शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

फिल्म ‘मोहर’ र ‘सिटामोल’ को सुरुवाती व्यवसाय कस्तो ?

आइतबार, २५ साउन २०८२, १३ : ०१
आइतबार, २५ साउन २०८२

सारांश

  • गत जेठमा रिलिज भएको फिल्मले राम्रो व्यापार गर्न नसकेपछि फिल्म क्षेत्रमा निराशा छाएको थियो, तर ‘मोहर’ र ‘सिटामोल’ले केही आशा जगाएका छन्।
  • शुक्रबार र शनिबार देशभर दुवै फिल्मले दर्शकको राम्रो साथ पाए, विशेष गरी ‘मोहर’ ले काठमाडौंसहितका शहरहरूमा राम्रो प्रतिक्रिया बटुलेको छ।
  • दर्शकको राम्रो प्रतिक्रियापछि कलाकारहरू उत्साहित भएका छन्, भने ‘सिटामोल’को कथावस्तु र जनयुद्धको विषयवस्तुले दर्शकको मन जितेको छ।

काठमाडौँ । गत जेठमा प्रदर्शनमा आएको ‘उनको स्वीटर’ पछि नेपाली फिल्मले अपेक्षित व्यापार गर्न नसक्दा फिल्म क्षेत्रमा निराशा छाएको थियो । त्यो निराशालाई चिर्दै केही हदसम्म आशा जगाउन सफल भएका छन् ‘मोहर’ र ‘सिटामोल’ । गत शुक्रबार प्रदर्शनमा आएका दुवै फिल्मले शुक्रबार र शनिबार देशभर राम्रो दर्शक पाएका छन् ।

शनिबार बिहानसम्म दुवै फिल्मको शोमा देशभर दर्शकको चाप औसत थियो । तर, दिउँसो १ बजेपछि भने विशेष गरी ‘मोहर’ लाई काठमाडौँसहित नेपालगन्ज, चितवन, पोखराजस्ता सहरमा दर्शकको उत्साहजनक साथ मिल्यो । ‘सिटामोल’ को पनि काठमाडौँ, नेपालगन्ज, बुटवल, पोखरा, बनेपा जस्ता सहरमा दर्शक राम्रो देखिए । फिल्महरूलाई दर्शकबाट प्रतिक्रिया समेत राम्रो मिलेको छ ।

फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘मोहर’का वितरक करण श्रेष्ठका अनुसार शुक्रबार र शनिबार फिल्मले राम्रो दर्शक पाएको छ । फिल्मले दर्शकबाट वर्ड अफ माउथ समेत राम्रो पाएको उनको भनाइ छ । चुम्बनजंग शाही निर्माता रहेको फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । पल शाह, बेनिशा हमाल, नीति शाह लगायतको मुख्य भूमिका रहेको फिल्ममा दर्शक देउकी प्रथाको विषयले पनि तानेको बताइन्छ ।

दर्शकबाट फिल्मलाई लिएर उत्कृष्ट प्रतिक्रिया आएपछि नायक पल शाह भावुक समेत बने । उनले भने, ‘अहिले म बोल्न सकिरहेको छैन । एउटा कलाकारका लागि निर्देशक र टिम बलियो भयो भने उसले काम देखाउन सक्छ । यसपटक हामीले निकै मिहिनेत पनि गरेका थियौँ । दर्शकको प्रतिक्रियाबाट मिहिनेत सफल भएको भन्ने लागेको छ ।’  फिल्म ‘मोहर’ को व्यापार आइतबारबाट झन् बढ्ने वितरक श्रेष्ठ बताउँछन् ।  

यता ‘सिटामोल’ मा पनि दर्शक देखिएपछि निर्माण टिम अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल लगायतका कलाकारलाई लिएर काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको थियो । शो क्रममा दर्शकले ‘सिटामोल’ को कथावस्तुले आफूहरूको मन जित्नुका साथै अन्तिममा रुवाएको समेत प्रतिक्रिया दिएका थिए ।

शुक्रबार नै एमाले सम्बद्ध विद्यार्थी सङ्गठनका अध्यक्ष डा.सुजन कडरिया, उपाध्यक्ष अञ्जना सिवाकोटी, उपमहासचिव कमल जोशी लगायतको टिमले पनि ‘सिटामोल’ हेरेको थियो । उनीहरूले देशमा ६२/६३ तिरको सशस्त्र जनयुद्धका घाइते योद्धा र कर्णाली प्रदेशका जनताले त्यो बेला मात्रै नभई अझै पनि सिटामोलजस्ता साधारण औषधी पनि नपाउने अवस्थालाई सुक्ष्म ढङ्गले प्रस्तुत गरेको प्रतिक्रिया दिए ।

‘सिटामोल’ ले एक पूर्वमाओवादी कमान्डरलाई केन्द्रमा राखेर कथा भन्छ । सिनेमाले जनयुद्धको विषयलाई उठान गरेकाले आफूहरूले रिलेट गर्न सकेको र धेरै दृश्यमा भावुक भएको अधिकांश दर्शकको प्रतिक्रिया छ । 

दर्शकको प्रतिक्रिया राम्रो आएपछि अभिनेता सौगात मल्ल भन्छन्, ‘दर्शक भेट्न हिँड्नु परेकाले मैले आफै पुरै फिल्म हेर्न पाएको छैन । तर सबैको प्रतिक्रिया सुनेरै खुसी लागेको छ । दर्शकले मन पराइदिनु भयो भनेपछि हामीले गरेको मेहनतले रंग पाएको छ ।’ 

राजबहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार करण नेपाली, आरध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप