नेपाली प्रतिनिधिमण्डलसँग भारतीय विदेशमन्त्रीले गरे जलविद्युतदेखि सीमा सुरक्षासम्मका मुद्दामा छलफल
सारांश
- नेपालका युवा नेताहरूको एक प्रतिनिधिमण्डलले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्यो।
- भेटमा, नेपाल-भारतबीचका सम्झौता कार्यान्वयनमा ढिलाइ, जलविद्युत् परियोजना र व्यापार घाटा कम गर्ने विषयमा छलफल भयो।
- भारतीय विदेशमन्त्रीले दुई देशको सम्बन्ध बिग्रेर नदिन संवेदनशील रहेको र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
सुर्खेत । नेपालका विभिन्न राजनीतिक दलका युवा नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा छ । सो प्रतिनिधिमण्डलले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग बुधबार भेटवार्ता गरेको छ ।
भेटका क्रममा युवा नेताहरूले नेपाल र भारत सरकारबिच भएका लिखित सम्झौताहरू कार्यान्वयनमा भइरहेको ढिलाइबारे चासो राखेका थिए ।
- जलविद्युतदेखि सीमा सुरक्षासम्मका मुद्दामा छलफल
कर्णालीका पूर्वमुख्यमन्त्री समेत रहेका सांसद महेन्द्रबहादुर शाहीका अनुसार भेटमा युवा नेताहरूको टोलीले फुकोट जलविद्युत् र पञ्चेश्वर जलविद्युत् आयोजनाजस्ता महत्त्वपूर्ण परियोजनाबारे भारतीय विदेशमन्त्री जयशंकरसँग कुरा उठाएको थियो ।
‘हामीले भारत सरकारले नेपालका जलविद्युत् परियोजनाहरू, जलस्रोतमा लगानी गर्नु अत्यन्त महत्त्वपूर्ण रहेको कुरा राख्यौँ,’ उनले रातोपाटीसँग भने, ‘विशेषगरी, जलाशययुक्त आयोजनाहरूबाट भारतले नै धेरै लाभ लिन सक्ने हुँदा त्यस्ता परियोजनामा भारतीय लगानी आवश्यक रहेको कुरा हामीले राखेका थियौँ ।’
टोलीले दुई देशबिचको व्यापार घाटा कम गर्नुपर्ने विषयमा पनि भारतीय विदेशमन्त्री जयशंकरसँग छलफल गरेको छ । पूर्वमुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य शाहीका अनुसार नेपाली उत्पादनहरू भारतीय बजारमा सहजै निर्यातका लागि भारतीय गुणस्तर मापदण्डको व्यवस्था सहज बनाउन अनुरोध गरिएको छ ।
‘हामीले कहिलेकाहीँ दुई देशबिच देखिने गरेको विश्वासको कमी हटाउन अत्यावश्यक रहेको धारणा पनि राख्यौँ,’ शाहीले रातोपाटीसँग भने ।
द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउन दुवै देशबिच नियमित उच्चस्तरीय बैठक आयोजना गर्नुपर्ने आवश्यकता औँल्याइएको शाहीले बताए । उनले थप भने, ‘विपत्तिको समयमा नेपाली जनताले भारतबाट धेरै सहयोग पाइरहेको विषयमा धन्यवाद दियौँ, तर सीमा विवाद समाधान गर्नु एक प्रमुख चुनौतीको रूपमा छ ।’
शाहीका अनुसार भारत र नेपालको खुला सिमानाले मानिस र सामानहरूको स्वतन्त्र आवतजावतलाई अनुमति दिए पनि यही खुला सिमानाका कारण तस्करी, डकैती र लागुपदार्थको तस्करीजस्ता गतिविधि फैलिँदा सुरक्षा चुनौती पनि रहेको कुरा राखिएको थियो ।
नेता शाहीका अनुसार दुवै देशले विभिन्न क्षेत्रमा आपसी सहयोग बढाउन आवश्यक रहेको विषयलाई नेपाली टोलीले जोडदार रूपमा उठाएको थियो । ‘दुई देशका जनताबिचको मित्रता बढाउन सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने हाम्रो भनाइ थियो,’ शाहीले भने, ‘यसका साथै, भारतीय नम्बर प्लेटका गाडीहरू सामान्य भन्सारको कागज बनाएर सहजै नेपाल प्रवेश गर्ने तर नेपाली नम्बर प्लेटका गाडी भारत ल्याउन काठमाडौँस्थित भारतीय दूतावासको अनुमति पत्र चाहिने समस्याबारे पनि हामीले ध्यानाकर्षण गरायौँ ।’
- भारतीय विदेशमन्त्रीको प्रतिबद्धता : सम्बन्ध बिग्रन नदिन संवेदनशील छौँ
पूर्वमुख्यमन्त्री शाहीका अनुसार युवा नेताहरूले उठाएका प्रश्नहरूको जबाफमा भारतीय विदेशमन्त्री जयशंकरले नेपाल–भारत सम्बन्ध बिग्रन नदिन भारत सधैँ संवेदनशील रहेको बताए ।
सांसद शाहीले रातोपाटीसँग जयशंकरको भनाइ उद्धृत गर्दै भने, ‘दुई देशको सम्बन्ध बिग्रन नदिन हामी संवेदनशील छौँ । नेपालका लागि हाम्रो सहयोग रहन्छ नै । जे समस्या उठान गर्नुभयो, त्यो सहज बनाउनेमा हाम्रो प्रयास हुनेछ ।’
भारतीय विदेशमन्त्री जयशंकरले नेपाली युवा नेताहरूको टोलीले भारत सरकारका सकारात्मक कामबाट अनुभव सिकोस् भन्ने अपेक्षा राख्दै भ्रमण सफल र उपलब्धिमूलक रहोस् भनी शुभकामना दिएका थिए ।
- नेपाली दूतावासमा पनि छलफल
यसैबिच, युवा नेताहरूको टोलीले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पनि छलफल गरेको छ । सांसद शाहीका अनुसार त्यहाँ मुख्य दुई मुद्दा उठाइएका थिए ।
अध्ययन तथा रोजगारीका लागि भारतमा रहेका नेपाली विद्यार्थी र कामदारहरूको सुरक्षा सुनिश्चितता र ठगिएका नेपाली कामदारको समस्या समाधानका लागि ध्यान दिनुपर्ने, श्रम स्वीकृतिविना नेपालीहरू गैरकानुनी रूपमा तेस्रो मुलुक जान भारतीय विमानस्थल प्रयोग गरिरहेको समस्यालाई रोक्नुपर्ने विषयमा पनि छलफल भएको शाहीले बताए ।
भारतको प्रबुद्ध समूह संस्था अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) को आयोजनामा सञ्चालित तेस्रो संस्करणको कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीको नेतृत्वमा सांसदहरू राजन दाहाल, निशा डाँगी, भारती पाठक लगायत १२ जना युवाको टोली आइतबार भारत पुगेको थियो । सो टोली साउन २७ गतेसम्म भारतमा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण