प्रहरीको टेण्डरमा ‘मिलेमतो’ गरेको आरोप, ६ सदस्यीय छानबिन समिति गठन
सारांश
- नेपाल प्रहरीका लागि लत्ताकपडा तथा बन्दोबस्तीका सामान खरिदमा मिलेमतोको आरोप लागेको छ।
- सार्वजनिक खरिद अनुगमन कार्यालयले छानबिन सुरु गरेको छ र ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।
- अख्तियारले पनि खरिद अनुगमन कार्यालयलाई छानबिन गर्न निर्देशन दिएको छ, र ८० करोडभन्दा बढीको सामान खरिदको बोलपत्र आह्वान भएको छ।
काठमाडौँ । नेपाल प्रहरीका लागी आवश्यक लत्ताकपडा र बन्दोबस्तीका सामान खरिदमा ‘मिलेमतो’ गरेको आरोप लागेको छ । त्यसबारे उजुरी परेपछि सार्वजनिक खरिद अनुगमन कार्यालय, केशरमहलले छानबिन सुरु गरेको छ ।
छानबिन गर्न समिति गठन गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता (सहसचिव) रामबन्धु सुवेदीले रातोपाटीलाई बताए । सो कार्यालयको मालसामान खरिद अनुगमन शाखाका प्रमुख तथा निर्देशक विनोदकुमार कोइरालाको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो । सहसचिव सुवेदीले भने, ‘समितिलाई ७ दिनभित्र छानबिन गरेर प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।’
छानबिन प्रतिवेदनको आधारमा कार्यालयले त्यसबारे निर्णय गर्नेछ । लत्ताकपडा र बन्दोबस्तीका सामान खरिदको टेण्डरमा ‘मिलेमतो’ भएको आरोपबारे छानबिन गर्न अख्तियारले पनि खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको थियो । अख्तियारबाट पनि पत्र आएको सहसचिव सुवेदीले पुष्टि गरे ।
प्रहरी प्रधान कार्यालयले १२ साउनमा सूचना निकालेर झुल, म्याट्रेस, ब्लु डांग्री कपडा, पिक्याप, नाइलन वेब बेल्ट, ट्राफिक रेन सुट, स्नो स्वेटर, ब्याण्ड ड्रेस सेट, टेण्ट, ट्राफिक ज्याकेट, स्नो वेमेन भेस्ट र ट्राउजर, प्रेग्नेन्ट वेमेन युनिफर्म, ट्राफिक पि–क्याप, स्नो क्याप र ट्राफिक रिफ्लेक्टर ज्याकेट खरिदको लागी टेण्डर आह्वान गरेको थियो ।
सो टेण्डर आह्वान गर्दा विगत ३ वर्षयता प्रहरीका सामान खरिद गर्दै आएका कम्पनीहरू मात्रै छनोट हुने गरी स्पेसिफिकेशन तोकिएको आरोप छ । सो प्रावधानले अन्य कम्पनीहरूलाई प्रतिस्पर्धा गर्नबाट रोक्न खोजिएको आरोप छ ।
प्रहरी हेडक्वार्टरले साउन १६ मा पनि बोलपत्र आह्वान गरेको थियो । साउन १६ मा क्यानेल फिटेड भेहिकल, प्रिजनर भ्यान, प्रिन्टरसहितको डिजिटल ब्रेथलाइजर र प्रिभेन्सन सोलुसन विथ डीएलपी खरिदका लागी बोलपत्र आह्वान गरिएको थियो । दुई वटा बोलपत्रबाट ८० करोडभन्दा बढीको सामान खरिद गर्न लागिएको छ । निश्चित ठेकेदार कम्पनीलाई मात्र फाइदा पुग्ने गरी बोलपत्र आह्वान गरिएको अख्तियार र खरिद अनुगमन कार्यालयमा परेको उजुरीमा जिकिर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण