वन्यजन्तु आक्रमणमा ज्यान गुमाएका परिवारलाई एक करोड ६० लाख क्षतिपूर्ति
सारांश
- तनहुँमा चितुवाको आक्रमणबाट मृत्यु भएका १६ बालबालिकाका परिवारलाई वन कार्यालयले रु एक करोड ६० लाख क्षतिपूर्ति दिएको छ।
- वन्यजन्तुको आक्रमणबाट घाइते भएका २१ जनालाई रु नौ लाख ४५ हजार ५२६ उपचार खर्च प्रदान गरिएको छ।
- चितुवा नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा खोर र पासो राखिएको छ, र सचेतनामूलक होर्डिङ बोर्ड राखिएको छ।
तनहुँ । वन्यजन्तु आक्रमणमा परी मृत्यु भएका यहाँका पीडित परिवारलाई डिभिजन वन कार्यालयले क्षतिपूर्तिस्वरुप रु एक करोड ६० लाख प्रदान गरेको छ । जिल्लाको विभिन्न स्थानमा गरी चितुवाको आक्रमणबाट ज्यान गुमाएका १६ बालबालिकाका परिवारलाई जनही रु १० लाखका दरले रकम हस्तान्तरण गरिएको हो ।
वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा रु १० लाख क्षतिपूर्ति दिने व्यवस्था रहेअनुरूप हालसम्म उक्त रकम उपलब्ध गराइएको वन अधिकृत तथा सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “वन्यजन्तुको आक्रमणबाट घाइते भएका २१ जनालाई रु नौ लाख ४५ हजार ५२६ उपचार खर्च प्रदान गरिएको छ ।” विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म आठ वर्षको अवधिसम्म जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी ११ बालक र पाँच बालिकाको ज्यान गएको छ ।
“चितुवा आतङ्क बढ्न थालेपछि जिल्लाका आठ स्थानमा चितुवाका लागि खोर राखिएको छ,” उनले भने, “पछिल्लो समय बन्दीपुर क्षेत्र बढी प्रभावित देखिएकाले पासो राखिएको छ ।” बन्दीपुरका पाँच सामुदायिक विद्यालय र मानिसको जमघट हुने सार्वजनिकस्थलमा चितुवाको आक्रमणबाट कसरी जोगिन सकिन्छ भन्ने सचेतनामूलक होर्डिङ बोर्डसमेत राखिएको कार्यालयले जनाएको छ ।
चितुवाबाट जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायत पालिकामा बढी प्रभावित छन् । चितुवाको आक्रमणबाट सबैभन्दा धेरै भानु नगरपालिका प्रभावित भएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की ८ वर्षीया सुप्रीति थापा, बन्दीपुर–१ का ५ वर्षीय सुप्रिम थापा र बन्दीपुर–३ की ११ वर्षीया डिना चेपाङ छन् । यसैगरी, व्यास नगरपालिका–१२ छर्कनका ८ वर्षीय अभिनव कुँवर, भानु नगरपालिका–३ का ६ वर्षीय विशाल श्रेष्ठ, भानु–४ की ४ वर्षीया रञ्जिता लम्साल, भानु–२ की ८ वर्षीया पुष्पा अधिकारी, सोही वडाका १० वर्षीय अमृत गुरुङ र ७ वर्षीय ऋतिक रोकाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।
त्यसैगरी, भानु–१ का कुशल बानियाँ, शुक्लागण्डकी नगरपालिका–३ का २ वर्षीय रविन नेपाली, आँबुखैरेनी नगरपालिका–१ का ८ वर्षीय पुजन सिञ्जाली, बन्दीपुर–४ का ११ वर्षीय इसाक सुनार र शुक्लागण्डकी–२ नारायण राना, बन्दीपुर गाउँपालिका–५ याम्पाका १३ वर्षीय सुन्दर अछामी र ९ वर्षीया अनुजा विकको पनि चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।
कार्यालयका अनुसार विभिन्न ठाउँमा गरी २० स्थान पासो राखिसकिएको छ । एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः आक्रमण गर्ने सम्भावना रहने हुँदा नियन्त्रणमा लिन सोही ठाउँ आसपासमा पासो राख्ने गरिएको वन अधिकृत नवीन विश्वकर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको जलवायु उत्थानशीलता र कृषिको दिगो विकासमा बेलायतको सहयोग जारी रहने प्रतिबद्धता
-
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबिच सहकार्य
-
युक्रेन–रुसबिच फेरि आक्रमण
-
कृषिमा लगानी गर्दैमा स्वतः ‘ग्रीन’ हुँदैन, नीतिगत स्पष्टता आवश्यक : कार्यकारी निर्देशक पौडेल
-
बजेटमा उद्योग वाणिज्य महासङ्घको असन्तुष्टि : ‘करको भार घटेन, नीतिगत अस्थिरताको त्रास
-
मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण