साहित्यले मानिसको जीवनमा क्रान्ति ल्याउँदो रहेछ : आनन्द स्वरूप वर्मा
सारांश
- वरिष्ठ पत्रकार आनन्द स्वरूप वर्माको स्वास्थ्य अवस्थाबारे चर्चा गरिएको छ, जसले ६ दशक लामो पत्रकारिता यात्रामा चेतना जगाउने काम गरे।
- वर्माको पत्रकारिता जीवन, साहित्यप्रतिको लगाव र उनले भोगेका व्यक्तिगत अनुभवबारे विस्तृत कुराकानी समेटिएको छ।
- उनले पत्रकारितामा सम्पादकको भूमिका र समकालीन मिडियाको अवस्थाबारे आफ्नो धारणा व्यक्त गरेका छन्।
भारतमा नेपाल र अफ्रिका विशेषज्ञ भनेर चिनिने पत्रकार आनन्द स्वरूप वर्मा नेपालमा भने असल भारतीय मित्र भनेर चिनिन्छन् । झण्डै ६ दशक पत्रकारितामा बिताएका ८२ वर्षीय वर्मा आज पनि कम्प्युटरमा किबोर्ड थिचेर चेतनाको मैनबत्ती सल्काइरहेका छन् । विगत एक वर्षदेखि उनको स्वास्थ्य त्यति अनुकूल छैन । मुटुले पहिलेदेखि नै दुःख दिइरहेकै थियो, किडनीले पनि मुटुको बाटो पछ्याउन थालेदेखि वर्माको छातीमा धडकिने नेपाल र अफ्रिकाको गति मधुरो हुन थालेको छ ।
किड्नी र मुटुसँगै बुढेसकालले च्याप्न थालेपछि खुट्टा सुन्निने, हिँड्न अप्ठ्यारो हुने तथा स्वास प्रस्वासमा समस्या देखिने भइरहेकै छ, तर उनी त्यति छिट्टै हार कहाँ मान्थे र ? लौरी टेकेर बल्ल–तल्ल उनी आफ्नो भुँइतलामा रहेको ४० वर्ष पुरानो कार्यालयमा आइपुग्छन् । कार्यालय उनको लेख्ने थलोमात्रै होइन, केही खोज्ने र पुराना स्मृतिमा हराउने थलो पनि हो । त्यसैबिच कोही न कोही उनलाई भेट्न आइपुग्छ । त्यसपछि खुल्दै जान्छन् तेस्रो विश्वमा चल्दै गरेका सामाजिक आन्दोलनको फेहरिस्त ।
किताबै किताबले गाँजेको कार्यालयलाई धुलोले गाँज्न खोजेको प्रतीत हुन्छ । आफ्नो मेचमा आइपुगेको धुलो पुछ्दै मेचको देब्रेतर्फ रहेको ‘मनीप्लान्ट’लाई वर्माले आफूले पिउने पानी पिलाए । त्यसपछि पुरानो कुर्सीमा दुई हातको सहाराले ठुलो नितम्बलाई अड्याए । उनको मेचको दाहिनेतर्फ किताबको ठुलो खात छ । सिधा अगाडि कम्प्युटरको स्क्रिन र त्यसको तल नमकिनको बट्टा । दाहिनेतर्फ रहेको खातलाई किताब पनि के भन्ने ! त्यसमा कसैका चिठ्ठी–पत्र छन् त कुनै महत्त्वपूर्ण जस्ता लाग्ने दस्तावेजका प्रिन्ट । त्यसैमध्येको एउटा फाइल निकाल्दै उनले मलाई देखाए । फाइलको माथि लेखिएको थियो– ‘टप सिक्रेटः सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी’ ।
सीआईएको फाइल देखाउँदै उनले मसँग भने– ‘यो फाइल अमेरिका आफैँले सार्वजनिक गरेको गोप्य दस्तावेजहरूको प्रिन्ट–आउट हो । इन्डोनेशियामा कम्युनिस्टहरूको नरसंहार गर्न कुन रणनीति अपनाइयो भन्नेबारे यसमा लेखिएको छ । तर, मेरो खोजीको मूल विषय अमेरिकीहरूले चाहँदाचाहँदै पनि नेपाललाई इन्डोनेशिया बनाउन किन सकेनन् ? मलाई लाग्छ त्यसको कुनै जियो–पोलिटिकल कम्प्लेक्स रह्यो होला । त्यसैले म नेपाल र इन्डोनेशियालाई जोडेर एउटा पुस्तक लेख्दैछु । अर्को पुस्तक भुटानमाथि हुनेछ ।’
प्रस्तुत छ, उनै वर्मासँग जीवन, साहित्य र पत्रकारितामा केन्द्रित रहेर नरेश ज्ञवालीले गरेको कुराकानीको सम्पादित अंश ।
_L3bbKnZLxN.jpg)
- तपाईं अहिले ८२ वर्षको हुनुभयो, यी आठ दशकमा ६ दशक त पत्रकारिता नै गर्नुभयो, भनेपछि जीवन के रहेछ त ?
(हाँस्दै) गौतम बुद्धलाई सोध्नुस्, जीवन के रहेछ भनेर । म त्यसका लागि उपयुक्त पात्र नहुन सक्छु । सन् १९६६ मा म ‘ट्रेनी जर्नलिस्ट’ थिएँ । म पत्रकारितामा जोडिएको ६ दशक भयो । वास्तवमा पत्रकारिता वा कुनै पनि प्रोफेशनका आफ्ना सीमा हुन्छन् । हरेक जीवनको आफ्नो एउटा खास उद्देश्य हुन्छ । त्यो उद्देश्यलाई पूरा गर्न तपाईंले साहित्य, पत्रकारिता, इन्जिनियरिङ, सरकारी जागिर आदिको सहारा लिनुहुन्छ । कुन प्रोफेशन रोज्ने भन्ने तपाईंमाथि निर्भर गर्छ ।
समाजप्रति तपाईंको जिम्मेवारी के हो भन्नेले तपाईंको उद्देश्य तय हुन्छ । त्यसका लागि अनुशासन र वैचारिक समझको खाँचो आइपर्छ । यही कुरा तपाईंले कसैलाई भन्नुभयो भने उसले हाँसेर– समाज के तेरो ठेक्का हो ? आफ्नो परिवारको चिन्ता गर, अरु किन चाहियो भन्न सक्छ । यसमा एउटा सिद्धान्त नै छ– प्रत्येक व्यक्ति जिम्मेवार हुने हो भने राष्ट्र निर्माण हुन्छ । खासमा यस्तो कहिल्यै हुँदैन । किनभने मानिसको विचार उसको भौतिक परिस्थितिबाट निर्मित हुन्छ ।
जन्मिने बित्तिकै त संवेदनाहरू पैदा हुँदैनन् । त्यसलाई पनि विकसित गर्नुपर्छ ।
त्यसैले सही विचारसम्म पुग्नका लागि तपाईंले आफैँभित्र धेरै ठुलो संघर्ष गर्नुपर्छ । त्यो विचारधारालाई तपाईं आफ्नो विश्व दृष्टिकोण पनि भन्न सक्नुहुन्छ । अर्थात् एउटा त्यस्तो दृष्टिकोण निर्माण होस्, जहाँ व्यस्त होइन, समस्तलाई समाहित गर्न सकियोस् । आफूले हासिल गरेको त्यो विश्व दृष्टिकोण अथवा वैचारिकीमा खरो उत्रिन त्यति नै परिश्रम र अनुभवका भंगाला तर्नुपर्ने हुन्छ ।
र, त्यसप्रति तपाईं संवेदनशील हुनुहुन्न, तपाईंभित्र त्यसप्रति संवेदना छैन भने त्यसलाई लागु गर्न धेरै अप्ठ्यारो पर्छ । त्यसैले तपाईंले ध्यान दिनुभयो भने त्यस्ता व्यक्तिहरू, जसले समाज परिवर्तन गर्न आफ्नो जीवन अर्पण गरे, उनीहरूले सामाजिक परिवर्तनमा आफ्नो पनि भूमिका हुनुपर्छ भनेर तय गरे, ती व्यक्तिहरूले धेरै परिश्रम गरे । त्यसैले सामाजिक आन्दोलनहरूमा आफ्नो जीवन लगाएका मानिसहरू निकै संवेदनशील भएको पाउनु हुन्छ । तपाईंभित्र ती संवेदनाहरूको सर्वथा अभाव छ भने तपाईं त्यो काम गर्नै सक्नु हुन्न ।
जन्मिने बित्तिकै त संवेदनाहरू पैदा हुँदैनन् । त्यसलाई पनि विकसित गर्नुपर्छ । मेरो अनुभवले भन्छ– तपाईं आफैँले आफैँलाई चिन्न होस् वा विश्व दृष्टिकोण निर्माण गर्न साहित्यको धेरै ठुलो योगदान हुन्छ । पठन संस्कृतिको ठुलो भूमिका हुन्छ । मैले आजसम्म जे–जति आर्जन गर्न सकेँ, त्यसमा देशभित्र र बाहिरको साहित्यको धेरै ठुलो योगदान छ । त्यसैले साहित्य भनेको दुनियाँ बुझ्ने, अनुभूत गर्ने र पर्गेल्ने अनुपम साँचो हो ।
- साहित्यले तपाईंलाई कसरी प्रभावित पार्यो त ?
मेरो जीवनमा रुसी साहित्यकार फ्योदोर दोस्तोवस्कीको साहित्यको गहिरो प्रभाव छ । उनीसँगै अद्भुत रुसी साहित्यकार– मेक्सिम गोर्की, इभान सर्गेइविच तुर्गिनेव, एन्टोन चेखब, लियो टोल्सटोयको पनि प्रभाव परेको छ । त्यसो त टोल्सटोयको साहित्यमा मधुरो दृष्टिदोष छ । म त्यसको आलोचक पनि हो, तथापि ती सबैले मलाई विश्वदृष्टिकोण प्रदान गरेका छन् ।
हाम्रो समाज मूलतः सङ्किर्णतामा जेलिएको छ । विचारमा सङ्किर्ण, सम्बन्धमा सङ्किर्ण, सहयोग गर्ने मामिलामा सङ्किर्ण ।
त्यसपछि मलाई सबैभन्दा धेरै प्रभावित पार्नेमा अफ्रिकी साहित्यको भूमिका छ । चिनुवा अचीवे, नुग्गी वा थ्योंगो, वोले सोइन्का, नादिम गार्डिमर, क्वामे क्रुमा आदिको लेखनीको प्रभाव ममा परेको छ । त्यसैगरी भारतका केही लेखक खासगरी प्रेमचन्द्रको लेखनीले मलाई प्रभावित पारेको छ । तपाईंले आफूलाई सङ्किर्ण दायराबाट बाहिर निकाल्न, दुनियाँलाई बुझ्न विहङ्गम दृष्टिकोणको खाँचो पर्छ, र त्यहीँनेर साहित्यको भूमिका आइपुग्छ ।
हाम्रो समाज मूलतः सङ्किर्णतामा जेलिएको छ । विचारमा सङ्किर्ण, सम्बन्धमा सङ्किर्ण, सहयोग गर्ने मामिलामा सङ्किर्ण । अध्ययनमा सङ्किर्ण र दैनन्दिन व्यवहारमा सङ्किर्ण । भन्नका लागि त हामी ‘वसुधैव कुटम्बकम्’ भन्छौँ तर त्यो सबै वाहियात र बेकार हो । त्यसैले त्यसबाट बाहिर निस्कन पनि ठुलो लडाइँ लड्नु पर्छ । यो लडाइँ लड्ने शक्ति तपाईंलाई साहित्यले दिन्छ । एउटा सानो उदाहरण छ । त्यतिबेला सम्भवतः म ९ कक्षामा पढ्थेँ । तिनताका मैले एउटा कविता पढेँ । त्यो कविताले मेरो बालमष्तिष्कमा यसरी हिर्कायो, मानौँ म त्यही कवितालाई जीवन आदर्श बनाउनतर्फ लागेँ । कालान्तरमा म ती कविको प्रखर आलोचकका रूपमा उभिएँ ।
रामधारी सिंह दिनकरको त्यो कविताको पंक्ति यस्तो थियो–
तुम रजनी के चाँद बनोगे
या दिन के मार्त्तण्ड प्रखर ?
एक बात है मुझे पूछनी,
फूल बनोगे या पत्थर ?
तेल, फुलेल, क्रीम, कंघी से
नकली रूप सजाओगे ?
या असली सौन्दर्य लहू का
आनन पर चमकाओगे ?
_XDsuN5564n.jpg)
पुष्ट देह, बलवान भुजाएँ,
रूखा चेहरा, लाल मगर,
यह लोगे ? या लोगे पिचके
गाल, सँवारि माँग सुघर ?
जीवन का वन नहीं सजा
जाता काग़ज़ के फूलों से,
अच्छा है, दो पाट इसे
जीवित बलवान बबूलों से ।
पछिल्लो चार पंक्तिमा भनिएको जुन कुरा छ, त्यसको अर्थ तिमीले जति अप्ठ्यारोको सामना गर्छौं, जति कठिन मार्गमा हिँड्छौँ, त्यो जीवन त्यति नै मजबुत हुँदै जान्छ भन्ने हो । यो कविता मैले कक्षा ९ मा पढेको थिएँ तर पछिसम्म यसले मलाई अप्ठ्यारो पर्दा ‘होइन, म लत्रिनु हुँदैन’ भन्ने भाव दिइरह्यो । जति नै विषम परिस्थिति भए पनि म त्यससँग जुध्नुपर्छ भन्ने लागिरहन्थ्यो । त्यसैले जीवनमा जति अप्ठ्यारा आइलागे, म कहिल्यै निराश भइनँ । त्यो कविताले ममा आत्मविश्वास पैदा गरिदियो । जीवन दर्शनको नयाँ रूपसँग साक्षात्कार गराइदियो । भन्नुको अर्थ साहित्यले निकै सुक्ष्म ढंगले तपाईंको जीवनलाई प्रभावित पारिरहेको हुन्छ । कुनै उपन्यास पढ्दै गर्दा तपाईंले त्यस्तो वाक्यांश फेला पार्नुहुन्छ, जुन पढेर तपाईं स्तब्ध हुनुहुन्छ, तपाईंको जीवनको विश्वदृष्टिकोण फेरिन्छ ।
- सन् ६० को दशकमा तपाईं कथा लेख्ने गर्नुहुन्थ्यो । त्यतिबेला म कथाकार नै बन्छु भन्ने लाग्थ्यो कि पत्रकारितातर्फ लहसिन थाल्नु भएको थियो ?
म एकसाथ धेरै काम गर्न थालिसकेको थिएँ । एकातर्फ कथा लेख्थेँ, अर्कोतर्फ इन्जिनियरिङको विद्यार्थी थिएँ । सँगसँगै पत्रकारितामा भर्खरै हात हालेको थिएँ । मेरो पहिलो कथा सन् १९६३ मा ‘बासंती’ पत्रिकामा प्रकाशित भएको थियो । त्यो कथाको शीर्षक पनि बडो अजीव खालको थियो– ‘खंडहर, तूफान और जिंदगी’ ।
खासमा प्रत्येक मान्छेले आफूलाई व्यक्त गर्ने माध्यम खोजिरहेको हुन्छ । त, त्यतिबेला म कथामार्फत आफ्ना सबै कुरा व्यक्त गर्ने गर्थें । साहित्य सिर्जनामा लागेका मान्छेहरूको आफ्नै सुख–दुःख हुने गर्छन् । जब तपाईंले आफ्नो सिर्जना पूरा गर्नुहुन्छ वा त्यो कतै प्रकाशित हुन्छ, त्यसले निकै गहिरो सन्तुष्टि प्रदान गर्छ । त्यो सुख अन्यत्र कुनै पनि क्षेत्रमा पाउन गाह्रो पर्छ । वास्तवमै त्यो अद्भूत सुख हुने गर्छ । म त्यही आनन्दमा डुबेको थिएँ । पत्रकारितामा पाइला टेकेसँगै मलाई जुन कुरा मैले कथामा भन्नका लागि लामो भूमिका बाँध्ने गर्छु, त्यो त म पत्रकारितामा सजिलै भन्न सक्छु भन्ने लाग्न थाल्यो ।
तपाईं जति सक्नुहुन्छ, त्यति धेरै साहित्य पढ्नुस् । तपाईंलाई आफ्नो जीवनको उद्देश्य र दृष्टिकोण त्यहीँबाट हासिल हुनेछ ।
त्यसपछि मैले भूमिका बाँध्न छोडिदिएँ र सिधै आफ्नो कुरा भन्न थालेँ । त्यसपछि म पत्रकारितामै डुबेँ । यो सबैमा लाग्नुका पछाडि, आर्थिक कारण भने छँदै थिएन । धेरैजसो मानिस कुनै जागिर खोज्दै गर्दा ठोक्किँदै–ठोक्किँदै पत्रकारितामा जोडिन पुग्छन् । मेरो त्यस्तो थिएन । यो मेरो आफ्नो छनोट थियो । पत्रकारितामा आएसँगै कथा लेख्ने काम बाटोमै कतै छुट्यो । तथापि लेख्ने–पढ्ने काम भने आजीवन चलिरह्यो । मलाई थाहा थियो, म जे बन्न खोजिरहेको छु वा जे सपना सँगालेको छु, त्यसलाई साकार पार्ने जग साहित्य हो र अध्ययन दैनन्दिनको खुराक ।
त्यतिबेलासम्म मैले दोस्तोवस्कीलाई खर्लप्पै पढिसकेको थिएँ । दोस्तोवस्कीले जुन वर्गका, जुन मानसिकताका र अधिकांशतः समाजले अपराधी भनेर उपेक्षित गरेका मानिसको चित्रण आफ्ना साहित्यहरूमा जसरी गर्थे, त्यसले मलाई छुन्थ्यो । म पनि त्यस्ता पात्रहरूलाई पत्रकारितामार्फत उधिन्न चाहन्थे । त्यसैले आजका दिन मलाई के लाग्छ भने साहित्य मेरो पत्रकारिता जीवनको अभिन्न अंग रह्यो । त्यसैले म सम्पूर्ण युवा साथीहरूलाई धेरैभन्दा धेरै साहित्य पढ्नुस् भन्न चाहन्छु ।
तपाईं जति सक्नुहुन्छ, त्यति धेरै साहित्य पढ्नुस् । तपाईंलाई आफ्नो जीवनको उद्देश्य र दृष्टिकोण त्यहीँबाट हासिल हुनेछ । साहित्य पढ्दा तपाईंले दक्षिणपन्थी वा प्रगतिशील साहित्य भनेर छुट्ट्याउनु पर्दैन । किनभने साहित्यले नै तपाईंमा रुचि र छनोट निर्माण गर्दै जान्छ । तपाईंले यसलाई गहिरोगरी हेर्न थाल्नुभयो भने कुरा संस्कृतिसम्म पुग्छ । संस्कृतिको निर्माण कसरी हुन्छ ? शासक र जनताको संस्कृति के हो ? जनविरोधी संस्कृति के हो ? कुन संस्कृतिले समाजलाई अघि बढाउन मद्दत गर्छ आदि ।
- तर, हामी त्यति गहिराइमा जाने छैनौँ ।
तर, यो सबै ज्ञान साहित्यबाट निर्माण हुन्छ । साहित्यका जति पनि विधा छन्, कथा, कविता, नाटक, एकांकी ती सबैको अध्ययनबाटै तपाईंमा संस्कृतिको ज्ञान विकास हुँदै जान्छ । रुचि भइरहने हो भने तपाईं विज्ञानको विद्यार्थी भए पनि समाजलाई हेर्ने, त्यसलाई बदल्ने रुचि तपाईंमा आफैँ विकसित हुँदै जान्छ । त्यसैले मलाई लाग्छ, साहित्य जीवनको मूल मन्त्र हो । तपाईंले यसमा जुन आत्मिक सुख पाउनुहुन्छ, त्यो धनबाट पाउन मुस्किल छ ।
समाज बदल्ने दृष्टिकोण तपाईंले पाउनुभयो भने त्यसमा काम गर्दाको सुख अन्यत्र पाउन असम्भव प्रायः छ, भलै तपाईंले समाजको निकै मामुली भनेको काम गर्दै हुनुहुन्छ । मैले पनि त जीवनभर जे काम गरेँ, त्यो निकै मामुली भनिएको माइक्रो लेवलको काम हो । तर, त्यो जीवन मैले भरपूर मात्रामा बाँच्न सकेँ । यो नै धेरै ठुलो कुरा हो भन्ने लाग्छ ।
- म तपाईंबाट अर्को एउटा कुरा पनि जान्न चाहन्छु, समाजलाई केन्द्रमा राखेर जीवनभर काम गर्ने अधिकांश मानिसको जीवनका अन्तिम क्षण निकै कष्टकर भएको देखिन्छ । चाहे ऊ उत्कृष्ट कलाकार होस् वा साहित्यकार । चाहे ऊ सामाजिक कार्यकर्ता होस् वा फिल्ममेकर । यसैबारे तपाईंले धेरै पहिले एउटा प्रसङ्ग पनि सुनाउनु भएको थियो । आफ्नो जीवनको उत्तरार्द्धमा सिनेमा निर्देशक ऋत्विक घटक निकै असहज जीवन बाँचिरहेका थिए । उनी तपाईंहरूसँग त्यतिबेला ठोक्किन आइपुगे जतिबेला तपाईंहरू संघर्ष गर्दै हुनुहुन्थ्यो । उनलाई रक्सीको तलले गाँजेको थियो, तपाईंहरूलाई आर्थिक अभावले गाँजेको थियो तर पनि केही साथीहरू मिलेर तपाईंहरू पैसा उठाइ उहाँलाई रक्सी खुवाएर सान्तोष मान्नु हुन्थ्यो । तपाईंले आफ्नो जीवनमा पक्कै पनि संकटहरू झेल्नुभयो होला, ती संकटबारे केही सुनाउनुस् न ।
_RF2ybrrmks.jpg)
तपाईंले ठिक भन्नुभयो । म सन् १९७४ मा अल इन्डिया रेडियो आकाशवाणीको हिन्दी न्युज यूनिटमा काम गर्थें । त्यतिबेला मेरो तलब ११ सय थियो । तर, चार वर्ष जागिर गरेपछि जब म त्यहाँबाट निकालिएर फ्रिलान्सिङ गर्न थालेँ । मैले आक्कल–झुक्कल गरेर डेढ सय, दुई सय, दुई सय पचास रुपैयाँमात्र पाउने गर्थें । त्यतिबेला परिवारमा सानो बच्चा पनि थियो । उसका लागि दुधलगायत कुराको व्यवस्थापन गर्नु पर्थ्यो ।
अप्ठ्यारो थियो, तर मैले परिस्थितिका अघिल्तिर कहिल्यै घुँडा टेक्नु परेन । मेरो मनमा जहिल्यै– यसका अघिल्तिर म घुँडा टेक्दिनँ भन्ने नै लाग्थ्यो । मैले जीवनमा जुन बाटो रोजेँ, त्यो ममाथि कसैले लादेको थिएन, त्यो मेरो आफ्नो छनोट थियो । आफ्नै च्वाईस भएपछि कसैलाई गुनासो गर्ने ठाउँ पनि रहँदैन ।
- यो मैले छनोट गरेको जीवन हो भन्दै गर्दा तपाईंमा आश्रित परिवारका अन्य सदस्यले त त्यो जीवन छनोट गरेका होइनन्, तिम्रो कारणले हाम्रो जीवनको डुङ्गासमेत डुब्यो भन्ने कुरा भएन कहिल्यै ?
(हाँस्दै) अन्य परिवारमा हुन्छ होला, हाम्रो परिवारमा त्यस्तो कुरा कहिल्यै भएन । किनभने मेरो हरेक काममा माधुरी (पत्नी) को कुनै न कुनै रूपमा सहभागिता रह्यो । मैले कहिल्यै कुनै काम पनि उनीबाट लुकाएर गरिनँ । म बिहे गर्नु अघिदेखि नै कम्युनिस्ट विचारको थिएँ । सन् १९७१ मा मेरो बिहे हुनु अघि नै सन् १९६७ मा नक्सलबाडीको घटना भइसकेको थियो । म नक्सलबाडी आन्दोलनमा निकै सक्रिय थिएँ । मलाई थाहा थियो, म जुन बाटोमा अघि बढ्दै छु, त्यो सत्ता विरोधी काम हो । सत्ता विरोधी हुनुको अर्थ सरकारमा को आउँछ र को जान्छ भन्नेले अर्थ राख्दैन । म त सत्ताधारी वर्गका खिलाफ काम गरिरहेको थिएँ । सत्ता विरोधी काम गर्नेलाई सरकारमा कांग्रेस हुन् वा समाजवादी, त्यसले केही अर्थ राख्दैनथ्यो ।
बुबा पनि विद्यालयमा प्रधानाध्यापक हुनुहुन्थ्यो । आमाकै कारण बुबाको स्कुलको पुस्तकालय निकै भव्य हुन पुगेको थियो ।
भन्नुको अर्थ ममा कुनै भ्रम थिएन । त्यसैले बिहेपछि पनि मेरो वैचारिकीमा कुनै स्खलन देखा परेन । त्यतिमात्र होइन, आकाशवाणीमा जागिर खाने बेलामा अब म सेलेक्ट हुन्छु भन्ने लागेपछि छनोट समतिमै ‘तपाईंहरूले केही निर्णय गर्नु अघि नै म कम्युनिस्ट विचारधाराको, समाजवादी अर्थव्यवस्थालाई अंगीकार गर्ने व्यक्ति हुँ, त्यसैले यसलाई मध्यनजर गरेर निर्णय गर्नुहोला’ भनेँ । त्यसपछि समितिका संयोजकले ‘तपाईं कुनै पार्टीमा आवद्ध हुनुहुन्छ ?’ भनी सोधे । मैले ‘होइन, म विचारले कम्युनिस्ट हुँ, पार्टी आवद्धताको आधारमा होइन’ भनेँ । त्यसपछि उनले– त्यसले हामीलाई केही फरक पर्दैन भने । म आकाशवाणीको जागिरे भएँ ।
तिनताका आकाशवाणीको जागिर निकै आकर्षक मानिन्थ्यो किनभने त्यतिञ्जेल दूरदर्शनको स्थापना भइसकेको थिएन । आकाशवाणीमा त्यतिबेला देशैभर सेलिब्रेटी मानिने व्यक्तिहरू काम गर्थे । देवकीनन्दन पाण्डे, अशोक वाजपेई, विनोद कश्यप, बिंदु वाही, रामानुज प्रसाद सिंह, जसको आवाज सुनेर हुर्किएको थिएँ, आज म उनीहरूसँगै काम गरिरहेको थिएँ । त्यो जीवनको एउटा कालखण्ड थियो । हिजोसम्म आफ्ना आफन्तहरूबिच नालायकका रूपमा चित्रित म जागिरपछि उदाहरणीय व्यक्तिका रूपमा गनिन थालेको थिएँ । मेरी आमाले बाहेक सबैले मलाई नालायक नै ठान्थे । तर, आमाले– होइन, तैले ठिक गरिराछस् भन्नुहुन्थ्यो । भन्न खोजेको के भने जीवनमा दुःखहरू नपरेको होइन, तर मैले परिवारबाट जहिल्यै साथ पाइरहेँ ।
- आफ्नी आमाबारे हामीलाई केही भन्नुस् न, उहाँ कुन सामाजिक, राजनीतिक पृष्ठभूमिबाट हुर्किएर आउनुभएको थियो र त्यसले तपाईंहरूको जीवनमा के प्रभाव पार्यो ?
त्यसो त आमाको औपचारिक शिक्षा केही थिएन, तर उहाँ औधी पढाकु हुनुहुन्थ्यो । आमाले जति पढ्नुभएको थियो नि, मैले आजसम्म त्यति पढेको छैन । सिङ्गो बंकिम साहित्य (बंकिमचन्द्र चट्टोपाध्याय), सिङ्गो प्रेमचन्द (वास्तविक नाम– धनपत राय श्रीवास्तव, साहित्यिक नाम– प्रेमचन्द) को साहित्य, सिङ्गो शरत साहित्य (शरतचन्द्र चट्टोपाध्याय) भागवती कथा, गीताव्रत कथा, महाभारत, रामायण सबै सकेर आफ्नो जीवनको उत्तरार्द्धमा उहाँ महाश्वेता देवी पढ्दै हुनुहुन्थ्यो ।
बुबा पनि विद्यालयमा प्रधानाध्यापक हुनुहुन्थ्यो । आमाकै कारण बुबाको स्कुलको पुस्तकालय निकै भव्य हुन पुगेको थियो । किनभने बुबाले पुस्तकालयका लागि पुस्तक मगाउँदा आमाको रुचिलाई ध्यानमा राख्नु हुन्थ्यो । साहित्य अध्ययनकै कारण होला, आमाले मलाई अरुले भन्दा ज्यादा बुझ्नुहुन्थ्यो । तथापि आमाको हुर्काई पनि त त्यही पुरानो परम्परा, संस्कारमा भएको थियो । तर, साहित्यले उहाँको जीवनलाई अन्यत्रै ल्याएर उभ्याइदिएको थियो । साहित्यको प्रभाव मेरी आमाको जीवनमा कसरी पर्यो भनेर बुझ्नका लागि एउटा प्रसङ्ग भन्न चाहन्छु ।
साहित्य र अध्ययनले आममानिसको जीवनमा पारेको अद्भूत असरबारेका घटनाहरूसँग म धेरै पटक ठोक्किएको छु र त्यस्ता घटनाहरूले मलाई साँच्चै अझै पनि रोमाञ्चित तुल्याउँछ ।
सन् १९५४ मा बुबाको देहान्त हुँदा आमा जम्मा ४०–४२ वर्षकी हुनुहुँदो हो । मेरी दिदी १३ वर्षकी हुनुहुन्थ्यो भने म जम्मा ११ वर्षको थिएँ । भाइ मभन्दा दुई वर्षले कान्छो थियो । तिनताका त्यो उमेरमा विधवा हुने महिलालाई जीवन चलाउन सहज थिएन । आमाले आफूलाई र परिवारलाई कसरी सम्हाल्नु भयो होला भनि कल्पनामात्रै गर्न सकिन्छ । एक दिन दिदीको बिहे गर्ने प्रस्ताव लिएर काका आउनुभयो । जम्मा १३ वर्षकी दिदीको बिहेको प्रस्ताव । आमाले त्यसको ठाडै विरोध गर्नुभयो र छोरी आफ्नो खुट्टामा नउभिउन्जेल बिहे हुन नदिने बताउनु भयो । त्यसपछि आमाले दिदीलाई गाउँमै इन्टरमिडिएटसम्म पढाउनु भयो । त्यसपछि सन् १९५७ को कुनै एकदिन दिदीलाई लिएर बनारसको ट्रेन समाउनु भयो र बनारस विश्वविद्यालयमा दिदीको दाखिला गराएर फर्किनु भयो । आमालाई यो सबै साहस शरतचन्द्र चट्टोपाध्यायको साहित्यबाट आइरहेको थियो । शरतचन्द्रले आफ्ना साहित्यमा जसरी महिला सशक्तीकरणलाई उठाएका थिए, त्यसले मेरी आमालाई मात्रै होइन, लाखौँ–लाख महिलालाई सशक्त बनायो होला ।
त्यस्तै अर्को उदाहरण हो– भारतको सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीस जे. एस. वर्माको । उनी ‘गूंगी अभिव्यक्तियां’ भन्ने पुस्तकमा भूमिका लेख्दै भन्छन्, ‘राजस्थानको नाथद्वारा मन्दिरमा दलित प्रवेशको मुद्दा मेरो बेञ्चमा आयो । त्यसबारे के फैसला लेख्ने होला भनेर म निकै संकटमा थिएँ । यत्तिकै धेरै दिन बिते । किंकर्तव्यविमुड अवस्थामा अचानक मनमा ‘एक फूल की चाह’ भन्ने कविताको पंक्ति याद आयो । त्यो कविता मैले पुनः पढेँ । धेरै दिन मन/मष्तिष्कमा कविता गुञ्जीरह्यो । त्यसपछि मैले मन्दिरमा दलितको प्रवेश जायज छ भनेर फैसला लेखेँ ।’
कवितामा रोगले थलिएकी एउटी दलित युवतीको अभिव्यक्ति उसको पिताका माध्यमबाट समेटिएको छ । त्यसमा उनी आफ्नो बाबासँग भन्छिन्– त्यो मन्दिरको एउटा फूल ल्याएर दिएमा म निको हुने थिएँ, तर दलित भएकै कारण मन्दिरको फूल दिन नसक्नाले छोरीको अकालै मृत्यु हुन्छ भन्ने भाव कवितामा छ । सियाराम शरण गुप्तको कविताको पंक्ति यस्तो छ–
ज्वर से विह्वल हो बोली वह,
क्या जानूँ किस डर से डर –
मुझको देवी के प्रसाद का
एक फूल ही दो लाकर ।
बेटी, बतला तो तू मुझको
किसने तुझे बताया यह,
किसके द्वारा, कैसे तूने
भाव अचानक पाया यह ?
_3gDCreyMNa.jpg)
मैं अछूत हूँ, मुझे कौन हा !
मन्दिर में जाने देगास
देवी का प्रसाद ही मुझको
कौन यहाँ लाने देगा ?
मैंने कई फूल ला-लाकर
रक्खे उसकी खटिया परस
सोचा-शान्त करूँ मैं उसको,
किसी तरह तो बहला कर
तोड़-मोड़ वे फूल फेंक सब
बोल उठी वह चिल्ला कर–
मुझको देवी के प्रसाद का
एक फूल ही दो लाकर !
जीवनमा साहित्यको के अर्थ छ भन्नेबारे हामी कुरा गरिरहेका थियौँ ।
त्यसैगरी अर्को एउटा सन्दर्भ छ । गुजरातबाट एउटा पत्र मसँग समकालीन तीसरी दुनियामा आइपुग्यो । त्यो पत्र कवि मंगलेश डबरालका लागि लेखिएको थियो । गुजरातको कुनै एउटा घरमा काम गर्ने घरेलु कामदार महिलाले त्यो घरमा काम गर्न आउनु अगावै जीवनसँग हार खाएर आत्महत्या गर्ने निधो गरिछन् । आत्महत्या गर्न नदीमा फालहान्नु अघि अचानक उनको नजर भुइँमा फालिएको एउटा कागजको चिर्कटोमा पर्न गयो ।
उनले कागजको टुक्रा उठाइन् र ढिलो–ढिलो गरी पढ्न थालिन् । त्यस चिर्कटोमा भारतका प्रगतिवादी कवि मंगलेश डबरालको कविता छापिएको थियो । उनले त्यो कविता त्यहीँ उभिएर धेरै पटक पढिन् । र, आत्महत्या गर्ने सोच त्यागेर संघर्ष गर्ने निधो गरिन् । त्यसपछि उनी एउटा घरमा घरेलु कामदारका रूपमा काम गर्दै जीवन संघर्षमा होमिइन् । जुन घरमा ती महिलाले काम गर्थिन्, त्यो घरकी साहुनीले उनको विगत र कविताको महत्त्वबारे कवि मंगलेश डबराललाई सम्बोधन गरेर एउटा पत्र लेखिन्, जसमा ती महिलाको कथा उल्लेख गरिएको थियो ।
साहित्य र अध्ययनले आममानिसको जीवनमा पारेको अद्भूत असरबारेका घटनाहरूसँग म धेरै पटक ठोक्किएको छु र त्यस्ता घटनाहरूले मलाई साँच्चै अझै पनि रोमाञ्चित तुल्याउँछ ।
- तपाईं साहारा पत्रिकाको सम्पादकका रूपमा लखनउमा कार्यरत हुँदा त्यसका मालिक सुब्रत राय साहारासँग भएको नोक–झोंक सम्पादक र मालिकबिच हुने टसलकै रूपमा बुझ्न मिल्छ होला । खासमा के भएको थियो भन्ने नेपाली पाठकहरूलाई बताइदिनुस् न ।
तिनताका भारत निकै ठुलो उतार–चढाबबाट गुज्रिरहेको थियो । भर्खरै ‘अपरेशन ब्लू स्टार’ सम्पन्न भएको थियो र त्यसकै कारण इन्दिरा गान्धीले ज्यान गुमाउनु परेको थियो । त्यस लगत्तै भएको सिख विरोधी हिंसाले समाजलाई धेरै ठुलो क्षति पुर्याएको थियो । त्यसैले यस विषयमा हामीले बहस चलाइरहेका थियौँ । त्यो बहसको शीर्षक– ‘राजनीतिक समस्या का सैनिक समाधान’ भन्ने थियो । पत्रिकाको सम्पादक तडित कुमार थिए तर उनले काम गर्न छोडिसकेका थिए । म पत्रिकाको सह–सम्पादक थिएँ । सबै काम मेरै काँधमा थियो ।
आइतबारको एक बिहान पत्रिकाका मालिक सुब्रत रायले मलाई र तडित कुमारलाई आफ्नो घरमा चिया खान बोलाए । कुराकानीकै क्रममा सुब्रत रायले ‘यो विल्कुलै सही समय हो, यति नै बेला सिखहरूको कत्लेआम गरिदिनु पर्छ यो देशबाट’ भने । उनको कुरा सुनेर मलाई सारै रिस उठ्यो । तत्काल मैले उनलाई ‘तपाईं त फासिस्ट मानसिकताले ग्रस्त हुनुहुँदो रहेछ । यो त फासिस्ट विचार हो’ भनेँ । उनी फासिस्टको अर्थ बुझ्थे । त्यसैले उनले तडित कुमारतर्फ हेर्दै– वर्माजी के भन्दै हुनुहुन्छ भने ।
तडितले– तपाईंका विचार जस्ता छन्, वर्माजीले ठिकै त्यही भन्नु भएको हो । हिटलरले पनि सबै यहुदीको सफाया गर्नुपर्छ भन्थे भने ।
त्यो बहस त्यसैगरी टुङ्गियो ।
त्यसको केही बेरमा उनले तपाईंहरूले चलाएको बहसमा म पनि सहभागी हुन्छु भने । मैले किन नहुने, हुन्छ भनेँ । त्यो भेटको एक–दुई दिनमै लेख लिएर उनको पीए मेरो च्याम्बरमा आइपुग्यो । मैले लेख पढेँ । लेख निकै स्तरहीन थियो । मैले यो प्रकाशित गर्न सकिँदैन भनेर पीएलाई पठाइदिएँ । लेख छापिँदैन भनेको सुनेर उनको पीए चकित भयो । उसले भन्यो– अरे साहबको लेख, उनकै पत्रिकामा छापिँदैन ?
साहब मालिक हो भन्नेमा मलाई कुनै शंका छैन तर यहाँ के छापिन्छ भनेर निर्णय साहबले होइन, मैले गर्ने हो भनेर पठाइदिएँ । त्यसको भोलिपल्ट फेरि लेख लिएर आयो । मैले फेरि पढेँ । त्यो पनि काम लाग्ने थिएन । त्यो पनि छापिँदैन भनेर पठाइदिएँ ।
त्यसपछि तेस्रो पटक पनि सुब्रत रायको लेख लिएर उनको पीए आएपछि मैले त्यो पढेर उसैलाई भने– तपाईं देख्दा अलिक पढ्ने–लेख्नेजस्तो देखिनु हुन्छ । यसो गरौँ, तपाईंले नै केही लेखेर ल्याउनुस्, म त्यसैलाई मिलाएर उनकै नाममा छापिदिउँला तर यो लेख छापिँदैन भनेर पठाइदिएँ । त्यसको केही दिनमा करेक्सन गरेर आएपछि बल्ल छापेँ । तर, त्यसै अंकमा जुन दिन उनको लेख छापिएको थियो, त्यसै दिन मैले आफ्नो नाममा लेख छापेर त्यसको खण्डन गरेको थिएँ । उनको नाम नलिइकन मैले, ‘केही धन कुवेरहरू यस्तो पनि सोच्छन्’ भनेर लेखेको थिएँ ।
- एउटा रिपोर्टिङको विषयमा पनि भना–भन परेको थियो होइन ?
(हाँस्दै) तपाईंलाई त्यो प्रसङ्ग अझै पनि सम्झना रहेछ हगी ? त्यो रायबरेली र अमेठीमा गरिएको रिपोर्टिङको कुरा हो । रायबरेली र अमेठी गान्धी परिवारको पुरानो निर्वाचन क्षेत्र हो । रायबरेलीबाट इन्दिरा गान्धी र अमेठीबाट संजय गान्धीले निर्वाचन लडेका थिए । पछि त्यहीँबाट राहुल गान्धीले निर्वाचन लडे । हामीले दुवै ठाउँमा आफ्ना रिपोर्टर पठाएर त्यहाँ विकासका नाममा भइरहेको भ्रष्टाचारबारे खोज्न लगायौँ । अमेठीका राजा थिए– संजय सिंह । संजय सिंहले नभनेसम्म अमेठीमा पात पनि हल्लिँदैन भन्ने भनाइ थियो । अधिकांश ठेक्का संजय सिंहकै नाममा रहेछ । त्यहाँ व्यापक भ्रष्टाचार भएकोबारे रिपोर्ट प्रकाशित भयो ।
त्यसपछि सुब्रत रायले मलाई बोलाएर भने– रिपोर्टिङ गर्नका लागि तपाईंले देशभरिमा यिनै दुई वटा निर्वाचन क्षेत्रमात्रै पाउनु भाथ्यो ? मैले भनेँ– यो त धेरै महत्त्वपूर्ण निर्वाचन क्षेत्र हो । त्यसैले साथीहरूलाई त्यहाँ पठाएको ।

उनले भने– संजय सिंह मेरो मित्र हुन् भन्ने तपाईंलाई थाहा छैन ?
उनीहरू सँगै ब्याडमिन्टन खेल्दा रहेछन् ।
त्यसपछि मैले– त्यहाँ विकासका नाममा भइरहेको घोटालालाई लिएर पो रिपोर्ट छापिएको हो । को–कसको मित्र हो र को–कसको दुश्मन हो भन्नका लागि रिपोर्ट छापिएको हो र ? भनेँ ।
उनले होइन, यसबारे तपाईंलाई थाहा हुनु पर्थ्यो भनेर पेले । त्यसपछि मैले उनलाई– एउटा मित्रहरूको र अर्को दुश्मनहरूको सूची बनाएर दिन भनेँ । तपाईंको मित्र र शत्रुको सूची हेरेपछि मैले काम गर्छु कि गर्दिनँ भनेर भनौँला भने ।
त्यसपछि उनले, मैले त्यस्तो भन्न खोजेकै होइन । तपाईले गलत बुझ्नु भो भने । बोल्दै जाँदा उनले– म मेरो पत्रिका राष्ट्रवादी विचारले ओतप्रोत होस् भन्ने चाहन्छु । किनभने ‘राष्ट्र’ सबैभन्दा माथि हुनुपर्छ । त्यस्तो कुनै पनि कुरा हुनुहुँदैन, जसले राष्ट्रको भावनालाई क्षति पुर्याओस् भने ।
मैले उनलाई भनेँ, ‘हेर्नुस् तपाईंको यो राष्ट्रको भावना जस्ता चार–चौरासी सबै कुरा बुझ्छु म । सम्पादकमा मेरो नाम छापिन्छ, यदि राष्ट्रको भावनामा चोट पर्यो भने यो सुन्दर बागबाट नरही कफी हाउससम्म पुग्दा नपुग्दै मानिसले मेरो लिन्च गरिदिन्छन् । त्यसैले तपाईंले मलाई के गर्नुपर्छ र के गर्नु पर्दैन भनेर धेरै नसिकाउनुस् । म मेरो के जिम्मेवारी हो भन्ने राम्रोसँग जान्दछु भनेँ ।
- तिनताको पत्रकारिता र आजको पत्रकारितालाई कहिल्यै दाँजेर हेर्नुभएको छ ?
हिन्दी भाषी पत्रकारिताको सन्दर्भमा कुरा गर्ने हो भने पत्रकारितामा हिजोआज सम्पादक नै छैनन् । सम्पादक नामको जुन संस्थाले हिजोसम्म काम गर्थ्यो, त्यो आज मरिसकेको छ । अंग्रेजी भाषामा काम गर्ने केही सम्पादकले त्यो पदको स्वत्वलाई जोगाउन काम गरेका छन कि ! नभए हिन्दी पत्रकारितामा ९९.९ प्रतिशत सम्पादक नै छैनन् । उनीहरू मिडिया हाउसमा म्यानेजरको काम गर्छन् । हिजोआज धेरैजसो ठाउँमा सम्पादकको काम विज्ञापन इञ्चार्जले गरिरहेको पाउनु हुन्छ । त्यसैले आजका दिन सम्पादक पद लोप भइसकेको छ । पहिले–पहिले साहस बोकेका सम्पादक हुन्थे । हिजोआज त्यो प्रजाति विलुप्त भइसक्यो ।
स्वयं एक पटक नवभारत टाइम्सका सम्पादक तथा वरिष्ठ पत्रकार राजेन्द्र माथुरले कुराकानीका क्रममा भनेको सम्झन्छु । उनले भन्थे, ‘हेर्नुस वर्माजी, मालिकले भन्दा पहिले नै हामी सम्पादकहरूले नै एउटा लक्ष्मण रेखा कोर्ने गरेका छौँ, जुन गलत हो । त्यस विपरीत हामीले के गर्नुपर्ने थियो भने मालिकले खिचेको लक्ष्मण रेखालाई पनि नाघेर अघि बढ्नुपर्ने थियो ।’
तर, हिजोआज मालिकले भन्नु अगावै सम्पादकहरूले आफ्नो लक्ष्मण रेखा कोरिसकेका छन् र मालिकका अघिल्तिर जिब्रो लप्लपाइरहेका छन् । तपाईं आफै भन्नुस् न, त्यसरी पत्रकारिता हुन्छ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण