बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

किसान, मजदुर र सुकुम्वासीहरू पार्टी र क्रान्तिका आधारभूत वर्ग हुन् : उपाध्यक्ष सापकोटा

शनिबार, ३१ साउन २०८२, ०९ : ४२
शनिबार, ३१ साउन २०८२

सारांश

  • माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले किसान, मजदुर र सुकुम्वासी पार्टीको आधारभूत वर्ग भएको बताए।
  • पार्टीको बैठकमा सङ्गठनको स्थिति, समस्या र समाधानबारे छलफल भयो, साथै संयुक्त मोर्चा र संघर्षको तयारीबारे रिपोर्टिङ गरियो।
  • सापकोटाले संगठन निर्माण र जनताको हकहितको पक्षमा दृढतापूर्वक लाग्न निर्देशन दिए, र महत्वपूर्ण निर्णयहरू गरियो।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले किसान, मजदुर र सुकुम्वासीहरू आफ्नो पार्टी र क्रान्तिका आधारभूत वर्ग भएकोले तिनको हितमा पार्टीले निरन्तर आवाज उठाएको बताएका छन् । 

पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष सापकोटाले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा (माओवादी केन्द्र)को वर्गीय सङ्गठन समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । 

माओवादी केन्द्रको आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकपश्चात गठन भएको वर्गीय सङ्गठन समन्वय समिति अन्तर्गत अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासङ्घ र अखिल नेपाल सुकुम्वासी सङ्घ रहेका छन् । तीन वटै सङ्गठनका फ्र्याक्सन इन्चार्जहरू सदस्य रहेको वर्गीय सङ्गठन समन्वय समितिको इन्चार्जमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष  सापकोटा रहेका छन् । 

माओवादी केन्द्रले किसान, मजदुर र सुकुम्बासीको हक, हित र अधिकारको पक्षमा निरन्तर आवाज उठाइरहेको दाबी गर्दै उनले भने 'किसान, मजदुर र सुकुम्वासी हाम्रो पार्टी र क्रान्तिका आधारभूत वर्ग भएकोले तिनको नेतृत्व गर्ने अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) र अखिल नेपाल सुकुम्वासी सङ्घ हाम्रो पार्टीका आधारभूत वर्गका सबैभन्दा महत्त्वपूर्ण सङ्गठन हुन् ।'

उनले पार्टीको भर्खरै सम्पन्न स्थायी समितिको बैठकले पार्टीमा एक अभूतपूर्व एकता कायम भएको, पार्टीभित्र चलेका बहस र छलफलका कारण आम जनतामा परेको भ्रम निवारण भएको र पार्टी अब सुदृढ एकतासहित अघि बढ्ने सङ्कल्प गरिएको बताए।

आधारभूत वर्गका तत्कालीन र दीर्घकालीन मागहरूलाई समेटेर पार्टीको कार्यनीतिलाई रणनीतिसँग जोड्ने गरी सङ्घर्षको उठान गर्नुपर्ने भन्दै उनले त्यसको तयारी गर्न, नवप्रवर्तन, आधुनिकीकरण र तथ्य–तथ्याङ्कमा आधारित रहेर सङ्गठनलाई सुदृढीकरण गर्न तीनवटै सङ्गठनका नेताहरूलाई निर्देशन दिए ।

बैठकमा तीन वटै सङ्गठनका इन्चार्ज र अध्यक्षहरूले आ–आफ्ना सङ्गठनहरूको सङ्गठनात्मक स्थिति, राजनीतिक(वैचारिक पक्ष, सङ्गठनसँग सम्बन्धित वर्ग र समुदायका समस्याहरू र तिनको समाधानका उपायहरूका साथै संयुक्त मोर्चा र सङ्घर्षको तयारी लगायतका विषयहरूबारे रिपोर्टिङ गरेका थिए । 

बैठकमा उठेका विषयहरूलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष तथा समन्वय समितिका इन्चार्ज सापकोटाले सङ्गठन निर्माण तथा परिचालनका साथै जनताको हक, हित र अधिकारको पक्षमा दृढतापूर्वक लाग्न निर्देशन दिए। बैठकले किसान, मजदुर र सुकुम्वासी सङ्गठनको परिचालन र सुदृढीकरणबारे महत्त्वपूर्ण निर्णयहरू गरेको अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप