पत्रकार महासंघ यूकेले मनायो १४ औँ वार्षिकोत्सव
सारांश
- नेपाल पत्रकार महासंघ यूकेले १४ औं वार्षिकोत्सव मनायो, जसमा वरिष्ठ पत्रकार खगेन्द्र नेपालीलाई पत्रकारिता सम्मान प्रदान गरियो।
- कार्यक्रममा बोल्दै, केन्द्रीय अध्यक्ष निर्मला शर्माले विदेशमा पत्रकारिताको चुनौती र नेपालमा पत्रकारिताका समस्याबारे चर्चा गरिन्।
- राजदूत घिमिरेले बेलायत-नेपाल सम्बन्ध प्रगाढ बनाउन र पत्रकारिताको भूमिकाबारे प्रकाश पारे।
लन्डन । नेपाल पत्रकार महासंघ यूकेले आइतबार एक विशेष समारोहबिच आफ्नो १४ औँ वार्षिकोत्सव मनाएको छ । अल्डरसटस्थित एम्पायर हलमा आयोजित उक्त कार्यक्रमको समुद्घाटन बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्मा र बेलायत शाखा अध्यक्ष विमला सेनेले संयुक्त रूपमा गरेका थिए ।
सो अवसरमा शाखाले यसै वर्षदेखि सुरु गरेको वर्ष पत्रकारिता सम्मान २०२५ बीबीसी नेपाली सेवाका पूर्व प्रमुख वरिष्ठ पत्रकार खगेन्द्र नेपालीलाई प्रदान गरेको छ । नेपालीलाई २५१ पाउण्ड नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
पुरस्कार छनोट समितिका संयोजक वरिष्ठ पत्रकार सुमन खरेलले सम्मानित व्यक्तित्व नेपालीको पत्रकारितामा ५ दशक लामो योगदानबारे जानकारी दिएका थिए ।

कार्यक्रम सम्बोधनका क्रममा प्रमुख अतिथि महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्माले आफू पहिलो महिला अध्यक्षले वैदेशिक शाखाको पहिलो महिला अध्यक्ष विमला सेनेलाई प्रत्यक्ष बधाई दिन पाउनु गर्वको विषय भएको बताइन् । नेपालदेखिको पत्रकारिताको हुटहुटीलाई निरन्तरता दिन विदेशमा समेत यस पेसामा क्रियाशील हुनु चुनौतीपूर्ण रहेको बताउँदै अध्यक्ष शर्माले बेलायतको पत्रकारिताबाट केही नयाँ सिकेर त्यो ज्ञान, सीप नेपालमा लैजान सुझाव दिइन् ।

पत्रकार वा पत्रकारिता विभाजित भए त्यसबाट सत्य तथ्य र विश्वसनीयतामा आँच आउने औँल्याउँदै शर्माले जबाफदेही भएर समुदायका मुद्दा उजागर गर्न आग्रह गरिन् । बेलायत शाखाको विवादतर्फ इङ्गित गर्दै अध्यक्ष शर्माले केन्द्रले हस्तक्षेप भन्दा स्वतन्त्र रूपमा समाधान गर्न सहजीकरण गर्ने प्रस्ट्याइन् । नेतृत्वमा जाने चाहनेले समर्पण गर्नुपर्ने औँल्याउँदै उनले शाखा र पत्रकारिता जोगाउन सबैमा आग्रह गरिन् ।

अहिले नेपालको पत्रकारितामा आर्थिक मन्दीले समयमा तलब नपाउनु, मिडिया बन्द हुने क्रम जारी, प्रेस स्वतन्त्रता हनन जस्ता कयौँ चुनौती सामना गर्नु परिरहेको उल्लेख गर्दै उनले जस्तो परिस्थितिमा पनि जबाफदेही पत्रकारिता गर्नु पत्रकारहरूको दायित्व भएको बताइन् ।
प्रमुख अतिथि राजदूत घिमिरेले यहाँका पत्रकारहरूलाई आगामी दिनमा ब्रिटिस मेन स्ट्रिम मिडियामा कसरी आबद्ध हुन सकिन्छ त्यसबारे सोच्न सुझाए । पत्रकारिता क्षेत्रमार्फत बेलायत नेपाल सम्बन्ध प्रगाढ बनाउन अतुलनीय योगदान पुगेको पनि उनले बताए ।
राज्य बलियो बनाउन राज्यको चौथो अङ्ग पत्रकारिताको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै राजदूत घिमिरेले फुटेर भन्दा जुटेर शक्ति बढाउने काम गर्न आग्रह गरे । सङ्घसंस्था सङ्ख्यात्मक भन्दा पनि दरिलो, भरपर्दो एवं विश्वसनीय बनाउन उनको सुझाव थियो ।

शाखा अध्यक्ष विमला सेनेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजक, प्रमुख अतिथि, केन्द्रीय अध्यक्ष, अतिथिहरू एवं समस्त कार्यसमितिप्रति आभार व्यक्त गरिन् । सेनेले अग्रजहरूको मार्गदर्शन मानेर अगाडि बढ्ने जनाउँदै बेलायतमा बसेर पनि सानातिना कुरामा अल्झँदा समुदायमा राम्रो सन्देश नजाने भएकाले सबैलाई एकताबद्ध हुन आग्रह गरिन् ।
सो अवसरमा कार्यक्रम संयोजक एवं वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतले स्वागत मन्तव्य दिँदै शाखाको १४ वर्ष यताका गतिविधि समेटिएको वृत्तचित्र प्रस्तुत गरे ।

उपाध्यक्ष प्रमीला लाबुङ राईले नेपाल पत्रकार महासंघ जापान र युरोप शाखाले पठाएका शुभकामना सन्देश वाचन गरेकी थिइन् ।
दोस्रो चरणमा भएको संस्थाको साधारण सभामा सुझावसहित वार्षिक र आयव्यय प्रतिवेदन पारित गरियो । यसैबिच, सोही कार्यक्रममा फोनिज यूकेले अध्यक्ष शर्मालाई स्वागत सम्मान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण