सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
सर्वाेच्च अदालत

१० वर्षअघिको जघन्य हत्याको प्रभावकारी अनुसन्धान गर्न सर्वोच्चको निर्देशनात्मक आदेश

मङ्गलबार, ०३ भदौ २०८२, २१ : ०५
मङ्गलबार, ०३ भदौ २०८२

सारांश

  • सर्वोच्च अदालतले १० वर्ष पुरानो हत्या मुद्दामा प्रहरीलाई सुक्ष्म अनुसन्धान गर्न निर्देशन दिएको छ।
  • २०७२ मा निमा दोर्जे लामाको हत्या भएको घटनामा प्रतिवादीहरूलाई सफाइ दिँदै अदालतले थप अनुसन्धानको आदेश गरेको हो।
  • घटनामा संलग्न रहेको आरोप लागेका दुई जनालाई सफाइ दिइएको छ, तर अदालतले वैज्ञानिक अनुसन्धान गर्न भनेको छ।

काठमाडौँ । सर्वोच्च अदालतले १० वर्ष अघिको हत्या सम्बन्धी घटनाको सुक्ष्म र प्रभावकारी अनुसन्धान गर्न प्रहरीलाई निर्देशनात्मक आदेश जारी गरेको छ । 

न्यायाधीशहरू बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले ०७२ को कात्तिक २७ मा भएको कर्तव्य ज्यान मुद्दामा पुन सुक्ष्म र वैज्ञानिक अनुसन्धान गर्न निर्देशनात्मक आदेश गरेको हो । गत २२ जेठमा फैसला भई हालै पूर्णपाठ हालै मात्रै सार्वजनिक भएको हो ।

निमा दोर्जे लामाको हत्याका प्रतिवादीहरूलाई सफाइ दिँदै मुद्दामा प्रभावकारी अनुसन्धान गर्न सर्वोच्चले आदेश गरेको हो । जिल्ला अदालतबाट ०७३ भदौमा टुङ्गिएको यो मुद्दा पुनरावेदनका रूपमा उच्च पुगेपछि ०७५ वैशाखमा फैसला भएको थियो । उच्च अदालत पाटनको फैसलाविरुद्ध नेपाल सरकारले दोहोर्‍याइ हेर्ने अनुमति मागेपछि यो मुद्दा सर्वोच्चमा ४ चैत ०७६ मा दर्ता भएको थियो । 

प्रतिवादीहरू अम्मर विक र राम भन्ने लालबहादुर विक प्रतिवादी रहेको मुद्दामा दुवैलाई सर्वोच्चले सफाइ दिँदै सदरको फैसला गरेको थियो । अम्मर लालबहादुरका जेठान हुन् । 

२०७२ कात्तिक २७ गते काठमाडौँ महानगरपालिका भुवलडाडाँस्थित पक्की घरको तीन तलामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा कोठाभित्र निमा दोर्जे लामा (शेर्पा) को शव भेटिएको थियो । सो कर्तव्य ज्यान मुद्दाको वैज्ञानिक अनुसन्धान हुन नसकेको भन्दै पुनः अनुसन्धान गर्न भन्दै सर्वोच्चले प्रहरीलाई निर्देशनात्मक आदेश जारी गरेको हो । 

मुद्दामा भनिएको छ, ‘..मृतक दोर्जे लामाको मृत्यु कर्तव्यबाट भएको भन्ने लास जाँच प्रकृति मुचुल्का, घटना प्रकृति मुचुल्का र दसी प्रमाणबाट देखिएको अवस्थामा उक्त घटनाको बारेमा सुक्ष्म तवरले प्रभावकारी र वैज्ञानिक अनुसन्धान गरी वास्तविक कसूरदार पत्ता लगाउनेतर्फ गहनतम् कार्य गर्नू गराउनू भनी अनुसन्धानमा संलग्न हुने प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो एवम् अभियोजन पक्ष महान्यायाधिवक्ताको कार्यालयसमेतको नाममा निर्देशनात्मक आदेश जारी हुने ठहरेकाले उक्त आदेश तत्काल कार्यान्वयन गर्न फैसलाको प्रतिलिपि सहित प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो एवम् महान्यायाधिवक्ताको कार्यालयमा लेखी पठाउनू ।’

अदालतले कर्तव्य ज्यान मुद्दामा तथ्य, प्रमाण, कानुनी प्रावधान र सिद्धान्तको रोहमा, प्रस्तुत मुद्दामा प्रतिवादीहरूले अनुसन्धान अधिकृत समक्ष गरेको साबिती बयान बाहेक अन्य कुनै बस्तुगत र निश्चयात्मक प्रमाणहरू रहेको देखिँदैन भनेको छ । 

घटनास्थलमा सङ्कलन गरिएको घटनामा प्रयोग भएको खुकुरी, ताल्चा समेतमा लागेको औँठाछापसँग प्रतिवादीहरूको औँठाछाप मिलेभिडेको पनि देखिँदैन भने घटनास्थलबाट प्रतिवादीहरूको पहिचान खुल्न सक्ने कुनै वस्तुनिष्ठ प्रमाणको बरामद पनि हुन सकेको देखिँदैन,फैसलामा भनेको छ, ‘प्रतिवादीहरूले मौकामा गरेको साबिती बयानलाई अदालत समक्ष इन्कारी गरेका छन् भने मौकाको साबिती र अन्य परिस्थितिजन्य प्रमाणको अवस्थामा पनि एकरूपता रहेको देखिँदैन ।’ 

अन्य वस्तुनिष्ठ र निश्चयात्मक प्रमाणले समर्थित नभएको मौकाको साबिती बयानको आधारमा मात्र कसूरदार ठहर्‍याउनु न्यायोचित नदेखिएका भनेको छ । प्रतिवादीहरूको कर्तव्यबाट मृतकको मृत्यु भएको ब्यहोरा तथ्य प्रमाणद्वारा पुष्टि हुन नसकेको अदालतको ठहर्छ । प्रतिवादीहरूले मृतक निमा दोर्जे लामाको कर्तव्य गरी जबरजस्ती चोरी गरेको पुष्टि हुने ठोस र तथ्ययुक्त सबुद प्रमाण वादी पक्षबाट पेस गर्न नसकेको अवस्थामा कर्तव्य ज्यान जस्तो गम्भीर फौजदारी कसूरमा शङ्कारहित र स्वतन्त्र प्रमाणको अभावमा केवल अनुसन्धान अधिकारी समक्षको साबितीलाई मात्र आधार मानेर प्रतिवादीहरूलाई कसूरदार ठहर गर्न मिल्ने नदेखिँदा प्रतिवादीहरू अम्मर बि.क. र लालबहादुर बि.क.ले अभियोग दाबीबाट सफाइ पाउने गरी सुरु काठमाडौँ जिल्ला अदालतबाट भएको फैसलालाई सदर गर्ने गरी उच्च अदालत पाटनबाट भएको फैसला कानुन र प्रमाण मूल्याङ्कनको रोहबाट मिलेको देखिन्छ,फैसलामा भनेको छ ।

यो घटनामा दुवै प्रतिवादीले आफूहरू पढ्न लेख्न नजान्ने र प्रहरीले बयानमा सही गर भनेपछि सहीसम्म गरेको भनी अदालतमा बताएका थिए । अम्मरले रक्सीसम्म खाएको र लामाको घरबाट निस्किएको बताएका थिए । वारदातस्थलमा भेटिएको खुकुरी, ताल्चा लगायतमा प्रतिवादीहरूको औँठाछाप नमिलेको, दुवै प्रतिवादीको कोठा खानतलास गर्दा अपराधमा प्रमाण लाग्ने दसी नभेटिएको समेतको अवस्थालाई मध्यनजर गरी दोषी ठहर गर्नु फौजदारी विधिशास्त्रको विपरीत हुने भन्दै सफाइ दिएको हो । 

के थियो घटना ?

०७२ को कात्तिक २७ मा साढे १२ बजे दिउँसो काठमाडौँको भुवलडाँडामा निमा दोर्जे लामा (शेर्पा) बस्ने तीन तले घरमा उनको शव भेटिएको थियो । घाँटीमा र निधारमा आक्रमण गरिएको अवस्थामा उनी मृत पाइएका थिए । कोठा बन्द भएको अवस्थामा लामाको शव भेटिएको थियो । 

त्यतिबेला फुर्वा लामाले फुपाजु निमा दोर्जे लामा (शेर्पा) लाई घरमा गई बोलाउँदा नबोलेपछि ताल्चा फुटाइ हेर्दा मृत अवस्थामा भेटेपछि उनले प्रहरीमा कर्तव्यवाला खुली आएको बखत छुट्टै दरखास्त दिने भनी प्रहरीमा जाहेरी दिएकी थिइन् ।

यस क्रममा अनुसन्धानपछि प्रहरीले महाभूकम्पबाट निमा दोर्जे लामाको घरमा केही क्षति पुगी मर्मतपछि प्रतिवादी लालबहादुर बि.क.ले घर बाहिरको रङ्ग रोगनको काम गरेको, रङ्ग लगाउँदा काम बिगारी विवाद भई रङ्ग लगाएको कामबापतको रू.८००।– नदिएकोले लालबहादुर बि.क.ले सो कुरा अम्मर बि.क.लाई भन्दा अम्मर बि.क.ले बुढो एक्लै बस्छ, पैसा माग्ने निहुँ बनाई झैँ–झगडा गरी निजलाई मारी घरमा भएको धनमालहरू चोरी गरौँ भन्ने सल्लाह बनाएको आधारमा दुई जनालाई कर्तव्य ज्यान मुद्दा चलाएको थियो । घटनाको तीन महिनापछि दुवै प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको थियो । 

०७२ कात्तिकको २५ मा आफूसमेत ज्यालाबापतको पूरै पैसा माग्न जाँदा लामाले नदिएको निहुँमा धकेलाधकेल हुँदा सोही निहुँमा अम्मरले लामाको हत्या गरेको र सामान लुटेको भनी लालबहादुरले मौकामा बयान गरेका थिए । अम्मरले पनि सो घटनालाई मौकामा स्वीकारेका थिए । 

जिल्ला अदालतमा भने लालबहादुरले आफूले लामालाई नचिन्ने तथा हत्यामा आफ्नो संलग्नता नभएको भनी प्रहरीमा दिएको बयान अस्वीकार गरेका थिए । उनले आफू घटना भएको दिन सो ठाउँमा नभएको जिकिर गर्दै सफाइ पाउनुपर्ने बयान दिएका थिए । घटना भएको दिन आफू मलामी गएको र मलामी जाँदाको साथीलाई पनि अदालतमा उपस्थित गराए । 

अम्मरले भने आफू २५ कात्तिकमा लामासँग उनको घर गई सँगै रक्सी खाइ फर्केको तथा चोरी र हत्या नगरेको बयान अदालतसमक्ष गरेका थिए । साथै आफू मात्र गएको र अम्मर आफूसँग नगएको उनको भनाइ थियो । दुवै जनाको बयानको आधार बनाएर जिल्ला अदालतले सफाइ दिएपछि यो मुद्दा उच्च हुँदै सर्वोच्चसम्म पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप