बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

झलनाथलाई माधवकाे सुझाव : विद्रोहको औचित्य छैन भन्ने लाग्छ भने ओलीजीको सेवा गरेर बस्नुस्

शुक्रबार, २३ साउन २०८२, १६ : ५९
शुक्रबार, २३ साउन २०८२

सारांश

  • माधवकुमार नेपालले झलनाथ खनाललाई केपी ओलीको सेवा गर्न सुझाव दिएका छन्।
  • उनले पार्टीको अनुशासन विपरीत कार्य नगर्न र पार्टीको हितमा काम गर्न निर्देशन दिए।
  • नेपालले कम्युनिस्ट आन्दोलन जोगाएको र विद्रोहको औचित्य पुष्टि गरेको बताए।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सुझाव दिएका छन् । 

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन् । उनले विद्रोह गरेर नयाँ पार्टी बनाउने अनि अहिले विद्रोह गरेको औचित्य छैन भन्ने कुरा गर्न पार्टीको अनुशासन विपरीत रहेको तर्क गरे । 

उनले विद्रोहको औचित्य छैन भने एमालेमा गएर अध्यक्ष ओलीको सेवा गर्न सल्लाह दिए । पार्टीको हित र पक्षमा मात्रै प्रचार प्रसार गर्न र सञ्चारमाध्यममा अभिव्यक्ति दिन उनको निर्देशन छ । 

संविधान मिच्ने, संसद् विघटन गर्नुको कारण नै एमालेबाट विद्रोह गरेर नयाँ राजनीतिक दल बनाएको उहाँको स्पष्टोक्ति छ । 

अध्यक्ष नेपालले भने, ‘पार्टीको हित र पक्षमा प्रचार प्रसार गर्नुपर्छ । पार्टीको प्रतिष्ठा बढाउनका लागि, पार्टी हितको रक्षा गर्न, पार्टीको अनुशासन पालना गर्नुपर्छ । विरुद्धमा होइन । मिडियामा जाने पार्टीको विरोध गर्ने, मिडियामा जाने विद्रोहको औचित्य छैन भन्ने । किन आउनुपर्‍यो ? विद्रोह ठिक लागेन भने । केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि । हामीले ठिक गरेका छौँ । दृढताका साथ पहल गरेका छौँ । कसैले पार्टीको अनुशासन उल्लङ्घन गर्दछ, जथाभावी संविधान मिच्ने काम गर्दछ, संविधान मिचेर संसद् भङ्ग गर्दछ । भङ्ग गरेको संसद्लाई गफ गरेर पुनः स्थापना हुँदैन । त्यसलाई विधि र प्रक्रियाबाट पुनः स्थापना गर्न सकिन्छ । तर कस्ता पात्रहरू ज्याद्रा छन् भने दोस्रो पटक भङ्ग गरे । फेरि हामी दोस्रो पटक लाग्नुपर्‍यो । त्यो गरेर गल्ती गरियो ? विद्रोह गर्नु हुँदैन थियो । केपीजीको चाकरी गरेर त्यहाँ बस्नुपर्दथ्यो ? कि के गर्नुपर्दथ्यो ? ठिक गर्‍यौँ हामीले । संविधान जोगाउने मात्रै होइन, कम्युनिस्ट आन्दोलन बदनाम गर्ने काम भइरहेको थियो । हामीले रहरले त्यो पार्टी छोडेको होइन ।’

अध्यक्ष नेपालले नेपालको कम्युनिस्ट आन्दोलनलाई आफूहरूले जोगाएर ल्याएको दाबी समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप