बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

सडकको छोरो अर्थात् राजेन्द्रबहादुर

भन्छन्, ’पहाडका सडकहरू फराकिला भइदिए हुन्थ्यो’
सोमबार, ०२ भदौ २०८२, ०८ : ००
सोमबार, ०२ भदौ २०८२

सारांश

  • राजेन्द्र बोहरा, एक अनुभवी बस चालक, विगत २० वर्षदेखि सुदूरपश्चिमका पहाडी मार्गहरूमा यात्रुहरूलाई सेवा दिँदै आएका छन्।
  • उनले धनगढीदेखि बझाङसम्म बस चलाउँछन् र यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिन्छन्, सडकको अवस्था सुधारको चाहना राख्छन्।
  • बोहराले यात्रुहरूको कथा सुन्दै र चाडपर्वमा उनीहरूको खुसी देख्दा सन्तुष्टि पाउँछन्, र चालकहरूलाई नशालु पदार्थबाट टाढा रहन सुझाव दिन्छन्।
00:00 / NaN:NaN
Audio By AI

धनगढी  । सुदूरपश्चिमका कहालीलाग्दा पहाडी घुम्तीहरूमा बसका यात्रुका मुख्य सारथि बनेका राजेन्द्रबहादुर बोहराले बीस वर्ष भयो बसको स्टेयरिङ समाएको । लाखौँ यात्रुको विश्वास र जिन्दगीलाई सुरक्षित गन्तव्यमा पुर्‍याएर उनीहरूको भरोसा जितेका उनी धनगढीदेखि बझाङसम्म बस चलाउँछन् । 

बझाङको छबिसपाथीभरा–७ खोरीका राजेन्द्रको जीवनको कथा पनि उनले हिँडाउने बाटोजस्तै अनेकौं घुम्ती र चुनौतीहरूले भरिएको छ  । तर यी सबै चुनौतीबिच उनको एउटै चाहना छ– आफू बस्ने घर जस्तो भए पनि यात्रु हिँड्ने बाटो सुरक्षित होस् । उनका अनुसार पहाडी क्षेत्रमा जति पनि दुर्घटना भएका छन्, त्यसको कारण साँघुरो सडक हो । त्यसैले उनको चाहना छ, सडक फराकिलो र व्यवस्थित बनोस् ।

राजेन्द्रलाई लाग्छ– बस नै संसार हो, जहाँ हरेक दिन फरक–फरक पात्रहरूका कथा उनी सुन्छन् । कहिले उपचारका लागि बझाङको विकट गाउँबाट धनगढी वा नेपालगञ्जका अस्पतालसम्म पुग्ने दुःख सुन्छन् भने कहिले आफ्नो भविष्य बनाउन लोकसेवा आयोगको परीक्षा दिन सहर झर्दै गरेकाहरूको । अनि कहिले जन्मभूमि, परिवार र साथीभाइ छोडेर परदेसिन लागेकाहरूको गहभरिको आँसुको व्यथा । र कहिले परदेशबाट कमाएर आएकाहरूको खुसी । 

‘मैलेँ यो बीस वर्षमा लाखौँ यात्रु ओसारेँ हुँला । शिक्षक, नेता, विद्यार्थी, व्यापारीदेखि भारतका मुम्बई, बेंगलुरु जाने र खाडी मुलुकमा पसिना बगाउन जाने लाहुरेसम्मलाई गन्तव्यमा पुर्‍याएँ । कसैको अनुहारमा आशाको चमक देखेको छु, कसैकोमा बिछोडको पीडा । यो बसको सिटमा बसेर कतिले आँसु खसाले, कतिले हाँसो छरे, ती सबैको म एक मौन साक्षी हुँ,’ राजेन्द्र भन्छन् ।

चाडपर्वमा घर फर्कनेहरूको अनुहारमा देखिने खुसीले उनलाई सबैभन्दा धेरै सन्तुष्टि दिन्छ । उनी एक चालक मात्र होइनन्, यी अनगिन्ती कथाहरूका एक भावनात्मक हिस्सेदार पनि हुन् ।

आज हजारौँलाई गन्तव्यमा पुर्‍याउने राजेन्द्रको बाल्यकालको सपना भने चालक बन्ने थिएन, उनी शिक्षक बन्न चाहन्थे । तर, गरिबीको चपेटामा परे । पढ्नका लागि कापी–किताब किन्नसमेत नसक्ने पारिवारिक अवस्थाका कारण उनी १३ वर्षको कलिलो उमेरमै भागेर भारत पसे ।

भारतको बेंगलुरुमा उनले गाडी चलाउन सिके । 

‘सानो थिएँ, सबैले माया गर्थे, तर सीप सिक्दा धेरै गाली र कुटाइ पनि खाएँ । एउटा गाडीको स्टेयरिङ पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिन मलाई दुई वर्ष लाग्यो,’ उनले सुनाए ।

भारतमा केही वर्ष गाडी चलाएर अनुभव बटुलेपछि उनलाई आफ्नै देशको माटोले तान्यो । त्यहाँ सिकेको सीपलाई आफ्नै देशमा सदुपयोग गर्ने अठोट लिएर उनी नेपाल फर्किए ।

1000026231-001

नेपाल फर्किएपछि उनले सुरुमा बैतडीतिर कुखुरा बोक्ने जिप चलाएर आफ्नो व्यावसायिक यात्रा सुरु गरे । बझाङमा पनि जिप चलाए ।

सन् २०११ मा उनको जीवनमा एउटा अविस्मरणीय दिन आयो, जब एक साहुले उनलाई धनगढीदेखि अछामसम्म बस चलाउने जिम्मेवारी दिए । त्यो क्षण उनको लागि कुनै उपाधि जितेभन्दा कम थिएन ।

‘जब मैले पहिलो पटक गोदावरीको त्यो पहिलो मोडमा बस घुमाएँ, मलाई लाग्यो कि मैले सारा संसार नै जितेँ । अर्काको देशमा काम गर्नुभन्दा आफ्नै देशमा स्वरोजगार हुनुको आनन्द र गर्व कति हुन्छ भन्ने मैले त्यो दिन महसुस गरेँ,’ उनी त्यो क्षण सम्झँदै भावुक हुन्छन् ।

पहाडको त्यो पहिलो मोड उनको जीवनको पनि एक निर्णायक मोड बन्यो, जसले उनलाई एक कुशल र भरोसायोग्य चालकको परिचय दियो ।

पहाडी राजमार्गमा गाडी चलाउनु भनेको सधैँ जोखिमसँग खेल्नु हो । बाक्लो कुहिरो, अविरल वर्षा, जतिवेला पनि खस्न सक्ने पहिरो र हिउँदमा बाटो चिप्लो बनाउने हिउँ, यी सबै चालकका लागि दैनिक चुनौती हुन् । राजेन्द्र यी सबै खतराहरूसँग अभ्यस्त छन् ।

‘बर्खाको मौसममा हामी राति गाडी चलाउँदैनौँ । कुनै सुरक्षित ठाउँमा बस रोकेर यात्रुलाई आराम गराउँछौँ र हामी पनि सुत्छौँ । रातभरको यात्राले दुर्घटनाको जोखिम बढाउँछ ।’

उनी सधैँ मौसमको पूर्वानुमान र बाटोको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा सुरु गर्छन् । बाटोमा आउँदै गरेका अरू चालक साथीहरूसँग फोनमा कुरा गरेर अगाडिको बाटोको अवस्थाबारे सोधपुछ गर्नु उनको दिनचर्या हो । उनी यात्रुलाई सुरक्षित ठाउँमा राखेर राति सुताउँछन्, राति आफू पनि आराम गर्छन् । रातभरि यात्रा गर्दा जोखिम हुने भएकाले राति सुरक्षित ठाउँमा बस रोकेर आराम गराउँछन् । उनलाई सबैभन्दा धेरै चिन्ता सडकको दुरावस्थाले भने सधैँ सताउँछ ।

‘हामी चालकलाई सबैभन्दा बढी चिन्ता सडकको हो । बरु हाम्रो घर झुपडी भए पनि हामीलाई केही लाग्दैन, तर सडक फराकिलो र व्यवस्थित भए हामी खुसी हुन्छौँ,’ उनले भने ।

मासिक करिब ३५ हजार तलबमा काम गर्ने राजेन्द्र आफूलाई एक मजदुर भन्न रुचाउँछन् । तर, उनको लागि वास्तविक कमाइ पैसाको अङ्कमा होइन, मानिसको मनमा छ ।

‘कमाइ भनेको त मान्छे कमाउनु हो, माया कमाउनु हो । सबैले माया र विश्वास गर्छन्, यही नै मेरो सबैभन्दा ठुलो सम्पत्ति हो,’ उनले भने ।

उनी आफूले यात्रुको भरोसा जितेकोमा पनि धेरै खुसी छन् ।

‘गाडी चलाउँदा मदिरा, मद्यपान, खैनी, गुट्खाजस्ता कुनै पनि नशालु पदार्थ सेवन गर्नु हुँदैन । चालकको सानो गल्तीले सयौँको ज्यान जान सक्छ,’ उनी चालकहरूलाई सुझाव दिन्छन् ।

उनको घर बझाङमा भए पनि परिवार कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बस्छ । कामको सिलसिलामा परिवारबाट टाढा रहे पनि उनी आफ्नो कर्ममा सन्तुष्ट छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप