शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

नागार्जुन वाङ्मय प्रतिष्ठानको सुप्रभात काव्य गोष्ठी सम्पन्न : डा.रमेश शुभेच्छुक पुरस्कृत

मङ्गलबार, २० साउन २०८२, १९ : ४१
मङ्गलबार, २० साउन २०८२

काठमाडौँ । नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा हरेक महिनाको तेस्रो शनिवार आयोजना गरिने सुप्रभात काव्य गोष्ठी इजी वे सहकारी संस्थाको अद्वैतमार्ग स्थित सभाहलमा सम्पन्न भएको छ ।

दाहाल यज्ञनिधिको ७२ औँ जन्मदिनको अवसर पारेर गरिएको  विशेष समारोहमा युवा साहित्यकार डा. रमेश शुभेच्छुकलाई नागार्जुन वाङ्मय जदौ पुरस्कार समर्पण गरेको छ ।

पुरस्कारको राशी नगद रु. १५ हजार १५ रहेको छ । सो पुरस्कार यसै वर्षदेखि दिन थालेको कुरा प्रतिष्ठानका सचिव युवराज नास्तिकले बताए । सुप्रभात काव्य गोष्ठी नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षता र साहित्यकार, प्राज्ञ डा. तुलसी भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । 

साहित्यकार डा. रमेश शुभेच्छुकले दाहालका कृतिको खोज गरी उहाँको जीवनी व्यक्तित्व र कृतित्वलाई बाहिर ल्याउन खेलेको भूमिका उल्लेख्य रहकाले उनलाई पुरस्कृत प्रतिभाका रूपमा छनोट गरिएको छनोट समितिका संयोजक मातृका पोखरेलले बताए ।

कार्यक्रममा नगद पुरस्कारसहित प्रमाणपत्र प्रमुख अतिथि डा. भट्टराईले अर्पण अर्पण गरे । भट्टराईले प्रमुख अतिथिका रूपमा समारोहलाई सम्बोधन गर्दै शुभेच्छुकले दाहाल र अरू स्रष्टाका लागि पनि मोतीरामको भूमिका निर्वाह गरेकामा दाहालप्रति गरेको कामको कदर भएको बताए । 

उनले शुभेच्छुकको सक्रियताको पनि चर्चा गर्दै प्रतिष्ठानले सही पात्र छनोट गरी पुरस्कृत गरेको बताए । कार्यक्रममा साहित्यकार प्रा. प्रयागराज वाशिष्टले दाहालका कविताबारे र डा. विनोद मञ्जनले दाहालका निबन्धका बारेमा समीक्षा प्रस्तुत गरे ।

भट्टराईले दाहाल परिवर्तन पक्षधर कवि भएको बताए । अर्का वक्ता डा. मञ्जनले दाहालका केही निबन्ध निबन्ध कलाका दृष्टिले कमजोर भए पनि विचारका दृष्टिले अग्रगामी भएको निष्कर्ष प्रस्तुत गरे । 

डा. हरिप्रसाद सिलवालले पुरस्कृत प्रतिभा डा.रमेश शुभेच्छुकको परिचय दिने क्रममा उहाँ सिर्जना समीक्षा, सङ्गठन, पाठ्यपुस्तक लेखन र साहित्यिक पत्रकारिताका बहु आयामबाट सक्रिय प्रतिभा हुनुहुन्छ र उहाँलाई यो पुरस्कार नदिएको भए अन्याय हुने थियो भन्ने मत राखे । 

कार्यक्रममा प्राज्ञ अगिव नेपाली, पत्रकार यशोदा अधिकारी, पुरस्कार अक्षयकोष संस्थापक सुधा दाहाल, महेश प्रसाईं, रामप्रसाद पन्तलगायतले दाहालका जीवनी व्यक्तित्व र कृतित्वको परिचय दिए । 

समारोहमा सम्मानित प्रतिभा डा. रमेश शुभेच्छुकले दाहालको दैलोमा स्रष्टाहरूको लोकतान्त्रिक मोर्चा गठन र यसको विस्तारका दिनको सम्झना गर्दै उनी एक विशिष्ट सञ्चारकर्मी, शिक्षा सेवी, साहित्यकार र समाज परिवर्तनका संवाहक अभियन्ता भएको बताए । 

कार्यक्रममा अग्रज साहित्यकार, कोशकार प्रा. डा.वद्रीविशाल भट्टराई, प्रा. लालानाथ सुवेदी, डिल्लीराज अर्याल, चेतनाथ धमला, खगेन्द्र दाहाल, भीष्मराज काफ्ले, रुवी सत्याल, सरस्वती पाण्डे, नगिन तामाङ, शिक्षा सेवी दामोदर कोइराला, भोला चालिसेलगायत सञ्चारकर्मीहरु दिनेश खरेल, कुलराज घिमिरे, लुइँटेल दिनेश, जयराम बिडारीसजना तिमल्सिना आदिको बाक्लो उपस्थिति रहेको थियो ।

समारोहमा देवु लुइटेलले दाहालका ६ वटा कविता प्रस्तुत गरेकाे थियो भने कवि रत्ननिधि रेग्मी शुक्राचार्य, कृष्णप्रसाद जस्ताघरे, युवराज कुनाघरे, रामदेव पाण्डे, गौरी दाहाल, गङ्गा खतिवडालगायत कविले दाहाल विषयक कविता वाचन गरेका थिए । 

नागार्जुन प्रतिष्ठानको हरेक शृङ्खलामा समीक्षकलाई सम्मान गर्ने नियमअनुसार समीक्षकद्वय प्रा. प्रयागराज वाशिष्ट र डा. विनोद मञ्जनलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कवि पूर्ण विरामका कविता वाचन भएका थिए । कविताको प्रभावकारी वाचनका लागि यम बास्तोलालाई नगदसहित पुरस्कृत गरिएको थियो भने श्रष्टा विशेष कविता वाचनमा दाहालका कविता वाचन गरेर देवकुमारी लुइँटेललाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप