टिनको बाकस, रातो भाले र हरिया नोट
बाल्यकालका अनेकौँ अविश्मरणीय पलहरू सम्झनामा आइरहन्छन् । तीमध्ये मैले बासँग बिताएका कतिपय समय सम्झँदा पनि मनमा एक किसिमको उत्साह जागिरहन्छ । साँच्चै कहिल्यै नफर्कने गरेर छोडी जानेको सम्झना साँचेर नै मानिस बाँकी जीवन बाँच्ने रहेछ । म आज जसरी बाँचिरहेछु भोलि मेरो सम्झनामा अरूले बाँच्नुपर्छ । मानिस बाँच्दा अनेक परिस्थितिको भोगाइमा बाँचेको हुन्छ । सारा दुनियाँ मेरो हुनुपर्छ भन्ने भ्रम हुन्छ ।
गाउँका जिम्मावालहरूले बा सानो हुँदा हाम्रो अधिकांश जग्गा–जमिन लुटेर लिएका रहेछन् । आफ्नो जग्गा लुटेर खाएकामा उनीहरूका छोरा–नाति तथा अन्य मानिससँग गफ गर्दा बाले बेलाबेलामा तितो यथार्थ कोट्याइरहनुहुन्थ्यो । हाम्री आबोई करिब तीस वर्ष र बा जम्मा दुई वर्षको हुँदा हजुरबा बित्नुभएको रे ! मेरो हजुरबा बितेपछि हाम्रा जग्गा–जमिनमा जिम्मावालहरूको गिद्धे नजर परेछ । मेरो बालाई यही विषयले पनि अन्याय र अत्याचारका विरुद्ध बोल्ने बनाएको हुनुपर्छ । ममा बाको प्रभाव परेको छ । त्यसैले म आफूलाई मात्रै होइन कसैप्रति पनि गरेको अन्याय सहन सक्दिनँ ।
बाले हामीप्रतिको जिम्मेवारी राम्ररी बोध गर्नुभएको थियो । उहाँ हाम्रो खुबै हेरविचार गर्नुहुन्थ्यो । हामीलाई विद्यालय छुट्टीको समय र बिहान–बेलुका गाउँका साथीसँग खेल्न र रातको समयमा हुने पूजाआजा लगायत कार्यक्रममा जान प्रतिबन्ध थियो । त्यसो त आजभन्दा पैँतिस÷चालिस वर्ष पहिले अर्थात् २०४०–५० सालतिरको समाज अहिलेजस्तो खुला थिएन । नियन्त्रणभन्दा पनि अनुशासनमा रहुन् भन्ने बाको आशय हुनुपर्छ ।
हाम्रो घरको तलामा टिनका दुईवटा बाकस थिए— एउटा ठुलो र अर्काे अलिक सानो । यीमध्ये एउटा आमाको र अर्काे बाको हुनुपर्छ । ठुलो बाकस जहिले सानो बाकसको तल राखेर साँचो लगाइएको हुन्थ्यो । सानो बाकसलाई माथिल्लोपट्टि साँचोविनै राखिन्थ्यो । ठुलो बाकसमा घरका लालपुर्जा लगायत महत्त्वपूर्ण कागजपत्र र केही धार्मिक तथा पौराणिक ग्रन्थ थिए । सम्झना भए अनुसार तोतामैनाको कथा, मेघदूत, रामायण, अठारपुराण आदि पुस्तकका केहीँ अंश मैले पनि पढेकी थिएँ । बाले बाकस खोलेको बेला मैले यी पुस्तक मुस्किलले चिनेकी थिएँ । काम परेको बेला वा केही राखनधरन छ भने बाले बाकस खोल्नुहुन्थ्यो । त्यस समयमा बालाई बोलाउँदै कोही आए भने त्यो बाकस केही समयका लागि खुलै हुन्थ्यो । कोही बिरामी भएर फुकी माग्न आउँथे । कोही बिरामी हेर्नका लागि बालाई लिएरै जान आएका हुन्थे । बाको जनैमा साँचो हुने हुँदा बाकस खुला भएको बेला मैले ती सामान हेर्ने मौका पाउँथेँ । बाका स–साना डायरी (अहिलेको टेलिफोन नम्बर टिप्ने किसिमको) हुन्थे । बासँग जति पैसा छ त्यही बाकसमा हुन्थ्यो । त्यतिबेला श्री पाँच महेन्द्र र वीरेन्द्रका तस्बिर भएका एक, दुई र पाँचका नोट बढी चलेका हुन्थे । त्यस्तै दश, बिस, पचास र सयका केही नोट हुन्थे । मेरो विचारमा सयका नोट त्यतिबेला महत्त्वपूर्ण हुन्थे । बाको बाकसमा पाँच सय र हजारका नोट मुस्किलले देख्न पाइन्थ्यो । म त्यस्तै आठ–नौ वर्षकी हुँदी हुँ अर्थात् २०४५÷४६ सालतिर भने गाउँघमा चलेका स–साना पसलमा प्रशस्तै पचास र सयका नोट देखिन्थ्यो तर त्यस समयमा फुर्मासका लागि पैसा कहाँ पाउनु ?
आबोइले म यो घरमा बस्दिनँ, भात खान्नँ भन्दाभन्दै केही लागेन । गाउँतिर पनि कुखुरा पालेको देखेर केही समयपछि उहाँ चुप लाग्नुभयो । कुखुरो पिँढीको नजिक–नजिक आयो भने उहाँले झटारो हानेर उडाइदिनुहुन्थ्यो । कुखुराले आफूलाई छुन्छ कि भनेर निकै सतर्क भएर हिँड्नुहुन्थ्यो ।
अर्काे बाकस जसमा आमाले मसला, मिश्री, मिठाई, घिउ, अलैँची, सिरम्ला तथा केही तामाका सिक्का राख्नुभएको हुन्थ्यो । पहिलेपहिले त त्यो बाकसमा पनि साँचो लागेको हुन्थ्यो । सायद मिठाई, मसला आदि राखिएकाले धेरैपटक खोल्दाखोल्दै त्यसको कब्जा फुत्किएको हुनुपर्छ । साँचो लगाउन छोडियो । पछि धेरै जनाले बाकस खोल्ने गर्दागर्दै माथिको ढकनी वा फक्ल्याँटा नै उप्कने भएको थियो । सानो बाकस जतिसुकै थोत्रो भए पनि ठुलो बाकसको माथि हुनाले त्यसले ठुलो बाकसलाई केही सुरक्षित भने गरेको थियो ।
गाउँमा छोरीहरूलाई पनि स्कुल पठाइन्थ्यो । जनजाति र दलित समुदायमा भने कसैकसैले मात्र छोरीहरू विद्यालय पठाउँथे तर उनीहरू नियमित हुँदैनथे । छोराहरू पनि ठुला भएपछि ज्याला–मजदुरी र ठेक्कापट्टाको काममा लागेका हुन्थे । गाउँमा अलिअलि चेतना जागेको थियो । कसैले सामूहिक रूपमा नर्सरी खेती, कसैले कुखुरा पाल्ने, कसैले बाख्रा पाल्ने गर्न थालेका थिए । गाउँमा कुनै एउटा एनजीओले यस्ता कार्यक्रम चलाएको थियो । विभिन्न किसिमका तालिम हुन्थे । महिला र पुरुषका छुट्टाछुट्टै समूह गठन गरिएको थियो । समूहमा आत्मनिर्भरताका विषयमा छलफल हुने गर्थ्यो । त्यो प्रोजेक्टले समूहमा सिड मनीका रूपमा थोरै लगानी गरिदिन्थ्यो । समूहले सामूहिक करेसाबारी खेती लगायत पशुपक्षी पालनका काम थालनी गरेको थियो । गाउँमा साक्षरता (प्रौढ) कक्षा सञ्चालनका साथै आत्मनिर्भरताका लागि जोड दिएको थियो । गाउँमा प्रोजेक्टको खुब प्रभाव परेको थियो । एनजीओका कर्मचारीले साँझका बेलामा विकासका विभिन्न कामलाई प्रोजेक्टरमा देखाएर गाउँलेलाई आत्मनिर्भर हुनुपर्छ भन्ने सिकाइरहेका हुन्थे । हाम्रो घरमा दुई–चारवटा बाख्रा, एक–एकवटा गाई र भैँसी, एक–दुई जोडी परेवा पालिएको थियो । घरमा कुखुरा, हाँस लगायत पक्षी निषेध थिए । घरको आर्थिक गर्जाे टार्न गाह्रो थियो ।
यस बखत त्यस प्रोजेक्टको प्रभाव मेरी आमामा पनि परेछ । उहाँले बासँग घरमा कुखुराका चल्ला ल्याएर पालौँ भनेर ढिपी गर्नुभयो । म कक्षा ४ मा पढ्दा आमाले घरमा केही कुखुराका चल्ला ल्याएर पाल्न थाल्नुभयो । आबोइले कराउँदाकराउँदै बाको मौन सहमतिमा यो काम भएको थियो । कुखुरा छुन पनि हुन्न भन्ने मान्यता पाल्नुभएको मेरी आबोईले घरैमा पाल्दा कसरी सहनुहुन्थ्यो र ? उहाँले मलाई घरबाट लखेट्न कुखुरा पालेका भनेर घर छोड्ने धम्की दिँदै विद्रोह पनि गर्नुभयो । सुरुसुरुमा घरमा पाल्न ल्याइएका कुखुरालाई दिउँसो खुला छाडे पनि राति थुन्सेले छोपेर राख्ने गरियो । धेरै दिनको छलफलपछि बाले गोठछेउमा काठको सानो खोर बनाइदिनुभयो । खोर बनेपछि राति थुन्सेले छोप्ने झन्झट भएन । आबोइले म यो घरमा बस्दिनँ, भात खान्नँ भन्दाभन्दै केही लागेन । गाउँतिर पनि कुखुरा पालेको देखेर केही समयपछि उहाँ चुप लाग्नुभयो । कुखुरो पिँढीको नजिक–नजिक आयो भने उहाँले झटारो हानेर उडाइदिनुहुन्थ्यो । कुखुराले आफूलाई छुन्छ कि भनेर निकै सतर्क भएर हिँड्नुहुन्थ्यो ।
केही समयपछि गाउँमा रातिराति खोरबाटै बोका, कुखुरा चोरी हुन थाल्यो । घरको कखुरा चोरी होलान् भनेर बाले ढिकीपट्टि पिँढीको डिलमुनि भित्तो फोरेर खोर निकाल्नुभयो । एक–दुई लट कुखुराका चल्ला हुर्केर ठुला भएपछि बेच्दा केही आम्दानी भएकाले घरमा राहत भयो । आमाले हामी छोरीहरूका नाममा कुखुराले चल्ला काढ्नेबित्तिकै एक–एकवटा सुनाइदिनुहुन्थ्यो । हामी ती चल्लालाई चिनो लगाएर मेरो वा तेरो छुट्टिने बनाउँथ्यौँ । ती चल्ला कोही भाले भएर निस्कन्थे भने कोही पोथी । भाले भए बास्न थालेपछि बेचिन्थ्यो । पोथीले फुल पारे फेरि चल्ला हुर्काउने क्रम जारी हुन्थ्यो । एकपटक आमाले मलाई दिनुभएको चल्लो भाले भएर निस्कियो । तीन–चार महिनापछि त्यतिबेलाको दुई सयमा त्यो भाले बिक्री भयो । सिङ्गो भाले मेरो भए पनि मैले पैसा भने सय रुपैयाँ मात्रै पाएँ ।
पैसा राख्न गाउँमा अहिलेजस्तो सहकारी थिएन । मसँग सुर्के थैली भने थियो तर सयको नोट थैलीमा राखिनँ । थैलीमा राख्ने सोच नै आएन । यद्यपि सय रुपैयाँ मासेर केही खाने मन पनि होइन । त्यतिबेलाको एउटा सयको नोटले एक जोर सर्ट र फ्रक आउँथ्यो । मलाई माला–मिठाई र चुइगम किन्न एक रुपैयाँ भए पुग्थ्यो । अहिलेजस्तो अनेक किसिमका चाउचाउ पनि थिएनन् । सम्झना भए अनुसार चित्रेपोखरी स्कुलनजिक दुईवटा पसल थिए । एउटामा चिया, चिउरा, तरकारी, अण्डा बिस्कुट पाइन्थ्यो । अर्काेमा चकलेट, चुइगम, मिठाई, चुरोट, खैनी आदि बेच्न राखेका हुन्थे ।
विद्यालय पुगेको दुई–तीन घण्टामै सयको त्यो हरियो नोट हरायो । म बाहिर देखिने गरेर नरोए पनि भित्रभित्र धेरै पिल्सिएँ । घरमा आएर के भन्ने ? यो कुराले धेरै सतायो ।
एक रुपैयाँ पाउन मुस्किल भएका बेला सय रुपैयाँको हरियो नोटलाई मैले पुरानो ज्यामिती (ज्योमेट्री) बक्स (जसलाई मैले दिनहुँ स्कुल लान्थेँ) मा हालेर स्कुल लगेँ । पहिलो–दोस्रो पिरेडमा बक्स खोल्दा एक–दुईजना साथीले हरियो नोट देखेका थिए । पिसाब फेर्ने छुट्टी भयो । पिसाब फेर्न स्कुलभन्दा अलि तल बाटोको छेउछाउ अर्थात् पाखाबारीमा जानुपर्थ्यो । अघिपछि छुट्टीमा पनि हाम्रो झोला कक्षाकोठामै हुने गर्थ्यो ।
विद्यालय पुगेको दुई–तीन घण्टामै सयको त्यो हरियो नोट हरायो । अघिल्लो दिन त्यो रातो भाले बेचेर लिएको हरियो सयको नोट साथीले गायब पारे । त्यो सयको नोट कति बेला चोरिएछ । एकछिन अघिसम्मको मेरो खुसी छिनभरमै ओइलायो । म बाहिर देखिने गरेर नरोए पनि भित्रभित्र धेरै पिल्सिएँ । घरमा आएर के भन्ने ? यो कुराले धेरै सतायो । घर पुगेपछि मैले डराउँदै बालाई पैसा चोरी भएको घटना सुनाएँ । सुरुमा बा ममाथि खनिनुभयो । त्यसपछि दिदी, आमा सबैले पिटौँलाझैँ गरेर हप्काए; म डरले थर्थर कामेँ ।
भोलिपल्ट मेरी ठुली दिदी र बा स्कुलमा आउनुभयो । भोजराज, रेवती, कविराज लगायत सरहरूको सहयोगमा शङ्का लागेका कक्षाका साथीलाई चौरमा गोलो घेरामा राखी सोधपुछ गर्ने काम भयो । कविराज सरले त्यो पैसा जसले लगेको छ उसले भरे रगत छाद्छ भन्नुभयो । भोजराज सर (हेडसर) ले पैसा फिर्ता नगरे हात हेराएर पत्ता लगाउने भन्नुभयो । भोलि, पर्सि गर्दै तीन–चार दिन बित्यो । मलाई पक्कै पैसा फर्किएला भन्ने आशा थियो । त्यो आशा–निराशामा बदलियो । सयको हरियो नोट कसैले फिर्ता गरेन । मलाई यस विषयमा राम्रो हेक्का छ कि जो–जसलाई हामीले शङ्का गरेका थियौँ, ती सहपाठी भोलिपल्ट विद्यालयमा अनुपस्थित रहे । सम्भवतः मैले मेरो जीवनको बाल्यकालमा हराएको सबैभन्दा ठुलो परिमाणको रकम रातो भालेसँग साटेको हरियो सयको नोट नै हो, बिर्सन नसक्ने हरियो सयको नोट ।
त्यस समयमा खेतबारीबाट उब्जने धान, मकै, कोदो, मास, भटमास, आलु लगायत करेसाबारीका फलफूल अम्बा, निबुवा, केरा आदि बेच्ने चलन थियो । आफूले खाएर बाँकी रहने जति बेच्न सकिन्थ्यो । बाले पनि यी खानेकुरा बेच्नुहुन्थ्यो । आम्दानीको अन्य स्रोत थिएन । हामी पाँच सन्तान, आमाबा र हजुरआमासहित आठ जनाको परिवार थियौँ । परिवार धान्न गाह्रो थियो । बाले धेरै दुःखले हामीलाई पढाउनुभएको थियो । बहिनी धेरै पछि (२०४६) मा जन्मिई । २०४९ सालमा हजुरआमा बित्नुभयो । हामी पनि लाखापाखा लाग्यौँ । अलिअलि कमाउन थाल्यौँ, घरमा बस्ने परिवारको सदस्य घटेर जम्मा तीनजना भएपछि मेरी बहिनीले भने काम गर्नुपरेन ।
मैले सोह्र वर्षमा प्रवेशिका परीक्षा दिएकी हुँ । प्रवेशिकाअघि नै कुनै जागिर पाए बालाई आर्थिक सपोर्ट हुन्छ भन्ने लाग्थ्यो तर गाउँमा कसरी सम्भव थियो र ? समय र परिस्थिति पनि त्यस्तै थियो । गाउँघरमा मेला–पर्म गरेर खेतीपातीको काम धानिन्थ्यो । बाले मेरो बिहे गर्ने प्रसङ्ग उठाइरहनुहुन्थ्यो । प्रवेशिका परीक्षापछि मैले स्वयंसेवक, निजी स्रोत र सट्टा दरबन्दीमा करिब तीन वर्ष (श्री भद्रशिला प्रावि, श्री जनकल्याण प्रावि तथा श्री मण्डली मावि) शिक्षण गरेँ । भद्रशीला प्रावि, सालबोटमा २०५२ फागुनदेखि स्वयंसेवक शिक्षक भएर पढाउन सुरु गरेकी थिएँ । त्यो विद्यालय साबिकको छोप्राक गाविस वडा ४ (हाल सिरानचोक गापा) अन्तर्गत पर्छ । मेरो घर २ नम्बर वडामा पर्थ्यो । म पढाउन जान थालेपछि बाको ओठमा थोरै मुस्कान देखियो । बालाई सायद छोरी मास्टर भई भन्ने गर्व हुनुपर्छ । गाउँलेले मेरो नामै मास्टर्नी नानी राखिदिए । यसपछिका दिनमा बालाई झन् रोगले गाल्दै लग्यो, दम त छँदै थियो । त्यसमाथि बेलाबेला पिसाब रोकिने, लामो समयसम्म खोकी लाग्नेजस्ता समस्या हुने गर्थ्यो ।
बा बित्नुभएको चौध दिनमा त्योे टिनको बाकस खोलियो । बाकसमा बाका उनै पुराना किताब थिए । कुनै एउटा पुस्तकभित्र पानाका चेपमा बाले सयका आठ/दशवटा हरिया नोट राख्नुभएको रहेछ । मैले बाको सङ्घर्षका दिन सम्झिएँ ।
२०६५ साउनमा बा आँगनको डिलबाट लड्नुभयो । मस्तिष्कसँग सम्बन्धित घाँटीको नसा चुँडिएछ । आँपपिपल अस्पताल हुँदै काठमाडौँको मोडल अस्पतालमा ल्याएर बाको उपचार गरियो । डा. सरोज धितालका अनुसार यति ठुलो दुर्घटनामा परेर पनि मेरा बा संसारकै भाग्यमानी हुनुभयो । सुरुमा डाक्टरले आवाज गुम्ने र शरीर प्यारालाइसिस हुन्छ भनेका थिए तर त्यसो नभई उहाँ जेनतेन भित्तो समातेर हिँड्ने हुनुभयो । नेक–बेल्ट लगाउनुहुन्थ्यो । मुन्टो अड्याउन गाह्रो भए पनि पिँढीको डिलमा बस्नुहुन्थ्यो । पालीको बलो समातेर वारपार गर्नुहुन्थ्यो । दुर्घटनापछि कानमा असर परेछ र उहाँको श्रवणशक्ति कम भयो; आँखा तिरिमिरी गर्छ, आगो बल्छ भन्नुहुन्थ्यो ।
दुई वर्ष बाले यही अवस्थामा बिताउनुभयो । हामीले बा भनिरहन पायौँ । हाम्रा लागि बा हुनु नै ठुलो कुरो थियो । अब भने हत्तपत्त कसैले बोकेर ल्याउन नसक्ने हुँदा बालाई काठमाडौँ आउजाउमा सहज भएन । उहाँलाई बेथाले चापेका बेला आमा आफैँ छोप्राक मैदान दौडनुहुन्थ्यो । शिवको मेडिकल, हबिको मेडिकल वा उपस्वास्थ्य चौकीमा पुगेर बाको व्यथाको प्रकृति बताएर औषधि ल्याउनुहुन्थ्यो । कहिलेकाहीँ साह्रै हुँदा उपस्वास्थ्यचौकी वा मेडिकलबाट मान्छे नै बोलाएर घरमा ल्याउने गरिन्थ्यो । आमा बाहिर गएको बेला परेवा, चरा, बाख्राका पाठापाठी वस्तुभाउ नै बाका साथी हुने गर्थे ।
मैले युवा उमेरको बा देख्न पाइनँ । आमा र बाको चौध वर्षको फरक । आमा र मेरो त्यस्तै तिस÷बत्तिसको फरक । म अलिअलि जान्ने वा सम्झन सक्ने हुँदा बाको उमेर अठ्चालीस पचासको हुँदो हो । कपाल फुलिसकेको थियो । बा मेरा लागि संसारकै राम्रो हुनुहुन्थ्यो । उहाँको अनुहार गोरो र हँसिलो थियो । म बासँग धेरै डराउँथे । उहाँको मुखमा हेरेर बोल्न डर लाग्थ्यो । बाको अघि हिँड्न धक लाग्थ्यो । अहिले मलाई लाग्छ बाले हामीलाई धेरै लाडप्यार गरेर नजिक हुन दिनुभएन र पनि कहिल्यै मायाको कमी महसुस भएन ।
दमको रोग, प्रायः पेट फुलिरहने समस्याका कारण बा कुन दिन झुक्याएर जानुहुन्छ भन्ने लाग्थ्यो । एक दिन त्यस्तै कालो समय आयो । २०६७ माघ ५ गते मध्याह्नमा हाम्रो जीवनको घाम सधैँका लागि अस्तायो । अनायासै बाले छाडेको खबर आयो । म संयोगवश गोरखामा थिएँ । भोलिपल्ट बिहान बालाई भेट्न पुग्ने योजना थियो तर बासँगको भेट यहीँ टुङ्गियो । म चिच्याएँ, रोएँ, कति आँसु पोखिए । आखिर मन त सम्हाल्नैपर्ने रहेछ । हामी पाँच सन्तानको जन्मदाता, बाँच्ने आधार, घरको धुरी खाँबो ढलेको त्यो दिन कसरी बिर्सन सक्छु र म ?
बा बितेपछि तेह्रौँ दिनसम्म गाउँ समाजका मानिस आइरहे । अनेक कुराकानी गरे, सम्झाए । धेरै कोणबाट बालाई सम्झिए । हामीलाई सम्झाएको देखेर लाग्थ्यो— उनीहरू भर्खर त्यो प्रलयकारी मृत्यु भोगेर आफैँ फर्किएका हुन् । बाको तेह्रौँ पुण्यतिथिको दिनसम्म हामी छोराछोरी सँगै भयौँ । बासँगै उहाँले प्रयोग गर्ने गरेका सरसामान, लुगाफाटा हराउँदै गए । मैले बाले लगाउनुभएको कपडा कुनै पनि भेटिनँ । कारण हामी पिरिन्छौँ भनेर कतिकति बेला सबै जलाउने काम हुँदोरहेछ । खास गरेर ठुलो भिनाजुले यसो गर्नुभएको रहेछ । टिनको बाकसमा भएका बाको एक जोर नसिएको दौरा–सुरुवालको कपडाबाहेक सबै आगोमा जलेछन् । मलाई यस किसिमको व्यवहारले अहिले पनि दुःखी बनाउँछ ।
मैले टिनको उही बाकस सम्झिएँ । बा गल्दै गएपछि पछिल्ला दिनमा त्यो पुरानो ठुलो टिनको बाकसमा पनि चाबी लाग्न छाड्यो । हामी पनि बुझ्ने भइसकेका थियौँ । मैले सानोतिनो कमाई बालाई दिएकी थिएँ । घरको छानो खरले छाएको थियो । गाउँघरमा आगो लागिरहन्थ्यो । वनपाखामा डढेलो लाग्थ्यो । मलाई गर्मी समयमा घरमा आगलागी होला भन्ने डर लाग्थ्यो । मेरो पहिलो प्राथमिकता धुरीमा टिन लगाउनु थियो । त्यसै अनुरूप हाम्रो उही पुरानो घरको धुरी टिनले छायौँ । क्रमशः पालीमा पनि टिन लगाइयो । पिँढीको दायाँ भागमा ढिकी थियो । त्यसलाई अर्काे कटेरोमा सारेर त्यहाँ एउटा कोठा निकालियो । त्यस कोठालाई तत्काल भान्छाको प्रयोजनमा ल्याइयो । मूल घरको भित्र मझेरी, भण्डार, मूल ओछ्यान, अँगेना, आटो, पूजा चौकी लगायत सबै भाग मासेर सम्म पारियो र लस्करै चारवटा खाट राखियो । जसले गर्दा परिवारका सबै सदस्य एउटै कोठामा सुतिन्थ्यो । यसपछिका दिनमा घरमा थोरै परिवर्तन भएको र आर्थिक रूपमा केही सहज भएको महसुस भयो । म घरको हरेक काममा बालाई सहयोग गर्थें । गाउँलेहरू खुलेर मेरो प्रशंसा गर्थे । छोरीले केही गर्दैनन् भन्नेहरू मैले बालाई सहयोग गरेकामा प्रशंसक बनेका थिए । त्यस समयको समाजका लागि म छोरीहरूमा अपवाद थिएँ ।
बा बित्नुभएको चौध दिनमा त्योे टिनको बाकस खोलियो । बाकसमा बाका उनै पुराना किताब थिए । कुनै एउटा पुस्तकभित्र पानाका चेपमा बाले सयका आठ÷दशवटा हरिया नोट राख्नुभएको रहेछ । मैले बाको सङ्घर्षका दिन सम्झिएँ । हाम्रा बाल्यावस्थाको दुःख अनुभूत गरेँ । विगत फर्केर हेरेँ, पुराना दिन सम्झिएँ । बाको जीवनमा कति अभाव थियो हरियो सयको नोट तर आज चौध दिन भइसक्दा पनि बालाई कुनै किसिमको दुःखाइ छैन, अभाव छैन, आनन्द पनि छैन । बा शून्यमा बिलाइसक्नुभएको छ । अब बालाई के आवश्यक यी नोटहरूको ? जुन कहिल्यै गनिँदैनन् बाका हातबाट । बाले ती नोट साटेर दश÷बिस रुपैयाँ कहिल्यै बाँड्नुहुन्न हामीलाई । त्यस्ता कैयौँ नोट छैन भन्दाभन्दै सयौँपटक हाम्रो हातमा राखिदिनुहुन्थ्यो । जिम्मावालले लुटेर बाँकी रहेको दुई–चार हलको खेतबारीबाहेक अब हाम्रो वरिपरि केवल छ त बाका सम्झना र माया ।
आज पनि मेरो मनमा अनगिन्ती प्रश्नले बिझाउँछन्— बा खै कहिले उपयोग गर्नुहुन्छ ती नोट ? अब कहिले खेलाउनुहुन्छ र गन्नुहुन्छ ? न तपाईंको बैङ्कमा खाता थियो ? केवल थियो त त्यही एउटा टिनको बाकस । अहिले त्यसैमा छाडिएका छन् तपाईं र आमाको नागरिकता । ठिङ्ग उभिएको छ, तपाईंको उही स्वाभिमान । अलैँचीबारी, आँगे, बिरौटो, कोलडाँडो र दुई–तीन हलको पाखोबारीको रातो पुर्जाबाहेक बासँग केवल हामी थियौँ र थियो हाम्रो अनगिन्ती माया र अँगालोभरिको स्नेह ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण