समाज किन दूषित भयो ?
समाज किन दूषित भयो त ? आउनुस् यस प्रश्नमाथि चिन्तन गरौँ ।
नेपाली शब्दकोशले ‘दूषित’ शब्दको अर्थ दोषयुक्त, खराब, नजाती, दोषी, निन्दित, फोहोरमैलाले युक्त भनी परिभाषित गरेको छ । दूषित भन्नेबित्तिकै फोहोर–मैलाको डुंगुर, सडेगलेका चिज–वस्तु भन्ने मात्र होइन, दूषित मानिसको विचारमा हुन्छ, बोलीमा हुन्छ, क्रियाकलापमा हुन्छ, व्यवहारमा हुन्छ । हो, यस्तै कारण समाज दूषित हुन्छ । आज नेपाली समाज यस्तै भइरहेको छ ।
समाज दूषित हुनुका पछाडि अनेकौँ कारण छन् । मुख्य कारण नैतिकताको ह्रास नै हो भन्ने मलाई लाग्छ । हरेक समुदाय वा देशले त्यो समुदाय वा देशमा परम्परादेखि चलिआएका सामाजिक, सांस्कृतिक मूल्य–मान्यता र नैतिकताहरू अवलम्बन गरेका हुन्छन् । नैतिकताले नीति बन्छ, नैतिकताले असल नेतृत्व तयार हुन्छ, नैतिकताले नै व्यक्ति, समाज र राष्ट्रलाई उचित मार्गदर्शन गर्दछ । जब समाजबाट सामाजिक मूल्य–मान्यता र नैतिकताको स्खलन हुन्छ, अनि त्यो देश, समाज दूषित हुन्छ, कलुषित हुन्छ, दुनियाँका नजरमा असभ्य देखिन जान्छ ।
नीति शब्दमा ‘इक’ प्रत्यय लागेर बनेको नैतिकता भन्ने कुरा बाध्यकारी हुँदै होइन, सजिलो विषय पनि होइन तर यो व्यक्तिको आचरणको कुरा भने पक्कै हो, विवेकपूर्ण सचेतना हो । कथनी र करनीबिचको तादात्म्यता हो । यो कति महत्त्वपूर्ण छ भने यसको अभावमा हाम्रो पूर्वीय सनातन परम्परा वा संस्कृतिको गौरवशाली पहिचान मेटिन सक्छ । हाम्रो आदर्श र गन्तव्य नै अलमलमा पर्न सक्छ ।
हाम्रा सामाजिक मूल्य–मान्यता तथा नैतिक सिमानाहरू कसरी तय भए ? हेरौँ ।
लामो समयको मिहिनेत, त्याग, तपस्या, खोज, अध्ययन, अनुसन्धान र अनुभवबाट हाम्रा अग्रजले समाज सञ्चालनको थिति बसाले । समाजलाई मर्यादित एवं सभ्य, सुसंस्कृत बनाउन निश्चित मूल्य–मान्यता र नीति–नियमको प्रतिपादन गरे । जस्तै ः चार वेद (ऋग्वेद, यजुर्वेद, अथर्ववेद, सामवेद), चार पुरुषार्थ (धर्म, अर्थ, काम, मोक्ष), चार आश्रम (ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ, संन्यास), वैदिक सनातन सभ्यताका षड्दर्शन (सांख्य, वैशेषिक, न्याय, योग, मीमांसा, वेदान्त), चार नीति (साम, दाम, दण्ड, भेद), १८ पुराण, उपनिषद्, स्मृतिहरू, गीता, रामायण, महाभारत, ऋषिवाणी, बुद्धवाणी लगायत अनेकौँ कृति हाम्रा पूर्वीय दर्शनका अमूल्य निधि एवं तत्कालीन समाजका नियम–कानुन नै हुन्, अहिलेका संविधान–कानुनजस्तै ।
अहिले समाजले जस्ता प्रवृत्तिका मानिसलाई आफ्नो रोल मोडल मानेको छ, यसले बताउँछ कि आजको पुस्ता के चाहन्छ । जसले अपशब्द बोल्छ, जो अङ्ग–प्रदर्शन गर्छ, जो सामाजिक सञ्जालमा अश्लीलता फैलाउँछ, त्यस्तो मानिसका पछाडि अरू कुदिरहेको देख्दा अचम्म लाग्छ ।
यद्यपि यिनमा कतिपयले रूढिवादी विचारधारा बोकेका छन् । यिनको समयानुकूल परिमार्जन गर्दै जाने कुरा अलग छ । अर्कोतिर आधुनिकताको नाममा एक–एक गरेर अनुशासन, मर्यादा, नैतिक मूल्य–मान्यता, नीति–नियमका पर्खालमा प्रहार हुँदै छ । यो सँगसँगै हाम्रा मर्यादाका सिमाना पनि पार हुँदै छन् । समाजलाई अपाच्य हुने अशोभनीय हर्कतहरूमा बढोत्तरी हुँदै छ । जे बोले पनि भएको छ, जे गरे नि भएको छ । कसैलाई कसैको डर छैन । नीति, नियम, नैतिकता र सामाजिक मर्यादाको कुनै ख्याल छैन ।
अहिले समाजले जस्ता प्रवृत्तिका मानिसलाई आफ्नो रोल मोडल मानेको छ, यसले बताउँछ कि आजको पुस्ता के चाहन्छ । जसले अपशब्द बोल्छ, जो अङ्ग–प्रदर्शन गर्छ, जो सामाजिक सञ्जालमा अश्लीलता फैलाउँछ, त्यस्तो मानिसका पछाडि अरू कुदिरहेको देख्दा अचम्म लाग्छ । हामी सस्तो लोकप्रियताका लागि इमान बेच्छौँ, छिटो भाइरल हुने र छिटै पैसा कमाउने लोभमा आफ्नो वा अर्काको इज्जत नै दाउमा राख्छौँ । यहाँ कसैलाई चर्चित हुन कुनै विशेष गुण वा दक्षता हासिल गरेको हुनुपर्दैन, प्रशस्तै पढेको विद्वान् हुनु पनि पर्दैन । वाक् स्वतन्त्रताका नाममा उसले मच्चिइमच्चिई अरूलाई तथानाम गाली गरे हुन्छ, वा अश्लीलता फैलाइदिए हुन्छ, वा कुनै काण्ड मचाइदिए हुन्छ ।
अठारौँ शताब्दीका महान् जर्मन दार्शनिक कान्टका अनुसार स्वतन्त्रताका विभिन्न स्वरूप छन् । जनावरहरूले प्रयोग गर्ने र चेतनशील मानिसले प्रयोग गर्ने स्वतन्त्रतामा फरक छ । हामीले खोजेको पढ्ने–लेख्ने स्वतन्त्रता, मौलिक हक, वाक् स्वतन्त्रता कुन प्रकारको हो त ? दृष्टिगोचर गर्दा त जनावरले प्रयोग गरेको स्वतन्त्रता प्रतीत हुन्छ । यसले समाज र युवा पुस्तालाई कुन दिशातर्फ निर्देशित गर्ने होला ? यो आजको सोचनीय विषय हो ।
आज हरेक मानिसको हातमा स्मार्ट फोन छ, जहाँ विश्व अटाएको छ । टिकटक, युट्युब, फेसबुक, ह्वाट्सएप, भाइबरजस्ता सामाजिक सञ्जालका प्लेटफर्महरूमा मानिसको मनस्थिति तथा विचार परिवर्तन गरिदिने अनेकौँ सामग्री पाइन्छन् । यसलाई प्रयोगकर्ताले कसरी प्रयोग गर्यो, त्यसले पनि आजको समाज र युवाको सोच–विचारलाई निर्देशित गर्छ ।
जुन पुस्ता पब्जी र फ्री–फायरमा व्यस्त छ; जुन पुस्ता सामाजिक सञ्जालमा अरूलाई गाली गर्न आफ्नो दिमाग र अमूल्य समय खर्च गर्दै छ; जुन पुस्ता उद्यम नगरी जुवा, तास र मदिरापानमा लट्ठ छ; त्यो पुस्ताले पूर्वीय दर्शनभित्रका षड्दर्शनमा के छ, गीताको रचना किन भयो, महाभारतको रचना किन र कसले कस्तो सामाजिक परिवेशमा तयार पारे, उपनिषद् र वेदान्त दर्शनको भेद के हो भन्ने कसरी थाहा पाउँछ ? उसलाई गीतामा बताइएको निष्काम कर्मयोगका बारेमा के थाहा ! उसलाई महाभारतमा बताइएको अर्जुनदृष्टि, भीष्मप्रतिज्ञाका बारेमा के थाहा ! रामायणमा रामले देखाएको त्याग, मर्यादा एवं पितृभक्ति, सीताको त्याग, भरतको आफ्ना दाइ राम तथा राजसिंहासनप्रतिको उच्च वफादारितासँगै भ्रातृत्वप्रेम जस्ता नैतिक एवं सामाजिक सदाचारका बारेमा के थाहा ! यी सबै थाहा पाउन अध्ययनको जरुरत पर्छ, तर कसले पढ्ने यी पुस्तकहरू अब ? आधुनिक समाजशास्त्रका महान् दार्शनिक कार्ल माक्र्स र एंगेल्सलाई कसले पढ्ने ? ओशोलाई कसले बुझ्ने ? पश्चिमा सभ्यताका दार्शनिकहरू सुकरात, अरस्तु, प्लेटोलाई कसले पढ्ने ? कान्टलाई कसले पढ्ने ? कौटिल्य–चाणक्यलाई कसले पढ्ने ? शान्तिका प्रतीक गौतम बुद्धका उपदेश र शिक्षालाई कसले अनुशरण गर्ने ? आजकाल कुनै पनि घरमा वा समाजमा दर्शन, साहित्य, कला, सनातन सांस्कृतिक परम्परा आदिबारे विचार–विमर्श नै हुँदैन । यतापट्टि कसको फुर्सद छ र आजकाल !
पछिल्लो समयमा नेपाली समाजमा परिवारको परिभाषा नै परिवर्तन भएको छ । पहिले–पहिले संयुक्त परिवार हुन्थ्यो, नातिनातिना हजुरबुबा–हजुरआमाको काखमा हुर्किंदै प्रेरणादायी, मर्मस्पर्शी नीतिकथा सुन्थे । हाम्रा महान् अग्रज तथा वीर पुरुषका शौर्यगाथा सुन्थे र आफू पनि त्यस्तै आदर्श व्यक्ति बन्ने मनमनै कल्पना गर्थे । बालबालिकाले उनीहरूबाट नैतिकता, अनुशासन एवं सामाजिक मर्यादा सिक्ने मौका पाउँथे । परिवारका अन्य सदस्यबाट जीवन जिउने कला सिक्थे, श्रमको मूल्य थाहा पाउँथे । माता, पिता, गुरु, जल, पृथ्वी, वायु, सूर्य, चन्द्रमाप्रति सम्मान तथा आदरभाव प्रकट गर्दै अनुगृहीत हुन्थे । आज नातिनातिनाले हजुरबुबा, हजुरआमा, इष्टमित्र, कुल–कुटुम्ब चिन्दैनन् । नातागोता चिन्दैनन्, दर्जा अनुसारको अभिवादन गर्दैनन् ।
एकान्तमा सामाजिक सञ्जालमा सारा समय खर्च गर्छन् । घरमा को आयो, को गयो, कुनै मतलब छैन । कुनै पनि विषयमा आफ्नो सकारात्मक मत तथा विचार प्रकट गर्दैनन् । सिर्जनात्मक चिन्तन छैन । आफू जन्मेको र हुर्केको समाजको बारेमा केही थाहा छैन । सामाजिक सञ्जाल जति स्क्रोल गर्यो, त्यहाँ तिनीहरूकै नकारात्मक धारणा, अरूलाई गाली–बेइज्जती गरेको, तथानाम बोलेको, छाडा र अपशब्द मात्र भेटिन्छ । परिवारका चार सदस्य हातमा चारवटै मोबाइल लिएर चारतिर फर्केर आफ्नै दुनियाँमा मस्त छन् ।
जब हाम्रा घरका अभिभावकले आफ्ना सन्ततिलाई हाम्रा सामाजिक मूल्य–मान्यता, असल संस्कार र नैतिकताबारे जानकारी गराउन आवश्यक ठानेनन्, जब पाठशालाहरूमा यस्ता विषयलाई रूढिवादी मान्यताको नाम दिएर अध्ययन–अध्यापन गराउन उचित ठानिएन । उच्च राजनीतिक संस्कार तथा निष्ठाको राजनीतिमार्फत युवा पुस्तामा व्याप्त निराशालाई चिर्दै बेरोजगारीको समस्या हल गर्नुको साटो राजनीतिककर्मीहरू आरोप–प्रत्यारोप गर्दै भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबे । फलस्वरूप हाम्रा युवामा पारिवारिक तथा सामाजिक भूमिका, उत्तरदायित्व, जीवनप्रतिको दृष्टिकोण, असल संस्कार, मर्यादित जीवनशैलीको विकास हुनै पाएन ।
राजनीतिक, सामाजिक र आर्थिक रूपमा विश्वको बदलिँदो परिस्थिति; आधुनिक सूचना–प्रविधिमा पहुँच एवं विस्तार आदिका कारण पनि परम्परागत मान्यता तीव्र क्षयीकरणतर्फ जाँदै छन् । आजको समयमा कुनै समस्याको उठान गर्दा त्यो समस्याको समाधान पनि खोज्न सक्नु उचित हुन्छ । आज एउटा कोठाभित्र बसेर सामाजिक सञ्जालका माध्यमबाट अरूलाई गाली गर्न जति सजिलो छ, भोलि आफू त्यही ठाउँमा बसेर त्यसरी नै गाली खानुपर्ने दिन आउँछ । आज आफ्नो अमूल्य समय अनावश्यक काम र नकारात्मक गालीगलौजमा व्यतीत हुँदा त्यो बितेको समयको भरपाई कहीँकतैबाट हुन सक्दैन र आफू अहिले के गरिरहेको छु भन्ने कुराको हेक्का राख्न सक्नुपर्छ । मानिसले आफूलाई जस्तो संगत, मनोवृत्ति र परिस्थितिबाट अगाडि लान्छ उसले जीवन र जगत्लाई हेर्ने दृष्टिकोण पनि त्यस्तै बन्छ । यस सम्बन्धमा महाभारतको एउटा प्रसङ्ग उल्लेख गरौँ ः एकपटक भगवान् कृष्णले युधिष्ठिरलाई अत्यन्त खराब र दुर्योधनलाई अत्यन्त असल मानिस खोजेर ल्याउन आग्रह गर्नुभएछ । दुवैले यस्ता प्रकृतिका मानिस कहीँकतै फेला पार्न सकेनछन्, अर्थात् जस्तो दृष्टि उस्तै सृष्टि । एउटा गीत छ, ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ । महाभारतको यो प्रसङ्ग र यस गीतका हरफहरूले पनि हामीलाई हाम्रा स्वभाव, मूल्य–मान्यता सम्झाइरहेका छन् ।
तनमा लागेको फोहोरमैला, दूषित पदार्थ आदि धोएर जान्छ तर अमूर्त मनको मैलो धोएर जाँदैन । समाज पनि अमूर्त भएकाले यो दूषित भयो भने धोएर जाँदैन ।
सत्रौँ शताब्दीतिर पोपहरूको अत्याचारले सिमाना नाघेका बेला आफ्ना प्राचीन दर्शन, साहित्य, कला, ज्ञान–विज्ञानको पुनर्जागरणमार्फत आफ्नो पुरानो विरासत कायम राख्न युरोप सफल भएको थियो । हामीले पनि यस क्षेत्रमा पुनर्जागरण अभियान सुरु गर्नुपर्छ । नैतिक शिक्षा, सद्विचार, असल संस्कार, सामाजिक मूल्य–मान्यताको महत्त्व र आवश्यकता बारे सबैलाई जानकारी गराउन जरुरी देखिन्छ ।
पृथ्वीमा रहेका जीवित प्राणीमध्ये मानिस मात्र चेतनशील प्राणी हो । प्रत्येक मानिसको आफ्नै गरिमा छ, आफ्नै निजत्व छ तर नैतिकता भुलेको मानिसलाई यो कुराको हेक्का नै हुँदैन । त्यसैले समाजलाई दूषित बनाउँदै लाने नैतिकहीन कार्य, गालीगलौजको संस्कृति, आवारापन, नकारात्मक सोच र उच्शृंखल प्रवृत्ति मौलाउनुअगाडि नै हाम्रा विद्वान् अग्रजले स्थापित गरिदिएका आदर्श, सामाजिक मर्यादा, नैतिक मूल्य–मान्यता, संस्कार, परम्परा, नेपाली समाजको विशेषता, पारस्परिक सम्बन्ध, सम्मानभाव, आदरभाव, आतिथ्यता, समानता, कृतज्ञता, पूर्वीय दर्शनको महत्त्व, वैदिक सनातन संस्कृतिबारे सम्पूर्ण युवापुस्तामा सञ्चारित गरिनु जरुरी छ तथा सचेत बुद्धिजीवी वर्ग, राज्य तथा अन्य निकायले यसतर्फ गम्भीर बनेर विशेष ध्यान दिनु जरुरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण