बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कवि सुमिनालाई नौ प्रश्न

‘एकथरी कवि कला कि विचार भनेर गाई कि त्रिशूल खेल्न रमाइलो मानिरहेछन्’

शनिबार, ३१ साउन २०८२, ११ : २०
शनिबार, ३१ साउन २०८२

सारांश

  • सुमिना महिलावादी प्रगतिशील कवि तथा लेखक हुन्, जसले महिला अधिकार र सामाजिक न्यायका लागि लेख्छिन्।
  • उनको कविता संग्रह 'बागी स्त्रीको आत्मकथा' चर्चित छ, र उनी लेखनलाई जीवनको अभिन्न अंग मान्छिन्।
  • साहित्यिक बजार र बहस बजारबाट प्रभावित भएको र स्वच्छ समालोचना हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरेकी छिन्।

बुटवलमा बसेर लेखन कर्म गर्ने सुमिना महिलावादी प्रगतिशील कवि तथा लेखकका रूपमा परिचित छिन् । विशेषतः उनले महिला हक–अधिकार र सामाजिक न्यायका लागि कलम चलाउँदै आएकी छिन् ।

राष्ट्रिय पत्रपत्रिकामा आलेख लेखिरहने सुमिनाको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ (२०८०) चर्चित छ । सुमिनालाई यसपालि हामीले रातोपाटीको नौ प्रश्नमा निम्त्याएका छौँ ।

१) तपाईं वास्तवमा किन लेख्नुहुन्छ ?

सुरुवातमा रहरमै लेखियो । त्यो सर्जक अथवा लेखक बन्ने रहर थियो— केही कृति र साहित्यिक पत्र–पत्रिका पढ्दा त्यसबाट प्रभावित भएर त्यसरी नै लेख्न पाए हुन्थ्यो भन्ने चाहनाले निर्माण गरेको रहर । बिस्तारै त्यो रहर आदतमा परिणत भयो । यस्तो आदत बन्यो कि जीवनमा छुटाउनै नहुने कर्मजस्तो भयो लेखन ।

सुरुवाती चरणमा केही दिन नलेख्दा कैयौँपटक मैले सपनामै पनि सिङ्गो कविता लेखेकी छु, तर आजको समय म केवल आवश्यकताले लेख्छु । मलाई लाग्छ कि यो सामाजिक संरचनामा मैले नलेखी हुँदैन । आफ्ना कथा आफ्नै कलम र मुखबाट सानदार लेखिन्छन् । आफ्नै र आफ्नाहरूका लागि लेख्नैपर्छ भन्ने बोध भएर लेख्छु । मस्तिष्कमा अस्थिरताको भुमरी मडारिँदा प्रस्फुटन हुन लेख्छु । हृदयमा भावहरूले आतङ्क मच्चाउँदा तिनलाई व्यवस्थापन गर्न लेख्छु । कहिलेकाहीँ सामाजिक अवस्थितिले पिरोल्दा तटस्थ बस्न नसकेर लेख्छु । भनिन्छ, ‘लेखक आफैँमा योद्धा हो र कलम युद्धको औजार ! सामाजिक विसङ्गति र खराब व्यवस्था विरुद्धको योद्धा’ । म शब्दको सामर्थ्य र त्यसले परिवर्तनमा खेल्न सक्ने प्रभावशाली भूमिकामा विश्वास गर्छु, त्यसैले कलमलाई हतियार सम्झन्छु र आफ्नो भागको विचारको युद्ध लड्नका निम्ति लेख्छु । 

२) अन्तिमपटक कुन कृति पढ्नुभएको थियो ? त्यो कृति कस्तो थियो ? 

म अक्सर आख्यानभन्दा गैरआख्यान बढी नै पढ्ने गर्छु, तर पछिल्लो समय केही आख्यान पढ्नुपर्ने महसुस गरिरहेकी छु, अझ नेपाली समसामयिक लेखकहरूकै । आफ्नो परिवेश र धरातल नबुझेको लेखकले विश्व बजारमा पुस्तकको जति नै चक्कर काटे पनि त्यसको जरो कमजोर हुन्छ । विश्वलाई पढ्ने बहानामा हामीले आफ्नै वरिपरिको परिवेशलाई नजरअन्दाज गर्दा हाम्रो आफ्नो बुझाइ सतही हुने लागेपछि पछिल्लो समय समकालीन नेपाली लेखकका पुस्तक पढ्ने सिलसिलामा अन्तिमपटक तीर्थ गुरुङको हिउँको सङ्गीत पढेँ । यसमा हिमाली भेगको कथा छ । त्यहाँको जनजीवन, कष्टकर दैनिकी, गुरुङ समुदायको संस्कृति, रहनसहन समावेश छ । यो अलि पुरानो करिब ५–७ सय वर्षअघिको कथा भएको कारण पनि कथा, पात्र र परिवेश सबै प्राचीन खालका छन् । अनौठो प्रकारका लाग्छन् । 

गुट–उपगुट र राम्रोलाई भन्दा पनि हाम्रोलाई राम्रो भन्ने परिपाटीले स्पेस पाइरहेको छ । यसबाट समीक्षक समेत प्रभावित हुँदा साहित्यिक कृतिमाथि स्वच्छ समालोचना हुन नसकिरहेको हो कि जस्तो देखिन्छ ।

उपन्यास पढ्दा मानव सभ्यताको कुनै आदिम बस्तीमा यात्रा गरिरहेको आभास हुन्छ । यो ऐतिहासिक आख्यान भएका कारण लेखकले कथाको माध्यमबाट हिमाली भेग र त्यहाँ बसोबास गर्ने गुरुङ समुदायको प्राचीन इतिहास भनिरहेको जस्तो लाग्छ । अक्सर सीमान्तकृत उत्पीडित जाति, वर्ग र समुदायका इतिहास हामीले शासकको दृष्टिकोण र कलमबाट पढ्दै आयौँ, यहाँ स्वयं त्यही समुदायका व्यक्तिले त्यही समुदायको कथा लेखेका कारण यो बढी अर्थपूर्ण र जीवन्त छ भन्ने प्रतीत हुन्छ ।

३) पछिल्लो समयको नेपालको साहित्यिक बजार र बहस कस्तो पाउनुहुन्छ ? हामी कुन दिशातिर गइरहेका छौँ ? यसबारे यहाँको धारणा के छ ?

पछिल्लो समय साहित्यको बजार बजारबाटै प्रभावित छ । बजारले गुणस्तर नहेरेर नाफा हेरेजस्तै साहित्यमा पनि गुणस्तरभन्दा नाफा हेरिन लागेको छ । एकातर्फ कमसल सामग्री पनि अत्यधिक प्रचारको माध्यमबाट अब्बल सिद्ध गर्न सकिन्छ भन्ने ध्याउन्नमा लेखक–प्रकाशक लागिरहेको देखिन्छ भने अर्कोतर्फ समाजमा सचेतना प्रवाह गरी सामाजिक रूपान्तरणमा भूमिका खेल्न सक्ने गहन र चिन्तनशील सामग्रीभन्दा बजारले रुचाउने र बजारले मागिरहेका चटपटे सामग्री निर्माणका निम्ति लेखकलाई सुझाव दिने परिपाटी बढिरहेको छ । गुट–उपगुट र राम्रोलाई भन्दा पनि हाम्रोलाई राम्रो भन्ने परिपाटीले ‘स्पेस’ पाइरहेको छ । यसबाट समीक्षक समेत प्रभावित हुँदा साहित्यिक कृतिमाथि स्वच्छ समालोचना हुन नसकिरहेको हो कि जस्तो देखिन्छ । आफू इतरका लेखकको अति प्रशंसा गर्ने र आफूभन्दा परकालाई कि त बेवास्ता गर्ने कि अति निन्दा गर्ने परिपाटी बढिरहेको छ । यसबाट केही व्यक्ति अवश्य लाभान्वित हुन सक्लान्, तर स्वस्थ र निष्पक्ष बहस तथा समालोचना नहुनुले समग्र साहित्यलाई नोक्सान नै गर्ने निश्चित छ ।

लेखकहरूको पनि आफ्नै कृतिमाथिको विश्वास धर्मराएको हो या बजारको अवस्थिति नै त्यतातर्फ मोडिन खोजिरहेको हो ? लेखक स्वयं आफ्नै लेखनमाथि विश्वस्त हुन सकिरहेको छैन । पछिल्लो समय पाठकले लेखक र कृति खोज्नुभन्दा पनि लेखक स्वयं पाठक खोज्दै पुस्तकलाई ‘भिजिटिङ’ कार्डजस्तै वितरण गर्दै हिँड्ने परिपाटी पनि बढ्दै गएको देख्न सकिन्छ । 

सागरको भाव, सार र स्वत्व बुँदमा छचल्काउनु कविता हो । अर्थात् एउटा सिङ्गो उपन्यास या कथाले बोक्ने भाव र सारलाई अझ प्रभावशाली ढङ्गबाट केही अनुच्छेदमा व्यक्त गर्न सक्नु कविताको सामर्थ्य हो र यही नै कविता लेखनको चुनौती पनि ।

४) यहाँको बुझाइमा कविता के हो ? कविता लेखनमा तपाईंलाई सबैभन्दा चुनौतीपूर्ण कुरा के लाग्छ ?

‘अनुभूतिको स्वतःस्फूर्त अभिव्यक्ति नै कविता हो’ भन्छन् वर्डस्वर्थ । अनुभूतिको कलात्मक अभिव्यक्ति कविता हो भन्ने लाग्छ मलाई । जहाँ कलाको प्रयोग हुँदैन, त्यो कविता नभएर अरू नै केही हुन्छ, जहाँ अब्बल विचार र अब्बल कलाको सम्मिश्रण हुन्छ, त्यो नै उत्तम कविता हुन्छ । आज पनि एकथरी कवि कला कि विचार भनेर गाई कि त्रिशूल खेल खेल्नमा रमाइलो मानिरहेका देखिन्छन् । न निरपेक्ष कला कविता हुन्छ न त निरपेक्ष विचार नै । कलाविनाको कविता ठिङ्ग उभिएको अस्थिपञ्जरजस्तो हुन्छ भने विचारविना कलाको लेपन रङ्गीविरङ्गी टालाटुली जोडेर निर्माण गरिएको ‘कागजी गुडिया’जस्तो । देख्दा त सुन्दर देखिएला तर त्यसमा कुनै प्राण हुँदैन ।

त्यसो त कवि हुनु आफैँमा जटिल कार्य हो भन्ने लाग्छ मलाई, कवि उन्नत र उदार चेतनाको प्रतीक मानिनुपर्छ । कवि बन्न सिर्जनशीलता चाहिन्छ, छोइने र छुने संवेदनशीलता चाहिन्छ, बहकिने र बहकाउने भावुकता पनि चाहिन्छ ।

सिद्धान्त, विचार, दृष्टिकोण र त्यसलाई ग्रहण गर्ने क्षमता, अभिव्यक्त गर्ने गहनता र गाम्भीर्यता चाहिन्छ कविमा । कसैले जून हेरेर कविता लेख्छ भने त्यो उसको सिर्जनशीलता हो । त्यसलाई कस्तो स्वरूप दिने ? त्यो उसले ग्रहण गरेको विचारको क्षेत्र र उसको दार्शनिकतामा निहित हुन्छ । शब्द थुपार्ने योग्यताले कविता बन्दैन । कवितामा शब्द उन्न सीप चाहिन्छ । सिपालु मान्छे नै कवि हुन्छ । सागरको भाव, सार र स्वत्व बुँदमा छचल्काउनु कविता हो । अर्थात् एउटा सिङ्गो उपन्यास या कथाले बोक्ने भाव र सारलाई अझ प्रभावशाली ढङ्गबाट केही अनुच्छेदमा व्यक्त गर्न सक्नु कविताको सामर्थ्य हो र यही नै कविता लेखनको चुनौती पनि । पटकपटक लेखिने कवितामा उही भाव उही विचार र उस्तै विम्ब–प्रतीक नदोहोरिउन् भन्ने सावधानी पछिल्लो समय मेरो कविता लेखनको चुनौती बनेको छ । 

sumi

५) समकालीन नेपाली कविताको अवस्था कस्तो देख्नुभएको छ ? अनि लेख्नका लागि यहाँलाई कुन कुराले सबैभन्दा धेरै झकझकाउँछ ? तपाईंले कविता लेख्नुको उद्देश्य के हो ? 

मैले अघि नै भनेँ, आज एकाथरी कलावादीहरू कलादेखि कलासम्मको यात्रालाई कवितामा सीमित गर्न चाहिरहेका छन् । कला कलाका लागि होइन, बरु जीवनका लागि कला हो भन्ने यथार्थतालाई उनीहरू ग्रहण गर्न तयार छैनन् । साहित्यलाई आफ्नो एकलौटी विरासत मान्ने यस्ता अग्रज समकालीन कविहरूले अर्काथरी आलोचनात्मक चेतना राख्ने राजनीतिक विचार, न्यायिक आवाज, उत्पीडितहरूका मुद्दा, हिंसाविरुद्ध प्रतिरोध, राज्यसँगको द्रोह व्यक्त गर्नेहरूलाई खारेज मात्र गरिरहेका छैनन्, फगत नारा र कुण्ठाले कविता विकृत पारिरहेको आक्षेप पनि लगाइरहेका छन् । पितृसत्ताका ठेकदारले महिलालाई पितृसत्तामा ‘फिट’ गराउन शालीन वस्तुमा कैद गर्न खोजेजस्तै कविताका ठेकदार पनि कवितालाई मात्र शालीनताको जामा लगाइदिन उद्यत् छन् ।

न्यायिक आवाज कस्तो हुन्छ ? उत्पीडितहरूको रोदन कस्तो हुन्छ ? के राज्यसँगको द्रोह शालीन हुन्छ ? शालीन आवाज राज्यले सम्बोधन गर्ने भए महिलाहरू शालीन भएरै किन आठ हजार वर्षदेखि शोषणमा छन् ? हिंसाविरुद्ध प्रतिरोध कस्तो हुन्छ ? तस्लिमा नसरिनले कतै लेखेकी छन्, ‘नारी साङ्लो चुँडालेर बाहिर निस्किएका छन्, यो मेरा लागि बेजोड कविता हो । साङ्लो टुट्दा या तोडिँदाको आवाज नै मेरा लागि सर्वाधिक प्रिय सङ्गीत हो ।’ कलाका निरपेक्ष हिमायतीले यो बुझ्न आवश्यक छ कि कविता प्रणय संवाद, यौन अपिल, भजन–कीर्तन र रतिरागवालाको मात्रै पेवा नभएर उत्पीडितले आफ्नो अभिव्यक्ति प्रस्फुटन गर्ने माध्यम पनि हो । रसिकलाई रतिराग संसारकै अब्बल कविता लाग्ला तर गरिबलाई भोकको आर्तनादजस्तो उत्कृष्ट कविता अरू नलाग्न सक्छ । शासक र सत्तावाललाई भक्तिगान अब्बल कविता लाग्ला, उत्पीडितहरूलाई विद्रोहको स्वर संसारकै बलवान् कविता लाग्छ । यसका बाबजुद पनि नयाँ पुस्ताका एकथरी कविमा कवितामार्फत मुद्दा उठाउने लहर बढ्दो नै छ, यो समकालीन कविताको सकारात्मक पक्ष हो । 

मसँग पनि गुमाउनका निम्ति यही एउटा प्राण छ, पाउनका निम्ति धेरै चिज छन् । लेखेर धेरै चिज पाइयो भन्ने लाग्छ । केही शुभचिन्तक, पाठक पाइयो, केही सद्भाव र सम्मान पाइयो । केही तिरस्कार र ‘हमला’ पाइयो ।

आज इजरायली आतङ्क चरम भएको छ, प्यालेस्टाइनी भूमिमा लासहरूको चाङ लागिरहेको छ । मान्छे बम–गोलीले मात्रै होइन, कुपोषण र भोकमरीले मर्नुपर्ने विडम्बना निम्तिरहेको छ । यसरी विश्व मानवता नै दाउमा लागिरहेको दृश्यलाई संसारले कतै भूगोलको सिमाना कैदी भएर, कतै धर्मको बन्धनमा जेलिएर, कतै साम्राज्यवादको गुलाम भएर मूकदर्शक नियालिरहेको छ । यस्ता दृश्यले मेरो मनमा सधैँ अशान्ति र हलचल मच्चाइरहन्छ, मेरो कवि हृदयलाई उद्वेलित बनाइरहन्छ । 

समाजमा व्याप्त विभेदले एउटा तप्कालाई जिउन मुस्किल बनाइरहेको छ । अन्याय, अत्याचार, शोषण र हिंसा दिनहुँ समाचारका हेडलाइन बनिरहेका छन् । अक्सर यस्तै सामाजिक अवस्थितिले नै मलाई सबैभन्दा बढी लेख्नलाई झकझक्याइरहन्छ । अन्याय र अत्याचारविरुद्ध काव्यिक प्रतिकार गर्नु, कवितामार्फत नै समाज रूपान्तरणमा भूमिका खेल्नु मेरो लेखनको उद्देश्य पनि हो । 

६) लेखेर अहिलेसम्म के कति कमाउनुभयो वा के गुमाउनुभयो ?

मार्क्सले भनेको एउटा कोटेसन जहिले पनि मलाई सान्दर्भिक र सशक्त लाग्छ— उत्पीडितहरूसँग गुमाउनका निम्ति केही छैन, पाउनका निम्ति सिङ्गो संसार छ ।

मसँग पनि गुमाउनका निम्ति यही एउटा प्राण छ, पाउनका निम्ति धेरै चिज छन् । लेखेर धेरै चिज पाइयो भन्ने लाग्छ । केही शुभचिन्तक, पाठक पाइयो, केही सद्भाव र सम्मान पाइयो । केही तिरस्कार र ‘हमला’ पाइयो । वर्गीय समाजमा यो स्वाभाविक हो, कोही कसैको प्रिय हुन कोही कसैको अप्रिय हुनैपर्छ ।

७) पाठकलाई पढ्न सिफारिस गर्नका लागि ‘बागी स्त्रीको आत्मकथा’मा त्यस्तो के छ ? पाठकले यो कृति किन पढ्नुपर्छ जस्तो यहाँलाई लाग्छ ? यसमा के कस्ता कविता छन् ?

कसैलाई सङ्घर्ष सुन्दर लाग्छ भने यो कृति अवश्य रमणीय लाग्छ । कसैलाई विद्रोह प्रतिरोध र आन्दोलन सुन्दर लाग्छ भने यो कृति अवश्य आनन्ददायी लाग्छ । यसमा सत्ता र शासकका महिमामण्डन छैनन् । कसैले कवितामा भजनकीर्तन चाहन्छ भने यी कविता फजुल र बेकामे हुनेछन् । कवितामा शालीनता रुचाउनेलाई यो कृति अप्रिय लाग्न लाग्छ । सत्ताले शालीन आवाज सुन्दैन, यसमा चर्का–चर्का प्रतिरोध छन्, उत्पीडितका आवाज छन्, सीमान्तकृतसँग एकाकार हुनेहरूले यो कृतिमा अवश्य अपनत्व भेट्छ ।

सत्ता संरचना र उत्पीडनको समाजशास्त्र र त्यसविरुद्ध गरिएको द्रोह बुझ्नका निम्ति यो कविता पढ्नुपर्छ भन्ने मलाई लाग्छ । यसमा यस्तै प्रकारका कविताहरू छन् । 

जिन्दगी एउटा चलायमान यात्रा हो, गति यसको सुन्दरता । गति लिँदाका आरोह अवरोह, भञ्ज्याङ चौतारी, गल्छेडा सबै जिन्दगीकै स्वरूप हुन् ।

८) तपाईंलाई झकझकाएको कुनै एउटा साहित्यिक कृति सम्झिनुपर्‍यो भने कुनलाई सम्झिनुहुन्छ, किन ?

झकझक्याएका थुप्रै कृति छन् नेपाली र विदेशी पनि । यद्यपि पछिल्लो समय पढ्दा आनन्द लागेको र हृदयमा तहल्का मच्चाएको सम्झनैपर्ने एउटा कृति मलाई भारतीय साहित्यकार आचार्य चतुरसेनको ‘वैशाली की नगरवधू’ हो । यो एउटा कपोकल्पित आख्यान मात्रै नभएर ऐतिहासिक घटनाहरूको दस्ताबेज पनि हो भन्ने मेरो बुझाइ छ । स्वयं उपन्यासकारको पनि दावा छ कि ‘उपन्यासभन्दा बढी यो एउटा गम्भीर रहस्यपूर्ण सङ्केत हो । त्यो कालो पर्दाप्रतिको सङ्केत, जसको ओतमा आर्यहरूको धर्म, साहित्य र संस्कृतिको पराजय लुकेको छ । मिश्रित जातिहरूको प्रगतिशील संस्कृतिको विजय सहस्राब्दियौँदेखि लुकेको छ । यसलाई सम्भवतः कुनै इतिहासकारले आँखा उघारेर देखेका छैनन् ।’

स्त्री सुन्दरता धेरै ठाउँमा वरदान सिद्ध भएको घटना हामीले पटकपटक पढ्न पायौँ, तर इतिहासमा एउटा त्यस्तो प्रथा पनि थियो जहाँ सुन्दरता वरदान होइन अभिशाप सिद्ध भइदिन्छ । नगरकै सुन्दर स्त्री छनोट गरेर उसको सम्पूर्ण जिन्दगी इच्छा र चाहनालाई बलात् राज्यबाटै बन्धक बनाइन्छ । नगरवासीलाई सामूहिक मनोरञ्जन प्रदान गर्ने ‘वस्तु’ मनोरञ्जनको साधन बनाइन्छ, नगरवधू बनाइन्छ । यो एउटा उदेकलाग्दो घटना हो । यसमा थुप्रै उपकथा छन् र सँगै आफूलाई बन्धक बनाइराख्ने गणराज्यको घृणित कानुनप्रति आम्रपालीको आक्रोश र विद्रोह पनि पढ्नलायक छ । 

९) आखिर जिन्दगी के रहेछ ?

जिन्दगी एउटा चलायमान यात्रा हो, गति यसको सुन्दरता । गति लिँदाका आरोह अवरोह, भञ्ज्याङ चौतारी, गल्छेडा सबै जिन्दगीकै स्वरूप हुन् । अर्थात् जिन्दगी आँसु, हाँसो, रोदन, उमङ्ग सबै हो र जिन्दगी सबैभन्दा बढी सङ्घर्ष हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप