शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

सीआईबीले बुझायो मितेरी सहकारीको अनुसन्धान प्रतिवेदन

बुधबार, २८ साउन २०८२, १८ : १०
बुधबार, २८ साउन २०८२

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले मितेरी बचत तथा ऋण सहकारीको अनुसन्धान प्रतिवेदन बुझाएको छ । अनुसन्धान पुरा गरेर जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा प्रतिवेदन बुझाइएको सीआईबीका एआईजी चन्द्र कुवरे खापुङले रातोपाटीलाई बताए ।

मितेरी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा बर्दियाको बाँसगढी नगरपालिका–७ घर भएका ज्योति बहादुर भण्डारी, सुरेश अधिकारी र धादिङका सुवाश खत्री थुनामा छन् ।

पक्राउ परेका ३ जना र मितेरीकी महाप्रबन्धक ज्योति गुरुङ सहित ८ जनालाई प्रतिवादी कायम गर्न राय दिएर अनुसन्धान प्रतिवेदन बुझाइएको सीआईबीका प्रवक्ता (एसपी) युवराज खड्काले जानकारी दिए । थप ३ जना फरार प्रतिवादीको वतन खुलेको छैन ।

सहकारीको रकम अपचलनमा प्रहरीले ज्योति गुरुङ र भण्डारीलाई १७ करोड बिगो मागदाबी लिनुपर्ने राय दिएको छ । ज्योति गुरुङ कांग्रेस नेता धनराज गुरुङकी पत्नी हुन् । ब्युरोले मितेरी सहकारीको रकम ठगीमा संलग्न आरोपमा धनराज गुरुङसँग पनि बयान लिएको थियो । तर, उनको संलग्नता पुष्टि नभएको भन्दै प्रहरीले धनराजलाई प्रतिवादी कायम गर्न सुझाएको छैन ।

ज्योति बहादुर भण्डारीसँग ‘कनेक्सन’ देखिएका सुरेश अधिकारी र सुवाश खत्रीलाई प्रहरीले राष्ट्र बैंक ऐन र हुण्डी सम्बन्धी कसुरमा थप १३ करोड बिगो कायम गर्न सरकारी वकिललाई राय दिएको छ ।

प्रहरीले पक्राउ गरेपछि आईफोन १६ फुटाएका सुवास खत्रीलाई ६ अर्ब बिगो मागदाबी लिन प्रहरीले राय दिएको छ । खत्रीलाई ६ वटा कसुरमा सजाय गर्नुपर्ने अनुसन्धान अधिकृतको राय छ । उनलाई क्रिप्टो कारोबार र प्रमाण नष्ट गरेको कसुरमा पनि थप सजाय हुनुपर्ने प्रहरीको राय छ ।

धेरैजसो थाइल्याण्ड र कम्बोडियामा बस्ने भण्डारीले ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम मात्रै ठगेनन् । ‘आकर्षक व्याज’को लोभ देखाएर सहकारीका अध्यक्ष कुम्भराज गुरुङ र महाप्रबन्धक ज्योति गुरुङसँग व्यक्तिगत रूपमा करोडौं ठगेको सीआईबीको अनुसन्धान निष्कर्ष छ । मितेरीको सावाँ ब्याज सहित १४ करोड र सहकारीका पदाधिकारीबाट थप रकम समेत गरेर उनले २२ करोड रुपैयाँ ठगेको भेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप