सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पशुपालक किसानलाई ३१ लाख राहत

आइतबार, १८ साउन २०८२, ०४ : ४५
आइतबार, १८ साउन २०८२

सारांश

  • मनाङका पशुपालक किसानलाई वन्यजन्तुको आक्रमणबाट पुगेको क्षतिको लागि ३१ लाख ४९ हजार राहत वितरण गरिएको छ।
  • वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति पुर्‍याएबापत ताचैका शम्भु घलेलाई ९७ हजार राहत प्रदान गरिएको छ।
  • जलवायु परिवर्तन र आहारको अभावले गर्दा वन्यजन्तुको आक्रमण बढेको एक्यापले जनाएको छ।

मनाङ । हिमाली जिल्ला मनाङका पशुपालक किसानलाई वन्यजन्तुले पशु तथा मानवीय क्षति पुर्‍याएबापत रु ३१ लाख ४९ हजार राहत वितरण गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका पशुपालक किसानलाई क्षतिपूर्तिस्वरुप उक्त राहत प्रदान गरिएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) मनाङको क्षेत्राधिकारमा वन्यजन्तुले क्षति पुर्‍याएबापत राहत प्रदान गरिएको जनाएको छ । जिल्लाका ४३ पशुपालक किसानलाई रु ३१ लाख ४९ हजार २९२ राहत प्रदान गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) का प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए ।

वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति पुगेका पशुपालक किसानलाई रु १४ हजारदेखि रु तीन लाख ३५ हजारसम्म राहत प्रदान गरिएको प्रमुख भुजेलले बताए । उनले भने, “हिउँ चितुवाको आक्रमणबाट पशुधनमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराइएको हो । किसानका याक चौँरी, भेडा च्याङ्ग्रालाई वन्यजन्तुको आक्रमणबाट क्षति पुर्‍याएकाले क्षतिपूर्ति प्रदान गरिएको छ । गत वर्षमा भएका समेत गरी यस वर्ष राहत प्रदान गरिएको छ ।”

हिउँ चितुवाको आक्रमणबाट भ्राकाका पशुपालक किसान मनकुमारी विकको पशुधनमा सबैभन्दा बढी क्षति भएबापत रु तीन लाख ३५ हजार राहत प्रदान गरिएको प्रमुख भुजेलले बताए । पशुपालक किसान सुरेश थकालीको हिउँचितुवा र चितुवाको आक्रमणबाट पशुधन क्षति भएबापत रु दुई लाख ३० हजार राहत प्रदान गरिएको छ । 

त्यसैगरी, वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति पुर्‍याएबापत ताचैका शम्भु घलेलाई रु ९७ हजार राहत प्रदान गरिएको छ । हिमाली कालो भालुको आक्रमणबाट घाइते भएका घलेलाई सो रकम राहत प्रदान गरिएको हो । मनाङमा वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति बढ्दै गएको छ । वन्यजन्तुको आक्रमणबाट आव २०८१/८२ मा ८७ पशुधनमा क्षति भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ संरक्षण कार्यालय (एक्याप)ले जनाएको छ । 

यस वर्ष वन्यजन्तुको आक्रमणबाट ५८ याक चौँरी, २२ खसी बाख्रा र च्याङ्ग्रा, एउटा घोडा र ६ गाई गोरु मरेका छन् । हिउँचितुवा, चितुवा, भालुलगायतका वन्यजन्तुको आक्रमणबाट यहाँका किसानले पशुधनमा क्षति व्यहोर्नुपरेको छ । गत वर्षको तुलनामा यस वर्ष वन्यजन्तुको आक्रमणबाट याक चौँरी बढी मरेका छन् । आव २०८०/८१ मा याक चौँरी १७, खसी बाख्रा र च्याङ्ग्रा ३७ र एउटा घोडा मरेका थिए । आहारको अभावले वन्यजन्तुले घरपालुवा पशुलाई आक्रमण गर्ने क्रम बढ्दै गएको एक्यापले जनाएको छ । 

“याक चौँरी खुला आकाशमुनि पाल्ने चलन छ । एउटै किसानले धेरै सङ्ख्यामा याकचौँरीपालन गर्छन् । जसले गर्दा जोगाउन मुस्किल हुने गरेको छ”, प्रमुख भुजेलले भने, “याक चौँरीका बाच्छाबाच्छीको सुरक्षाका लागि अहिले भने तारबार लगाएर सुरक्षित बनाइन्छ । तर, ठुला भएका याक चौँरी खुला आकाशमुनि नै राख्ने गरिन्छ । जसले गर्दा वन्यजन्तुको आक्रमणमा पर्ने गरेको अध्ययनले देखाउँछ ।”

उनले भने, “जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हिमाली क्षेत्रको खर्कमा परेको छ । यसको प्रभावले तापक्रम वृद्धि भई खर्क माथि माथि सार्नुपरिरहेको छ । खर्कमाथि सरेर पशुको चरनक्षेत्र वनजङ्गलको नजिक हुँदा वन्यजन्तुको आक्रमणमा पर्ने सम्भावना बढेको छ ।” पानीको मुहान भएका क्षेत्रमा घाँसेमैदान (खर्क) हुने भएकाले वन्यजन्तुको आक्रमणको जोखिम कम हुने गरेकामा अहिले परिवर्तन भएको पाइन्छ । 

पशुपालक किसान एवं याक चौँरी कृषक महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सुरेश थाकालीले भने, “विगतमा पनि वन्यजन्तुबाट आक्रमण हुन्थ्यो । अहिले बढ्दै गएको छ ।” पहिला पशु मरे भने क्षतिपूर्ति पाउने प्रावधान थिएन । यसबाट किसान मर्कामा पर्ने गरेका उनले बताए । पशुधनमा क्षति भए सरकारले किसानलाई प्रोत्साहन र सहयोग पुर्‍याउने उद्देश्यले क्षतिपूर्तिको व्यवस्था गरेको छ । यसले पशुपालक किसानलाई राहत पुगेको अध्यक्ष थकालीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप