बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आधारभूत अस्पताल निर्माणका लागि बजेट अभाव

सोमबार, २६ साउन २०८२, १७ : ११
सोमबार, २६ साउन २०८२

सारांश

  • कञ्चनपुरको लालझाडी गाउँपालिकामा निर्माण गरिएको अस्पताल बजेट र जनशक्तिको अभावका कारण सञ्चालनमा आउन सकेको छैन।
  • अस्पताल सञ्चालनका लागि संघीय र प्रदेश सरकारको सहयोग आवश्यक रहेको स्थानीय तहको भनाइ छ।
  • अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले २२ कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ।

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा निर्माण गरिएको आधारभूत अस्पताल बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेको छैन । पूर्वाधार निर्माण भएको करिब डेढ वर्ष बितिसक्दा पनि १० शय्याको उक्त अस्पताल सञ्चालन हुन सकेको छैन ।

विक्रम संवत् २०७७ मङ्सिर १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका ३०९ स्थानीय तहमा आधारभूत अस्पताल उद्घाटन गरेका थिए ।सोही कार्यक्रमअन्तर्गत लालझाडी–३ नन्दगाउँमा आधारभूत अस्पतालका लागि पूर्वाधार निर्माण गरिएको हो । करिब रु ६ करोडको लागतमा पूर्वाधार निर्माण गरिएको हो । 

“बजेट र जनशक्ति नहुँदा सञ्चालन गर्न समस्या भएको छ”, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले भने ।

स्थानीय तहसँग आन्तरिक आयस्रोत न्यून रहेकाले अस्पताल सञ्चालन गर्न सङ्घीय र प्रदेश सरकारको सहयोग आवश्यक भएको उनको भनाइ छ । 

सो स्थानीय तहमा सुविधा सम्पन्न अस्पताल नहुँदा स्थानीयले उपचारका लागि धनगढी र महेन्द्रनगर धाउनुपर्ने बाध्यता छ ।

लालझाडी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले आधारभूत अस्पताल सञ्चालन गर्न मन्त्रालयले कार्यविधि तयार गरेको भए पनि त्यसअनुसार उपकरण र जनशक्ति व्यवस्थापन हुन नसकेको बताए ।

उनका अनुसार आधारभूत अस्पतालका लागि दुई चिकित्सकसहित २२ कर्मचारीका लागि अस्थायी दरबन्दी स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको छ ।

“अस्पताल सञ्चालनका लागि हामीले अघिल्लो वर्ष नै पाँच जना माग गरेका थियौँ, उपकरण उपलब्ध नभएकाले पद आपूर्ति प्रक्रिया पनि रोकिएको छ”, उनले भने,“यस वर्ष पालिकाले अस्पताल सञ्चालन गर्न रु ८० लाख विनियोजन गरेको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप