शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

यी पुरुषले किन किने जिमको ३०० वर्षको सदस्यता ?

बुधबार, २८ साउन २०८२, १३ : ४९
बुधबार, २८ साउन २०८२

सारांश

  • चीनमा एक व्यक्तिले जिमको सदस्यता किन्न ८ लाख ७० हजार युआन खर्च गरे, तर पछि ठगिए।
  • सेल्सम्यानको लोभलाग्दो अफर सुनेर जिनले जिमको सदस्यता र कक्षा किने, तर पछि सेल्सम्यान फरार भए।
  • जिनले लगानी फिर्ता पाएनन् र उनले मुद्दा दायर गरे पनि, वकिलहरूका अनुसार मुद्दा जित्न कठिन छ।

बेइजिङ । चीनमा औसत आयु ७८ वर्ष छ । तर त्यहाँको झेजियाङ प्रान्तको हाङचाउ सहरका एक जना पुरुषले जिमको सय वर्षको सदस्यता किनेका छन् । जिन नाम गरेका ती पुरुषले यो सदस्यता किन्न ८ लाख ७० हजार युआन (१ लाख २१ हजार डलर) खर्च गरेका छन् । 

तीन वर्षदेखि जिन गृहनगरमा रहेको रान्यान फिटनेटमा जिमका लागि जान्थे । एक दिन त्यहाँ उनले एक जना सेल्सम्यानलाई भेटेँ । ती सेल्सम्यानले उनलाई यस्तो अफर दिए कि, उनले ‘नाईँ’ भन्नै सकेनन् ।  रान्यानले आफ्ना बफादार सदस्यहरूका लागि मात्रै भनेर विशेष खालको अफर ल्याएको ती सेल्सम्यानले जिनलाई बताए ।

सस्तो खालको यो सदस्यता एक वर्षको थियो । किन्ने व्यक्तिले यसलाई दोब्बर पैसामा बेच्न सक्ने भनेर उनलाई फकाइयो । सुरुमा त जिनले ८ हजार ८८८ युआनको विशेष मूल्यमा एउटा कार्ड किने । यसलाई उनले १६ हजार ६६६ युआनमा पुनः बिक्री गर्न सक्ने अनि यसमा जिमले १० प्रतिशतको मात्रै कमिसन लिने अनि बाँकी पैसा चाहिँ जिनलाई ट्रान्सफर गरिदिने भनिएको थियो । जिममा उनले सदस्यता पुनः बिक्री गर्न सकेनन् भने आफूले सारा पैसा फिर्ता गरिदिने वाचा पनि ती सेल्सम्यानले जिनसँग गरेका थिए ।    

एक वर्षको सदस्यता किनेको केही दिनपछि ती सेल्सम्यान पुनः जिनको अगाडि आए । उनले आफूसँग अझै केही प्रोमोशनल मेम्बरशिप भएको अनि यो किन्यो भने जिनसँग नाफा कमाउने राम्रो अवसर भएको भन्दै उनले फकाए । होला त भनेर जिनले १ लाख ३० हजार युआन खर्चेर जिमको सदस्यताको अरू कुपन पनि किने । मे १० देखि जुलाई ९ को बिचमा जिनले ती सेल्सम्यानसँग रान्यान फिटनेसका जम्माजम्मी १ हजार २०० वटा प्राइभेट क्लास र ३०० वटा वार्षिक सदस्यता किने ।

यसमा आफूले लगभग ८ लाख ७१ हजार २७३ दशमलव २७ युआन खर्च गरेको जिनले बताए । यसको सट्टामा उनले २६ वटा मोटो करार पत्र पाए । तर जब पछि उनले करार पत्र राम्ररी केलाएर हेरे यसमा सदस्यता लाभ अरूमा स्थानान्तरण गर्न नसकिने भनेर स्पष्ट लेखिएको पाए । 

जिनको रिफन्ड बाँकी नै रहँदा जुलाईको मध्यमै रान्यानको सेल्स क्लर्क, स्टोर म्यानेजर र मालिक सबै बेपत्ता भए । उनीहरूको फोन पनि लागिरहेको थिएन । जिमको सदस्यतामा गरेको लगानीबाट उनले एक सुको फिर्ता पाएनन् । अब उनीसँग जिमको ३०० वर्षको सदस्यता र १ हजार २०० प्राइभेट लेसन छ । आफू फसे भनेर जिन हाङझाउ प्रहरीसामु पुगे ।

आफ्नो फसेकोमध्ये केही पैसा फिर्ता पाउने आशामा उनले मुद्दा दायर गरेका छन् । तर उनलाई ठग्नेहरू बेपत्ता रहेको अनि जिनले ट्रान्सफर नै गर्न नमिल्ने जिमको सदस्यता किन्न राजी छु भन्ने करारमा समेत हस्ताक्षर गरेकोले यो मुद्दा उनको लागि कठिन हुने वकिलहरूले चेतावनी दिइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप