एमाले विधान संशोधन प्रस्तावमा सामाजिक क्षेत्रको सुझाव सङ्कलन
काठमाडौँ । दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमाथि सुझाव सङ्कलन गर्न एमालेका देशभरका जिल्ला, प्रदेश लगायतका कमिटी र गैरभूगोलका कमिटीका बैठक आयोजना धमाधम भइरहेका छन् ।
यसैबिच बिहीबार एमालेले राजधानीमा सामाजिक क्षेत्रबाट सुझाव सङ्कलनका गर्न कार्यशाला सम्पन्न गरेको छ ।मानव अधिकार एलाइन्सद्वारा ललितपुरमा आयोजित कार्यशालामा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र केन्द्रीय कमिटी सदस्य तथा मानव अधिकार एलाइन्सका इन्चार्ज विष्णु रिजालले विधान संशोधन प्रस्तावका बारेमा स्पष्ट पार्दै थप सुझावहरू भए राख्न आग्रह गरे ।
कार्यशालालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य ढकालले विधानका सम्बन्धमा ७० बर्से उमेर हद र दुई कार्यकालको विषयलाई लिएर पार्टीभित्र विवाद सिर्जना गर्न खोजिए पनि त्यसलाई समाधान गरिएको दाबी गरे ।
पार्टीमा विवाद र विग्रह सिर्जना गर्ने प्रयास भए पनि त्यो सफल नहुने र पार्टी एकताबद्ध भएर अगाडि बढ्ने ढकालको भनाइ छ ।पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी नेतृत्व आवश्यकताले निर्माण गर्ने बताउँदै अहिले पार्टीमा केपी शर्मा ओलीको नेतृत्व आवश्यक रहेको बताए ।
उनले नेतृत्व निर्माणका लागि उमेर हद सर्वकालीक सिद्धान्त हुन नसक्ने स्पष्ट गर्दै नेपाली कांग्रेस जस्तो ठुलो प्रजातान्त्रिक पार्टीले समेत नेतृत्व स्वीकार गरिरहेको अवस्थामा अध्यक्ष ओलीको विकल्प सोच्न नसकिने धारणा राखे ।
एलाइन्सका अध्यक्ष विदुर सुवेदीको अध्यक्षतामा भएको कार्यशालामा सहभागीहरूबिच समूहगत छलफल गरी सुझावहरू सङ्कलन गरिएको थियो ।
पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तयार गरिएको विधान संशोधन प्रस्ताव पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकबाट पारित भई सुझावका लागि मातहतका कमिटीमा पठाइएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण