बलान नदीको कटानले सुन्दरपुर बस्ती जोखिममा
सारांश
- सिरहाको लहान नगरपालिकामा बलान नदीको कटानले सुन्दरपुर र इस्लामपुरका मुस्लिम बस्तीहरू डुबानको जोखिममा परेका छन्।
- शनिबार राति परेको वर्षाले नदीमा बाढी आउँदा कटान झनै तीव्र भएको छ, जसले गर्दा स्थानीयहरू त्रासमा रातभर जागा बस्न बाध्य छन्।
- स्थानीय सरकारले स्थायी समाधानको लागि पहल गरिरहेको छ, तर बजेट अभाव र ठेकेदारको लापरबाहीका कारण समस्या समाधान हुन सकेको छैन।
सिरहा । सिरहाको लहान नगरपालिका–४ स्थित बलान नदीको कटानले सुन्दरपुर र इस्लामपुरका मुस्लिम बस्तीहरू डुबानको जोखिममा परेका छन् । नदी कटान तीव्र बन्दै गएकाले सुन्दरपुरका ४५ र इस्लामपुरका ३० घरधुरी अहिले बाढीको चपेटामा छन् ।
साना–साना झुपडीसहितका बस्ती नदीको किनारमै छन्, जहाँ कटानको दूरी अब पाँच मिटर मात्र बाँकी रहेको स्थानीयवासी बताउँछन् । शनिबार राति परेको लगातारको वर्षाले बलान नदीमा आएको बाढीले कटान झनै तीव्र बनाएको छ । बस्ती छेउमै रहेको खुट्टी खोलासँगको दोभान क्षेत्रसमेत कटानमा परेको छ ।
स्थानीय मेहम्मद हुसेन अन्सारीका अनुसार बस्तीका बासिन्दा बाढीको त्रासमा रातभर निदाउन सकेका छैनन् । ‘हिजो रातभरि उठेर खोला हेर्दै बसियो । कतिबेला बाढी बस्ती छिर्छ र डुबाउँछ भन्ने चिन्ताले निदाउन दिएन । चार वर्षदेखि यही समस्या झेल्दै आएको छौँ’, उनले भने, ‘नदीको मूल भँगालो पश्चिमतिर गएकाले अलि राहत भएजस्तो देखिएको थियो तर जुनसुकै बेला फेरि पूर्वपट्टि फर्किएर बस्ती नै बगाउन सक्छ ।’
स्थानीय मोहम्मद एफ्रोज पनि बाढीले चिन्तित छन् । उनले भने, ‘नदीको मुखैमा मेरो घर छ । थोरै बहाव बढ्यो कि मन अत्तालिन्छ । गए राति पनि सुत्न सकिएन । साना बालबच्चा छन्, छोडेर कहाँ जानु ? रातभर नजिकैको मदरसा पुगेर जाग्राम बस्नुपर्ने अवस्था सुरु भइसकेको छ ।’
अघिल्लो वर्ष पनि यस क्षेत्रमा बाढी पसेको थियो । नगरपालिकाले तीन दिनसम्म बस्ती खाली गराई सुरक्षित स्थानमा सारेर खानेबस्ने व्यवस्था गरेको थियो । तर स्थायी समाधान नहुँदा समस्या दोहोरिँदो छ । वडाध्यक्ष रामनाथ पण्डितका अनुसार बस्ती जोखिम मुक्त बनाउन स्थायी समाधान दिने उद्देश्यले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिरहाबाट विनियोजित रु २५ लाखको योजना भए पनि काम पूरा हुन नपाएको जानकारी दिए ।
उनले भने, ‘उक्त बजेटमध्ये रु १५ लाखको मात्र काम भएको छ । त्यो पनि असार सकिनै लाग्दा हतार हतारमा गरिएको थियो । ठेकेदारले बिचमै काम छोडेर हिँड्दा बाँकी रकम फिर्ता हुन गयो ।’ नदी नियन्त्रणमा त्यति काम पर्याप्त नभएको वडाध्यक्ष पण्डितको भनाइ छ ।
बलान नदीले बस्ती कटान गर्दै अगाडि बढेमा करिब ५०० मिटर तर रहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको पुलसमेत जोखिममा पर्ने सम्भावना छ । बस्ती कटान भएपछि नदीले स्वरूप परिवर्तन गर्न सक्ने र संरचना जोखिममा पार्ने खतरा रहेको स्थानीयको भनाइ छ । यसबाट लाखौँ खेतीयोग्य जमिनसमेत कटानको चपेटामा पर्नेछ ।
नदी नियन्त्रण शीर्षकमा बजेट नहुँदा पनि विपद् व्यवस्थापन कार्यक्रममार्फत केही रकम व्यवस्थापन गर्ने योजना रहेको नगरप्रमुख महेशप्रसाद चौधरीले बताए । बाढीले क्षति पुर्याउने अवस्था आएमा मानवीयताका आधारमा प्रभावित बस्तीलाई सुरक्षित स्थानमा सारिने उनले जानकारी दिए ।
नगरप्रमुख चौधरीले बलान नदी नियन्त्रणका लागि प्रदेश तथा सङ्घीय सरकारबाट सहयोगको अपेक्षा व्यक्त गरे । उनले भने, ‘हामी प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी दीर्घकालीन समाधानका लागि पहल गरिरहेका छौँ । जनताको सुरक्षालाई प्राथमिकता दिनु हाम्रो दायित्व हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण