको र ‘पेलेर जाने’ मानसिकता देखाएको उनीहरूको आरोप छ । यही विषयमा केन्द्रित रहेर रातोपाटीका लागि रोहित दाहालले नेता गिरीसँग विस्तृत कुराकानी गरेका छन् । कुराकानीको सम्पादित अंशः

  • निलम्बित उपाध्यक्ष भनेर सम्बोधन गरेँ, कुरा यही हो नि ?

मलाई निलम्बित गरिएको होइन । पार्टी अध्यक्षले विधानविपरीत एकल पत्र लेखेर मलाई सामाजिक सञ्जालमार्फत उपाध्यक्ष र केन्द्रीय सदस्य पदबाट पदमुक्त गरिएको छ भनेर जानकारी दिनुभयो । विधानतः म अहिले पनि निर्वाचन आयोगको रेकर्डमा पार्टीको केन्द्रीय उपाध्यक्ष र केन्द्रीय सदस्य नै हुँ ।

  • पार्टी अध्यक्षले नै निर्णय गरेर प्रवक्ताले विज्ञप्ति जारी गरिसकेपछि त कारबाही भएकै हो नि !

उहाँको तर्फबाट हेर्दा त्यस्तै हो । तर त्यो कारबाही विधानसम्मत छैन । हाम्रो विधानले कुनै पनि सदस्य वा पदाधिकारीलाई कारबाही गर्दा एक निश्चित प्रक्रिया तोकेको छ । अध्यक्षले त केवल निर्णय कार्यान्वयन गर्ने मात्र हो । यहाँ त मलाई कुनै जानकारी नदिई, कुनै समितिमा छलफल नगरी एकलौटी ढंगले हटाइयो । यो सरासर विधानको उल्लघंन हो ।

  • अध्यक्षविरुद्ध गुटबन्दी गर्ने, पार्टीको हितविपरीत काम गरेपछि हुने त कारवाही नै हो नि ।

यो धेरै गहिरो कुरा छ । यसको जरो २०७८ को महाधिवेशनबाटै सुरु भएको हो । कमल थापाजीको कार्यशैलीबाट आजित भएर म, धवलशमशेर राणालगायत राजेन्द्र लिङ्देनजीलाई अध्यक्ष बनाउन एउटा प्यानल नै बनाएर लाग्यौँ । 

तर, चुनाव जितेको छैटौँ दिनमा नै उहाँको फरक रूप देखियो । एउटा साथीको घरमा सगुन खान जाँदा हामीले भन्यौँ, ‘अब पार्टी नयाँ ढंगले चलाउनुपर्छ । मनोनित गर्दा चुनावमा त्याग गरेका तर पराजित भएका पदाधिकारी साथीहरूलाई प्राथमिकता दिनुपर्छ वा तत्काल कसैलाई नगरौँ ।’ यति भन्नासाथ उहाँले एकाएक भन्नुभयो, ‘मैले विद्यार्थी संगठनको अध्यक्ष पनि यस्तै दबाबले छोडेको हुँ । तपाईंहरूले यस्तै दबाब दिने हो भने म पार्टीको अध्यक्ष पदबाट पनि राजीनामा दिन्छु ।’ 

उहाँको त्यो भनाइले हामी झस्कियौँ । 

उहाँले मसँगैको कुराकानीमा अध्यक्ष लिङ्देनले ‘मलाई जिताएपछि स्वार्थ समूहले आफ्नो अनुकूल चलाउन खोज्यो, म त्यस्तो मान्छे होइन’ भन्नुभएको थियो । भनेपछि तपाईंहरूको अनुकूल चल्नुभएन छ ।

mukundashyam giri

स्वार्थ हामीले होइन, अध्यक्षले राख्नुभयो । हामीले त केवल पार्टीको सिद्धान्त र महाधिवेशनअघिको समझदारीअनुसार चल्नुहोस् मात्र भनेका हौँ । तर, उहाँले आफूसँग असहमत हुनेलाई पाखा लगाउने र आफ्नो सानो गुटको स्वार्थमा पार्टी चलाउने काम गर्नुभयो । चुनाव हारेका र आफूनिकट केही व्यक्तिलाई विधानविपरीत नियुक्ति दिनुभयो । स्वार्थ कसले राख्यो, प्रस्टै छ । उहाँको मनमा ‘अहिले यिनीहरूले जिताऊन्, जितिसकेपछि म पेलेर जान्छु’ भन्ने रहेछ, त्यो हामीले चिन्न सकेनछौँ ।

  • त्यसपछि सरकारमा जाने विषयमा पनि विवाद भयो, होइन ?

हो । त्यो अर्कोे ठुलो मतभेदको विन्दु थियो । हाम्रो स्पष्ट समझदारी थियो कि राप्रपाले राम्रो जनमत नल्याएसम्म सरकारमा जानुहुँदैन । अध्यक्ष लिङ्देनले पत्रकार सम्मेलनमा आफैँले ‘हामी दुईचार सिटको लागि सरकारमा जाँदैनौँ’ भन्नुभएको थियो । उहाँले ‘यो विदेशीको सहयोगविना बनेको राष्ट्रवादी सरकार हो, यसलाई सहयोग गर्नुपर्छ’ भन्ने तर्क गरेर बहुमतको आडमा निर्णय गराउनुभयो । 

राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा स्थापित गर्न तपाईंहरूले नागरिक आन्दोलनको कुरा गर्नुभयो । तर, आफ्नै पार्टी अध्यक्ष हुँदाहुँदै बाहिरको व्यक्तिलाई कमान्डर बनाउनुभयो । यसलाई त अध्यक्ष लिङ्देनले ‘झुल बाहिरका मच्छर’ को संज्ञा दिनुभयो नि ।

राजेन्द्र लिङ्देन, कमल थापा, केशरबहादुर बिष्टजस्ता नेताहरू एकअर्काको नेतृत्व स्वीकार्न तयार नभएपछि सबैलाई मान्य हुने गरी पाको नेता नवराज सुवेदीलाई संयोजक बनाइएको थियो । उहाँको काम सबैलाई समन्वय गर्ने मात्र थियो ।

तर, अध्यक्ष लिङ्देनले सुरुमा आन्दोलनलाई असहयोग गर्नुभयो । फागुनमा हुनुपर्ने आन्दोलनलाई जेठसम्म धकेलेर कमजोर बनाउन भूमिका खेल्नुभयो ।  

  • के अब राप्रपा विभाजनको बाटोमा लागेको हो ? 

पार्टी विभाजनको मोडमा पुगेको छैन र हामी पार्टी फुटाउने पक्षमा पनि छैनौँ । तर, अध्यक्षले नै पेलेर, किनारा लगाएर पार्टीबाट बाहिरिन बाध्य पार्ने अवस्था सिर्जना गर्नुभयो भने भोलि के हुन्छ, भन्न सकिन्न । उहाँको अहिलेको कार्यशैलीले पार्टीलाई दुर्घटनामा पुर्‍याइरहेको छ । पुराना र योगदान गरेका नेताकार्यकर्ताले अपमानित महसुस गरिरहेका छन् ।

  • आगामी मंसिरमा महाधिवेशन छ । यो सबै लडाइँ त्यही महाधिवेशन लक्षित होला । तपाईंहरू धवलशमशेरलाई अध्यक्ष बनाउन लाग्नुभएको छ । त्यसैले लिङ्देनले तपाईंहरूलाई पाखा लगाउन खोज्नुभएको हो कि ? 

महाधिवेशनले नै नेतृत्वको मूल्यांकन गर्छ । अध्यक्षले पार्टीलाई कसरी हाक्नुभयो, कति एकताबद्ध बनाउनुभयो, त्यसको हिसाबकिताब महाधिवेशन प्रतिनिधिहरूले खोज्नेछन् । उहाँले सबैलाई मिलाएर, गोलबन्द गरेर जान सक्नुभयो भने उहाँ नै दोहोरिन नसक्ने भन्ने पनि होइन । तर, उहाँको व्यवहारले त्यो देखाउँदैन ।

तपाईंमाथिको कारबाही फुकुवा भएन भने के गर्नुहुन्छ ? पार्टी छोड्नुहुन्छ वा फुकुवाका लागि अध्यक्षलाई बिन्तीपत्र हाल्नुहुन्छ ।

म राप्रपाको सिपाही हुँ । यो पार्टीमा मेरो ३५ वर्षको लगानी छ । पदमा रहूँ वा नरहूँ, म पार्टीको सिद्धान्त र हितका लागि काम गरिरहन्छु । जहाँसम्म बिन्तीपत्रको कुरा छ, त्यो म गर्दिनँ ।

  • अन्त्यमा, तपाईंको विचारमा यो संकटको समाधान के होला ? 

अध्यक्षले आफ्नो एकलौटी र ‘पेलेर जाने’ मानसिकता त्याग्नुपर्‍यो । उहाँ विधानको दायरामा आउनुपर्‍यो । गल्ती स्वीकार गरेर सच्चिन तयार हुनुभयो भने पार्टी एकताबद्ध भएर अघि बढ्छ । होइन भने, यसले पार्टीलाई ठुलो क्षति निम्त्याउने निश्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया