शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राम कार्कीले किन राखे पार्टी विघटनको प्रस्ताव ?

आइतबार, २५ साउन २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्र)का सचिव राम कार्कीले साउन १९ गते सम्पन्न स्थायी समिति वैठकमा नेतृत्व हस्तान्तरणको विचार राखे । 

माओवादीभित्र स्थायी प्रतिपक्षको भूमिकामा देखिएका कार्कीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबिच देखिएको अन्तरसंघर्षमा तटस्थ देखिए । 

मुद्दाका हिसाबले यो पटक उनी शर्माले उठाउँदै आएका पार्टी निर्माणसम्बन्धी एजेन्डाको पक्षमा देखिए पनि व्यक्ति केन्द्रित पक्ष/विपक्षमा लागेनन् । 

पछिल्लो समय माओवादीमा देखिएको अन्तरविरोध, पार्टी निर्माणमा वैचारिक तथा सैद्धान्तिक पाटोको विषयमा कार्कीसँग रातोपाटी अनलाइन टीभीको ‘वार पार’ कार्यक्रमका प्रस्तोता रोहित दाहालले कुराकानी गरेका छन् । 

  • अहिले माओवादीमा स्पष्ट रूपमा दुई लाइन संघर्ष देखिएको हो भन्न सकिन्छ ?

पहिलो प्रस्ट कुरा, यो कम्युनिस्ट आन्दोलन भनेको विश्वव्यापी आन्दोलन हो । यसको एडिसन त हुन्छ । एउटा राष्ट्रिय परिप्रेक्ष्य हुन्छ तर यो मूलतः अन्तर्राष्ट्रिय आन्दोलन हो । किनभने यो पुँजीवाविरुद्ध छ । अहिलेसम्म मानव इतिहासमा जुन समाज व्यवस्थाहरू बने, तीमध्ये पुँजीवाद सबभन्दा डाइनामिक, गत्यात्मक भएको हुनाले त्यो पुँजीवादलाई निषेध गर्न, त्यसलाई रिप्लेस गर्न, प्रतिस्थापन गर्न आएको साम्यवादी आन्दोलन पनि विश्वव्यापी आन्दोलन हो । त्यसैले विश्वव्यापी आन्दोलनको रूपमा यसलाई हेर्नुपर्छ, देशैभित्र पनि सबैतिर एउटै मात्राको आन्दोलन चलिराख्या हुँदैन । अहिले नेपालका साना–ठुला सबै पार्टीमा एकदम कचिंगल, आलोचना र विग्रह देखा पर्छ । 

सब्जेक्टिभ्ली भन्दा पात्र विशेषको नाम अगाडि आयो, तर त्यो पात्रमार्फत अभिव्यक्त भएको मात्रै हो । त्यहाँ रोग अर्कै छ । हामी आम रूपमा रोगको कारणतिर जाँदैनौँ, लक्षण र परिणामतिर जान्छौँ । अहिले इतिहासले त्यो कारण पत्ता लाऊ भनिराख्या छ । हामी माओवादी २०६४ मा खुला राजनीतिमा आयौँ, त्यतिवेला मान्छेले माओवादीले खाली एउटा मिलिटेन्ट, यिनीहरूका गोरिल्ला, छापामारहरू मात्रै हुन् भने । आम जनतामा यिनीहरूको प्रभाव छैन भन्ने सोचिन्थ्यो, तर २०६४ को चुनावमा मेट्रिकभित्र पनि पहिलो पार्टी बन्यौँ । झण्डै ३० प्रतिशतभन्दा माथि मत यसले प्राप्त गर्‍यो । मतदान दिने उमेर नपुगेका युवालाई पनि जोडेको भए त्यो प्रतिशत अझ बढ्थ्यो । त्यो स्थितिबाट अहिले निकै कममा आइपुग्यौँ । यसलाई केही होइन, चुनावमा कहिले जितिन्छ, कहिले हारिन्छ भन्ने ढंगले अथ्र्याउने कोसिस गरिन्छ भने त्यो गलत छ । किनभने हामी कुनै यथास्थितिमा जन्मेको सामान्य सुधारवादी पार्टी होइनौँ । २०६४ पछि सयौँ पार्टी जन्मे । त्यस्तै पार्टीमध्ये हामी होइनौँ । युगान्तकारी महत्त्वकांक्षा बोकेको पार्टी हो हाम्रो । त्यसैले यसको आकार बढ्नु र घट्नु, यसको प्रभाव बढ्नु र कम हुनुले सिंगो समाजलाई र लामो इतिहासलाई, कन्टेम्पोररी इतिहासलाई पनि यसले प्रभावित गर्छ । त्यसको राम्रो समीक्षा हुन सक्या छैन । 

  • माओवादी कमजोर हुनुको कारण अध्यक्ष प्रचण्ड नै हो भन्ने निष्कर्ष हो तपाईंहरूको ? 

सिंगो आन्दोलनको माथिल्लो नेतृत्वमा उहाँ लगातार रहनुभएकाले श्रेय र अपजस दुवैमा स्वाभाविक रूपमा उहाँको भाग ठुलो हुन्छ । किनभने श्रेय पनि उहाँले बढी पाउनुभएको छ । सुरुमै, ६४ मा खुला राजनीतिमा आइसकेपछि हामीले एउटा नयाँ रणनीति, नयाँ कार्यदिशा अपनाउनुपथ्र्यो । किनभने हिजो हामी फौजी संघर्ष गर्दै आयौं, बारुद, बमको कुरा गर्दै आयौं । अब हामीले अक्षरको लडाइँ लड्नुपथ्र्यो । हामी म्यान अफ लेटर्स बनेर देखा पर्नुपथ्र्यो ।

त्यसरी पढ्न पाएको भए अहिले हामीसँग नेपालको समकालीन इतिहास पढेका, बुझेका युवापिँढी हाम्रा अगाडि हुन्थे । तर अहिले पनि हामीले पाठ्यक्रममा गणतन्त्रको आभास छैन ।
  • त्यो भनेको के हो ? व्याख्या गर्दिनु न 

त्यो भनेको, इतिहासको कुनै पनि घटनालाई अथवा कुनै पनि परिवर्तनमा भूमिका खेल्ने पात्रहरूलाई समाजशास्त्रीय वैधता चाहिन्छ । अथवा त्यो संस्थागत हुनुपर्छ । ०६३/६४ मा आइसकेपछि पहिलो काम इतिहासको पुनर्लेखनतिर जानुपथ्र्यो । यो कमसेकम १९५० देखि २०६४ सम्मको, प्राचीन इतिहास, मध्यकालीन इतिहासबारे पनि, अन्वेषण गर्ने । किनभने हामीकहाँ इतिहास भनेको खाली वंशको मात्रै छ । राजाका कति रानी, के भन्ने ? 

अब केही मान्छेले नेपालको आर्थिक इतिहासहरू लेख्ने । त्यसलाई प्रमाणित बनाउन खोज्ने प्रयत्न नगरेको होइन, तर पनि मूलतः केटाकेटीलाई के पढाइन्छ ? नेपालको इतिहासमा, आधुनिक इतिहासमा बीपी, पुष्पलाल र प्रचण्डको स्थान कहाँ हो ? त्यो पढ्न पाउनुपथ्र्यो ।  

त्यसरी पढ्न पाएको भए अहिले हामीसँग नेपालको समकालीन इतिहास पढेका, बुझेका युवापिँढी हाम्रा अगाडि हुन्थे । तर अहिले पनि हामीले पाठ्यक्रममा गणतन्त्रको आभास छैन ।

अलिकति रेसिस्ट गर्ने क्षमता, प्रतिवाद गर्ने क्षमता नेताहरूको पनि बढाउनुपर्छ । त्यो रेसिस्टेन्स पावर, त्यो क्यापासिटी बढाउन अलिकति ठाडो मुन्टो लाएर, ढाड सोझो पारेर बोल्नुपर्छ ।
  • बारम्बार सरकारको नेतृत्व गर्दा, अझ २०६४ यता त बढी सरकारमा माओवादीकै छ । किन त्यसो गर्न सकिएन त ? 

त्यसलाई प्राथमिकता नै ठानिएन । हाम्रै हो, सधैं अब यस्तै चल्छ, यस्तै रहन्छ भन्ने भएको हो कि के हो । यो तपाईं–हामी सबैले अन्वेषण गर्ने हो । म तपाईंलाई क्युबा लैजान्छु एकछिन । चे ग्वेभारा विश्व प्रसिद्ध हुनुहुन्छ, उहाँलाई धेरैजसो फोटोसोटोमा यताउता एकदमै ‘मेसिन, म्यान अफ मेसिन गन’ बन्दुक लिएर लडिराखेको, गरिराखेको भन्ने देखिन्छ । तर हि वाज् अ म्यान अफ लेटर्स । किनभने शिक्षामा जुन जग बसालेर त्यो पिँढीले गयो, चे ग्वेभारालगायत मान्छे ले पहिला आउनासाथ साक्षरता अभियान सञ्चालन गरे । ल्याटिन अमेरिकाजस्तो देशमा पनि झण्डै ५० प्रतिशत मान्छे निरक्षर रहेछन् । सानो जनसंख्या भएको देशमा दुई वर्षभित्रमा ५ लाख मान्छेलाई साक्षर बनाए । र समाजवादी सूचनासहित साक्षर बनाइदिए । उनीहरूले जुनसुकै उमेरकाले नि पढ्नुपर्छ भने । त्यो अक्षर चिनाउँदा समाजवादका नाराहरूमार्फत चिनाए । त्यहाँ स्वास्थ्यसँगै चे ग्वेभाराले ल्याटिन अमेरिकाको मेडिसिनबारे लेखहरू लेख्या छन् ।  

  • तर राम कार्की, जनार्दन शर्माहरू लगायतले सांगठनिक अराजकता मच्चाए भन्ने एकथरीको भनाइ छ । सार्वजनिक रूपमा नेताहरूको बद्ख्वाइँ गरेर हिँडेर पनि यो समस्या आयो भन्नेहरूलाई के भन्नुहुन्छ ? 

कामै गर्न नसक्नेगरी नेताहरूलाई घेराबन्दी गरियो भन्ने खालको छ । हामी पूरै संसदीय व्यवस्थामा गएकाले सबैबाट केही न केही कमजोरीहरू भएको होला । एकदमै कम्युनिस्ट मानकबाट हेर्दा त्यो स्वाभाविक कमजोरीहरू होला । तर यो वेलाबखत हुने आलोचनाभन्दा पनि अधिभूतवादी, अन्धश्रद्धावादी खालको प्रशंसाले आन्दोलनलाई बिगारेको छ । यति प्रशंसा गर्दिन्छन् बिहानदेखि बेलुकासम्म र अब धेरैजसो नेताहरूको पनि बानी प्रशंसा सुन्ने परेर अलिकति आलोचना, प्रश्न त पचाउँदै नपचाउने भयो । 

अहिले जनार्दन शर्माले भनेको कुरा एउटा महाधिवेशनकै माग हो । यो कुनै नयाँ माग होइन । विशेष महाधिवेशन गर्ने भनेर केन्द्रीय समितिले पहिले नै भनेको कुरा हो ।

अलिकति रेसिस्ट गर्ने क्षमता, प्रतिवाद गर्ने क्षमता नेताहरूको पनि बढाउनुपर्छ । त्यो रेसिस्टेन्स पावर, त्यो क्यापासिटी बढाउन अलिकति ठाडो मुन्टो लाएर, ढाड सोझो पारेर बोल्नुपर्छ । कम्युनिस्ट आन्दोलन भनेको ढाड सोझो पार्ने नै हो । अब किन झुक्यो अहिले ? यसको पनि एउटा अनुसन्धान हुनुपर्छ । यत्रो कम्युनिस्ट भएर फेरि उनीहरूको गौरवपूर्ण इतिहास छ, यति वर्ष जेल बसेको, यति वर्ष ऊ गरेको भन्ने छ । त्यो मान्छे ढाड छैन भन्छ । तर ढाड त हुनुपर्छ ।

  • जनार्दन शर्माले यसपटक राखेको प्रस्तावबाट के बुझिन्छ ?

अहिले जनार्दन शर्माले भनेको कुरा एउटा महाधिवेशनकै माग हो । यो कुनै नयाँ माग होइन । विशेष महाधिवेशन गर्ने भनेर केन्द्रीय समितिले पहिले नै भनेको कुरा हो । महाधिवेशनको नाम विशेष अथवा सामान्य जे राखे पनि महाधिवेशनजस्तो हुनुपर्‍यो । महाधिवेशन भनेको कम्प्लिट विघटन गर्ने गर्नुपर्‍यो । पहिले, नेताहरूले त्यो नछुटोस् भनी सोच्न भएन । हामीले त लोभ पनि गर्न हुँदैन । 

  • ६० वर्षभन्दा तल छोड्दिने ?

उमेरले केही हुँदैन । उमेर एकदमै सैद्धान्तिक कुरा पनि होइन । दिमाग स्वस्थ र शरीरले धान्छ भने काम गरिरहनुपर्छ । तर अर्को भूमिकामा । मेरो भनाइ महासचिवै हुनुपर्छ, त्यो पर्दैन क्या, जरुरी छैन । कार्यकारी जिम्मेवारीमा बस्न जरुरी छैन ।

  • नेपालमा पदविना फेरि कसैले टेर्दैन नि ? 

किन टेर्नुपर्‍यो ? तपाईंले राम्रो काम गर्नुभएको छ भने । त्यसको पदलाई हेरिँदैन ।

महाधिवेशनको मिति तोकिदिने भयो भने लाइन जन्मिन्छ । अहिले फाट्टफुट्ट आफ्नो कुरा, आफ्नो शैलीमा मान्छेले बोलिराखेको छ । 
  • तपाईं जनार्दन शर्माको लाइनमा उभिनुभयो भनेर मैले भनेँ भने कत्तिको जायज हुन्छ ? 

त्यस्तो होइन । उहाँहरू सबै हुँदा नै मैले आफ्नो विचार आफ्नै ढंगले राखिराखेको छु । बाबुराम हुँदादेखि नै । किनभने मैले हेटौंडा महाधिवेशनमा दस्तावेजै प्रस्तुत गरेको थिएँ । फेरि यो व्यक्तिको कुरा होइन । जुन व्यक्ति–व्यक्तिलाई ल्याउँछन्, त्यो गलत हो । प्रचण्डको वा कुनै अरू व्यक्ति विशेषको नाम आइरहनु राम्रो कुरा होइन । 

मुख्यतः नीति प्रधान हुन्छ । अहिले त्यो लाइनको रूपमा विकसित भएर कोही आइसकेको छैन । महाधिवेशनको मिति तोकिदिने भयो भने लाइन जन्मिन्छ । अहिले फाट्टफुट्ट आफ्नो कुरा, आफ्नो शैलीमा मान्छेले बोलिराखेको छ । 

अब कसैले कसैको प्रशंसामा उसको फेसबुक, लेखाइ, पढाइ सबै हेर्नुभयो भने तपाईंले देख्नुहुन्छ, ऊ कुन मनस्थितिमा रहेछ भनेर । तर लाइनको रूपमा, लाइन र लिडरसिपको रूपमा संघर्ष हुनुपर्छ । यो अप्रिय हो । माओत्सेतुङले टु लाइन स्ट्रगल भनेको प्रिय कुरा होइन । साथीलाई तपाईं गलत हुनुहुन्छ भन्नु त राम्रो होइन । यत्रो वर्ष सँगै काम गरियो अनि तपाईं गलत हुनुहुन्छ, तपाईं दक्षिणपन्थी हुनुहुन्छ, या तपाईं जडसूत्रवादी हुनुहुन्छ या तपाईं वामपन्थी हुनुहुन्छ भन्नु प्रिय कुरो होइन । तर त्यो औषधि हो । त्योविना कम्युनिस्ट पार्टी बाँच्दैन ।

  • दुई लाइन संघर्षविना कम्युनिस्ट पार्टी बाँच्दैन ?

त्यो औषधि हो ।

  • अहिले देखिएको दुई लाइन संघर्ष अथवा माओवादीमा देखिएको त्यो अन्तरविरोध के हो त ? 

अहिले मैले भनिसकेँ, लाइनको रूपमा त्यो डेभलप भइसकेको छैन । तर हामीले नै एउटा वातावरण बनाउनुपर्छ ।

पहिला, सबै कमिटी विघटन गर्दिने । सबै कमिटी विघटन गर्दिसकेपछि त्यो महाधिवेशन तयारी समिति भन्ने एउटा राख्ने ।
  • स्वार्थ समूहहरूको झगडा हो भन्यो भने मिल्छ ?

त्यो पनि होइन । त्यसलाई त्यति अवमूल्यन पनि गर्न सकिँदैन । तर लाइनको रूपमा पनि आकार ग्रहण पनि गरिसक्या छैन । किनभने त्यो गुम्फन, त्यो समीक्षा नहुनुको कारण, नयाँ कार्यदिशा नपाउनुको कारण, नयाँ नेतृत्व प्रणाली विकास नगरेको कारण, नयाँ संगठनको सिद्धान्त नल्याएको कारण गुम्सिएका चिजहरू कहाँकहाँबाट व्यक्त हुन्छन् । एउटा कुरा म एकदम दाबासाथ के भन्न सक्छु भने हामीले सम्पूर्ण रूपमा पार्टीलाई विघटन गर्ने र फेरि पुनर्गठन गर्ने । 

  • अलि व्याख्या गर्दिनु न । 

पहिला, सबै कमिटी विघटन गर्दिने । सबै कमिटी विघटन गर्दिसकेपछि त्यो महाधिवेशन तयारी समिति भन्ने एउटा राख्ने । महाधिवेशनको हलमा गएपछि त्यसलाई पनि डिजल्भ गर्दिने । त्यहाँ जम्मा भएका प्रतिनिधिहरूले एउटा निर्वाचन आयोग बनाउने । एउटा अध्यक्ष मण्डल बनाउने । त्यो अध्यक्ष मण्डलले निर्वाचन गराउँछ ।

आफैंले त्यसलाई विघटन गरेर फेरि पुनर्गठन गर्दा सचेततापूर्वक पार्टी जन्माउन सकिन्छ, नयाँ पार्टी बनाउन सकिन्छ ।
  • त्यो अध्यक्ष मण्डल पार्टीभित्रै हुन्छ वा बाहिरबाट ल्याउने हो?

पार्टीभित्रै, पार्टीभित्रकै बनाउने । त्यो गरिसकेपछि जति पनि प्रतिनिधि आएका छन्, ती सबै अध्यक्षमा पनि लड्न पाउने भए, महासचिवमा पनि लड्न पाउने भए । यदि यस्तो गरिएन भने, विघटन गर्न सकेन भने जनताले विघटन गराइदिन्छन् ।

  • त्यसले अरू अराजकता फैलाउने खतरा रहन्छ कि रहँदैन ?

आफैंले त्यसलाई विघटन गरेर फेरि पुनर्गठन गर्दा सचेततापूर्वक पार्टी जन्माउन सकिन्छ, नयाँ पार्टी बनाउन सकिन्छ । तर त्यस्तो गर्न चुक्यो भने जनताले विघटन गराइदिन्छन् । जनताले समर्थन नगर्दिएपछि सकियो, विघटन भएन पार्टी ?

मेरो आलोचना भइदियोस्, मलाई राम्रै लाग्छ । मेरो त्यहाँ भूमिका थिएन । फलाना आउँछन् रे भनेर सुनेर जाने कुरा त भएन नि ।
  • तपाईं यो भन्दै हुनुहुन्छ कि यदि हामीले माओकै लाइन मान्ने हो भने, पहिला विघटन गर्दिनुपर्‍यो, माओवादीलाई शून्यमा झार्नुपर्‍यो । यदि त्यो विघटन गर्ने आँट गरिएन भने चुनावमा जनताले विघटन गराइदिन्छन् ? 

चुनावमा परेन । अरू नै कुनै आन्दोलन गर्न पनि जनताको सपोर्ट नभएपछि, आउँदै नआएपछि त सकियो, विघटन भएन पार्टी ?

  • तपाईंले पार्टी बनाउने कुरा गरिरहँदा एउटा हुलाकी राजमार्ग अभियान भन्ने माओवादीको चल्यो । तपाईं त्यो वेला झापाको धुलाबारी घरमै हुनुहुन्थ्यो । कचनकबलबाट कार्यक्रम सुरु भयो, तपाईं त्यहाँ जानुभएन । कहीँ पनि निस्किनुहुन्न । राम कार्की कार्यक्रममा बोलेको बोलै गर्नुहुन्छ, पार्टी बनाउने कुरा मात्रै गर्नुहुन्छ । भनेर भन्ने आरोप छ नि ? 

होइन । मेरो आलोचना भइदियोस्, मलाई राम्रै लाग्छ । मेरो त्यहाँ भूमिका थिएन । फलाना आउँछन् रे भनेर सुनेर जाने कुरा त भएन नि ।

  • पार्टी अध्यक्ष जाने कुरामा तपाईंलाई के हो र ?

त्यो त जान्नँ म । म कम्युनिस्ट बनेकै त्यसकारणले । उर्दीमा कटुवालले माथि डाँडाबाट बोलाएको भरमा नजाने भनेरै म बसेको ।

  • भनेपछि परिभाषित जिम्मेवारी दिनुपर्‍यो ?

होइन, मेरो केही भूमिका हुनुपर्‍यो नि । अथवा आऊ भन्ने हुनुपर्‍यो । त्यहाँ आएर केही नोट गर भनेको पनि एउटा कामै हो नि, हैन ? त्यस्तो केही काम थिएन । त्यस्तो नभएको ठाउँमा म प्रायः जान्नँ पनि, मेरो बानी छैन । 

  • त्यसैले पार्टीले धेरै राम्रो गर्‍यो भनेर प्रचण्ड काठमाडौँ फर्किनुभएको थियो । तर पछि दुई बुँदे फेरि गर्दिनुभयो ?

त्यो बाहिरबाट भन्दिएको राम्रो । आफूले नभन्नु । आफूले किन राम्रो भन्नु पर्‍यो र ? हामीले राम्रो काम गर्दाखेरि त्यसको सुवास आइहाल्छ, बाध्य भएर भन्छन् । 

  • तपाईंले स्थायी समिति बैठकमा नौ–नौ महिनाको रोटेसन नेतृत्व बनाउँ भन्नुभयो ? 

हाम्रो सबैको त्यस्तै छ अवस्था । पहिलोचोटि संसारमा पेरिस कम्युनमा जम्मा ७०/७१, ७२ दिनसम्म शासन गर्न पाए मजदुरले । त्यो ७२ दिनमा पनि रोटेसन थियो । एउटा प्रणाली बनाइसकेपछि व्यक्तिले पार्ने फरक भनेको अलि थोरै मात्रै हुन्छ । यो रोटेसनको कुरा बाहिर बढी खुब आयो अनि मैले हाम्रो सन्दर्भमा भनेको । 

अहिले अध्यक्ष कमरेडको अथोरिटी छ । हामीले त्यहाँ रोटेसन सुरु गर्दियौँ । त्यो रोटेसनमा जानेले केही बिगारिहाल्यो भने उहाँले आलोचना गर्नासाथ फेरि फिर्ता बोलाउन सकिन्छ । अर्कोलाई हाल्दिन सकिन्छ । त्यो नौ महिनाभित्र पनि तीन–चार जनालाई पठाइदिन सकिन्छ । त्यसो हुनाले केही न केही विधि बनाउनुपर्‍यो नि ।

  • प्रचण्डपछिको सर्वसम्मत नेता माओवादीमा छैन भन्ने अर्थमा तपाईंले यो ल्याउनुभयो भनेर बुझियो भने सही हुन्छ ? 

मेरो लागि त्यो नै ठीक हो । किनभने सामूहिक लिडरसिप भनेको त्यही हो । हिजो लेनिनको पालामा अप्ठ्यारो भयो, मान्छे भेट गर्न पाएनन्, जारको शासन थियो भनेर अहिले यहाँ नेपालमा भेट गर्न पाउँद पनि कुना–कुनामा बसेर मिटिङ गर्नुपर्‍यो कि परेन ? माओत्सेतुङको पालामा परालको जुत्ता लाएर हिँडेको थिएँ भनेर यहाँ माओवादी हुनको निम्ति त्यसरी नै हिँड्नुपर्छ र काठमाडौंमा ? पर्दैन नि । त्यसलाई उन्नत गर्न नेतृत्वको हस्तान्तरण, नयाँ नेतृत्व निर्माणबारे वृहंगम छलफल हुनुपर्छ भन्ने मेरो कुरा हो । 

हामीकहाँ एउटा कल्चर कि क्रिटिकल एप्रिसिएसन गर्ने, आलोचनात्मक समर्थन गर्ने संस्कार भएन । देवत्वकरण गर्ने ?
  • अध्यक्षका के–के कमजोरीहरू भएर पार्टी यहाँ पुग्यो ? अब २०६४ मा फर्किन आउनेले के गर्न सक्छ ? 

पहिलो कुरा, २०६४ साल बितिसक्यो, अब आउँदैन । तर मुख्य हामीले एउटा नयाँ युद्धकला, नयाँ रणनीति, नयाँ कार्यदिशा बनाउन सक्नुपथ्र्यो । पुँजीवादबाट अलग हुने र समाजवादको गोरेटो कोर्ने काम भयंकर गाह्रो थियो । त्यो केवल एउटा प्रचण्ड कमरेड अथवा अरू कुनै कमरेडले गरेर हुने कुरा थिएन । त्यहाँ हामी सबैको कमजोरी छ । प्रचण्डलगायत हामी सबै त्यहाँ कमजोर भयौँ । 

दोस्रो कुरो, हामीकहाँ एउटा कल्चर कि क्रिटिकल एप्रिसिएसन गर्ने, आलोचनात्मक समर्थन गर्ने संस्कार भएन । देवत्वकरण गर्ने ? हाम्रा बाजेले विष्णुलाई मान्या थिए, ब्रह्मालाई मान्या थिए, महादेवलाई मान्या थिए, त्यस्तैगरी हामीले पनि माक्र्स, लेनिन र हाम्रा नेतालाई पनि हेर्न थाल्यौँ । म यदि माक्र्सवादी हुँ भने मैले ४० वर्षदेखि माक्र्सवादी राजनीति गरिराख्या छु भने माक्र्सको कमजोरी मलाई थाहा हुनुपर्‍यो नि । कि त मैले भन्नुपर्‍यो माक्र्स देवता थिए, हाम्रो ब्रह्मा–विष्णु–महेशजस्तै । फेरि हाम्रा ब्रह्मा, विष्णु, महेशहरूले स्वरूप पनि परिवर्तन गरिरहन्छन् ।  अनि जुन स्वरूपमा आए पनि मान्दिनुपर्ने भयो । 

  • तपाईंहरूले पार्टी एकीकरणको कुरा गर्दा विप्लवजीले अस्वीकार गरिसक्नुभयो, हुँदैन कि क्या हो ? 

एकीकरण भनेको एउटा जटिल प्रक्रिया हो । अध्ययन गर्नुपर्‍यो, हाम्रा विभिन्न कार्यनीति, कार्यदिशाबारे । अब हामी नयाँ महाधिवेशन गरेर कार्यदिशा बनाउने भन्दै छौँ । त्यसो हुनाले अलिकति पर्खनै पर्छ होला ।

एकीकृत समाजवादीसँग पनि एकीकरणको कुरा छ नि ?

समाजवादीको अध्यक्षलाई एउटा मुद्दा पनि लाग्या छ । फेरि त्यो अख्तियारले लगाएको मुद्दा पर्‍यो । त्यो स्थितिमा उहाँलाई एकता गर्दा भ्रष्टाचारी भित्रायो भन्ने होला । आरोप लाग्ला । त्यो आशंकाहरू, सन्देहबाट मुक्त भएको स्थितिमा राम्रो हुन्छ । नत्र उहाँको लागि पनि राम्रो होइन । यो अप्ठ्यारो परेर त्यहाँ गयो भन्ने हुन्छ । हाम्रा लागि पनि राम्रो होइन ।

  • अब तपाईं पार्टी कि राजनीति नै छाड्ने तयारीमा हुनुहुन्छ ? 

मतलब केही न केही काम त, भनौँ न । सक्रिय भइराख्नुपर्छ । माक्र्सवाद–लेनिनवाद या माओको, माओवादमा देखिने एउटा चिरस्थायी समताको निम्ति काम गर्ने, समतामूलक समाज बनाउन, एउटा स्वतन्त्र समाज बनाउन काम गर्ने चिरस्थायी जो स्पिरिट छ, भावना छ, त्यसलाई म सकुन्जेल नछाड्ने । अरू कुरा म जहाँ जहिलेसम्म रहन्छु, रहन्छु । अहिले म पार्टीको सचिव छु, यो सचिवको भूमिकामा हाम्रो पार्टीलाई त्यो आदर्शमा उभ्याउन चेष्टा गरिरहन्छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया