जलवायु परिवर्तनको मुद्दा बोकेर इन्डोनेसियाको हिमाल आरोहण गर्दै पर्वतारोही पाण्डे
सारांश
- पर्वतारोही प्रकाशराज पाण्डे ओसिनियाको सबैभन्दा अग्लो हिमाल आरोहणका लागि प्रस्थान गर्दैछन्, उनले जलवायु परिवर्तनको मुद्दा उठाएका छन्।
- प्रधानमन्त्री केपी शर्मा ओलीले पाण्डेलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै आरोहणको सफलताको शुभकामना दिएका छन्।
- पाण्डेले यसअघि सगरमाथासहित विभिन्न हिमालहरू चढेका छन् र सेभेन समिटको अभियानमा छन्।
काठमाडौँ । विश्वका सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका पर्वतारोही प्रकाशराज पाण्डे कास्ट्रेन्स्ज पिरामिड भनिने ओसिनिया क्षेत्रको सबैभन्दा अग्लो हिमाल आरोहणका लागि प्रस्थान गर्दैछन् । विश्वमा देखिरहेको जलवायु परिवर्तनको मुद्दा बोकेर पाण्डे इन्डोनेसियाको हिमाल आरोहणमा निस्कन लागेका हुन् ।
इन्डोनेसिया जानुअघि पाण्डेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आरोहण अभियानमा सफलताको शुभकामना दिई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै बिदाइ गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पाण्डेलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै अभियानमा सफल रही स्वदेश फिर्न शुभकामना दिएका थिए । पाण्डे ११ अगस्टमा इन्डोनेसिया प्रस्थान गर्दैछन् ।
मकालु आउट फिटले सघाएको पर्वतारोही पाण्डेको यस अभियानमार्फत सदाझैँ जलवायु परिवर्तनको मुद्दा उठाउने उनले बताए । आफ्नो अभियानका माध्यमबाट जलवायु परिवर्तनका असरहरूबारे आरोहण गर्ने हिमाल रहेको देश एवं अन्तर्राष्ट्रिय रूपमा पनि कुरा उठाउने र सरोकार राख्ने सबैलाई यसतर्फ ध्यानाकृष्ट गराउने प्रयास आफूले गरिरहेको उनले बताए ।
पर्वतीय देशको बासिन्दा भएका कारणले जलवायु परिवर्तनको असर प्रत्यक्ष भोगेको हुँदा यसबारे जनचेतना जगाउन र नीति निर्माणमा घच्घच्याउनु आफ्नो कर्तव्य रहेको उनले बताए ।
सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका विभिन्न हिमालसहित दर्जनको सङ्ख्यामा सफल आरोहण गरिसकेका पाण्डेले सातै महादेशका अग्ला हिमाल चढ्ने अभियान सुरु गर्दै २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउन्ट एलब्रस आरोहण गरेका थिए भने सोही वर्षको नोभेम्बरमा अफ्रिकाको अग्लो चुचुरो किलिमन्जारोको सफल आरोहण गरेका थिए । उनले यसैवर्ष फेब्रुअरीमा अर्जेन्टिनामा रहेको दक्षिण अमेरिकी महादेशको उच्च शिखर अकोन्कागुआको सफल आरोहण पनि गरिसकेका छन् ।
रामेछाप लिखु तामाकोसी– ७, तिल्पुङका पाण्डे हाल महालक्ष्मी नगरपालिका–२, ललितपुरमा बसोबास गरी पर्वतारोहण एवं सामाजिक जीवनमा सक्रिय छन् । उनले सन् २०१६ देखि पर्वतारोहण सुरु गर्दै २०१८ मा सगरमाथाको आरोहण गरेका थिए ।
त्यसयता निरन्तर हिमालहरू चढिरहेका पाण्डेले सेभेन समिटको विशेष अभियानको सुरुवात गरी नियमित अन्तरालमा महादेशीय उच्च हिमालको आरोहण गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण