थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त
सारांश
- कञ्चनपुरका थारु समुदायका महिला तथा पुरुष वर्षायाममा जंगलबाट भेंम्टी (च्याउ) खोज्न व्यस्त छन्।
- भेंम्टी थारु समुदायको पोसिलो खान्की हो, जसलाई विभिन्न पर्वहरूमा पाहुनालाई पस्किने गरिन्छ।
- थारु समुदायमा भेंम्टी पहिचान गर्ने कला पुस्तादेखि चल्दै आएको छ र यसले स्वास्थ्यमा पनि फाइदा गर्छ।
कञ्चनपुर । साउनको झरीले खेत पाखा राम्रैसँग भिजिसकेका छन् । धानका गाँजा हरिया भएका छन् । खेतबारीबाट फुर्सदिला भएका यहाँका थारु समुदायका महिला–पुरुषहरू वर्षातको झरीको प्रवाह नगरी भेंम्टी (जङ्गली च्याउ) खोज्न व्यस्त छन् । “बर्खाको समयमा बनतिर गइहाल्न मन लागिहाल्छ”, शुक्लाफाँटा नगरपालिका–१० का राजबहादुर चौधरी भन्छन्, “भेंम्टीको स्वाद एक पटका लागि भए पनि चाख्नैकै लागि वन चहार्दै हिँड्नु परेको छ ।” वर्षातका बेला भेंम्टीको तरकारी खानुको मज्जा बेग्लै हुने गरेको उनी बताउँछन् । वर्षातमा थारु समुदायको पोसिलो खान्कीमा भेंम्टी रहने गर्दछ ।
थारु भाषामा ‘च्याउ’ लाई भेंम्टी भनिन्छ । यो च्याउ पोसिलो, नरम र स्वादिलो हुने गर्दछ । साउन, भदौ, असोज र कात्तिक गरी चार महिनामा जङगल डुल्नेहरूको उद्देश्य एउटै हुन्छ । खाने लायक भेंम्टीको खोजी । भेंम्टीको तरकारी निकै स्वादिलो हुने भएकाले वन क्षेत्रबाट नखोजी घरै नफर्कने भोंसुवा चौधरी बताउँछन् ।“हामीलाई थाहा हुन्छ” किसान चौधरीले भने, “कुन च्याउ (भेंम्टी) विषालु हो र कुन खान मिल्ने, खान मिल्ने च्याउ मात्रै टिप्छौं ।” पूर्खौ देखि खान योग्य र अयोग्य च्याउको पहिचान गर्न थारुलाई आउने गरेको उनी बताउँछन् ।
उनका अनुसार साउन महिनाको भेंम्टी सानो टुप्पो भएको, लामो जरासहितको हुन्छ । भदौ असोजतिर टाउको ठुलो, जरा अझ लामो । “कहिलेकाहीँ त एक हातसम्म लामो जरा भएको च्याउ पनि भेटिन्छ” चौधरी भन्छन् । कात्तिकमा चाहिँ भेंम्टी सानो प्रजातीको हुन्छ, यसलाई ‘कटकी’ भनिन्छ । वर्षातमा पाइने भेंम्टी एकै ठाउँमा धेरै पाइन्छ । “वनका सबै ठाउँमा भेंम्टी पाइँदैन” ६८ वर्षीय परदेशी डगौराले भने, “कुन कुन ठाउँमा भेंम्टी पाइन्छ, कुन बेला पाइन्छ, त्यो कुरा बुढापाकाहरूलाई र उहाँहरूको सङ्गत गर्नेहरूलाई मात्रै थाहा हुन्छ, ।” “यो वर्ष जुन ठाउँमा भेंम्टी पाइयो, अर्को वर्ष पनि त्यही ठाउँमा भेंम्टी पाइन्छ, ठाउँ चिन्न सक्नु पर्यो, विशेष गरी भेंम्टी औँसी र पूर्णिमाका दिन उम्रिने गरेको बुढापाकाहरुबाट सुनेको छु” उनी भन्छन् । उनका अनुसार भेंम्टी च्याउको तरकारी खाने व्यक्तिलाई पेट सम्बन्धी रोगहरू र उच्च रक्तचापबाट छुटकारा पाइन्छ । विशेष गरी यो च्याउ विशेष गरी धमिराले बनाएका पुराना माटोको ढिस्को नजिक पाइन्छन् ।
थारु समुदायको परम्परा अनुसार, भेंम्टी केवल वनबाट टिप्ने वस्तु मात्र होइन, यो त चाडपर्वका बेला पाहुनालाई पस्किने विशेष परिकार पनि हो ।
दशैं, अष्टमी जस्ता पर्वहरूमा पाहुनाहरूका लागि भेंम्टीको सुकुटी र माछा मिसाएर बनाइने स्वादिलो परिकारका दाल, भात, र मासु संगै पस्किने गरिन्छ ।“भेंम्टी थोरै मात्रामा खाए औषधि, धेरै खाए रोग,” अनुभवी थारुहरू भन्छन्, “धेरै भेंम्टीको तरकारी खाए यसले पखाला लगाउँछ, सन्तुलन मिलाएर खाएमा यसले पेटमा हुने अपचलाई ठिक गर्दछ ।”
सही भेंम्टी छुट्याउने कला थारु समुदायमा पीढी दर पीढी सर्दै आएको छ । थारु समुदायका बुढापाकाहरूका अनुसार खाने च्याउ गहिरो जरा भएको, समूहमा उम्रिएको, टिप्दा सजिलै नटुट्ने हुन्छ ।“नखाने च्याउ सानो जरा भएको टुट्ने बित्तिकै टुक्रिने, र अलिक फरक रङ्गको हुन्छ, देख्ने बित्तिकै थारु आँखाले चिनिहाल्छ” चौधरी भन्छन् ।च्याउमा प्रोटिन, खनिज र भिटामिन हुन्छ । बोसोको मात्रा निकै न्यून हुने भएकाले पचाउनका लागि सहज हुने उनको भनाई रहेको छ । “थारु समुदायले प्राचीन काल देखिनै च्याउलाई तरकारीका रूपमा पकाएर खान थालेका हुन” उनले भने, “अहिले पनि जारी राखेका छन्, वन क्षेत्र संरक्षण गरिदा भने सहज रूपमा च्याउ टिप्न पाइने गरेको भने छैन, वन छिर्न झन्झट हुन थालेपछि नयाँ पीढीले भेंम्टी टिप्न छाड्दै गएका छन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण