शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती प्रदेशमा तीन दिने मार्क्सवादी पार्टी स्कुल सञ्चालन

बुधबार, ०४ भदौ २०८२, १८ : १९
बुधबार, ०४ भदौ २०८२

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) बागमती प्रदेशले आफ्ना मातहतका सबै जिल्लाहरूमा अभियानको रूपमा तीन दिने मार्क्सवादी पार्टी स्कुल सञ्चालन गरिरहेको छ ।

प्रदेश स्तरमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आषाढ २३ गते समुद्घाटन गरेर अभियान सुरु गरिएको थियो ।  अहिले अभियानको रूपमा जिल्लाहरूमा सञ्चालन भइरहेको बागमती स्कुल विभागका प्रमुख सूर्य सुवेदी पथिकले जानकारी दिए ।

भदौसम्म सञ्चालन हुने अभियान उपत्यकामा नेवा तामाङ अभियान सञ्चालन भएको कारणले केही ढिलो हुने र बागमतीका बाँकी १० वटा जिल्लाहरूमा जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएर विभिन्न पालिका स्तरमा यो प्रशिक्षण तीव्र रफ्तारमा सञ्चालन भइरहेको उनले बताए । सुवेदीका अनुसार हालसम्म करिब ३००० नेताहरू बीचमा यो कार्यक्रम सम्पन्न भइसकेको छ। र, करिब २०० भन्दा बढी प्रशिक्षक तयार भइसकेका छन् । 

‘यो अभियान वडासम्म पुग्दा ६० हजार भन्दा बढी पार्टी सदस्यहरू प्रशिक्षित हुने देखिन्छ। पार्टीको यो प्रशिक्षण सम्पन्न भइसकेपछि प्रदेशका विभिन्न जनवर्गीय सङ्गठन मोर्चाहरू र सहयोगी सङ्गठनमा रहेका सदस्यहरूमा यसको विस्तार गर्ने लक्ष्य लिएको छ’, उनले भने । 

माओवादी केन्द्र बागमती प्रदेशले क्रान्तिकारी पार्टी जीवनलाई सशक्त बनाउन अध्ययन छलफल र वैचारिक अभियानलाई अभिन्न बनाउने अवधारणालाई प्राथमिकता दिँदै आएको छ । 

माओवादीको पुस २३ मा सम्पन्न आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले केन्द्रीय पार्टी स्कुलको व्यवस्थित र नियमित सञ्चालनलाई सुनिश्चित गर्ने निर्णय गरेको थियो । यसै अनुरूप, बागमती प्रदेशले पहिलोपटक अभियानको रूपमा आफ्ना मातहतका सबै जिल्लामा तीन दिने मार्क्सवादी पार्टी स्कुल सञ्चालन गरिरहेको छ ।

बागमती प्रदेशको मार्क्सवादी पार्टी स्कुल अभियान पार्टीको वैचारिक र सङ्गठनात्मक मजबुतीका लागि एक महत्त्वपूर्ण क्रान्तिकारी पहल रहेको सुवेदीले बताए ।

यसले पार्टीभित्र हुर्किँदै गएको दक्षिणपन्थी अवसरवाद, गुटवाद व्यक्तिवाद, पदलोलुपता आदि जस्ता गलत प्रवृत्ति माथि वैचारिक हस्तक्षेप गरेको उनको दाबी छ। साथै इमानदार नेता कार्यकर्ताहरूमा उत्साह भरेको, जसले पार्टीलाई पुनर्ताजगी र जनताको हितमा अग्रसर बनाउन थप ऊर्जा प्रदान गर्ने उनको विश्वास छ । 

के छ तयारी ? 

सुवेदीका अनुसार बागमती प्रदेशको स्कुलिङ विभागको तत्परता र प्रदेश समन्वय कार्यालयको नेतृत्वमा बागमती प्रदेशभित्र सबै पार्टी सदस्यहरूलाई आषाढ ,श्रावण र भाद्र महिनाभित्र मार्क्सवादी शिक्षा दिने महत्त्वाकाङ्क्षी छलफल र एकरूपता कायम भयो । 

प्रशिक्षणका विषयवस्तुहरू प्रदेशका नेताहरूले नै मुख्यतः जिम्मा लिने र तयारी गर्ने अहिलेको आधुनिक प्रविधिलाई प्रशिक्षणमा समावेश गर्ने आफ्नो भागमा परेका विषयहरूमा पाठकले बुझ्ने भाषामा लेख तयार पार्ने र त्यसलाई प्रशिक्षणपूर्व नै पुस्तक आकारमा छापेर वितरण गर्ने आदि निर्णयहरू लिइए । 

करिब तीन महिनाको लामो तयारी प्रशिक्षकहरूको बेलाबेलामा अन्तरक्रियाहरू र सामूहिक प्रस्तुति र छलफल आदिबाट विषयलाई अझ ठोस र मूर्त बनाइयो । 

प्रदेशले धेरै वटा जिल्लाबाट प्रशिक्षक बन्ने हैसियतका नेताहरूलाई केन्द्रीयकरण गरेर तीन दिन प्रशिक्षण दिइयो र उनीहरूको परीक्षा समेत लिइयो। र यो परीक्षामा पढाउन योग्य हुनका लागि परीक्षामा पास हुने न्यूनतम प्रतिशत निर्धारण गरी  पहिलोपटक व्यवस्थित रूपमा एकएक घण्टाको परीक्षा समेत सम्पन्न भएको छ । 

प्रशिक्षणका विषयवस्तु 

४० प्रशिक्षणमा दर्शन, वैज्ञानिक समाजवाद, पार्टीको कार्यदिशा लगायत १० वटा शीर्षकमा  विषय समावेश गरिएको छ। बागमती प्रदेशका इन्चार्ज हितमान शाक्यको नेतृत्वमा बनेको यो प्रशिक्षकहरूको टिममा निम्नअनुसारको प्रशिक्षकहरूको कार्य विभाजन गरिएको थियो । 

मार्क्सवादी दर्शन हितमान  शाक्य,वैज्ञानिक समाजवाद र पार्टीको कार्यदिशा (सूर्य प्रकाश सुवेदी पथिक),निर्वाचन सम्बन्ध (हितबहादुर तामाङ),राज्यसत्ता, सरकार सञ्चालन र उत्पादन बारेमा शालिकराम जम्मर कट्टेल,कम्युनिस्ट सङ्गठन र सङ्गठनात्मक अभ्यासबारे सरल सहयात्री,राजनीतिक अर्थशास्त्रमा डिपी ढकाल,नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा युवराज चौलागाई,सङ्गठनको सञ्चालन विधि र प्रशिक्षण कला गणेश बिक सूचना सञ्चार प्रविधि र सामाजिक सञ्जाल परिचालनमा रेवती सापकोटाले  विषयवस्तुहरू  तयार पारिएको छ ।

प्रशिक्षण अभियानका केहि विशेष पक्षहरू :

१. पहिलोपटक यो अभियानमार्फत व्यवस्थित रूपमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ जसले पार्टीभित्र एक नवीन अनुभूति र प्रशिक्षण संस्कृतिको विकास गरेको छ ।

२. बागमती प्रदेशले करिब ६० हजार पार्टी सदस्यलाई प्रशिक्षण दिने महत्त्वाकाङ्क्षी लक्ष्य लिएको छ, जसले पार्टीको वैचारिक मजबुती र सङ्गठनात्मक विकासमा ठुलो योगदान पुर्‍याउने अपेक्षा छ।

३. धेरै वर्षपछि पार्टीले यस प्रकारको व्यापक र व्यवस्थित प्रशिक्षण कार्यक्रम पुनः आयोजना गरेको छ, जसले पार्टीको अध्ययन संस्कृति र वैचारिक स्तरलाई अभिवृद्धि गर्न महत्त्वपूर्ण सहयोग भएको छ। 

५. प्रशिक्षणका लागि आधुनिक प्रविधिको प्रयोग गरी पावरपोइन्टमा प्रस्तुति तयार गरिएको छ जसले विषयवस्तुको स्पष्ट र सजीव प्रस्तुतीकरण सुनिश्चित गरेको छ।

६. प्रशिक्षकहरूले आफ्ना विषयमा पूर्व(संश्लेषित लेख तयार गरी त्यसलाई पुस्तकको आकारमा प्रकाशित गरेका छन् जसले प्रशिक्षार्थीहरूलाई विषय बुझ्न अत्यन्तै सजिलो बनाएको छ।

७. यो प्रशिक्षणले मार्क्सवादलाई पुस्तकालयबाट निकालेर  जनता माझ पुर्‍याउने महत्त्वपूर्ण काम गरेको छ र यसले पार्टीभित्र अध्ययन र पढ्ने संस्कृतिको विकासलाई प्रोत्साहन गरेको छ।

८. प्रशिक्षण कार्यक्रमले यो महसुस गराएको छ कि पढ्नुपर्ने र पढ्नुलाई पार्टी कार्यको एउटा महत्त्वपूर्ण अङ्ग बनाउनु पर्ने साझा समझदारी व्यापक रूपमा विकसित हुन थालेको छ।

९. अहिलेसम्म यो अभियानले जिल्लाजिल्ला र पालिका पालिकामा करिब २०० भन्दा बढी प्रशिक्षक तयार पारेको छ र परम्परागत थोरै नेताहरूको हातबाट मात्र नभएर कार्यकर्ता तह सम्म प्रशिक्षण गर्ने क्षमता र चेतना विकास हुने सम्भावना देखिएको छ।

१०. आगामी दिनमा यस प्रणालीगत प्रशिक्षणलाई निरन्तरता दिइरहने, यसको सामग्रीलाई विकास गर्ने र विषय विज्ञहरू तयार गर्ने चुनौतीहरू रहेका छन्। यसलाई सफल बनाउन थप पहल, नियमित समीक्षा र संसाधन जुटाउने आवश्यक छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप