पहुँचका भरमा दोहोरो सुविधा : बेपत्ता भएकालाई वर्षौँपछि मिलेमतोमा पुनः अवसर
सारांश
- न्याम्समा छात्रवृत्तिमा अध्ययन छाडेका विद्यार्थीलाई मिलेमतोमा पुनः अध्ययन गराइएको खुलासा भएको छ।
- चिकित्सा शिक्षा आयोगको नियम विपरीत, ती विद्यार्थीले सरकारी जागिर खाएपछि पनि पुनः अध्ययन गर्न बिदा लिएका छन्।
- न्याम्सले आयोगलाई विवरण नबुझाउँदा र नियम उल्लंघन हुँदा पनि विद्यार्थीले दोहोरो सुविधा लिइरहेका छन्।
काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा छात्रवृत्तिमा भर्ना भई बिचैमा अध्ययन छाडेर बेपत्ता भएका विद्यार्थीलाई वर्षौंपछि मिलेमतोमा पुनःअध्यापन गराइँदै आएको पाइएको छ ।
चिकित्सा शिक्षा आयोग (एमईसी)द्वारा सञ्चालित छात्रवृत्ति योजनाअन्तर्गत एमएस्सी–एमआईटी अध्ययन पुनः निःशुल्क रूपमा दोहोरो सविधा उपलब्ध गराई दुई विद्यार्थीलाई अध्यापन गराइएको भेट्टाइएको हो ।
न्याम्समा सन् २०२१ एमएससी–एमआईटी कार्यक्रममा ०७७ चैत्र १६ गते सन् भर्ना भई दुई बर्से कोर्समा अविनेश श्रेष्ठ, सुरज साहले पहिलो वर्ष मात्र अध्ययन गरेका थिए । ती दुईले बिचमै अध्ययन त्यागेर पुनः तीन वर्षपछि पहुँचका आधारमा उही छात्रवृत्तिमा दोस्रो वर्षमा अध्ययन सुरु गरेका हुन् ।
यस्तै बिचमै पढाइ छाड्ने श्रेष्ठ र शाहसँगै न्याम्सकै रबिन पौडेल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज मेडिकल क्याम्पसकी साहाना कायस्थ पनि छन् । चिकित्सा शिक्षा छात्रवृत्ति तथा अनुदानसम्बन्धी कार्यविधि, २०७९ परिच्छेद–२ अनुसार छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीले बिचमै पढाइ छाड्न पाइँदैन र छाडेपछि पुनः सोही छात्रवृत्तिमा अध्ययन गर्न पनि पाइँदैन । साथै भविष्यमा समान तहको छात्रवृत्तिमा अध्ययनका लागि समेत अयोग्य हुने उल्लेख छ ।
सोही नियमलाई लागु गर्दै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज मेडिकल क्याम्पसले भने बिचमै पढाइ छाडेकी कायस्थलाई पुनः दोस्रो वर्षमा अध्यापन गराएन । तर ती दुई विद्यार्थीले भने चिकित्सा शिक्षा आयोग र न्याम्ससँगको मिलेमतोमा पुनः अध्ययन गर्ने अवसर पाए ।
यस्तै कार्यविधि २०७९ परिच्छेद–२ मा छात्रवृत्तिका विद्यार्थीले काम नगरे पूर्ण शुल्क तिर्ने विद्यार्थीले तिरेको रकमको दोब्बर जरिवाना असुलउपर गर्न पनि भनेको छ ।
यस्तै कार्यविधि २०७९ अनुसार यसरी बिचैमा पढाइ छाडेका र अनिवार्य सेवा पूरा नगरेका विद्यार्थीको विवरण न्याम्सले आयोगमा पेस गुर्नपर्छ, तर बिचैमा पढाइ छाडेका ती विद्यार्थीको नाम पेस भएन । छात्रवृत्तिमा अध्ययन गरी बिचैमा छाडेको विद्यार्थीको नामावली सम्बन्धित विश्वविद्यालयबाट प्राप्त जानकारीका आधारमा सूची तयार गरी निर्णयका लागि पेस गर्ने जिम्मेवारी आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयले गर्ने गर्छ ।
सोही आधारमा चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीहरूले अध्ययन छाडेको विवरण सार्वजनिक गर्छ । ०८१ साल ११ महिना २२ र २३ गते आयोगले छात्रवृत्ति प्राप्त गरी बिचैमा अध्ययन छाड्ने ६६ जना पुगेको जानकारी गराएको थियो ।
तर, सोही समयमा न्याम्सबाट बिचैमा अध्ययन छाडेका तीन विद्यार्थीको नाम र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका एक जनाको नाम उल्लेख गरिएको थिएन । यसरी पढाइ बिचैमा छाड्ने विद्यार्थीको हकमा न्याम्यासले आयोगलाई रिपोर्ट पेस नगरेकाले आयोगले ती विद्यार्थीलाई बिगो कायम गरी असुल उपर गर्न सकेन ।
आयोग नियमावली, चिकित्सा शिक्षा ऐनअनुसार छात्रावृत्तिमा अध्ययन गरिसकेपछि पढाइ बिचैमा छोड्न पाइँदैन । यद्यपि न्याम्सले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको नियमावली २०७७, चिकित्सा शिक्षा ऐन २०७५ र कार्यविधि, २०७९ उल्लघंन गरी यस्ता विद्यार्थीलाई पुनः अध्यापन गराएको हो ।
हेर्नुहोस् कार्यविधि

ती तीन जना एक वर्ष छात्रावृत्तिमा अध्ययन गरेपछि पुनःराष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को २२ को कबुलियतना (५) लाई उल्लघंन गरी लोक सेवा आयोगको परीक्षामा पनि सहभागी भएका थिए ।
कबुलियतनामाबमोजिम पढाइ पूरा गरी एक वर्षभन्दा बढी सेवा अवधि पूरा गरेपछि मात्रै लोक सेवा आयोग वा अन्य कुनै सरकारी संस्थाबाट लिइने परीक्षामा उम्मेदवार हुन सक्ने उल्लेख गरिएको छ । तर, बिचमै पढाइ छाडेका उनीहरू लोक सेवाले लिने परीक्षामा सामेल भए । २०७९ जेठ २३ गतेको लोकसेवाको नतिजाअनुसार सातौँ तहमा रेडियोग्राफी टेक्नोलोजिस्टमा अविनेश श्रेष्ठ, सुरज साह, र साहाना कायस्थको नाम पनि निस्किएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा सरकारी जागिर खाएको करिब साढे ३ वर्षपछि (एमएससी–एमआईटी) विषयको दोस्रो वर्षमा सोही छात्रवृत्तिमा अध्ययनका लागि उनीहरूले एक वर्षको असाधारण बिदा स्वीकृत गराउन पनि थालेको देखिएको छ ।
हेर्नुहोस् कबुलियतनामा

यता न्याम्सले छात्रावृत्तिमा पढाउने विद्यार्थीको अध्ययन समाप्त भएको सात दिनभित्र उपनियम २ अनुसार विवरण आयोगमा बुझाउनुपर्ने थियो । न्याम्सले आयोगलाई ती विद्यार्थीको विवरण बुझाएन । यस्तै छात्रवृत्ति प्राप्त गरी अध्ययन गर्ने विद्यार्थीले निरन्तर अध्ययन गरे/नगरेको र परीक्षामा प्राप्त गरेको नतिजाको विवरण आयोगलाई नबुझाएर न्याम्सले दुई विद्यार्थीलाई लामो अन्तरालपछि पुनः अध्यापन गराएको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतलामा सरकारी जागिर खाएको करिब साढे तीन वर्षपछि पुनः एमएससी–एमआईटी) विषयको दोस्रो अध्ययन गर्न सोही छात्रवृत्तिमा ०८१ पुस १८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारी प्रशासन शाखाबाट ०८२ वैशाख १ देखि ०८२ चैत मसान्तसम्म असाधारण बिदा स्वीकृत गराएको भेटिएको छ ।

उनीहरूले पहुँचका आधारमा सरकारी दोहोरो सुविधा लिएर पुनः अध्ययन गरिरहेका हुन् । यस्तै असाधारण बिदा पनि पहुँचका भरमा स्वीकृत गराएको पाइएको छ ।
२०८१ पुस १८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका शाखा अधिकृत बद्रीराज ढकालद्वारा हस्ताक्षतिर बिदा पत्रमा कर्मचारी प्रशासन शाखाबाट २०८२ वैशाख १ देखि ०८२ चैत मसान्तसम्म असाधारण बिदा स्वीकृत गरेको भेटिएको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत रेडियोग्राफी टेक्नोलोजिस्ट सातौँ तहमा कार्यरत श्रेष्ठ र साहले एमएस्सी एमआईटी विषयको दोस्रो वर्ष अध्ययनका लागि एक वर्षसम्मको असाधारण बिदा लिएका छन् ।
नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को ५४ को असाधारण बिदा (३) मा पाँच वर्ष सरकारी सेवा अवधि नपुगी कुनै कर्मचारीले असाधारण बिदा पाउने छैन भनी उल्लेख छ । तर प्रवेशपूर्व नै मन्त्रालयको स्वीकृति लिनुपर्ने हुन्छ । तर बिचैमा अध्ययन छाडेर लोकसेवा परीक्षामा सहभागी ती विद्यार्थीलाई अध्ययन छोडेको २ वर्ष ६ महिनापछि पुनः अध्ययन गर्न दिइएको छ ।
यसरी अध्ययन अनुमति दिनु भनेको स्वास्थ्य सेवा नियमबली २०५५, ५४ को (ख ) विपरीत हो । उक्त नियमावलीमा निजी प्रयासमा अध्ययन गर्नलाई मात्र बिदा दिने सुविधा भएको उल्लेख गरिएको छ । यद्यपि निजहरू छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।
तर न्याम्सका रेक्टर डाक्टर अशेष ढुङ्गाना भने नियमसंगत नै ती विद्यार्थीलाई अध्ययापन गराएको जिकिर गर्छन् । ‘एक वर्ष पढेर कता गए थाहा भएन, दोस्रो वर्ष पूरा गर्छु भनेर आउने विद्यार्थीलाई किन पढ्न नदिने ?’ उनले भनी भन्छन्, 'उनीहरू कारण अन्य विद्यार्थी अध्ययन गर्नबाट वञ्चित भएको छुट्टै कुरा त्यो पनि छैन ।’
उता चिकित्सा शिक्षा आयोगका उपध्यक्ष प्राडा अञ्जनीकुमार झाले यो सबै जानकारी भएको बताए । ‘सबै विश्वविद्यालयको आन्तरिक नियम पनि हुन्छ । सोहीअनुसार पढाउनुभएको होला,’ उनले घुमाउरो तरिकाले पन्छिन खोजिएको भावमा उत्तर दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण