'उड्ने कार'ले उचाल्यो नाडा अटो शोको रौनक, के के छन् आकर्षण ?
सारांश
- नाडा अटो शो काठमाडौंमा सुरु भयो, प्रधानमन्त्री ओलीले उद्घाटन गरे।
- अटो शो मा नयाँ मोडेलका सवारी साधन प्रदर्शनीमा राखिएका छन्, जसमा विद्युतीय कार र उड्ने कारको पनि प्रदर्शनी रहेको छ।
- अटो शो मा टाटा, फोटोन, डीपल र बीवाईडी लगायतका कम्पनीहरूले नयाँ मोडल सार्वजनिक गरे।
काठमाडौँ । यस वर्षको नाडा अटो शो आजदेखि सुरु भएको छ । २०५५ सालदेखि सुरु भएको नाडा अटो शोको १७ औँ संस्करण नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको हो ।
उक्त शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल लगायतको समेत उपस्थिति रहेको थियो । ६ दिनसम्म चल्ने उक्त अटो शोको समापन आगामी आइतबार हुनेछ ।
यसपटकको नाडा अटो शो गत वर्षको भन्दा केही भिन्न देखियो । अघिल्लो वर्षमा ‘मोनोपोली’को अवस्थामा रहेको अटो शो यो वर्षदेखि प्रतिस्पर्धामा प्रवेश गरेको छ । करिब एक लाख अवलोकनकर्ता आएको दाबी गरिएको नाइमा मोबिलिटी एक्स्पो सकिएको दुई साता नहुँदै सुरु भएको अर्को अटो शोमा यसअघिको दर्शकलाई फेरि तान्ने र व्यापारसमेत बढाउने चुनौती आयोजकलाई थियो ।

उक्त चुनौतीलाई सामना गर्न नाडाले दुईवटा नीति लिएको देखिन्छ । पहिलो अटो शोलाई प्रविधिमैत्री बनाउने, र हेभी–वेटबाट कार्यक्रमको उद्घाटन गराउने । केही दिनअघि सम्पन्न भएको नाइमा मोबिलिटी एक्स्पोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए, यो अटो शोमा प्रधानमन्त्रीलाई सहभागी गराएर नाडाले अटो क्षेत्रको प्रमुख संस्था आफैँ रहेको भन्ने सन्देश दिने प्रयास गर्यो ।
त्यसो त नाडाका अध्यक्ष करण चौधरीले आफ्नो संस्थाले तीन हजारभन्दा धेरै अटो व्यवसायीलाई गोलबद्ध गरेको र १० लाखभन्दा धेरैलाई रोजगारी दिएको बताए । उनले अटोमोबाइल्स क्षेत्रको लागि यो एउटा प्रदर्शनी मात्र नभएर व्यापारिक केन्द्र भएको बताए । अटो शोले मात्रै वार्षिक अटोमोबाइल्स व्यापारका ४० प्रतिशत हिस्सा ओगट्ने उनको भनाइ थियो । उनले नेपालमा सवारीसाधन एसेम्बलसँगै पार्टपुर्जा उत्पादनसमेत हुनसक्ने सम्भावना रहेको बताए । ‘पार्टपुर्जा नेपालमै उत्पादन भयो भने त्योभन्दा ठुलो केही हुने छैन,’ उनले भने ।
_xvpeqgOFib.jpg)
कार्यक्रमको मुख्य आकर्षण भनेको अटो शोमा प्रस्तुत भएका अत्याधुनिकदेखि भिन्ताज गाडीको प्रदर्शनी गरिएको थियो । भिन्ताज भन्नाले विशेषगरी पुराना तर अझैसम्म चल्ने अवस्थामा रहेका ऐतिहासिक वा संग्रहणीय मूल्य भएका कार वा सवारी साधनलाई बुझाउँछ ।
त्यस्तै अत्याधुनिक सवारी साधनअन्तर्गत विश्वमा निर्माण भएर विश्वमै व्यवसायिक रूपमा प्रयोजनमा नआइसकेको इलेक्ट्रोनिक भर्टिकल टेकअफ एण्ड ल्यान्डिङ (इभिटोल) समेत प्रदर्शनीमा आएको छ । बिजुलीबाट चल्ने यो ट्याक्सी हेलिकप्टरजस्तै सीधै माथि उड्न र सीधै तल अवतरण गर्न सक्ने निर्माता कम्पनी डिपलको दाबी छ ।
खासगरी अहिले उड्ने कारको प्रयोग गर्न अनुमति दिनेगरी नेपालका कानुनी व्यवस्था छैन । विश्वमा समेत व्यावसायिक प्रयोगमा आइनसकेको कारण नेपालमा प्रदर्शनीमा राखे पनि यसको व्यावसायिक प्रयोग कहिले हुने यकिन नभएको डीपलले जनाएको छ । यो शोमा डिपलले ह्युमनोइड रोबोटसमेत प्रदर्शनी गरेको थियो । अटो शोको घोषणाकै क्रममा चर्चा गरिएका यी प्रदर्शनीले शोलाई आकर्षक बनाएको देखिन्छ । त्यसैले शोको पहिलो दिन नै उल्लेख्य सहभागिता देखिएको थियो ।
यो प्रदर्शनीले विश्वमा भएका प्रविधिहरू नेपालका कति छिटो भित्रिरहेका छन् र नेपालीले अटोमोबाइल्सका ग्राहकले विश्वस्तरको सुविधा प्राप्त गरिरहेका छन् भन्ने देखाउँछ । यही विषयलाई संकेत गर्दै प्रधानमन्त्री ओलीले प्रतिस्पर्धात्मक विश्वमा नेपालले विकास र प्रविधिको को दौडमा सफल हुन असाधारण गति लिनुपर्नेमा बताए । यो अस्तित्व बचाउने दौड भएकाले अहिलेसम्म पछाडि परिरहेको नेपाल अरूभन्दा अगाडि पुग्न झनै छिटो दौडिनुपर्ने उनले बताए ।
_HeY4G8b4W2.jpg)
‘अफ्रिकाको जंगलमा सिंहले बिहान उठेर सोच्छ, आज मैले सबभन्दा छिटो दौडिने हरिणभन्दा पनि छिटो दौडिनुपर्छ, नत्र भोकै मरिन्छ । त्यसैगरी हरिणले पनि सिंहभन्दा छिटो भाग्न सकिनँ भने खाइन्छु भनेर सोच्छ,’ उनले भने, ‘अस्तित्व रक्षाका लागि सबैले अरूभन्दा छिटो दौडिनैपर्छ। नेपाल विकासको दौडमा पछाडि परेकाले अब सामान्य गतिले अरूभन्दा छिटो पुगिँदैन । त्यसैले तीव्र गतिमा अघि बढ्नुको विकल्प छैन ।’ उनले आज ‘फ्लाइङ कार’को युगसम्म आइपुग्दा नेपाल बल्ल यथार्थमा आधुनिक युगमा प्रवेश गरेको उनको भनाइ थियो ।
प्रदर्शनीका लागि विभिन्न ब्राण्डका नयाँ सवारी
यस पटकको नाडा अटो शोमा विभिन्न ब्राण्डहरूले आफ्ना नयाँ उत्पादनहरू सार्वजनिक गरेका छन् । खासगरी सीजी अटोमोबाइल्स, एमएडब्ल्यु इन्टरप्राइजेज, साइमन इङ्क, एमएडब्लू वृद्धि अटोकर्प, सिप्रदी ट्रेडिङ प्रालि लगायतले अटो शोको लागि नयाँ मोडलका सवारी साधन प्रदर्शनीमा ल्याएका छन् । अटो शोका लागि व्यवसायीहरूले छुटसहितको ‘रिजनेबल’ मूल्य कायम गरेको दाबीसमेत गरेका छन् । अहिले अटो शोमा प्रदर्शनीमा आएका नयाँ मोडलका सवारी साधनमध्ये केही सवारी साधनको बारेमा यहाँ उल्लेख गरिएको छ ।
टाटा न्यू सफारी
भारतीय सवारी निर्माता कम्पनी टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रे्डिङ प्रालिले ‘न्यु सफारी’ मोडल सार्वजनिक गरेको छ । २ हजार सीसीको डिजेल इन्जिनमा उपलब्ध रहेको उक्त सवारीको मूल्य १ करोड ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । अटो शोको अवधिभर आकर्षक नगद छुट, एक वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स र अन्य सुविधाहरू प्रदान गरिएको छ ।
त्यसबाहेक, टाटाको ईभी लाइनअपमा शुरुआती मूल्य २७.४९ लाख रहेको टियागो ईभी, ४८.९९ लाख मूल्य रहेको तेस्रो पुस्ताको नेक्सन ईभी केथ्री र ५६.९९ लाख मूल्य तोकिएको प्रिमियम एसयूभी ‘कर्भ ईभी’ समेत प्रदर्शनीमा छन् । यी सबै ईभीमा विशेष नाडा अफरहरू लागु गरिएको कम्पनीले जनाएको छ । टाटाले अटो शोमा बुकिङ गरिएका विद्युतीय सवारीमा लाइफटाइम चार्जिङ निशुल्क उपलब्ध गराउने घोषणासमेत गरेको छ ।
फोटोन टनल्यान्ड जी–७
नेपालको लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले टनल्यान्ड जी-७ मोडलको पिकअप गाडी लञ्च गरेको छ । कम्पनीले यसलाई ‘फर्स्ट इन सेग्मेन्ट’ भनेको छ । यसमा सनरुफ, भेन्टिलेटेड सिट, १२.३ इन्चको ठुलो स्क्रिन र १२ तरिकाले मिलाउन मिल्ने सिटजस्ता विशेषताहरू रहेको जानकारी दिइएको छ ।
२२५ एमएमको ग्राउन्ड क्लियरेन्स भएको यो गाडीको सुरुवाती मूल्य ५१ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यही मोडलको लक्जरी र फ्ल्यागसिप अटो प्रिमियम मोडलको मूल्य क्रमशः ६५.४० लाख र ७४.९९ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
नाडा अटो शोको अवसरमा कम्पनीले ३ वर्षसम्म ‘जिरो कस्ट’ मा सर्भिसिङको अफर ल्याएको छ भने शोमा गाडी बुक गर्नेले ३ वर्षको सट्टा ४ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी पाउनेछन् ।
डीपल एस–०५
नेपालका लागि डीपलको आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धि अटोमोबाइल्सले नाडामा डीपलको विद्युतीय एसयूभी एस–०५ सार्वजनिक गरेको छ । युरोपियन बजारमा ‘बेस्ट डिजाइन’ अवार्ड जितिसकेको यो गाडीमा ५६.१ किलोवाटको ब्याट्री र ९९ किलोवाटको मोटर छ, जसले ३२० एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले यसको बेस मोडलको परिचयात्मक मूल्य ५८.९९ लाख र टप मोडलको मूल्य ६४.९९ लाख रुपैयाँ तोकेको छ । यसमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी रहेको छ । उड्ने कार प्रदर्शनीमा राखेर आफूलाई अत्याधुनिक प्रविधिको ब्राण्ड साबित गरेको डीपलले सबैको ध्यान खिच्न सफलसमेत भएको देखिएको थियो ।
बीवाईडी ‘एटो–२’
नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमन इंकले बीवाईडीको नयाँ विद्युतीय गाडीको मोडल ‘एटो–२’ सार्वजनिक गरेको छ । ४३ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको यो गाडीमा २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ । ५१.१३ किलोवाट आवरको ब्याट्री प्याक रहेको यस गाडीले एक पटकको फुल चार्जमा ३४५ किलोमिटरको डब्लुएलटिपी प्रमाणित रेन्ज दिने दाबी गरिएको छ ।

शोको अवसरमा बीवाईडीले ब्याट्री र मोटरमा १० वर्षको एक्सटेन्डेड वारेन्टी, इन्स्योरेन्स, चार्जर र एक वर्षको रोड ट्याक्सजस्ता सुविधा दिएको साइमन इंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण