सांसदका शब्दको समाजमा असर
हामीले अपनाएको संसदीय व्यवस्थालाई बेलायतमा सन् १२१५ मा जारी भएको ‘म्याग्ना कार्टा’को आधारमा स्थापित बेलायती संसदीय व्यवस्था जस्तै मानिन्छ । तर पनि नेपालमा संवैधानिक सर्वोच्चता छ भने बेलायतमा संसदीय सर्वोच्चता छ ।
त्यहाँ संसदले बनाएको कानुनलाई अदालतले खारेज गर्न सक्दैन, तर नेपालमा भने अदालतले त्यस्तो कानुन खारेज गर्न सक्छ । बेलायतले १२औँ शताब्दीदेखि नै प्रजातन्त्रको अभ्यास थालेको थियो, तर हामी २१औँ शताब्दीमा मात्र यसको अभ्यास गर्दैछौँ । सायद यही कारणले हाम्रो प्रजातान्त्रिक अभ्यास र आचरण परिपक्व देखिँदैन ।
लोकतन्त्रको मूल मर्म भनेको विचारको प्रतिस्पर्धा हो । गालीगलौज, अपमान वा हिंसाका लागि उक्साउने कुरा होइन । नेपालजस्तो नवलोकतान्त्रिक समाजमा संसद् कहिलेकाहीँ उत्तेजनाको मैदान बन्न पुग्छ । केही सांसदका भनाइ यति उत्तेजक र आक्रामक हुन्छन् कि तिनले समाजलाई गलत दिशामा लैजाने, द्वेष र हिंसा फैलाउने खालका हुन्छन् ।
हामीले सांसदलाई संसद्मा पठाउँछौँ । संसदको आत्मा भनेको बोली हो । यो बोली विचार, विरोध, प्रस्ताव र प्रतिरोधका रूपमा अभिव्यक्त हुन्छ । आफूले मत दिएर आफ्नो अधिकार प्रयोग गर्न पठाएका व्यक्तिले संसद्मा वा संसद्बाहिर बोल्ने शब्दहरू केवल ध्वनि मात्र होइनन् । ती जनताको आवाज, मूल्य र प्रतिनिधित्वका दस्तावेज पनि हुन् । तर कहिलेकाहीँ उनीहरूले क्षणिक लोकप्रियताका लागि बोल्ने शब्दहरू यति विषाक्त, विभाजनकारी र भ्रमपूर्ण हुन्छन् कि तिनले समाजमा हिंसा भड्काउने सम्भावना रहन्छ । यसले सांसदको मर्यादा मात्र होइन, लोकतन्त्रको चरित्रमाथि नै आँच पुर्याउँछ ।
नेपालको संसदीय इतिहासमा पछिल्ला केही वर्ष यस्ता शब्दका कारण लज्जाबोध गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
अमेरिकाको कंग्रेसमा केही वर्षअघि एक सांसदले राष्ट्रपतिलाई झुट बोल्ने व्यक्ति वा फटाहा अर्थात् ‘लायर’ भनेर गाली गरेपछि त्यसलाई असंसदीय ठहर गरी चेतावनी दिइएको थियो । अमेरिकी संसदमा यस्ता शब्द प्रयोग भएमा सार्वजनिक आक्रोश चर्किन्छ र सांसदलाई सच्चिन बाध्य पारिन्छ ।
सांसदहरूका टिप्पणी, भाषण र अभिव्यक्तिले संसदलाई मञ्च भन्दा अखडा जस्तो बनाउँदै लगेका छन् । नेपालको प्रतिनिधिसभा तथा राष्ट्रियसभामा केही शब्दहरू हटाइएका थुप्रै उदाहरण छन् । दलका उच्च तहका नेताका भनाइदेखि लिएर विभिन्न सांसदले बोलेका भनाइहरू हटाइएका छन् । जस्तै- आक्रोस, कुण्ठा, कसैको गोठालो होइन, ढाड सेक्ने, घुँडा टेक्ने, ७२ जिल्ला भाडामा दिने, झट्केलो छोरो, भैँसी चढेर आएको, खरानी बनाउने, संसदलाई भेडीगोठको संज्ञा दिएको र मेन्टल भएको जस्ता शब्दहरू । त्यस्तै, जब भयो राति अनि बूढी ताती, नहुनु मामाभन्दा कानो मामा निको, केको झोलमा जात फालेको, बहुला कुकुरले टोकेको जस्ता नेपाली उखानहरू पनि संसदको रेकर्डबाट हटाइएका छन् ।
यस्ता शब्दहरू हटाइए पनि तिनको प्रभाव जनमानसमा फैलिसकेको हुन्छ । हटाइएका शब्दहरू समाचार बनेर छरपष्ट भइसकेपछि अभिलेखबाट हटाउनु केवल कागजी मर्यादा जोगाउने प्रक्रिया मात्र हो । यसले व्यावहारिक असर रोक्दैन । सभामुखको निर्देशनमा हटाइएका यस्ता शब्दहरू बारम्बार युट्युब क्लिप, फेसबुक पोस्ट र पत्रपत्रिकामा सन्दर्भ बनिरहन्छन् । संसदमा मात्र होइन, सांसदको हैसियतमा जहाँ बोले पनि शब्दले नेतृत्व गर्छ र शब्दले नै तोड्छ पनि ।
जब संसद्मा बोल्ने सांसदहरू जनताका पीडालाई सम्बोधन गर्नुभन्दा आरोप, गाली र अपमानजनक शैलीमा उत्रिन्छन्, त्यो विरोधीलाई होच्याउने अभ्यास मात्र नभई जनताको विश्वासको अपमान पनि हो ।
नेपालमा मात्रै होइन, विश्वभर नै संसदभित्र शब्दहरूको प्रयोग र त्यसको प्रभाव गहिरो हुन्छ । बंगलादेशमा एक सांसदले विपक्षी सांसदमाथि अपमानजनक टिप्पणी गरेपछि सभामुखले तुरुन्त रोकेर सार्वजनिक माफी माग्न लगाउनुपरेको थियो । भारतमा संसदमा केही सांसदले धार्मिक कट्टरता र सामाजिक विभाजन फैलाउँदै मुस्लिम समुदायलाई लक्षित गरेर ‘घुसपैठिया’ र ‘देशद्रोही’ जस्ता शब्द प्रयोग गर्दा कतिपय प्रान्तमा दङ्गा भड्काउने वातावरण बनेको थियो । पाकिस्तानी संसदमा गालीगलौज, धम्की र ‘देश बेच्ने’ आरोपले संसदको स्तर नै खस्किएपछि सांसदलाई माफी मगाइएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले चुनावको परिणाम अस्वीकार गर्दै संसद भवन नजिकै आफ्ना समर्थकहरूलाई ‘फाइट लाइक हेल’ अर्थात् ‘पूरै ताकत लगाएर लड्नु, कडा प्रतिरोध गर्नु’ भनेपछि त्यसको केही समयमै अमेरिकाको संसद (क्यापिटल हिल) मा आक्रमण भएको थियो । उक्त घटनामा पाँच जनाको मृत्यु भएको थियो । यो शब्दद्वारा हिंसा भड्काइएको एउटा ऐतिहासिक प्रमाण हो ।
अमेरिकाको कंग्रेसमा केही वर्षअघि एक सांसदले राष्ट्रपतिलाई झुट बोल्ने व्यक्ति वा फटाहा अर्थात् ‘लायर’ भनेर गाली गरेपछि त्यसलाई असंसदीय ठहर गरी चेतावनी दिइएको थियो । अमेरिकी संसदमा यस्ता शब्द प्रयोग भएमा सार्वजनिक आक्रोश चर्किन्छ र सांसदलाई सच्चिन बाध्य पारिन्छ ।
नेपाली संसदमा यस्तो चलन छैन । यहाँ त सांसदका शब्दहरू विवादास्पद भएपछि दलले उल्टै ’उनले ठिकै भने’ भनेर समर्थन गर्छन् । दलगत स्वार्थले गर्दा मर्यादाको मूल्य घटिरहेको छ । प्राचीन भारतका विद्वान् चाणक्यले भनेका थिए, ‘राजा वाणीको दास हुनु हुँदैन, वाणी शासनको साधन हुनुपर्छ’ । यहाँ राजाको अर्थ देशको नेतृत्व गर्ने व्यक्ति भन्ने अर्थ लाग्छ । तर आज नेपालका जनताको नेतृत्व गर्ने सांसदहरुको वाणी नियन्त्रणमा छैन र वाणी उनको नियन्त्रणमा छ जस्तो देखिँदैन ।
नेपालको पछिल्लो संसदीय इतिहासमा केही यस्ता अभिव्यक्ति देखिए, जसले जनभावना भड्काउन र समाजलाई भ्रममा पार्न सके, तर लोकतान्त्रिक मर्यादा र सामाजिक सद्भावको सन्देश दिन सकेनन् । नयाँ र युवा भन्ने उपाधि पाएका केही सांसदहरूले ‘नयाँ नेपाल’को सपना देखाउनु, आफ्नो एजेन्डा प्रस्तुत गर्नु, आम जनताका मुद्दामा बोल्नुको सट्टा ‘नयाँ उत्तेजना’को नारा बोकेर संसदको मर्यादाको अपमान गरिरहेका छन् ।
लोकतन्त्र विचारहरूको प्रतिस्पर्धा हो, व्यक्ति विरोधी बञ्चरो होइन । उदाहरणका लागि केही सांसदहरूले भनेका छन् ।
सधैँ याद राख्नुपर्छ, सांसदका शब्दले सरकार बदल्न सक्छन्, शान्ति भङ्ग गर्न सक्छन्, सद्भाव बढाउन सक्छन् वा घृणा फैलाउन सक्छन् । देशलाई समृद्ध बनाउन सक्छ । जब सांसदहरूले आक्रोश, प्रतिशोध र आरोपका शब्दहरू बोल्छन्, संसदको गरिमा घट्छ ।
‘देश बिगार्ने बाँदर र बँदेललाई मार्न बन्दुक ल्याउनुपर्छ’ (व्यक्तिलाई बाँदर र बँदेलको संज्ञा दिने अनि मार्न बन्दुकको प्रयोग जस्ता हिंसात्मक शब्दको प्रयोग) ।
‘बूढाहरूलाई गोली नहानी चिम्टी–चिम्टी मार्नुपर्छ’ (आपत्तिजनक र हिंसा भड्काउने शब्दको प्रयोग) ।
‘सडकमा घिसारेर ल्याउनेछु’ (आवेगात्मक, नकारात्मक र हिंसात्मक शब्दको प्रयोग) ।
‘यही गढीमाईमा मलाई बलि दिनु’ (अहिलेको जमानामा मानिसको बलि चढाउने कुराले क्षणिक सेन्टिमेन्ट लिने र समाजलाई उत्तेजित पार्ने काम) ।
‘मलाई मारेनन् र जिउँदै छोडे भने...’ (आवेगात्मक र मनोभावनालाई असर पर्ने गरी मार्न लागेका रहेछन् भनेर सहानुभूति लिने काम) ।
‘गन्हाउने सांसद’, ‘फरिया समातेर आएको सांसद’ (समान हैसियतका सांसदलाई एकले अर्कालाई होचो देखाएर आफू अग्लो बन्ने काम) ।
यी बोलीले सांसदहरूको भाषिक स्तर मात्र घटाएका छैनन्, जनतालाई हिंसाको सम्भावनातर्फ आकर्षित गर्ने प्रयास पनि गरेका छन् । सरकारसँग असन्तुष्ट समाजलाई क्षणिक रूपमा लोकप्रिय बन्नका लागि बोलेका यी शब्दहरू रमाइलो लाग्न सक्छन्, तर अन्ततः यी सामाजिक रूपमा समाज भड्काउने अभिव्यक्ति हुन् ।
वाणीका बारेमा भगवद् गीताको एउटा भनाइ छ, ‘मनलाई नअत्ताउने, सत्य, प्रिय, हितकारी र आत्म–अध्ययनयुक्त बोली नै वाणीको तपस्या हो’ । समाजका अगुवा (नेता, गुरु, सांसद, विद्वान्, बुद्धिजीवी आदिका सन्दर्भमा) ले अपमानजनक वा कठोर भाषा प्रयोग गर्नुहुँदैन भन्ने धारणा धर्म, दर्शन र नैतिक शिक्षामा गहिरो रूपमा पाइन्छ । बुद्ध धर्ममा ‘सम्यक वाक् (राइट स्पिच)’ आष्टाङ्गिक मार्गको एक प्रमुख अङ्ग हो । यसअन्तर्गतः कठोर वा कटु वचन नबोल्ने, झगडा निम्त्याउने वा दोहोरो कुरा नगर्ने, समयसापेक्ष, हितकारी, प्रेमपूर्ण वाणी प्रयोग गर्ने जस्ता कुरा पर्छन् । कन्फ्युसियसले भनेका छन्, ‘द सुपेरियर म्यान इज मोडेस्ट इन हिज स्पिच बट एक्सिड्स इन हिज एक्सन’ । जसको अर्थ हो- ‘श्रेष्ठ मानिस बोलीमा नम्र हुन्छ, तर कर्ममा उत्कृष्ट हुन्छ ।‘
लोकतन्त्र केवल चुनाव जित्ने खेल मात्र नभई सामाजिक उत्तरदायित्व र भाषा संयमको अभ्यास पनि हो । एउटा सांसदको बोली सडकका युवाका नारामा, फेसबुक लाइभका प्रतिक्रियामा र गाउँका चियापसलका बहसमा प्रतिध्वनित हुन्छ । सांसदहरूले प्रयोग गर्ने शब्द, तिनको भाव र त्यसभित्र लुकेको सन्देशले समाजलाई सकारात्मक दिशा दिने वा उथलपुथलको खाडलमा फाल्ने भन्ने कुरा निर्धारण गर्छ । लोकप्रियताका लागि बोलेको उत्तेजक शब्दले क्षणिक ताली त पाउन सक्छ, सामाजिक सञ्जालमा बसेर समाजलाई भड्काउने, रमाउनेहरुलाई कन्टेन्ट बन्न सक्छ । तर यसले दीर्घकालीन रूपमा समाजमा अविश्वास, आक्रोश र अराजकता फैलाउँछ ।
शब्दमा हतियारको शक्ति हुन्छ भनिन्छ । बोलेको कुरा प्रमाणजस्तै मानिन्छ । सांसदहरूले बोलेका शब्दहरू केवल अभिव्यक्ति मात्र नभई समाजको दिशानिर्देशन पनि हुन् । त्यसैले तपाईंले बोल्दा तपाईंले योजना, राष्ट्र र जनताका लागि गर्नुपर्ने दायित्व र जिम्मेवारीका कुरा बोल्नुभएको छ त ? तपाईंको बोलीले देशलाई कसरी दिशानिर्देश गर्छ ? आफूले आफैँलाई ढाँट्न सकिँदैन । राति बेडमा जाँदा ठण्डा दिमागले आफैँलाई सोध्नुहोस् त, मैले दिनमा बोलेका कुरा सामाजिक सञ्जाललाई कन्टेन्ट बनाउने र जनताहरु त्यसैमा पक्ष विपक्षमा गाली र तालीमा छेडखानी गर्न मात्रै हो त ? यसैका लागि हो जनताले निर्वाचित गरेको ?
सधैँ याद राख्नुपर्छ, सांसदका शब्दले सरकार बदल्न सक्छन्, शान्ति भङ्ग गर्न सक्छन्, सद्भाव बढाउन सक्छन् वा घृणा फैलाउन सक्छन् । देशलाई समृद्ध बनाउन सक्छ । जब सांसदहरूले आक्रोश, प्रतिशोध र आरोपका शब्दहरू बोल्छन्, संसदको गरिमा घट्छ । अब बोल्ने व्यक्तिको ’बोली’ मात्र नभई ’बोलीको जिम्मेवारी’ पनि सुनिश्चित गर्ने समय आएको छ । लोकतन्त्र सुदृढ बनाउन भाषणलाई भड्काउने नभई बुझाउने माध्यम बनाउनुपर्छ । लोकतन्त्रमा भाषण केवल अधिकार नभई उत्तरदायित्व पनि हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण