शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
ब्लग

सामाजिक सञ्जालको दलदलबिच विद्यार्थीको भविष्य

मङ्गलबार, २० साउन २०८२, १४ : ०६
मङ्गलबार, २० साउन २०८२

सारांश

  • सामाजिक सञ्जाल विद्यार्थीहरूका लागि सूचना आदानप्रदानको माध्यम मात्र नभई दैनिकीको अभिन्न अंग बनेको छ।
  • सामाजिक सञ्जालले विद्यार्थीहरूलाई ज्ञान र सिर्जनात्मकताको अवसर दिए पनि समयको दुरुपयोग, मानसिक स्वास्थ्य र आत्ममूल्यांकनमा चुनौती थपेको छ।
  • विद्यार्थीहरूले सामाजिक सञ्जालको सन्तुलित प्रयोग गर्नुपर्छ र यसलाई अवसरको रूपमा उपयोग गर्दै भविष्य निर्माणमा लाग्नुपर्छ।

अहिलेको युग डिजिटल युग हो । यहाँ ज्ञान, सञ्चार र सूचना केवल औँलाको टुप्पोमा समेटिएको छ । सामाजिक सञ्जाल यसको सबैभन्दा प्रभावशाली र पहुँचयोग्य स्वरूप हो । फेसबुक, इन्स्टाग्राम, युट्युब, टिकटकजस्ता सामाजिक सञ्जालका प्लाटफर्मले हामीलाई मात्र होइन, विद्यार्थीहरूलाई पनि उत्तिकै प्रभाव पारिरहेका छन् । 

उनीहरूका लागि सामाजिक सञ्जाल अब केवल सूचना आदानप्रदानको माध्यम रहेन, यो त उनीहरूको दैनिकी, आत्मपहिचान र सम्बन्धहरूको गहिरो भाग बनिसकेको छ ।

तर के हामीले कहिल्यै गम्भीर ढंगले विचार गरेका छौँ ? सामाजिक सञ्जालको यो प्रभाव विद्यार्थीहरूको भविष्यका लागि कस्तो भूमिका खेल्दैछ ? यो आधुनिक पुस्ताका लागि अवसरको ढोका हो वा सुस्तरी उनकै लक्ष्य र मनोविज्ञान निल्दै गएको मौन विनाशक ?

निश्चय नै सामाजिक सञ्जालले असीमित सम्भावना बोकेको छ । यसले विद्यार्थीहरूलाई पाठ्यपुस्तकभन्दा बाहिरको संसारसँग चिनाउने काम गर्छ । विभिन्न शैक्षिक पेजहरू, अनलाइन कक्षा, ट्युटोरियल भिडियो र ज्ञानमूलक सामग्रीमार्फत उनीहरू आफ्ना रुचिका विषयमा थप जान्न पाउँछन् । सामाजिक सञ्जालले तिनीहरूलाई सिर्जनशील अभिव्यक्तिका लागि प्लाटफर्म पनि प्रदान गर्छ । जहाँ उनीहरूले आफ्ना कविता, चित्र, संगीत वा वैज्ञानिक आविष्कारसम्म प्रस्तुत गर्न सक्छन् । यसले आत्मविश्वास बढाउँछ, प्रतिभालाई निखार्छ र कहिलेकाहीँ अन्तर्राष्ट्रिय अवसर पनि दिलाउँछ ।

विद्यार्थीले यो बुझ्नुपर्छ कि वास्तविक जीवनको मूल्य डिजिटल दुनियाँको आँकडाले मापन गर्न सकिन्न । आफ्नो समय, ऊर्जा र लक्ष्यप्रतिको प्रतिबद्धता नै भविष्य बनाउने तत्व हुन् । उनीहरूले बुझ्नुपर्छ कि सामाजिक सञ्जाल चलाउने अधिकार उनीहरूसँग छ, तर त्यसले आफूलाई चलाउने अवस्था बन्यो भने त्यो सबैभन्दा ठूलो विडम्बना हुनेछ ।

यति सबै सकारात्मक पक्षहरू हुँदाहुँदै पनि सामाजिक सञ्जालले विद्यार्थीकै जीवनमा केही गहिरा प्रश्न उठाइरहेको छ । विशेषगरी समयको सदुपयोग, मानसिक स्वास्थ्य, आत्ममूल्यांकन र सन्तुलित जीवनशैलीका दृष्टिकोणबाट । हालको अवस्था हेर्दा विद्यार्थीहरू घण्टौँसम्म सामाजिक सञ्जालमा व्यस्त हुन्छन्, प्रायः उद्देश्यविहीन स्क्रोलिङमा । पढाइको समय कटौती भई ध्यान अन्यत्रै केन्द्रित हुन्छ । साना सूचना, नोटिफिकेसन वा आकर्षक भिडियोहरूले उनीहरूको एकाग्रता तहसनहस बनाइरहेका छन् ।

झनै चिन्ताजनक कुरा के छ भने सामाजिक सञ्जालले बनाएको ‘आभासी’ प्रतिस्पर्धाले विद्यार्थीहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । अरूको पोस्टमा कति ‘लाइक’ आयो, कति ‘फलो’ छ, कसको जीवन कति रमाइलो देखिन्छ, यी कुराले उनीहरूलाई आफ्नो जीवन नीरस लाग्न थाल्छ । आफ्नो अस्तित्वको मूल्य नै ‘लाइक’ को संख्यामा नाप्न थाल्ने अवस्था पैदा हुन्छ । 

यस्तो मनोदशाले आत्मग्लानि, तनाव र निराशातर्फ डोर्‍याउँछ । अझ खतरनाक त तब हुन्छ, जब उनीहरूले आफ्ना व्यक्तिगत विवरण अनियन्त्रित रूपमा साझेदारी गर्छन्, जसको फाइदा उठाउँदै साइबर अपराधीहरूले फसाउने सम्भावना हुन्छ ।

सामाजिक सञ्जाल आफैंमा गलत होइन । त्यो केवल एक औजार हो, हाम्रै सोच, विवेक र प्रयोगशैलीमा भर पर्ने । यदि विद्यार्थीहरूले यसलाई आफ्नो ज्ञान बढाउन, विचार साझा गर्न, सिर्जनात्मक अभिव्यक्तिको माध्यम बनाउन प्रयोग गरे भने यो उनीहरूको भविष्यको बलियो आधार बन्न सक्छ । तर यसलाई मात्र मनोरञ्जन, समय बिताउने साधन वा सामाजिक तुलना गर्ने उपकरणको रूपमा हेरे भने यो उनीहरूका लागि बाधक बन्न सक्छ ।

आज आवश्यक छ, सामाजिक सञ्जालसँगको सम्बन्ध पुनः परिभाषित गर्न । विद्यार्थीले यो बुझ्नुपर्छ कि वास्तविक जीवनको मूल्य डिजिटल दुनियाँको आँकडाले मापन गर्न सकिन्न । आफ्नो समय, ऊर्जा र लक्ष्यप्रतिको प्रतिबद्धता नै भविष्य बनाउने तत्व हुन् । उनीहरूले बुझ्नुपर्छ कि सामाजिक सञ्जाल चलाउने अधिकार उनीहरूसँग छ, तर त्यसले आफूलाई चलाउने अवस्था बन्यो भने त्यो सबैभन्दा ठूलो विडम्बना हुनेछ ।

यस्तो अवस्थामा अभिभावक, शिक्षक र समाजको भूमिका समेत महत्वपूर्ण हुन्छ । बच्चाहरूलाई सूचना प्रविधिको सही दिशा देखाउने, सन्तुलित प्रयोग सिकाउने र आत्मअनुशासनको संस्कार दिनु अहिलेको आवश्यकता हो ।

सामाजिक सञ्जाल विद्यार्थीहरूको भविष्यको निर्माणकर्ता बन्न सक्छ, तर त्यो उनीहरूको विवेक र प्रयोगको शैलीमा निर्भर छ । ‘लाइक’ र ‘फलो’को दुनियाँमा हराउने होइन, त्यही दुनियाँलाई अवसरको सेतु बनाउने सोच आजको विद्यार्थीले लिनुपर्छ ।  

(राना स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाकी कोषाध्यक्ष समेत हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मिस्मा राना
मिस्मा राना
लेखकबाट थप