आतंकवाद रोक्न आर्थिक विकास र स्रोतसाधनको न्यायोचित वितरण चाहिन्छ
सारांश
- सार्क राष्ट्रहरूमा आतंकवादको प्रभाव, अफगानिस्तान, पाकिस्तान र भारत बढी प्रभावित।
- श्रीलंकामा जातीय र धार्मिक असन्तुलनले सशस्त्र विद्रोह निम्त्यायो, अफगानिस्तानमा भूराजनीतिक स्वार्थले आतंकवाद बढायो।
- आतंकवाद नियन्त्रणका लागि क्षेत्रीय सहकार्य, आर्थिक स्रोत बन्द र न्यायोचित वितरण आवश्यक छ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा आबद्ध कुनै पनि मुलुक आतंकवादी गतिविधिबाट अछुतो रहन सकेको छैन, यद्यपि यसको प्रभाव सबैतिर समान छैन । सबैभन्दा बढी र गम्भीर गतिविधि भएका राष्ट्रहरूको विश्लेषण गर्दा अफगानिस्तान, पाकिस्तान र भारत अग्रपंक्तिमा देखिन्छन् भने बंगलादेश र श्रीलंकामा पनि यसको प्रभाव वेलावेलामा चर्को रूपमा देखापरेको छ ।
वर्तमान परिस्थितिलाई स्थलगत रूपमा हेर्दा पाकिस्तान र अफगानिस्तान आतंकवादबाट सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा चिनिन्छन् । आतंकवादको यो जटिल सञ्जाल विभिन्न कारकहरूबाट प्रेरित छ, जसमा धर्मको नाममा प्रेरित अतिवादी गतिविधिहरू र कतिपय स्थानमा देखिएका पृथक्तावादी आन्दोलनहरू प्रमुख छन् । आतंकवादको चपेटामा नेपाल, भारत, श्रीलंका, अफगानिस्तान, पाकिस्तान, बंगलादेश र भुटानजस्ता सबै दक्षिण एसियाली राष्ट्रहरू कुनै न कुनै रूपमा परेका छन् ।
भुटानजस्तो शान्त मुलुकमा समेत उल्फाको अड्डा हुनु र त्यसलाई भारत र भुटानको संयुक्त प्रयासमा जंगलबाट लखेट्नुले यसको विस्तारलाई पुष्टि गर्छ । माल्दिभ्समा त आतंककारी समूहले सत्ता नै कब्जा गर्ने प्रयास गरेको थियो, जसलाई भारतीय सेनाको हस्तक्षेपपछि मुक्त गरिएको थियो । यसले देखाउँछ कि, कुनै पनि राष्ट्र यस खतराबाट सुरक्षित छैन ।
श्रीलंकामा विद्रोहको जन्म कसरी भयो भन्ने प्रश्नले आतंकवादको एउटा महत्त्वपूर्ण जडलाई उजागर गर्छ । श्रीलंका मूलतः बुद्धिस्ट, हिन्दु र इस्लाम धर्म मान्ने तमिल, सिङ्घली र मुस्लिम समुदायको बसोबास भएको देश हो । तर, जब राज्यले ‘सिङ्घलो दिप’ अर्थात् ‘सिङ्घलीहरूको देश’ र ‘धम्म दिप’ अर्थात् ‘बुद्धिस्टहरूको देश’ भनेर एकल जातीय र धार्मिक पहिचानलाई स्थापित गर्न खोज्यो, तब असन्तुलन सुरु भयो ।
अफगानिस्तानको कथा भूराजनीतिक स्वार्थले कसरी आतंकवादलाई मलजल गर्छ भन्ने ज्वलन्त उदाहरण हो ।
सबै क्षेत्रमा सिङ्घलीकरणको नीति लागू गर्दै जाँदा तमिल समुदायले आफ्नो अवसर, पहिचान र भागेदारी गुमाउँदै गए । तमिलहरुलाई उपेक्षा गर्यो । भाषाको मान्यता दिएन । सरकारी कामकाजमा मान्यता दिएन । यसरी पाखा लगाइँदै र अस्तित्व नै नामेट हुने अवस्थामा पुर्याइयो, तब तमिल समुदायले प्रतिक्रिया जनायो र लिबरेसन टाइगर्स अफ तमिल इलम (एलटीटी) को गठन भयो । एलटीटीले हतियार उठायो, जसको परिणामस्वरूप लाखौं मानिसको ज्यान गयो । राज्यले एलटीटीलाई समाप्त पारेको घोषणा गरे पनि यसको वैचारिक जड अझै जीवित छ र हालैका केही घटनाले त्यो पुनः उम्रिन सक्ने संकेत दिएको छ । यो घटनाले के देखाउँछ भने, राज्यद्वारा सिर्जित असमानताले कसरी सशस्त्र विद्रोहको बीउ रोप्छ ।
यसैगरी, अफगानिस्तानको कथा भूराजनीतिक स्वार्थले कसरी आतंकवादलाई मलजल गर्छ भन्ने ज्वलन्त उदाहरण हो । जब तत्कालीन सोभियत संघको सेना अफगानिस्तानमा प्रवेश गर्यो, त्यसलाई रोक्न पाकिस्तानलाई आधार बनाएर तालिवानलाई तालिम दिइयो र ‘जिहादी’ को संज्ञा दिइयो । तर, जब त्यही तालिमप्राप्त समूहले अमेरिकामा नाइन इलेभेनको हमला गर्यो, तब उसको परिचय र भूमिका नै बदलियो । संसारका धेरै मुलुकमा यस्तै घटनाहरू हुँदै आएका छन् । आज अफगानिस्तानमा ‘काउन्टर टेरोरिज्म’ को लडाइँ जारी छ, तर यसको असर पाकिस्तानमा झनै गहिरो परेको छ ।
कुनै समय अफगानिस्तानका लागि तालिम र हतियारको केन्द्र बनेको पाकिस्तान आज आफैँ त्यही आतंकवादको आगोमा जलिरहेको छ । बलोचिस्तानमा ‘नेसनल लिबरेसन आर्मी’जस्ता समूहले पृथक्तावादी लडाइँ चलाइरहेका छन् र कतिपय अवस्थामा उनीहरू पाकिस्तानी सेनाभन्दा पनि शक्तिशाली देखिएका छन् । यो यस्तो परिणाम हो, जसको कल्पना सायद पहिले गरिएको थिएन ।
भारतले पनि आतंकवादको क्रूर प्रहार पटक–पटक भोगेको छ । संसद् भवनमाथिको आक्रमण होस्, मुम्बईको ताज होटलमाथिको हमला होस् वा पहलगाममा भएको हालैको आक्रमण, यी सबै घटनाको साझा विशेषता भनेको निर्दोष मानिसहरूलाई निशाना बनाउनु हो ।
आज पाकिस्तान, भारत र अफगानिस्तानले आतंकवादको यो दुष्चक्रको सामना गरिरहेका छन् । आतंकवादी गतिविधिहरूलाई हतियार दिने, आर्थिक समर्थन गर्ने र अन्तर्राष्ट्रिय सञ्जालमा जोड्ने प्रवृत्तिले यसलाई थप जटिल बनाएको छ ।
यस्ता आक्रमणमा मारिने अधिकांश व्यक्तिहरूको घटनासँग कुनै संलग्नता हुँदैन । आफ्नो लक्ष्य प्राप्तिका लागि उन्मादमा आएर असंलग्न र निर्दोष व्यक्तिहरूको हत्या गर्नु नै ‘टेरोरिस्ट एक्टिभिटी’ हो । यो मानवता विरुद्धको अपराध हो र यो जुनसुकै पक्षले गरे पनि अस्वीकार्य छ ।
आज पाकिस्तान, भारत र अफगानिस्तानले आतंकवादको यो दुष्चक्रको सामना गरिरहेका छन् । आतंकवादी गतिविधिहरूलाई हतियार दिने, आर्थिक समर्थन गर्ने र अन्तर्राष्ट्रिय सञ्जालमा जोड्ने प्रवृत्तिले यसलाई थप जटिल बनाएको छ । दुःखको कुरा, अर्काको विरुद्ध प्रयोग गर्न खोजिएको हतियार अन्ततः आफ्नै लागि घातकसिद्ध भएका घटनाहरू प्रशस्त छन् । त्यसकारण यसलाई न्यूनीकरण गर्ने हो भने आतंकवादी गतिविधिलाई कुनै पनि प्रकारको आर्थिक र लजिस्टिक सहयोग दिन बन्द गर्नुपर्छ । सेल्टर, आर्थिक सहयोग र लजिस्टिक सपोर्टको अभावमा यस्ता गतिविधिहरू आफैँ कमजोर भएर जान्छन् ।
दक्षिण एसियाको सन्दर्भमा, यसको समाधान क्षेत्रीय सहकार्यविना असम्भव छ । सार्कले आफ्नो मञ्चमा ‘काउन्टर टेररिज्म’ को कुरा उठाए पनि यो प्रभावकारी हुन सकेन । भारत र पाकिस्तानबिचको तनाव र अन्य द्विपक्षीय मुद्दाका कारण सार्क आज लगभग कोमामा पुगेको छ, तर क्षेत्रीय सहकार्यको आवश्यकता झनै बढेको छ । आतंकवाद उत्पन्न हुनुका कारणहरू हरेक ठाउँमा फरक छन्; ती मूल कारणहरू पत्ता लगाएर समयमै समाधान खोज्नुपर्छ ।
आतंकवादी समूहका आर्थिक स्रोत र हतियारका च्यानलहरू बन्द गर्नुपर्छ, साथै राष्ट्रहरूबिच सूचना आदानप्रदान र विश्लेषणका लागि बलियो संयन्त्र बनाउनुपर्छ । यस सन्दर्भमा, भारतले यसको अगुवाइ गर्न सक्छ । इन्डो–प्यासिफिक फ्रेमवर्कलाई दक्षिण एसियाली क्षेत्रीय सुरक्षा फ्रेमवर्कसँग जोडेर एउटा एकीकृत रणनीति बनाउन सकिन्छ, जसमा नेपाललगायत अन्य मुलुकहरूले साथ र सहयोग गरे यो क्षेत्रमा आतंकवादलाई नियन्त्रण गर्न सकिन्छ । भारतको बलियो अग्रसरता र सबै मुलुकको साथले मात्र यो सम्भव छ ।
सत्ता र शक्तिको असमान वितरणले पनि विद्रोही जन्माउँछ । जब राज्यले कुनै एक समुदायलाई काखी च्याप्छ र अर्कोलाई पाखा लगाउँछ, तब असन्तुष्टि चुलिन्छ र मानिसहरू अतिवादतर्फ धकेलिन्छन् ।
आतंकवादी गतिविधिले निर्दोष मानिसको ज्यान मात्र लिँदैन, यसले देशको आर्थिक विकासलाई नै ध्वस्त पार्छ । आज पाकिस्तानको अर्थतन्त्र आतंकवादका कारण नराम्रोसँग प्रभावित छ । उर्वर भूमि र प्राकृतिक स्रोत भएर पनि गरिबी र बेरोजगारी चरम छ । कुनै वेलाको सुन्दर र समृद्ध अफगानिस्तान आज खण्डहरमा परिणत भएको छ, जहाँ कसले जित्यो र कसले हार्यो भन्ने नै प्रस्ट छैन, सबैले हारेको जस्तो छ ।
श्रीलंकाको अर्थतन्त्र र पर्यटन उद्योग द्वन्द्वले चौपट भयो । जहाँ सुरक्षा हुँदैन, त्यहाँ लगानी आउँदैन र विकास हुन सक्दैन । यसको मूल कारणमध्ये आर्थिक पछौटेपन पनि एक हो । जब विकास हुँदैन, बेरोजगारी बढ्छ, र गरिबीले मानिसलाई हताश बनाउँछ । जीविकाको लागि मानिसहरू जुनसुकै समूहमा पनि सामेल हुन सक्छन्, जसको उदाहरण युक्रेन–रसिया युद्धमा दुवैतर्फबाट लड्न गएका नेपाली युवाहरू हुन् । जहाँ गरिबी र बेरोजगारी हुन्छ, त्यहाँ आतंकवादी समूहहरूलाई लडाकु भर्ती गर्न सजिलो हुन्छ ।
यसैगरी, सत्ता र शक्तिको असमान वितरणले पनि विद्रोही जन्माउँछ । जब राज्यले कुनै एक समुदायलाई काखी च्याप्छ र अर्कोलाई पाखा लगाउँछ, तब असन्तुष्टि चुलिन्छ र मानिसहरू अतिवादतर्फ धकेलिन्छन् । त्यसैले आर्थिक विकास र स्रोतसाधनको न्यायोचित वितरणविना आतंकवादलाई रोक्न सकिँदैन । यसका लागि केवल सैन्य र कानुनी कारबाही पर्याप्त छैन ।
भारत र पाकिस्तानजस्ता राष्ट्रहरूले आफ्ना द्विपक्षीय मुद्दाहरूलाई कूटनीतिक माध्यमबाट हल गर्नुपर्छ । राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूको भूमिकालाई पनि प्रभावकारी बनाउनुपर्छ, तर सबैभन्दा महत्त्वपूर्ण कुरा, आतंकवादलाई ‘फ्रिडम फाइट’ वा अन्य कुनै नाममा परिभाषित गर्ने द्वैध चरित्रको अन्त्य हुनुपर्छ । निर्दोष मानिसको हत्या कुनै पनि बहानामा जायज हुन सक्दैन । यो मानवताविरोधी अपराध हो र यसलाई जरैदेखि उन्मूलन गर्न सम्पूर्ण दक्षिण एसिया एक भएर लाग्नुको विकल्प छैन ।
नेपाल आतंकवाद विरुद्धको यो लडाइँमा सधैँ साथमा छ र यो विश्वव्यापी समस्याको समाधानका लागि सामूहिक प्रयासमा विश्वास गर्दछ ।
(जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादवसँग गरिएको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण